हरिशंकर परसाईंपिटिनु पिटिनुमा अन्तर
साहित्यका लागि यो के चानचुने उपलब्धि हो त ? पिटिएर भए पनि लेखक सरुवा गराउनेयोग्य हुँदो रहेछ ! यो त सन् १९७३ को सबैभन्दा ठुलो साहित्यिक उपलब्धि पो हो त ! तर एकेडमीले माने पो !

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
(यो आत्मप्रचार होइन । प्रचारको दायित्व त मेरा विरोधीहरूले लिएका छन् । यसबाट म मुक्त भएको छु । यो ललित निबन्ध हो ।)
धेरै जना भन्ने गर्छन् – ‘तिमी पिटियौ । राम्रै भयो । तर तिम्रा केवल दुईवटा अखबारी वक्तव्य मात्र छापिए । तिमी त लेखक हौ नि ! एकदुईवटा कथा लेख । रिपोर्ताजहरू लेख । नभए कुनै ललित निबन्ध नै लेखिदेऊ । पिटिनु पनि छ र साहित्यिक रचना पनि छैन ? यो साहित्यप्रति ठुलो अन्याय हो । मानिसहरूलाई चरिफाइँ (छारे) भयो भने पनि त्यसैमाथि उपन्यास लेखिदिन्छन् । एउटा टी हाउसमा दुई जना लेखकहरूमा केवल आमाचकारी गालीगलौज भएको थियो । दुवैले दुईवटा कथा लेखिदिए । दुवै राम्रा । एउटाले पहिलोलाई नीच भनेर लेखे । अर्काले लेखे, म होइन, ऊ नीच हो । पढ्नेहरूले दुवै जना नीच भएको निष्कर्ष निकाले । फेरि मानिसहरूले दुवैजना मिलेको पनि देखे । सँगै चिया पिएको देखे । दुवैजनाले आमाचकारी गाली पनि मनमा कलेस राखेर दिएका थिएनन्, अपितु साहित्यसाधनाका निम्ति दिएका थिए । मलाई यस्ता लेखकहरू मनपर्छन् ।
मैले पिटाइ खाएकामा जो जो सहानुभूति दिन आए तिनीहरूको सङ्ख्या निकै बढी भएको थिथो । सुरुमा त म उनीहरूलाई पान खुवाउँथें । जब पानको खर्च निकै बढ्यो अनि मैले सोचें आफैं पिट्नेहरूकहाँ गएर विन्ती गरूँ, ‘जब तिमीले मेरा लागि यति गरि नै सक्यौ भने कम्तीमा एउटा काम अर्को पनि गरिदेऊ त । कम्तीमा पानको खर्च त देऊ न ! बरु एक लौरो अरू बजाइदेऊ । अरूले यसो कोतरियो भने पनि पानको खर्च बेहोर्छन् है !
मकहाँ कैयौं रमाइला मानिसहरू आउँछन् । सामान्यतया मानिसहरूले आएर भन्ने कुरो यही हुन्छ, ‘तपाईं पिटिएको खबर सुनेर पिर पर्यो । निकै नराम्रो भयो ।’ म भने यस्तो ‘नराम्रो लाग्नु’ र ‘पिर पर्नु’बाट दिक्क भइसकेको छु । तर बिचरा उनीहरूले भनून् पनि के ?
तर एक दिन एकजना अचम्मका व्यक्ति आए । उनले भने, ‘यतिका वर्षदेखि लेखिरहेका छौ । के पायौ ? केही मानिसका प्रशंसा ? भयो ? लेखेर भन्दा बढी प्रसिद्धि त पिटिएर पायौ । त्यसैले हरेक लेखले कम्तीमा वर्षको एकपटक त पिटिनै पर्ने रहेछ । तिमीले कम्तीमा छ महिनामा एक पटक पिटिने काम गर । अनि हेर, कसरी एक शब्द पनि नलेखिकन अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्छौ कि गर्दैनौ ! बरु तिमीे भन्छौ भने तिम्रा लागि यो काम म नै पनि गरिदिन सक्छु ।’
मैले भनें, ‘कुरो त ठिकै हो । जब आवश्यकता पर्ला तपाईंलाई कष्ट दिउँला । तर साथी, धेरै भने नहान्नू है ?’ पिटिन त पहिले पनि पिटिएको छु ।
म्याट्रिकमा छँदा मेरो एउटा सहपाठी रामेश्वरसित मेरो झगडा परेको थियो । एक दिन मैले उसलाई धकेल्दै धकेल्दै कक्षाको भित्तासम्म पुर्याएँ । त्यो अड्केको थियो । मैले उसलाई पिटें । फेरि दुवैमा राम्रो सम्बन्ध बन्यो । स्कुली लडाइँ अस्थायी प्रकृतिको हुन्छ । तर उसले त त्यसलाई मनमा गाँठो पारेर राखेको रहेछ ।
