मुकुन्द आचार्यबिहेमा केके दिए ?
बिहेको विशिष्ट आकर्षण, जन्तेबाख्राे, माग्न जानेलाई कन्याका पिताले नेपाली र भारतीय दुवै किसिमका पञ्चाङ्ग देखाएर एकादशी तिथि परेको प्रमाणित गरेर, जन्तेबाख्रो दिने चलन आफ्नो कुलमा भूलले पनि राम्रो नहुने व्यहोरा बयान गरे ।

मुकुन्द आचार्य :
हाम्रा पुर्खा कागको फुल चोर्न सक्ने खालका थिए । नमुना टक्र्याऊँ ? हिन्दी भाषामा यौटा प्रसिद्ध उखान छ- ‘सारी खुदाई एक ओर जोरूका भाइ एक ओर ।’ अर्थात् सारा संसारभन्दा सालो प्यारो हुन्छ रे । हाम्रा पुर्खाले जरै समाए- ‘गुन्दुक पकाउनु पर्दैन, साली फकाउन पर्दैन ।’ साली हुनेहरूले तामातुलसी छोएर किरिया खाऊन् त, यो उखान सुन्नेबित्तिकै मुखदेखि मुटुसम्म रसाएर आउँछ कि आउँदैन । यसका लागि हामीले हाम्रा पुर्खालाई मुटुकै खाल्टोदेखि एक मुठी धन्यवादको हिलो सोहोरेर छ्याप्नैपर्छ । किनभने सालाभन्दा सालीबाट नै गोप्य लाभहरू प्राप्त हुने बढी सम्भावना देखिन्छन् ।
तैपनि सालाहरूको मोल कहाँ घटया छ र । उनीहरूले पीर मान्नु पर्दैन । हाम्रा पुर्खाले उखान बनाउन जानेनन् भन्दैमा मन छोटो गर्नु हुन्न । कम बेस मात्रै हो, सालोको पनि माया नलाग्ने त कहाँ हो र ? के गर्नु, आफ्नो त कर्मै सय ठाउँमा कुच्चिएको सिलबरे ठाँडोजस्तो भएर हो कि क्या हो, आफूलाई त सालाकै म्वाइ खाइदिऊँखाइदिऊँ जस्तो लाग्छ ।
एक दिन एउटा आकर्षक पत्र आयो- रङ्गीचङ्गी, निम्ता लेखिएको, कुनामा रातो मसीले ठूलो आकारमा चु. लेखिएको । हृदय त भित्तेघडीको पेन्डुलमजस्तै डिस्को गर्न लाग्यो । खोलेर हेर्दा त ब्राकेटमा लेखिएको थियो- (सपरिवार सात दिनअगावै ! ) यो अनिकालमा यस्तो उदार निमन्त्रणा । खुसीले त मुटु शरीरबाट बाहिर निस्केर नाचुँला जस्तो गर्न थाल्यो । बल्लबल्ल थामथुम पारेर बौलाहा मुटुलाई तह लाएँ। साला रामको बिहे रै’छ र पो ।
श्रीमतीले सेन्सरको कैची (जिब्रो) चलाइन्- ‘सात दिनअगावै जाँदा लाज हुन्छ, पाँच दिनअघि गए राम्रो ।’ पहिले भन्थे- ‘बाबा वाक्यं प्रमाणम्’ अचेल त्यो संशोधित भएको छ- ‘पत्नी वाक्यं प्रमाणम् ।’ म अपवादमा परेर सिविल वार (गृहयुद्ध) किन मोल लिन्थें ।
म आफ्नो साउँ (बूढी) र ब्याज (भन्ट्याङभुन्टुङ) लिएर पाँच दिनअगाबै विशिष्ट लुगाफाटाहरू र अन्य आवश्यक वस्तुहरूको कुम्लोकुटुरो बोकेर हानिएँ – ससुरालीतर्फ । हृदयमा उर्लंदो उमङ्ग, खुट्टामा फाल्तु फुर्ती, हातमा झाेलाझाेली, पछिपछि छोराछोरीको लामो लस्कर- मेरो जुलुस राम्रै थियो भन्न करै लाग्छ । कसैकसैले कमिलाको ताँती भन्लान्, भनून् । भन्नेको मुख र सुन्नेको कान कल्ले थुन्ने !
