नरेन्द्रराज पौडेलचस्मा र म
बोधो बुद्धि विवेक रुग्ण हुन गो चिन्दैन गाई गधा आफैभित्र गुँगुल्किँदै सडिगए सप्ना हजारौं कता ! झन् खग्रास चडेर धूमिल भयो नीहारिकाको छटा ! मेरो दृष्टि उघारी बर्कत दिने चस्मा हरायो कता !

नरेन्द्रराज पौडेल :
छाम्दा भेट्दिन कापी पुस्तक मसीदानी कुचि क्यै पनि ।
हेर्दा देख्तिन व्योम इन्द्रधनुषी ताराबुटे चाँदनी
खै उत्तुङ्ग हिमाल,ताल,सरिता कादम्बिनीका छटा ?
केही देख्तिन अन्मुष्टि छ सबै चस्मा हरायो कता ?
कुन कुन झार विषालु हो र कुन हो सञ्जीवनी चिन्दिन
आफ्नै दुःख लुकाइ कोसंग कता सोधी गरौं क्रन्दन !
प्रज्ञा जीर्ण भएछ दृष्टि धमिलो बाँझो छ संवेद्यता
छोप्यो झ्याप्प निशासरी तिमिरले चस्मा हरायो कता ?
बोधो बुद्धि विवेक रुग्ण हुन गो चिन्दैन गाई गधा
आफैभित्र गुँगुल्किँदै सडिगए सप्ना हजारौं कता !
झन् खग्रास चडेर धूमिल भयो नीहारिकाको छटा !
मेरो दृष्टि उघारी बर्कत दिने चस्मा हरायो कता !
बेगनबेली गुराँस वाग वनमा फक्रेर चारै दिशा
वासन्ती ऋतुराग मगमग चल्यो उद्दाम छर्दै नसा !
प्रज्ञा वाधित, सिर्जना दमित भो चल्दैन केही बुता
आफ्नै बास लखेट्छ राक्षस बनी चस्मा हरायो कता !
चर्चा देशविदेशका र घटना हेर्नै नमिल्ने भए
पात्रा पुस्तक दूरभाष सब ती बेकामजस्तै रहे !
गर्दै छटपटि भावबिम्बि भमरो भट्किन्छ एताउता
मैले भेटिन, खोजिद्यौ स्वजन हो चस्मा हरायो कता ᴉ
०००
नयाँवानेश्वर, काठमाडाैं
९८४१६४७१८९









































https://www.fitkauli.com/message/singouri/144268/