हाम्रो घरबाट स्कुल डेढ माइल टाढा थियो । एक दिन हामी दुबै गफिँदै साँझखेरि आउँदै थियौं । उसले एक्कासि भन्यो, ‘ए, हेर् त । यो रामदास कहाँबाट आउँदै रहेछ ?’ मैले उतातिर हेर्न थालें । उसको पालो बिजुली चम्केझैं गरी मेरो टाङमुनि हात घुसारेर मलाई यसरी पछार्यो कि म त नालाको पुलमुनि पुगेर पछारिएँ । शरीरले पनि र बलले पनि म ऊभन्दा डेढा थिएँ । त्यसैले यसलाई यहीँ च्यापिदिन्छु भन्ने पनि सोचें तर उसले एउटा मज्जाको कुरो गर्यो । उसले भन्यो, ‘हेर् पालोको पैंचो तिरियो । अब भने हामी पक्का साथी हुने । मैले तँलाई कति राम्रो उपाय सिकाएँ हैन ?’ मैले पनि भनें, ‘अँ त नि ! अब त मैले मेरा कैयौं शत्रुहरूलाई ठिक पार्न सक्छु । अनि मैले पनि मेरा चारजना विरोधीहरूलाई त्यसै गरी आँपको बगैंचामा पछारेको छु । उपाय उही । सँगै गइरहेका छौं । एक्कासि भनिदिन्छु, ‘ए, हेर् त उताबाट श्यामसुन्दर आउँदै छ ।’ अनि उसले उता हेरेको मौका पारेर उसको टाङमुनि हात घुसारेर बाटामुनिको खाल्टामा खसालिदिन्थें । यो त स्कुली पिटाइको कुरो भयो ।
लेख्न थालेपछि फेरि एक पटक मेरो पिटाइ भयो । आजभन्दा पन्ध्रबिस वर्षपहिले । म जुन कथा लेख्थें त्यसमा कसरी न कसरी कमला नामकी पात्रा आउँथी । कमला, विमला, आशा, सरस्वती जस्ता केही नाम यस्ता छन् जुन सजिलै कलममा बस्न आउँछन् ।
मैले दुईवटा चिठी पाएँ जसमा लेखिएको थियो, ‘खबरदार ! अब कहिल्यै तिम्रो कथामा कमला आई भने तिमीलाई ठिक पारिने छ । ऊ मेरी प्रेमिका हो तर तिमीले भने कथामा उसलाई जे पनि गर्न लगाउँछौ । ऊ त्यस्ती छैन ।’ मैले कुरा टारिदिएँ ।
एक दिन साँगुरो गल्लीबाट जाँदै थिएँ । अगाडि गल्लीको घुम्ती थियो । त्यहीं घरको पछाडिपट्टिको गारो थियो । एउटा मान्छे चुपचाप पछाडिबाट आएर कति जोरले धकेल्यो भने म गारोमा ठोकिन पुगें । तर मैले हात राखेर टाउको जोगाएँ । नत्र टाउको फुट्थ्यो । पछि पो थाहा पाएँ, त्यो त सहरको एक नम्बरको पहलवान रहेछ । मैले कमलालाई विमला बनाइदिएँ । लेखकलाई नामले के फरक पार्छ र ?
तर त्यो जुनको महिनामा भएको ताजा पिटाइ भने निकै रमाइलो रह्यो । पिट्नेहरू आए । पाँच छ लौरो बजारे । मैले हत्केलाले आँखा बचाएँ । पाँचसात सेकेन्डमा नै काम सकियो । उनीहरू दुईवटा राजनीतिक वाक्य बोलेर हावामा हराए । डिटोल लगाएर एकदुई घण्टा सुतेपछि म फेरि ताजा भएँ ।
तीन दिनपछि अखबारमा खबर छापिएपछि पो सहर र बाहिरबाट पनि मेरा कानमा रमाइला कुराहरू आए । स्नेह र दुःखका त आउँथे नै, तर –
– पिटियो त राम्रो भयो ।
– पिटिनैपर्ने खालको थियो ।
– घोर अहङ्कारी मान्छे ।
– यस्तो लेख्यो भने त पिटिन्छ नै ।
– उसले लेखेको पनि साहित्य हो र ? प्रेमकथा लेखोस् न ! त्यसमा त कसैले पिट्दैन नि !
कतिपय लेखकहरूको प्रसन्नता त मकहाँ पनि आइपुग्यो । उनीहरूको भनाइ थियो– ‘अब के लेख्ला यसले ? सबै सकियो । यसको त काम तमामै भयो नि ! निकै आगो मुत्थ्यो ।’ तर मैले भने उस्तै र उसै गरी लेख्ने काम जारी राखें । यसबिचमा पाँचवटा कथाहरू तथा चारवटा निबन्ध लेखें अनि एउटा डायरी उपन्यास एकतिहाइ लेखिसकेको छु ।
सहानुभूतिवालाहरू पनि निकै रमाइला हुन्छन् । किसिम किसिमका कुरा गर्छन् । बुढा तथा बिरामी वरिष्ठ साहित्यकार बाबु रामानुज श्रीवास्तवले आफ्नो मोटो लौरो पठाए अनि लेखे, ‘अब मलाई यसको कुनै दरकार रहेन । मेरो संसार अब ओछ्यान बन्न पुगेको छ । यो लौरो तिमीले राख ।’ लौरामा गुन छन् धेरै सधै राख्नू साथमा…..
