साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिटिनु पिटिनुमा अन्तर

साहित्यका लागि यो के चानचुने उपलब्धि हो त ? पिटिएर भए पनि लेखक सरुवा गराउनेयोग्य हुँदो रहेछ ! यो त सन् १९७३ को सबैभन्दा ठुलो साहित्यिक उपलब्धि पो हो त ! तर एकेडमीले माने पो !

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

(यो आत्मप्रचार होइन । प्रचारको दायित्व त मेरा विरोधीहरूले लिएका छन् । यसबाट म मुक्त भएको छु । यो ललित निबन्ध हो ।)

धेरै जना भन्ने गर्छन् – ‘तिमी पिटियौ । राम्रै भयो । तर तिम्रा केवल दुईवटा अखबारी वक्तव्य मात्र छापिए । तिमी त लेखक हौ नि ! एकदुईवटा कथा लेख । रिपोर्ताजहरू लेख । नभए कुनै ललित निबन्ध नै लेखिदेऊ । पिटिनु पनि छ र साहित्यिक रचना पनि छैन ? यो साहित्यप्रति ठुलो अन्याय हो । मानिसहरूलाई चरिफाइँ (छारे) भयो भने पनि त्यसैमाथि उपन्यास लेखिदिन्छन् । एउटा टी हाउसमा दुई जना लेखकहरूमा केवल आमाचकारी गालीगलौज भएको थियो । दुवैले दुईवटा कथा लेखिदिए । दुवै राम्रा । एउटाले पहिलोलाई नीच भनेर लेखे । अर्काले लेखे, म होइन, ऊ नीच हो । पढ्नेहरूले दुवै जना नीच भएको निष्कर्ष निकाले । फेरि मानिसहरूले दुवैजना मिलेको पनि देखे । सँगै चिया पिएको देखे । दुवैजनाले आमाचकारी गाली पनि मनमा कलेस राखेर दिएका थिएनन्, अपितु साहित्यसाधनाका निम्ति दिएका थिए । मलाई यस्ता लेखकहरू मनपर्छन् ।

मैले पिटाइ खाएकामा जो जो सहानुभूति दिन आए तिनीहरूको सङ्ख्या निकै बढी भएको थिथो । सुरुमा त म उनीहरूलाई पान खुवाउँथें । जब पानको खर्च निकै बढ्यो अनि मैले सोचें आफैं पिट्नेहरूकहाँ गएर विन्ती गरूँ, ‘जब तिमीले मेरा लागि यति गरि नै सक्यौ भने कम्तीमा एउटा काम अर्को पनि गरिदेऊ त । कम्तीमा पानको खर्च त देऊ न ! बरु एक लौरो अरू बजाइदेऊ । अरूले यसो कोतरियो भने पनि पानको खर्च बेहोर्छन् है !

मकहाँ कैयौं रमाइला मानिसहरू आउँछन् । सामान्यतया मानिसहरूले आएर भन्ने कुरो यही हुन्छ, ‘तपाईं पिटिएको खबर सुनेर पिर पर्‍यो । निकै नराम्रो भयो ।’ म भने यस्तो ‘नराम्रो लाग्नु’ र ‘पिर पर्नु’बाट दिक्क भइसकेको छु । तर बिचरा उनीहरूले भनून् पनि के ?

तर एक दिन एकजना अचम्मका व्यक्ति आए । उनले भने, ‘यतिका वर्षदेखि लेखिरहेका छौ । के पायौ ? केही मानिसका प्रशंसा ? भयो ? लेखेर भन्दा बढी प्रसिद्धि त पिटिएर पायौ । त्यसैले हरेक लेखले कम्तीमा वर्षको एकपटक त पिटिनै पर्ने रहेछ । तिमीले कम्तीमा छ महिनामा एक पटक पिटिने काम गर । अनि हेर, कसरी एक शब्द पनि नलेखिकन अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्छौ कि गर्दैनौ ! बरु तिमीे भन्छौ भने तिम्रा लागि यो काम म नै पनि गरिदिन सक्छु ।’

मैले भनें, ‘कुरो त ठिकै हो । जब आवश्यकता पर्ला तपाईंलाई कष्ट दिउँला । तर साथी, धेरै भने नहान्नू है ?’ पिटिन त पहिले पनि पिटिएको छु ।

म्याट्रिकमा छँदा मेरो एउटा सहपाठी रामेश्वरसित मेरो झगडा परेको थियो । एक दिन मैले उसलाई धकेल्दै धकेल्दै कक्षाको भित्तासम्म पुर्‍याएँ । त्यो अड्केको थियो । मैले उसलाई पिटें । फेरि दुवैमा राम्रो सम्बन्ध बन्यो । स्कुली लडाइँ अस्थायी प्रकृतिको हुन्छ । तर उसले त त्यसलाई मनमा गाँठो पारेर राखेको रहेछ ।