पायक परेको विभागको कुलदेउता (हाकिम) को बैडू-व्यालेन्सकै, ससुरालीमा पुग्नेबित्तिकै शुभसमाचारहरूले दुवै कान टन्न भरिए – आहा । केटी ! बती बाल्नैनपर्ने । ससुराको कुलघरान पनि ठूलो, खूब दिन्छन्- यसो दिन्छन्, उसो दिन्छन् । कुनै मन्त्रीसँग गोरु बेचेको साइनो पनि छ रे । बिहे भएको भोलिपल्टै हाकिम हुन पाइने ।’ मिष्टान्नहरूले मुख र यस्तैयस्तै हर्षोद्गारहरूले कान गुन्जिदाे भयो ।
मेरो ससुराली गाउँका जनताजर्नादन परे ज्यादै मिलनसार, व्यवहारमा निथ्रुक्क भिजेका र अरूको दुःखमा चुर्लम्म डुबेका । गाउँमा यौटा घरबाट एक जनालाई बोलाएको छ भने चार-पाँच जवान जन्त जान तयार । सहयोग गर्ने यत्रो ठूलो भावना मैले अन्त कतै देखिनँ । एकअर्काको सुखदुःखमा यसरी उदारतापूर्वक सहभागी बन्ने गाउँलेहरूको विशाल हृदय देखेर म त दङ्गै परें । कोही भन्छन्- निम्ता त थिएन, तैपनि हामी बाबुछोरा जान्छौं । यस्तै सुखदुःखमा त हो नि छिमेकी र समाजले मद्दत गर्ने ।’ मनमनै उनको सहयोगको भावनालाई मैले साष्टाङ्ग दण्डवत् गरें । एक जना अर्का सज्जन हातमा डोरी लिएर फुन्डिएर मर्न रूखतिर लम्कँदै थिए । ‘जन्त जान पाइन्छ, नमर्नोस्’ भनेपछि बल्लबल्ल उनले प्राणत्यागको अठोट त्याग गरे ।
‘पाए अन्त नपाए लखनेको जन्त’ भन्नेहरू बसमा खाँदिए । मैले एक जना जन्तजनार्दनलाई सोधे– ‘हैन, केटीका बाबुले गुड्ने चाँजो राम्रै मिलाउँछु भनेका थिए रे ! किन हामीले गुन्द्रुक हुन परेको !’ आफ्नो कन्चटको पसिना अर्को जन्तीको जीउमा दल्दै उनी फतफताए- ‘केटीका बाबु गल्ड्याङ्ग्रा छन् र धेरै सवारी पठाएर आफ्नै खुट्टामा बन्चरो चलाऊन् ।’ यत्ति जाबो कुरा पनि बुझ्न नसकेकोमा म लाजले गुटुमुटु भएँ ।
कच्चा बाटो र मोटरमा घच्चा खाँदै जन्तजनार्दन बेहुलीको घरअघिल्तिर वर्लंदा त सबै हिमाल सिमेन्ट कारखानाका कुल्लीजस्ता । बेहुलीका बाबु स्वागत गर्न आउलान् भनेको त उनको एउटा चाकर आएर चर्कन्छ- ‘हामीले बाटो बनाउन पचास जवान मात्र मगाएका थियौं, के खान यी मोरा सय जवान कुल्ली मरेका । बेहुलाले साबुन दलेर मुख धोएपछि मात्र हामी कुल्ली नभएर जन्त हौं भन्ने कुरा प्रमाणित भयो ।
खानेपिउने व्यवस्था राम्रो थियो भन्नुपर्छ, अधर्म बोल्नु हुँदैन । किनभने छेरौटीको प्रकोपले सबैको कोष्ठबद्धता दूर भयो । जन्त भएर अन्त आएका सबैका वायु र अपानवायु समान मात्रा र समान वेगले निकासी र पैठारी हुँदै थिए । बिहेको रमाइलो छोडेर सुत्ने त कुरै थिएन, त्यसैले होला कतैतिर पनि सुत्ने व्यवस्था थिएन ।
राति यज्ञमा बेहुला त अकस्मात् मूर्च्छा परेर लडेछन् । हाहाकार मच्चियो । बिहेको कार्यक्रम जहाँको तहाँ थच्चियो । पानी छम्की, पंखा हम्की परेपछि बल्लबल्ल बेहुलाको बौलट्टी हरायो। सबैले मूर्च्छाको मूल खोजे ।
भोलिपल्ट बिहान बिहे सकिएपछि पो बेहुलाले रहस्य खोले- ‘भिनाजु । बिहेको कामकुरा छिन्दा त बेहुला र सम्धीलाई सामानले पुरिदिन्छौं भनेका थिए । माछा बल्झाउन चारो पो हालेका रे’छन् । त्यसैले म मूर्च्छा परें !’
