साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेतीको आद्योपान्त

योग्यताको जाँचपडताल वा त्यसको सामान्य ज्ञान पनि नराख्ने । अपठ्‌यारो परे डाँको छोडेर रुन पनि तयार हुने। रुवाइबाट नै समाधान खोज्ने यो वर्गको खेतीलाई कुक्कुटोन्मुख खेतीको संज्ञाले खास अन्याय न व्यहोर्ला।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

निरन्तर, सङ्‌गठित वा एकाग्र भई गरिने कर्म नै खेती हो भनिदिन्छन् उहिलेकाहरुले अर्थात् सबैका पूर्वज‌ले । क्षेत्र अपभ्रंश भई खेत्त र खेत्तमा +ई प्रत्यान्त वा पुच्छर गाँसिएर खेती बनेको तर्कमा तर्जनी तेर्स्याउनु मूर्खको सूचीमा सूचीबद्ध हुनुबाहेक अन्य विकल्प हाम्रासामु छैनन् । तोडेर, जोडेर, घिसारेर वा पछारेर ल्याइएको अतर्कले सत्य इतिहास पक्कै बचाउन नसक्ला !

शब्द व्युत्पादनकै तह‌मा जाऔं न त भन्दा हाम्रा उम्दा खाले विश्लेषकहरूले टेरपुच्छर, लगाएनन् । समयको कालखण्डसँगै कुनै काममा दत्तचित्त वा एकाग्र भई घोटिने यत्न नै खेती हो। उहिले र अचेलका विज्ञ या अध्येताहरू यही तर्क दिएर श्रोता वा प्रश्नकर्तालाई चुप लाग्ने अवस्थामा पुऱ्याउँछन् । अचेलको पुस्ता कतिस‌म्म अल्छी गर्दछ भने सुसाइटनोट पनि अर्काले नै लेखिदेओस् भन्ठान्छ । यो केबल आरोप मात्र होइन। खेतीको परिभाषा नै नखोजी हिँड्ने या यत्न नगर्ने अल्छीको पिण्डमाथि कटवौस वर्षाएको मात्र क्या।

लगातार अविछिन्न र अविराम नतिजा हातमा नआउन्जेल गर्ने काम खेती भनौं भन्ने तपाईंको तर्क उचित नै लाग्यो यो वज्रस्वाँठलाई। कति सहज र सजिलो लाग्यो यो वज्रस्वाँठलाई । कति सजिलो र सहज बनाइदिएको छ। कुटो, कोदालो, धन, गौंची जस्ता परम्परागत साधन अनि अत्याधुनिक मेशीन, रोवोटजस्ता आधुनिक साधनले कार्यसम्पादन गर्ने सम्पूर्ण कर्मको एकीकृत स्वरुपलाई खेती उच्चारण गरिदिए के जाला त ? न तपाईंले न मैले कुनै बेजो व्यहोर्नु पर्ला त ? मुर्दा छँदाछँदै मलामी उठ्‌नु पर्दैन भनेकै छन् क्यारे ।

हरएक कर्ममा दत्तचित भई परिणाम हातलागी गर्ने आभ्यासिक कर्म खेती हो भनेपछि अब हामी खेत्त + ई= खेतीको उच्चारण गरेर अभिधात्मक सिधा र शब्द‌कोशीय अर्थमा खुम्च्याउनु आफैंलाई पुड्‌को बनाउने खेल मात्र हो । लाक्ष‌णिक वा व्यञ्जनान्त अर्थ खोजे त टन्टै साफ । त्यसो त एकीकृत कर्मपद्धति खेती हो भने यसलाई अनेक प्रकार‌मा वर्गीकरण गर्न किन अकमकाउने ?
क) अक्षरको खेती
ख) राजनीतिक खेती
ग) कर्मकाण्डीय खेती
घ) अर्थोपार्जन खेती
ङ) इन्द्रियोपुरण खेती
च) मदमात्सर्योन्मूख खेती
छ) नाटकोन्मूख खेती