एकजना अपरिचित आए अनि एउटा लौरो दिएर गए । त्यो गुप्ती थियो तर भित्रको भाग थिएन । समाउनेमा बलियो फलामको बिर्को लागेको थियो । जसको कन्चटमा बज्रिन्थ्यो एउटै सोट्ठ्याइमा मान्छेले भुइँ सुँघ्न सक्थ्यो ।
मेरा काका पनि एक नम्बरका लाठीबाज हुनुहुन्थ्यो । उहाँ लौरालाई तेल खुवाउनुहुन्थ्यो र त्यसलाई ‘दुःखभञ्जन’ भन्नुहुन्थ्यो । एक दिन टोलमा सबैलाई सताउने टोले दादालाई समाउनुभयो, अगाडि रहेको एउटा ससानो रुखमा बाँध्नुभयो र यसरी पिट्नुभयो कि ऊ सधैंका निम्ति उहाँको लौरोजत्तिकै सोझो भयो । मैले नै भन्नुपर्यो, ‘काका, यसलाई छाडिदिनुस् भो !’ अनि उहाँले छोडिदिनुभयो । तर छोड्दाछोड्दै भन्नुभयो, ‘हेर्, मैले तँमाथि दुःखभञ्जनको प्रयोग गरेको छैनँ । अब पनि कुनै गडबड गरिस् भने दुखभञ्जनले आफ्नो काम गर्नेछ । त्यो ‘दुःखभञ्जन’ त कुन्नि कता हरायो । उहाँको मृत्यु पनि भयो तर उहाँले आफ्नो सिसौको लौरो भने छाडेर जानुभएको छ ।
एकजना महाशय आए एक दिन । त्योभन्दा पहिले एकदुई पटक नमस्कारसमस्कार भएको हुँदो हो तर उनले प्रेमी मित्रहरूले भन्दा बढी दुःख व्यक्त गरे । मलाई त उनी रोइ पो हाल्ने हुन् कि भन्ने सन्देह भयो । उनले मलाई म पिटिएको ठाउँमा लगे र ठाउँको जरजमिन जाँच गरे ।
– कहाँनिर उभिनुभएको थियो ?
– कता हेर्दै हुनहुन्थ्यो ?
– के उनीहरू थाहै नदिई पछाडिबाट आएका थिए ?
– तपाई सावधान हुनुहुन्नथ्यो ?
– जम्मा पाँचसात सेकेन्डमै भयो ?
– चुनौती नै नदिई आक्रमण गर्नु कायरता हो । सत्ययुगदेखि नै चुनौती दिएर आक्रमण गर्ने गरिएको छ तर यो त कलियुग हो नि !
म दिक्क भएँ । जुन घटना भएको पनि साढे दुई महिना भइसकेको छ र जसलाई म बिर्सिदिन चाहन्छु तर उनी भने त्यसैको पुरै जाँचपडताल गर्दै छन् । कतै यी गुप्तचर विभागका मान्छे त होइनन् ? तर जसको सबैथोक खुलेको छ उसलाई गुप्तचरको के डर ?
उनी आएर बसे अनि भन्न थाले, ‘तपाईंको नाम त निकै फैलिएको छ । अब त मन्त्रीहरूले पनि चासो लिन थाले होलान् ।’
मैले भनें, ‘अँ, लिएका छन् ।’
उनले भने, ‘मुख्यमन्त्रीले पनि लिए होलान् । मुख्यमन्त्रीसित त तपाईंको सम्बन्ध पनि निकै राम्रो होला ।’
मैले भनें, ‘राम्रै सम्बन्ध छ ।’
उनले भने, ‘मुख्यमन्त्रीले तपाईले भनेको पनि मान्छन् होला ?’
मैले भनें, ‘अँ मानि पनि हाल्छन् !’
आखिर उनी यी कुरा किन गर्दै छन् र यसको उद्देश्य के होला भनेर म उनको कुराबाट नै दिक्दारिइसकेको थिएँ ।
अन्तिममा आएर मात्र उनी खुले ।
उनले भने, ‘मुख्यमन्त्रीले तपाईंको कुरा मान्दा रहेछन् । मेरो छोराको. हालैमा काँकरामा सरुवा भएको छ । लौ न, मुख्यमन्त्रीलाई भनेर उसको सरुवा यहीँ गराइदिनुपर्यो ।’
मानिसहरूलाई लाग्यो होला पिटिएपछि त यो सरुवा गराउने र नियुक्ति गराउने सक्ने पो भएछ ! लागे लागोस् । लाग्ने कुरालाई कसले रोक्न सक्छ र ? साहित्यका लागि यो के चानचुने उपलब्धि हो त ? पिटिएर भए पनि लेखक सरुवा गराउनेयोग्य हुँदो रहेछ ! यो त सन् १९७३ को सबैभन्दा ठुलो साहित्यिक उपलब्धि पो हो त ! तर एकेडमीले माने पो !
०००
परसाई रचनावली भाग ३ को ‘पिटने– पिटने में फर्क’ बाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































