सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उज्यालो अँध्यारो

काँचको पर्दामा लाठी चलेकाे, ढुङ्गा वर्षेको, जलेको टायरबाट निस्केको धुवाँ उडेको, बन्दुक पड्‌केको र मानिसहरू भागाभाग गरिरहेका, चिच्च्याइरहेका र धेरै मानिसहरूको टाउकोबाट रगत बगिरहेको दृश्य प्रत्यक्ष प्रसारण भैरहेथ्यो ।

Nepal Telecom ad

दिव्य गिरी :

(आधुनिक धृतराष्ट्र र सञ्जयविचको वार्तालाप)

‘प्रिय सञ्जय ।’ महाराज धृतराष्ट्रले तमाखुको धुवाँ हावामा उडाउँदै बोलाए । हजुरकै निकट छु महाराज’, विनम्रतापूर्वक सञ्जयले धृतराष्ट्रतर्फ हेर्दै भने ।

‘आजको लडाई कस्तो चलिरहेछ ?’
‘महाराज, लडाई अहिले हस्तिनापुरबाट सरेर सडकमा केन्द्रित छ ।’
‘सडकमा लडाई यो के भन्दैछौ सञ्जय तिमी ?’
‘हो महाराज, अहिलेको लडाई सडकमा लडिन्छ ।’
‘कारण ?’ धृतराष्ट्र अलिक उत्सुक भए ।

‘प्रभु क्षमा पाऊ महाराज ।’ मेरो मुखबाट पनि प्रभु शब्द निस्कियो, दुवै हात जोडेर विनीत भावमा स्वयंले भनेँ ।

‘क्षमा कस्तो क्षमा ? प्रभुभन्दा तिमीले किन क्षमा माग्नुपर्ने ?’ धृतराष्ट्रले ओठमा पुऱ्याइसकेको हुक्काको नली हटाउँदै एकैपटक तीन प्रश्न सोधे ।

‘आजकल यहाँ प्रभु शब्दको अर्कै अर्थ लाग्न थालेको छ महाराज ।’ मेरो मुखबाट पनि फुत्किहाल्यो त्यसैले ।

‘ल भैहाल्यो मलाई शब्दको अर्थ होइन लडाईको वर्णन सुनाऊ, धृतराष्ट्रले तमाखुको लामो सको तानेर धुवाँलाई माथितिर बिस्तारै फुरुरु पारेर छोडे । धुवाँले कोठा कुहिरीमण्डल भयो ।

धृतराष्ट्रको आदेशानुसार सन्जय आधुनिक काँचको पदां (टेलिभिजन) वाट प्रत्यक्ष प्रसारण भैरहेकाे लडाईको दृश्य हेरेर हुबहु सुनाउन थाले । किनकि अब उनलाई त्रेतायुगमा जस्तै दिव्यदृष्टिको आवश्यकता थिएन ।

‘महाराज, यतिबेला ठुलो सङ्ख्यामा भेला भएका बच्चा, युवा, बुढा तया आइमाईहरू हातहातमा लाठी, गुलेली र ढु‌ङ्गा लिएर सडक नै छपक्क ढाकेर बसिरहेछन् । देशको सुरक्षाको जिम्मा पाएका सुरक्षाकर्मीहरू पनि हातमा बन्दुक, अश्रुग्यास र लामालामा लाठो बोकेर भीडको सामु पर्खालकै हार उभिएका छन् र भिडतर्फ एकटक हेरिरहेछन्, मानौं उनीहरूबीच कुनै पनि बखत झडप हुनसक्छ। त्याे झडप नै लडाईभन्दा कम हुँदैन महाराज ।’

‘एकछिन्… एकछिन् सञ्जय, यो लडाई केको निम्ति रे ?’ बीचैमा रोकेर धृतराष्ट्रले सोधे।
‘कुर्सीको लडाई महाराज ।’
‘सिंहासनको लागि होइन ?’
‘होइन महाराज, सिंहासनको लडाई सकियो अब त्यसको ठाउँमा कुर्सीको लडाई । यो कुर्सी पनि सिंहासनभन्दा कम महत्त्वपूर्ण छैन महाराज त्यसैले । ‘

धृतराष्ट्र तान्दातान्दैको तमाखुलाई रोकेर एकछिन घोरिए। सञ्जय धृतराष्ट्रलाई हेर्न थाले।

‘हाम्रो पालामा त राज्यको निम्ति लडाई हुन्थ्यो। अहिले कुर्सीको निम्ति ? धृतराष्ट्रले केही सम्झेजस्तो गरी भने ।

‘हो महाराज, अहिलेको युग नै कलियुग हो। यहाँ राज्यभन्दा पनि ठुलो कुर्सी भएको छ। त्यसैले यहाँ दिनरात कुर्सीको निम्ति मात्रै लडाई भै रहेछ । किनकि कुर्सी नै सवैभन्दा महत्त्वपूर्ण भएको छ।’

‘सन्जय ।’
‘आज्ञा होस् महाराज ‘
‘तिमीले भनेको यो लडाई अब कसले जित्ला त ?’
‘भनिहाल्न मुस्किल छ महाराज ।”
‘तैपनि ।’
‘यो कलियुगमा हिजोआज सत्य सधैं कुण्ठित छ। शान्ति सधै अवरुद्ध छ।’

‘अनि प्रजा अर्थात् जनता अर्थात् आम मानिसहरू के चाहन्छन् ?’

‘महाराज, उनीहरू त यो कुर्सीको लडाइँको अन्त्य चाहन्छन् र शान्तिसँग बाँच्न चाहन्छन् । सुशासन र सु-व्यवस्था चाहन्छन् । लडाइँको वर्णन जारी राखुँ महाराज ?”

‘सञ्जय, हेर त… यो चिलिमको आगो निभिसकेजस्तो छ । म बाहिरी संसार त देख्न सक्तिनँ तर पनि म उज्यालो भएको कुरा सुन्न चाहन्छु न कि अँध्यारो परेको ।’ हातको हुक्का चिलिम सञ्जयतर्फ बढाउँदै धृतराष्ट्रले भने ।

यता सञ्जय हातमा हुक्का चिलिम लिएर उभिइरहे। उता काँचको पर्दामा लाठी चलेकाे, ढुङ्गा वर्षेको, जलेको टायरबाट निस्केको धुवाँ उडेको, बन्दुक पड्‌केको र मानिसहरू भागाभाग गरिरहेका, चिच्च्याइरहेका र धेरै मानिसहरूको टाउकोबाट रगत बगिरहेको दृश्य प्रत्यक्ष प्रसारण भैरहेथ्यो ।

०००
समकालीन साहित्य- ७८ (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चम्चाको सालिक

चम्चाको सालिक

दिव्य गिरी
चार ठोक्तक

चार ठोक्तक

दिव्य गिरी
चार ठोक्तक

चार ठोक्तक

दिव्य गिरी
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x