क) अक्षरको खेती- यस खेतीका खेतीवालहरू कलमजीवी नै हुन् । भीमकाय ग्रन्थ महा‌भारताका रचयिता व्यासदेखि ओडेसी इलियड, इनियड आदिको सर्जकहरु एरिस्यटेल र दाँतेदेखि एक दुई मुक्तक र गजलका सर्जक यस खेतीका जनता हुन् । यसलाई परम्परागत भाषामा खेताला शब्दको प्रयोग गरेको भेट्न पनि सक्छौं। अक्षरको खेतीमा ५ प्रकृ‌तिका खेतालाहरुका अनुहार टडकारो नै देखिन्छ । बीस हजार वर्षसम्म पाठकलाई प्रभाव जमाइराख्ने ह्याउ भएकाहरु‌लाई एउटा वर्गमा हालिदिनुहोस् । पौरषत्य या पाश्चात्य दुबै जगतका साहित्यिक पाठकहरू यसमा झुम्मिएर लागेका हुन्छन् । दोस्रोमा पूर्वीय या पाश्चात्य साहित्यको एकखण्डलाई आफ्‌नो कमाण्डमा राख्न सक्ने सर्जकहरुलाई यसले आफ्नो पोल्टामा राख्ला। तेस्रोमा कुनै विधाका चर्चित अनुहार देखिएलान् । चौथो वर्गमा तेश्रो वर्गको पछि लग्दै उसैबाट कृतिको भूमिका लेखाउँदै हिँडने र पाँचौं नम्बरमा २/४ पुस्तक लेख्दै पुस्तक गनोटमा गर्भानुभूति गर्ने र आफैंले पाठक खोज्नुपर्ने सर्जक यस खेतीका खेतीवाल हुनसक्ने अनुभूति पाठकले गरेको देखिन्छ ।

ख) राजनीतिक खेती – आधुनिक परिभाषामा राज्यलाई हिंसाको विवेकसम्मत रूप मानिन्छ। राष्ट्रियताको साँधुरो पहिचान आत्मासात नगरी सुखै छैन । कुन देशको नागरिक हो त्यो पहिचान नझल्किए गाँस, बास, कपास नै कष्टसाध्य हुन जान्छ । हरएक देशमा शासक हुन पाउने सोपान बनाइएका हुन्छन् । ती सोपानमा आरोहित भएर मात्र उच्च तहमा पुग्न सकिन्छ । सबै उच्च तहमा पुग्ने छैनन् । ती भान्दा तलका श्रेणी र अनुहारहरू ठेक्कापट्टा कमिसन, चुल्ठी र मुन्द्रीका प्रदर्शनबाट चुनाव जिती राज्य दोहनमा पोख्त पात्र यस कोटीमा पर्दछ । यस खेतीबाट तीन प्रकृतिका जनशक्ति तयार हुन्छन् : राजनेता, राजनीतिज्ञ, राजनीति कर्मी राजनेताका दुई क्याटागोरी देशीय र सर्वव्यापक ।

राजनीतिज्ञ‌का तीन प्रकृति- अध्ययन अधिक व्यावहारिक अनुभव जीरो, व्यावहारिक जीवनमा व्यस्त अध्ययन जिरो, दुबैमा जीरो क्रियाशिलतामा हिरो । राजनीतिककर्मी : मौसमी र सदाबहार । नाफा र घाटाको वासलाततमा पोख्त मौस‌मी । माथिको आदेश रिठ्ठो नबिराउने सदाबहार।

ग) कर्मकाण्डीय खेती – पराइलाई भ्रममा पार्न मात्र प्रदर्शित व्यवहार कर्मकाण्डीय भइहाल्यो। वाह्य र आन्तरिक उद्देश्य पृथक हुने आचार व्यवहार नै कर्मकाण्डीय खेतीको मूलश्रोत भइगयो। जुन पेशा र व्यवहार अप्नाउँदा आर्जनको अधिकता दृष्टिगोचर हुन्छ त्यस्तै पेशा र मर्यादा खोज्दै हिंड्ने पारखीहरूको खेती कर्मकाण्डीय खेती पक्कै हो। शिक्षक, प्रवचक, डक्टर, पाइलट, ड्राइभर बाध्यताले बन्ने र आवश्यकता परे त्यस्ता पेशालाई लात मार्ने खेती कर्मकाण्डीय खेती अन्तर्गत पर्ने सम्भावना छँदै छ ।

घ) इन्द्रियोपुरण खेती – प्राय: ज्ञानेन्द्रिय र कर्मेन्द्रियका आवश्यकता पूरा गर्ने खेती यस‌को वर्गीकरण‌भित्र पर्ला। चक्षु कर्ण र रसनालाई राम्रो लागेका विषयमा तल्लीन हुने खेती पनि यसको उर्वरभू‌मि हो । उदरस्त गर्ने हुटहुटी, शारीरिक अङ्‌गको तन्दुरुस्ती पोख्ने कुमार्ग यसैको खेतीको उपज हो। यो खेतीबाट अधिक मानिसका सफेद इतिहास ढलेर कुरूपता पैदा हुन्छ अन्त्यमा । स्वादे आनीबानीमा पोख्त हुनाले कतिबेला को र कुन समूह आफ्नो सहकर्मी बन्ने हो पत्तो शुन्यको अवस्था हाजिर पो भइदिन्छ ।

