साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी

उनी आफूले तीन विषयमा डिग्री हासिल गरेकोले मैमत्त छन् । आफ्‌नो शरिर त राम्ररी सफा गर्न नसकेर डुङ्डुङ्ती गन्हाएका तिनको बुद्धि देखेर कसलाई बुद्धिजीवी मान्ने दोधारमा बसेको छु ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

बुद्धिजीवी ओज बोकाउने शब्द हो कि बोझमात्र बोकाउने शब्द हो भनेर चिया चौतारीमा चिया पारखीहरूले गरेको विवाद मैले प्रशस्त सुनेको छु ।मेरो भुत्ते दिमागलाई धार लगाएर धेरैबेर गहन विचार गर्दा आफ्‌नो जीवन चलाउन बुद्धि भुट्नेहरूलाई नै बौद्धिक भनेर टाउकोमा चढाएको कुरा पत्ता लागेको छ । तपाईलाई विश्वास लागेन भन्दैमा मेरो टाउकोमा धन ठोक्ने काम नगर्नुहोला ।जे गर्नु छ आफैँ गर्नुस् मेरो गुनासो रहने छैन ।

मासले हो कि समासले हो बुद्धिले जिउनेलाई बुद्धिजीवी भनेको । मास भए दाल बनाउन हुने । यो समासको न हात समाएर हिड्न सकिने न काँधमा चढाएर काँधेकुरी हाल्न मिल्ने । बनोट नै दिगदार लाग्दो भएपछि बुद्धिजीवी देख्दा वाक्क लाग्न खोज्नु तपाई हाम्रो स्वभाव नै हो ।आधुनिक बुद्धिजीवीलाई देख्दा पेट बटारेर वाक्क लाग्न खोज्छ । आफ्‌नो प्रतिष्ठा जोगाउन नसक्दा यो शब्दको अस्तित्वमा सङ्कट उत्पन्न भएको छ । समाजबाट पलायन भएर बुद्धिजीवी अहिले युट्युवमा सिमित भएका छन् ।कोही कठघरमा आफ्‌नो बुद्धि परीक्षण गरिरहेछन् । कोही एक्लै चिच्याएर हिडिरहेका छन् । यसरी समाजमा असरल्ल बुद्धिजीवी हँुदा पनि समाजलाई धमिराले किन खाइरहेछ ज्योतिषीले खुट्याई समस्या निदान गरिदिन्छ भनी सबै प्रार्थना गरी बसेका देखिन्छन् ।

हात जोडेरे, शिर झुकाएर बत्ती बालेर आरती गरेपनि बाहिर बोक्रो भित्र खोक्रो बुद्धिजीवी भन्दा कोही भेटिन्न अचेल । किन यसले यसो भन्यो भनेर तपाईको यौटा औला मतिर सोझो भएको म देख्दै छु । प्रत्येक मानिसले आफूलाई बुद्धिजीवी ठान्छन् । प्रत्येक मानिसले आफूलाई आविष्कारक सम्झन्छन् । दुनियाँलाई लडाएर तमासा हेरी यसो गर्नु ठिक र यसो गर्नु बेठिक भन्दै न्यायाधीश बन्न खोज्नेहरूले आफूलाई बुद्धिजीवीको दर्जा दिएको देख्दा हाँसो उठेर आउँछ । यही कारणले गर्दा अचेल सभाहरूमा सर्वसाधारण कम र अतिथि ज्यादा देख्ने अवसर मिल्छ । अरुको तमासामा ताली बजाउने होस् वा अरुको बस्ने गालामा औलो हालेर खुचिङ गर्ने सबै हाम्रो समाजका बुद्धिजीवी नै हुन् । नामभन्दा बढी बद्नाममा रमाएका पात्र । यी घाँटीमा रुद्रघण्टी नभएका वर्गभित्र पर्दछन् ।

