युगल बसेलआयो आयो !
हाम्रो खप्परै उस्तै , नियति नै उस्तै ! लडाइँ छिमेकमा हुन्छ, गोली हामीलाई लाग्छ । रुघा सँधियारलाई लाग्छ, हाच्छिउँ हामीहरूले गर्नुपर्छ। बादल छिमेकमा लाग्छ, पानी यता बर्सन्छ। झरी उता पर्छ, छाता यता ओढ्नुपर्छ।

युगल बसेल :
हाम्रो मुलुक नै त्यस्तै छ, नआउनपर्ने कुराहरू यहाँ आइरहन्छन्। र आउनुपर्ने कुरा हराइरहन्छन् अनि मान्छेका आशा मासिइरहन्छन् अनि हामीजस्ता सोझासाझाका मनहरू तिर्मिराइरहन्छन्।
तीन चार दिनअगाडि एकाबिहानै मेरो टोलमा आयो आयोको कोकोहोलो फनफनायो । खैलाबैला सुनेपछि श्रवण उपकरणका मैला बाहिर हुत्याएर मैले कान ठाडा ठाडा पारेँ । खलबलीले गर्दा गिदीभित्रको गुदीले अनेक तर्क वितर्क गर्न थाल्यो। के नौलो कुरा आएछ भनेर तरङ्गित हुँदै मेरो मन अनेक थरी अड्कलबाजी गर्न तम्सिइहाल्यो।
होइन, १६ अर्बको लेनदेन गराएर अख्तियारको हतियारको निशाना बन्न थालेका ऊ ज्या मन्त्रीले बिजुलीमानसित रिसइबी साध्नका लागि सोधेको स्पष्टिकरण पो फिर्ता आएछ कि ? मन्त्रीको गिदीमा शुद्धि पो पलाएछ कि भन्ने लख मेरो दिमागमा भागाभाग गर्यो । तर यस्तो आश्चर्यजनक घटना भयो होला भन्ने कुरा मनमा एकपटक मडारिए पनि तुरुन्तै खंँगारियो।
लगत्तै अर्को अड्कलको झल्को मनमा आयो – सहकारीबाट हराएको सुधासादाको कन खाएर सँगालेको धन पो जम्माकर्ताको पोल्टामा अकस्मात् आएछ कि ? सिरीखुरी गुमाएका सहकारीपीडितको उदास अनुहारमा मुस्कानको लहर पो आएछ कि अनि त्यसै खुसीले पो यो आवाज गुञ्जाएमान गराएछ कि ? यो मुलुकमा त्यो संभावना पनि आकाश्को फलजस्तै भएकोले मेरो सोचाइमा तत्कालै दिशान्तरण भयो ।
यो बहुलट्ठी मन अर्को लख काट्न तम्सियो। राजनेताहरूको ढुकुटीबाट सुकुटी बनेर हराएको निष्ठा र नैतिकताका कारणले हायलकायल भएका जनतालाई रिझाउन निष्ठा, नैतिकता र इमान्दारीताको बुर्कुसी मार्दै आएछ कि ? त्यसै कारणले मान्छेहरूको मन रमाएछ कि? यो मामिला पनि सम्भाव्य ठहरेन ।
यसपछि मेरो मन्द मन्द बिलख्बन्दमा परेको मनमा अझ अर्को अड्कल बेगशाली भएर कुद्यो । नेपाली आम जनमानसबाट हराएको आशा र भरोसा पो इज्जतसाथ फिर्ता आएछ कि ? यस अड्कलबाजीले कताकता मनका लड्डु घिउसित लत्पतिएको आभास गरायो तर यस अनुमानलाई पनि मेरो अन्तरमनले सहजै स्वीकार गर्न सकेन।
यो बेमान मनलाई तरङ्गित हुँदै अन्दाज गर्न दस्तुर तिर्नका लागि कन्तुर रित्याउन नपर्ने भएकाले नानाथरी अन्दाज गर्न यो अनायासै उद्यत भइरहन्छ। त्यसैले यसले तत्कालै चौथो अन्दाज पनि गरिहाल्यो। कतै दिनप्रतिदिन चुलिँदै गएको महँगीको मारले थलिएका बिचराहरुलाई राहत दिन सहँगी पो आएछ कि ? यो त झन् मरुभूमिमा जलप्रपातजस्तै असम्भव थियो ।