हाम्रो घरबाट स्कुल डेढ माइल टाढा थियो । एक दिन हामी दुबै गफिँदै साँझखेरि आउँदै थियौं । उसले एक्कासि भन्यो, ‘ए, हेर् त । यो रामदास कहाँबाट आउँदै रहेछ ?’ मैले उतातिर हेर्न थालें । उसको पालो बिजुली चम्केझैं गरी मेरो टाङमुनि हात घुसारेर मलाई यसरी पछार्‍यो कि म त नालाको पुलमुनि पुगेर पछारिएँ । शरीरले पनि र बलले पनि म ऊभन्दा डेढा थिएँ । त्यसैले यसलाई यहीँ च्यापिदिन्छु भन्ने पनि सोचें तर उसले एउटा मज्जाको कुरो गर्‍यो । उसले भन्यो, ‘हेर् पालोको पैंचो तिरियो । अब भने हामी पक्का साथी हुने । मैले तँलाई कति राम्रो उपाय सिकाएँ हैन ?’ मैले पनि भनें, ‘अँ त नि ! अब त मैले मेरा कैयौं शत्रुहरूलाई ठिक पार्न सक्छु । अनि मैले पनि मेरा चारजना विरोधीहरूलाई त्यसै गरी आँपको बगैंचामा पछारेको छु । उपाय उही । सँगै गइरहेका छौं । एक्कासि भनिदिन्छु, ‘ए, हेर् त उताबाट श्यामसुन्दर आउँदै छ ।’ अनि उसले उता हेरेको मौका पारेर उसको टाङमुनि हात घुसारेर बाटामुनिको खाल्टामा खसालिदिन्थें । यो त स्कुली पिटाइको कुरो भयो ।

लेख्न थालेपछि फेरि एक पटक मेरो पिटाइ भयो । आजभन्दा पन्ध्रबिस वर्षपहिले । म जुन कथा लेख्थें त्यसमा कसरी न कसरी कमला नामकी पात्रा आउँथी । कमला, विमला, आशा, सरस्वती जस्ता केही नाम यस्ता छन् जुन सजिलै कलममा बस्न आउँछन् ।

मैले दुईवटा चिठी पाएँ जसमा लेखिएको थियो, ‘खबरदार ! अब कहिल्यै तिम्रो कथामा कमला आई भने तिमीलाई ठिक पारिने छ । ऊ मेरी प्रेमिका हो तर तिमीले भने कथामा उसलाई जे पनि गर्न लगाउँछौ । ऊ त्यस्ती छैन ।’ मैले कुरा टारिदिएँ ।

एक दिन साँगुरो गल्लीबाट जाँदै थिएँ । अगाडि गल्लीको घुम्ती थियो । त्यहीं घरको पछाडिपट्टिको गारो थियो । एउटा मान्छे चुपचाप पछाडिबाट आएर कति जोरले धकेल्यो भने म गारोमा ठोकिन पुगें । तर मैले हात राखेर टाउको जोगाएँ । नत्र टाउको फुट्थ्यो । पछि पो थाहा पाएँ, त्यो त सहरको एक नम्बरको पहलवान रहेछ । मैले कमलालाई विमला बनाइदिएँ । लेखकलाई नामले के फरक पार्छ र ?

तर त्यो जुनको महिनामा भएको ताजा पिटाइ भने निकै रमाइलो रह्यो । पिट्नेहरू आए । पाँच छ लौरो बजारे । मैले हत्केलाले आँखा बचाएँ । पाँचसात सेकेन्डमा नै काम सकियो । उनीहरू दुईवटा राजनीतिक वाक्य बोलेर हावामा हराए । डिटोल लगाएर एकदुई घण्टा सुतेपछि म फेरि ताजा भएँ ।

तीन दिनपछि अखबारमा खबर छापिएपछि पो सहर र बाहिरबाट पनि मेरा कानमा रमाइला कुराहरू आए । स्नेह र दुःखका त आउँथे नै, तर –
– पिटियो त राम्रो भयो ।
– पिटिनैपर्ने खालको थियो ।
– घोर अहङ्कारी मान्छे ।
– यस्तो लेख्यो भने त पिटिन्छ नै ।
– उसले लेखेको पनि साहित्य हो र ? प्रेमकथा लेखोस् न ! त्यसमा त कसैले पिट्दैन नि !

कतिपय लेखकहरूको प्रसन्नता त मकहाँ पनि आइपुग्यो । उनीहरूको भनाइ थियो– ‘अब के लेख्ला यसले ? सबै सकियो । यसको त काम तमामै भयो नि ! निकै आगो मुत्थ्यो ।’ तर मैले भने उस्तै र उसै गरी लेख्ने काम जारी राखें । यसबिचमा पाँचवटा कथाहरू तथा चारवटा निबन्ध लेखें अनि एउटा डायरी उपन्यास एकतिहाइ लेखिसकेको छु ।

सहानुभूतिवालाहरू पनि निकै रमाइला हुन्छन् । किसिम किसिमका कुरा गर्छन् । बुढा तथा बिरामी वरिष्ठ साहित्यकार बाबु रामानुज श्रीवास्तवले आफ्नो मोटो लौरो पठाए अनि लेखे, ‘अब मलाई यसको कुनै दरकार रहेन । मेरो संसार अब ओछ्यान बन्न पुगेको छ । यो लौरो तिमीले राख ।’ लौरामा गुन छन् धेरै सधै राख्नू साथमा…..