मैले सालाको गालामा प्रेमपूर्वक प्याट्ट पारें अनि भनें– ‘लाटा, विहेको दुई- चार दिन त हो नि रमाइलो मान्ने । त्यसपछि त जीवनभरि मूर्च्छा पर्नु, बेहोस हुनु, बौलाउनु – यी सबै त छँदै छन् नि ।’ खै, कुरा बुझेर हो वा नबुझेर हो सालोले मुखको सुर्ती पिच्च पार्यो र ङिच्च पर्यो ।
भर्खरभर्खर जुंगाको रेखी बस्न लागेका दुई-चार जना हाल आवादी नवयुवक जन्तीले मधुरो स्वरमा केटीपक्षको सुव्यवस्थामा केही समालोचना गरेछन्। केटीपक्षका विशेष प्रहरीले (स्वागतार्थीहरूले) ती समालोचकहरूलाई समाएर असभ्य भाषामा सभ्य पाराले नसियत दिएर छाडेछन् ।
बिहेको विशिष्ट आकर्षण, जन्तेबाख्राे, माग्न जानेलाई कन्याका पिताले नेपाली र भारतीय दुवै किसिमका पञ्चाङ्ग देखाएर एकादशी तिथि परेको प्रमाणित गरेर, जन्तेबाख्रो दिने चलन आफ्नो कुलमा भूलले पनि राम्रो नहुने व्यहोरा बयान गरे । उदाहरण दिए- उनको हजुरबुबाको काकाकी छोरीकी मितिनीको बिहेमा जन्तेवाख्राे दिँदा त्यस वर्ष एउटी बालबिधुवाले कुन्नि कसको हो पेट बोकेकी थिइन् रे ।’
बिचरा कति जनाले चार-पाँच वर्षदेखि मासु चाख्न पाएका थिएनन् । स्वादै बिर्सिएला भन्ने ठूलो डर । जन्तेबाख्राे खाएर स्वादलाई ‘रिन्यु’ गर्ने बिचराहरूको योजना पनि नेपालका धेरै योजनाहरू झैं जन्मनै नपाएर मरे ।
जेजस्तो भए पनि बेहुली र दाइजो बेहुलाद्वारा लगिए, वेफ्वाँकमा जन्ती मात्र ठगिए ।
अचेल जहिले पनि ती सालाराम भेट हुँदा म तिखार्दै मुखको बैरी हुन्छ ‘बाबू । बिहेमा केके दिए ?’ सालो लाज मानेर भन्छ- ‘एक थान दुलही र सय थान दुःख दिए ।’
म पनि ‘स्वसुरगृह निवासी स्वर्गतुल्यो नराणाम्’ भन्दै मज्जाले पाँच- सात दिन बसिदिएँ – स्वर्गमा अर्थात् ससुरालीमा, कसैलाई कुनै आपत्ति छ ?
०००
मिर्मिरे २०४२ भदौ, अङ्क ५४।









































क्या मजाको हास्य रस