यसपछि बरालिएको म लठुवाको अक्करो मनमा तत्कालै झन् अर्को अड्कल तत्कालै कुदिहाल्यो । सुखी नेपाली र समृद्ध नेपाल भन्ने फलाको फलाक्ने नेताको उधारो सपना पो विपनामा रुपान्तरण भएछ कि ? सो आगमनले दिनदुखीका मझेरी र आँगनबाट दुःख कष्ट तिरोहित पो गराए छ कि ? सरकारले एकाबिहानै जादुको लठ्ठी पो चलाएछ कि ! यो त झन् अपत्यारिलो कुरा हो भन्ने ठोकुवा गर्न मेरो अन्तरमनले आइतबार कुरेन ।
यही कुरा मनमा खेलाइरहँदा यस लेखुवाको मन अर्को अड्कलको ठोकुवाको लागि अगुवा भयो। बेथिति, भ्रष्टाचार र दुशासनले थलिएका बबुरा नागरिकहरूलाई त्राण दिनका लागि सुशासनको उज्यालो पो आजको बिहानीले ल्याएछ कि ? त्यसै खुसियालीले मान्छेका मनहरूलाई रन्काएर यो आयो आयोको कोलाहाल घन्काएछ कि ? यो कुरा पनि हाम्रा लागि स्यालका सिङ भेट्नुसरह भएकाले यस अनुमानमा समेत मेरो गुमान (सन्देह) पैदा भयो ।
मेरो मन मस्तिष्कमा फेरि अर्को अड्कल तीव्र गतिमा बतासियो । मौजुदा निराशा, असन्तुष्टि, आक्रोश, क्लेश ताप र विरक्तिलाई बढार्दै मनचिन्ते परिवर्तन पो जगमगाउँदै र झलमलाउँदै बस्ती बस्तीमा सलबलाएछ कि ? यस अनुमानलाई पुष्टि गर्ने आधार कतै फेला नपरेपछि म त्यसै त्यसै रन्थनिएँ ।
यस्तै उस्तै दिमाग खलबलाउने अन्दाजहरू बिन्दास पारामा अन्तकरणमा रगरगाइरहेका बेला , मनमा टनका टन मनका मन लहरहरू चलाएमान भैरहेको बेला हल्लीखल्लीको असली गाँठी कुरो त भुइँचालो पो रहेछ भन्ने रहस्य खुल्यो । धर्ती हल्लाएको शक्तिले टोलबासीहरूको मनहरूलाई हल्लाउनसम्म हल्लाइदिएकोले आयो आयोको खैलाबैला सलबलाएको रहेछ।
बुझ्दै जाँदा भुइँचालो छिमेकी मुलुकमा आएको रहेछ। दिङ्गीमा उब्जेको धङधङीले यता पनि हल्लाएको रहेछ। हामी नेपालीलाई कति हेपिनु र चेपिनु परेको हो ? छिमेकमा भुइँचालो आउँदा हामीहरु हल्लिरहनुपर्ने ? यो त ठूलै विसंगतिपूर्ण कुरा होइन र ? जस्तोसुकै असंगति विसंगति भए पनि नालिस कहाँ गएर दिने ?
हाम्रो खप्परै उस्तै, नियति नै उस्तै ! लडाइँ छिमेकमा हुन्छ, गोली हामीलाई लाग्छ । रुघा सँधियारलाई लाग्छ,
हाच्छिउँ हामीहरूले गर्नुपर्छ। बादल छिमेकमा लाग्छ, पानी यता बर्सन्छ। झरी उता पर्छ, छाता यता ओढ्नुपर्छ। यी गुनासाका पेटाराहरूलाई, नालीबेलीका पोका पुन्तुरालाई कहाँ गएर फुकाउने, बिसाउने,उजुरबाजुर कसलाई गर्ने ? आफ्नै मनलाई सुनाउने, आफैले सुन्ने बाहेक अरु विकल्प पो के छ र बरै ?
०००
तुम्कोट, सन्धिखर्क- १, अर्घाखाँची ।










































रोचक र घोचक
🙏