ङ) मद‌मात्सर्योन्मूख खेती – ईर्ष्या र प्रतिस्पर्धाबाट प्रादुर्भाव भएको खेती यसको दैलो भित्र पुग्छ। आफूसरहका साथीको उन्नति र प्रगतिमा डाहा पोतिएर गरिने खेती प्रतिस्पर्धात्मक खेती हो। यस खेतीमा छिमेकी र आफन्तबीच मौलाउँछ। अर्कोले पाएको मान सम्मान इज्जतबाट पीडा उत्पान्न भई गरिने यो खेती सर्वस्व स्वाहामा पुग्दा पनि बानी छुट्दैन। कुकुरले नपाएको दु:ख व्यहोर्दा पति शान्त हुन्न । आर्यघाटमा समाधिस्त वा अस्तु नहुँदासम्म यस‌ले छोड्‌दैन ।

च) अर्थोपार्जन खेती – इज्जत, मर्यादा र मानवताका सबै सीमा तोडेर गरिने खेती अर्थोपार्जन खेती हो। सरम, धरम, नैतिकता र प्रतिष्ठा जेसुकै गुमे पनि धन प्राप्त भए सर्वथोक मानिने खेती यसको मूलाबारीमा फस्टाउँछ। द्रव्य आर्जन नै यसको मूल ध्येय रहँदा यसले जुनसुकै युगमा पनि खुट्टो घुमाएको देखिन्छ।

छ) नाटकोन्मूख खेती – कानुनबाट बच्ने उद्देश्य केन्द्रित यो खेतीले निजामती राजनीतिक तह‌का व्यक्तिसँग सेटिङमा कार्यसम्पादन गर्ने ध्येय छताछुल्ल हुन पुग्छ। जुन दल या हाकिम रहे पनि उसको खेतीमा असिना पर्दैन। प्राय: कर्मचारीहरुले नै मन्त्री वा प्रधानमन्त्रीसँग परिचित गराइदिने हुँदा राजनीतिक नेतृत्वका व्यक्ति चिन्नुपर्ने झन्झट व्यहोर्नु पर्दैन ।

ज) कुक्कुटोन्मूख खेती – भाले नबास्ने देशमा पनि उज्यालो हुन्छ भन्ने मतवालम्बी यस खेतीका कामदार हुन् । उज्यालो भए जाग्ने अँध्यारो भए बास खोजिहाल्ने । नेतानेतृ हुँ भन्दै कोही आए आँखा चिम्लिएर उसैलाई भोट हालिदिने । योग्यताको जाँचपडताल वा त्यसको सामान्य ज्ञान पनि नराख्ने । अपठ्‌यारो परे डाँको छोडेर रुन पनि तयार हुने। रुवाइबाट नै समाधान खोज्ने यो वर्गको खेतीलाई कुक्कुटोन्मुख खेतीको संज्ञाले खास अन्याय न व्यहोर्ला।

झ) गफको खेती – आवसे गोठालो, जावसे बुहारी, रहोसे हलीको स्वभाव ग्रहण गर्दै जीविका धान्ने खेती आशे खेती हो। दिनभरि गोठालो लागि पूर्ण हेरचाहपूर्वक गाईवस्तुलाई गोठसम्म ल्याउनुपर्नेमा जङ्‌गल‌मा लगेर छाडिदिने जुवा, तास, व्यभिचारमा लाग्ने व्यक्तिको दृष्टान्त आवसे गोठालो हो । वस्तुभाउ आफैं बास खोज्दै आउँछ भन्ने सिद्दान्त भट्याएर अरुलाई पनि आफ्नो अनुयायी बनाउन हतारिन्छ । नाङ्‌‌लो निफन्दा जाबो एक मुठी गएर के हुन्छ ? भन्दै दिनहुँ अन्न खेर फाल्ने बुहारी यस कोटीमा पर्दछन्। हलीले छेउ र कुनाको सियो छोडेर जग्गाधनीलाई हैरान पारिदिन्छ। यस्तो प्रकृतिलाई रहोस् हली भन्दै हाम्रा ग्रामीण जीवनका भुक्तभोगीहरु चौतारीमा बसेर गफ चुट्छन् । आफूलाई अवल र अरुलाई दोयम, सीम र चाहार बनाउने उनीहरुको ध्येय हुन्छ । अनुभवजन्य यी ज्ञान लोकजीवनका लागि आवश्यक भए पनि अधिकांश व्यक्तिहरूमा आफ्नाे वडप्पन प्रदर्शन गर्ने नियत यसमा लुप्त रहेको देखिन्छ ।

खेतीका प्रकार, प्रकृति, प्रवृत्ति केलाउँदै जाँदा नौमुरी फैला पर्लान्। तिनका नालिबेली उतार्दा एउटा महाभारत जत्रै बृहत्‌काव्यको जन्म नै हुन सक्ला। फेरि थप गर्भस्त खेती कोट्‌याउँदा अनेक रूप र रङ्ग हाजिर होला । अहिलेलाई सतहमा उत्रिएका केही हल्काफुल्का खेती यति नै।

०००

२०८१-०९-१५
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x