समयले सबैलाई एक से एक बनायो । घरमा छिमेकमा, समाजमा,गाउँमा जन्मेर आमाको छातीमा मुख नपु–याएकादेखि सास जानलाई तुलसीको मोठमा निकालेका सम्म आफ्‌नो बुद्धिको प्रयोग गरी बुद्धिजीवी बन्ने दौडमा रहन्छन् । घरको चुलोमा गोबर लोटाउनेदेखि नासामा झाडु लगाउने सबै बुद्धिजीवी वर्गका प्रतिनिधि पात्र हुन् । बुद्धिजीवी अहिले बैंकले ऋण दिए जस्तो किस्तामा खरिद गर्न पाइन्छ । दलका अदलबदल संगठनमा टिके बुद्धिजीवी, समाजका रैथाने बुद्धिजीवी, ठेग्गापट्टाका ठोकठाक बुद्धिजीवी, बजारका दाउपेच बुद्धिजीवी, विद्यालयका भुत्ते बुद्धिजीवी, हगन गौँडीका मुला बुद्धिजीवी समाजमा मौलाएका छन् ।

सभामा अतिथि आसन ग्रहण बुद्धिजीवीको मात्र हुन्छ ।अतिथिलाई सभाको शोभा मानेर खादा माला लगाई शृङ्गार गरिन्छ ।सभामा मान मर्यादाको कमि नहोस् भनेर आयोजक कति दिनदेखि अर्ध निद्रामा भतभताइ हिँडेको कसलाई थाहा हुन्छ र ? सभामा बेलुकाको बासी भात ग्रहण गरी विराजमान भएको अतिथिले ग्यास च्याम्बर विस्फोटन गरायो भने अर्को अतिथिले नाकको सुरुङ मार्ग बन्द गर्न अचानक हात पु–याइ मुख आँ गरी भित्र पर्दापण गराउँछ । यो सबै देखिरहेका तपाई हामी लाटागाँडा त बुद्धिजीवीले योगा गरेका रहेछन् भनेर त्यसै गर्न थाल्दछौँ । सभा एकाएक शान्त भएको देखेर उद्घोषक अग्र भागमा आएर अरुले गरे झैँ गर्न थाल्दछ । सोही समयमा प्रमुख अतिथिले पिच्च खैनी थुक्छ सबैले त्यसै गर्छन् । त्यही बेला उद्घोषकले ताली बजाएर ग्यास च्याम्बर विष्फोटन योगा भङ्ग गराइ दिएर कार्यक्रमलाई पुरानै लयमा फर्काउँछ । यस्तो घटना भोग्नेहरू तपाई र म बाहेक भुक्तभोगी अरु को नै होला र ?

मेरो छिमेकमा एक जना आफूलाई बुद्धिजीवी भनेर मयूर पङ्खी घोडा चढ्ने ब्यक्ति बस्छन् । उनको हात प्राय पछाडि नै हुन्छ ।हात अगाडि ल्याए अरुलाई सल्लाह दिनुपर्छ । निःशुल्क सल्लाह दिने अरुको जस्तो आफ्‌नो बुद्धि नभएको उनको धारणा रहेको छ । उनी चाम्रे बुद्धिजीवीका रुपमा परिचित छन् । उनी सल्लाह र सुझाव दिन पछि सर्छन तर आलोचना गर्न अगाडि सर्छन् ।आफूसँग नसोधी कसैलाई सल्लाह दिनु आफ्‌नो गलामा छुरी राखे समान हुने उनको बुझाइ छ । कुनै पनि स्थानमा उनको बौद्धिकता प्रयोग नहुने भएकोले उनलाई कसरी बुद्धिजीवी मान्ने ? उनी आफूले तीन विषयमा डिग्री हासिल गरेकोले मैमत्त छन् । तिनको डिग्रीले न गाउँलेको झैझगडा मिलाउन सक्यो न तमसुक लेखिदिन सक्यो । आफ्‌नो शरिर त राम्ररी सफा गर्न नसकेर डुङ्डुङ्ती गन्हाएका तिनको बुद्धि देखेर कसलाई बुद्धिजीवी मान्ने दोधारमा बसेको छु ।

अहिले समाजमा बुद्धिजीवीको लावालस्कर छ । फेसबुके र युट्युबे बुद्धिजीवीले बजार सिनिक्कै पारेको छ । त्यसपछि राजनीतिक दलका कार्यकर्ता बुद्धिजीवीका रुपमा भ्रमको खेती गरिरहेका छन् । जनता निर्धो बनेर कहिले सम्म उनीहरूको जयगान गाउँदै झिँगा धपाउने यसको गहन समीक्षा गर्नु आवश्यक रहेको छ । हामी अरुको बुद्धिमा हैन आफ्‌नै बुद्धिमा बाँच्ने बुद्धिजीवी बनौँ ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x