एकजना अपरिचित आए अनि एउटा लौरो दिएर गए । त्यो गुप्ती थियो तर भित्रको भाग थिएन । समाउनेमा बलियो फलामको बिर्को लागेको थियो । जसको कन्चटमा बज्रिन्थ्यो एउटै सोट्ठ्याइमा मान्छेले भुइँ सुँघ्न सक्थ्यो ।

मेरा काका पनि एक नम्बरका लाठीबाज हुनुहुन्थ्यो । उहाँ लौरालाई तेल खुवाउनुहुन्थ्यो र त्यसलाई ‘दुःखभञ्जन’ भन्नुहुन्थ्यो । एक दिन टोलमा सबैलाई सताउने टोले दादालाई समाउनुभयो, अगाडि रहेको एउटा ससानो रुखमा बाँध्नुभयो र यसरी पिट्नुभयो कि ऊ सधैंका निम्ति उहाँको लौरोजत्तिकै सोझो भयो । मैले नै भन्नुपर्‍यो, ‘काका, यसलाई छाडिदिनुस् भो !’ अनि उहाँले छोडिदिनुभयो । तर छोड्दाछोड्दै भन्नुभयो, ‘हेर्, मैले तँमाथि दुःखभञ्जनको प्रयोग गरेको छैनँ । अब पनि कुनै गडबड गरिस् भने दुखभञ्जनले आफ्नो काम गर्नेछ । त्यो ‘दुःखभञ्जन’ त कुन्नि कता हरायो । उहाँको मृत्यु पनि भयो तर उहाँले आफ्नो सिसौको लौरो भने छाडेर जानुभएको छ ।

एकजना महाशय आए एक दिन । त्योभन्दा पहिले एकदुई पटक नमस्कारसमस्कार भएको हुँदो हो तर उनले प्रेमी मित्रहरूले भन्दा बढी दुःख व्यक्त गरे । मलाई त उनी रोइ पो हाल्ने हुन् कि भन्ने सन्देह भयो । उनले मलाई म पिटिएको ठाउँमा लगे र ठाउँको जरजमिन जाँच गरे ।

– कहाँनिर उभिनुभएको थियो ?
– कता हेर्दै हुनहुन्थ्यो ?
– के उनीहरू थाहै नदिई पछाडिबाट आएका थिए ?
– तपाई सावधान हुनुहुन्नथ्यो ?
– जम्मा पाँचसात सेकेन्डमै भयो ?
– चुनौती नै नदिई आक्रमण गर्नु कायरता हो । सत्ययुगदेखि नै चुनौती दिएर आक्रमण गर्ने गरिएको छ तर यो त कलियुग हो नि !

म दिक्क भएँ । जुन घटना भएको पनि साढे दुई महिना भइसकेको छ र जसलाई म बिर्सिदिन चाहन्छु तर उनी भने त्यसैको पुरै जाँचपडताल गर्दै छन् । कतै यी गुप्तचर विभागका मान्छे त होइनन् ? तर जसको सबैथोक खुलेको छ उसलाई गुप्तचरको के डर ?

उनी आएर बसे अनि भन्न थाले, ‘तपाईंको नाम त निकै फैलिएको छ । अब त मन्त्रीहरूले पनि चासो लिन थाले होलान् ।’
मैले भनें, ‘अँ, लिएका छन् ।’
उनले भने, ‘मुख्यमन्त्रीले पनि लिए होलान् । मुख्यमन्त्रीसित त तपाईंको सम्बन्ध पनि निकै राम्रो होला ।’
मैले भनें, ‘राम्रै सम्बन्ध छ ।’
उनले भने, ‘मुख्यमन्त्रीले तपाईले भनेको पनि मान्छन् होला ?’
मैले भनें, ‘अँ मानि पनि हाल्छन् !’
आखिर उनी यी कुरा किन गर्दै छन् र यसको उद्देश्य के होला भनेर म उनको कुराबाट नै दिक्दारिइसकेको थिएँ ।
अन्तिममा आएर मात्र उनी खुले ।

उनले भने, ‘मुख्यमन्त्रीले तपाईंको कुरा मान्दा रहेछन् । मेरो छोराको. हालैमा काँकरामा सरुवा भएको छ । लौ न, मुख्यमन्त्रीलाई भनेर उसको सरुवा यहीँ गराइदिनुपर्‍यो ।’

मानिसहरूलाई लाग्यो होला पिटिएपछि त यो सरुवा गराउने र नियुक्ति गराउने सक्ने पो भएछ ! लागे लागोस् । लाग्ने कुरालाई कसले रोक्न सक्छ र ? साहित्यका लागि यो के चानचुने उपलब्धि हो त ? पिटिएर भए पनि लेखक सरुवा गराउनेयोग्य हुँदो रहेछ ! यो त सन् १९७३ को सबैभन्दा ठुलो साहित्यिक उपलब्धि पो हो त ! तर एकेडमीले माने पो !

०००
परसाई रचनावली भाग ३ को ‘पिटने– पिटने में फर्क’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x