कुमार खड्कातपस्वी ढाडे
अनि धोखेबाज बिरालोको कालो करतुतको पर्दाफास भएसँगै आफ्ना बन्धु गुमाउनुको पीडा, आत्माग्लानी, हिनता बोध, कुकर्मी ढाडेको विश्वासघातको पीडाले झन् पश्चाताप हुन्छ, उनीहरुलाई ।

ई. कुमार खड्का :
असत्ती ढाडे ! मरि जा…!!
धोखा पाएका मुसाहरु एकै स्वरले कराउँछन् ।
“हेर्दा तपस्वी ओढ्छस् धुस्सा
खान्छस् कन्दमुल हग्छस् मुसा…!
विश्वास गरिदा धोकामा परियो
नर्कमै वास होस् तेरो सात पुस्ता…!!”
०००
कुनै देशमा एउटा ढाडे बिरालो हुन्छ । बिस्तारै बुढेसकाल हुँदै जाँदा सिकार गरेर खान नसक्ने अवस्था हुन्छ । भोकले सताइरहदा उसको मनमा एक्कासी एउटा उपाय फुर्छ । ऊ गेरु वस्त्र लगाएर तपस्विको भेषमा तपस्या मग्न भएको नखरा पार्दै मुसा हिँड्ने मार्गको छेउमै बस्छ । त्यो देखेर मुसाहरु छक्क पर्दै आपसमा मुखामुख गर्दै अलि टाढाबाट ढाडेलाई प्रश्न गर्छन्, के गरेको बिरालो दाइ यस्तो ?
बिरालोले सुस्तरी युवास्थामा उनीहरु जस्ता मुसा मारेर धेरै अपराध गरेकोले अब वृद्धावस्थामा पाप कटनी गर्न तपस्या गरेको कुरा गर्छ ।
बरु उसलाई पनि भोक लागेको र आइन्दा उनीहरुसँगै खानेकुरा खोज्न खेतमा जाने र अरु बिरालोको आक्रमण विरूद्ध उनीहरुको पनि सुरक्षा गर्ने विश्वास दिलाउन खोज्छ ।
सुरुमा कसैले पत्याएनन् र हैन होला भने । नित्य उस्को कर्म, व्यवहार देखेर मुसाहरुलाई पनि दया लाग्यो र उनीहरुसँगै खाना खोजिमा लैजाने, तर धोखा नदिने कसम खुवाउँछन् ।
ढाडेले कसम खाँदै धोखा हुँदैन भनेर मुसाहरुको रक्षकको रुपमा काम गर्ने वाचा गर्दै उनीहरुको लाइनको अन्तिममा गस्ति गरेझैँ गरेर हिँड्ने अनुमति पाउँछ । अनि नित्य खानाखोजिको कर्म सुरु गर्छ । अलिदिन सँगसँगै हिँड्छ । साकाहारी खाना खोजेरै खाएको र सुरक्षा प्रत्याभूति समेत महसुस भएकोले मुसाहरुलाई पनि विश्वास जाग्न थाल्छ ।
विश्वास जित्दै गएपछि जब मुसाहरु लामबद्द भएर निर्धक्करुपमा हिँड्न सुरु गर्छन्, बेलुकी गुँडमा फर्कने बेला ढाडेले अन्तिमको मुसोलाई च्याप्प पारेर आहारा बनाउन सुरु गर्छ । केही दिनसम्म थाहा भएन छ । विस्तारै आफ्नो लाईन घट्दै गएको देखेर मुसाहरुको मनमा शङ्का उत्पन्न हुनथाल्छ । उनीहरुको मिटिङ बस्छ, संख्या गन्ती हुन थाल्छ । हरेक दिन आफ्ना बन्धुहरुको संख्या घट्दै गएको थाहा भए पश्चात उनीहरुले बिरालोको चियो गर्न सुरु गर्छन् । ढाडेले आची गरेर पुरेको ठाउँको खानतलासी गर्छन् । त्यहाँ आफ्ना बन्धुको हाड, छाला, पुछरका अवशेष दसि प्रमाणको रुपमा फेला पार्छन् । अनि धोखेबाज बिरालोको कालो करतुतको पर्दाफास भएसँगै आफ्ना बन्धु गुमाउनुको पीडा, आत्माग्लानी, हिनता बोध, कुकर्मी ढाडेको विश्वासघातको पीडाले झन् पश्चाताप हुन्छ, उनीहरुलाई ।
आइन्दा ढाडे चरित्रको भण्डाफोर गर्दै कहिल्यै विश्वास नगर्ने प्रण गर्दै ज्यान जोगाउन आ आफ्नो दुलोमा पस्दछन् । दुलोबाट एकै स्वरमा कराउँछन्…
असत्ती ढाडे ! मरि जा…!!
“हेर्दा तपस्वी ओढ्छस् धुस्सा
खान्छस् कन्दमुल हग्छस् मुसा…!
विश्वास गरिदा धोकामा परियो
नर्कमै वास होस् तेरो सात पुस्ता…!!”
ढाडेले सुस्तरी उत्तर दिन्छ..
मूर्ख मुसा हो !
” विश्वास गर्यौ त म के गरौं ?
वाध्यता हो नि मेरो, कि म आफैं मरौं ?
जात शिकारी, शिकार तिमीहरुनै हौ
अझै विश्वास गर्दैछाै त स्वकर्म नगरौं..?”
अन्तमा…
धोकामा कसैले, कहिल्यै पर्न नपरोस् !
सिदासादा मुसाहरुको बुद्धि फिरोस् !!
अस्तु…!!!
०००
आलापोट, काठमाडाैं ।
Subscribe
Login
0 Comments
Oldest








































