हेम अधिकारीभेटिस् भाउ
हामी पनि मनको रित्तो टोकरी बोकेर छेउमा लुसुक्क बसेका टुसुके न थियौँ । नाइटाभित्र भ्यागुत्ता नौमती थर्काउन लागे । कहाँ न कहाँ चौखुरी बाहाँ फरक्क फर्किएर भेटिस् भाउ भन्दै सुइँकुच्चा पो ठोक्यौँ ।

हेम अधिकारी :
एउटा साथी मकहाँ आएर लु बजार हेर्न जाऔँ । बजारको रमिता पो होर्नु पर्छ त । भनेर बडो गज्जपले प्रस्ताव राख्यो । ऊ पनि अलिक रमिते नै थियो । उसलाई के के हेर्न मन लाग्थ्यो लाग्थ्यो । हेर्ने नहेर्ने सबै रमिता हेर्न खोज्थ्यो । अब मलाई भाम्लो आइलाग्यो । हेर्न जाऔँ भने अहिलेका बजारका रमिता हेरिसक्नु छैन,नजाऔँ भने साथीले भनेको । त्यो पनि बल्ल बल्ल माघेसग्राँतीमा साथिकहाँ घिउचाकु खान पाइन्छ भनेर दाउ हेरेर आएको । अब कता पो हेर्नु शाली नदीतिर जाँदा नि सालीकै लर्को , त्यता झन् पर्ला चर्को । अचेलका साली पनि खै कस्ता कस्ता थामीसक्ना छैनन् । भेना भनेर फुरुक्क पारेर बिहे गर्ने अनि साता नपुगी डिभोर्स गर्ने । दुईचारवटी सालीसँग बिहे गर्दा ता सुकुम्बासी नै पो हुइने भो ।
फेरि आफ्नो ता विदेशको भिसा लाग्न लागेको हुनाले कति सालीेले ता कागजी बिहे गरेर लाने, खर्च पनि हालिदिने भनेर हुरुक्कै पारिसके । यी साली पो शक्तिशाली रछन् भनेर जिब्रो पड्काउँदै कुरा थालेँ । उनका ब्वाइफ्रेन्ड चैँ उतै छन् रे । गएपछि उही डिभोर्स गरेर आफ्नै निजीसँग गैहाल्ने रे । पछि कमाएर उनले हालेको खर्च तिर्नु पर्ने रे । बच्चासच्चा जन्माएर खर्चबिनै पो घर जम हुने भो भन्ने लागेको ता तीन बल्ड्याङ पो भएँ ।
साथीको पनि ताल ता उही पो रहेछ । कागजी बिहे गरेर करारको पोइ लाने साली खोजिहिँड्दो रहेछ । ए रमिते साथी नि ! यी कति महिनाका लागि करारमा लोग्ने र स्वास्नी खोज्न पनि तिरिमिरि नै हुँदो रहेछ । यो एउटा चलनको जलन नै पो रहेछ त अहिले ।
उहिले ता सालीलाई भेनाको, भेनालाई सालीको वास्ना आउँथ्यो रे । अहिले ता यो आधुनिक साली भेना पनि ठँसक्कै पो गनाइसक्यो । भो अब शालीनदी न सालीनदी जनाने त्यता भनेर चिया पिउन थाल्या ता सालीका रन्काले चिया सेलाएर मुखै छिया छिया पार्ने भएछ । साली र चियाका चेपुवामा परेर जिब्रै अररो भैसक्यो बाबै ।
होस् है यो विदेश पनि के जानु र उता स्वर्ग रूपी विदेशको हानादेव महादेवले भन्दा भक्कुको डमरु बजाएर संसारका आशामुखीका मुटु लुगलुग पारेको छ । खै के गर्ने के गर्ने । यी ठुला ठुला प्रमाण–पत्र पनि दाना नलाग्ने मकैका खोस्टा जत्तिका भाउका नि भएनन् । माउ भए पढ्नु न सढ्नु त्यसै कमाउ माउ नभए जति पढे पनि जिन्दगी जपाउ नै भयो । पढेर सडेका मान्छे ता खालि साली हेरेर खाली नै भए । त्यो रमिताको चक्करले पनि लक्करमा नपुर्याउने भो भनेर छाडियो ।
साथी मान्दैमान्दैन त । अब कता जाने । लु ठालुको भालु भेला छ रे त्या हान्निउँ भन्ने लागेर दौडियौँ । कहाँ पो बानेश्वर कि कोटेश्वर, त्रिपुरेश्वर कि कुलेश्वर, के स्वर के स्वर यता हाम्रो चैँ सुकिसक्यो स्वर । कता पो भने थे ? बिलखबन्द परेर जे होस् अलिकति मान्छे आँट्ने छ नि अझै ता भनेर त्यो घिचुवाको थिचुवामा परेर बँचेखुचेको खुल्ला चौरतिरै लागियो ।
त्यहाँ ता मन्चमा सबै पहाडे फर्सीभन्दा ठुला टाउके पो रछन् त । ठिकै हो तल लाउके माथि टाउके भनेर रोटीको टुक्राको झटारो आउला कि भनेर बसेको छाउरा झैँ एकछेउमा लुसुक्क छिरेर टुसुक्क बसियो । व्यास ऋषिले एकछेउ पनि नभ्याउनेले बोलीको तिर हान्ने माइकको फुनाउरो छेउमा आएर नवपुराण छाँटन थाले । “यस महान कार्यक्रमको उद्घोषण गर्न मलाई जिम्मा दिनुभएकामा हाम्रा दछेप्रजापति सरहकाज्यूलाई धन्नेबाद ।”
अब उनको पुराणका अनेक अध्याय र कथानकले श्रोताका कानमा रुवा कोचौँ झैँ हुन थाल्यो । यस्तो टाउको भएका,यस्ता कान भएका,यस्तो नाक भएका,यस्ता आँखा भएका,यस्तो जिउडाल भएका महान व्यक्तित्वलाई ….को आसन ग्रहण गर्न अनुरोध भन्दा भन्दै आधा समय चट् । ती म हान्हरू कुरा हान्न महाभारतका अस्त्र जस्तै शब्दास्त्र लिएर तयार थिए । कस्ले तोडिलो अस्त्र तोड्ने भन्ने ध्याउन्नले अरु कुरा सम्झिने फुर्सदै थिएन ।
कार्यक्रममा बिरालो बाँधेर गरिने उद्घाटन र श्राद्धादि कामले आधाको आधा समय फेरि चट् । अब बाँकी समयमा ती तिखारिएका म हान्ले कसले कति हान्ने हुन् । हामी जस्तै पशुपतिमा वरदान माग्न जाने भक्तजन जस्ता रोटीका टुक्राका आशामुखी भक्तका कुरा ता गोली मारौँ ।
उनले तीनत्रिलोक चौधभुवन पुकारेर एकजना फर्सी टाउकेलाई पोडियमको ओडियम लाइदिए । उनको पालो आफ्नै मुख मुसार्दै जिब्रो फट्कार्न थाले । उनका भगवानरूपी महाप्रभुको बाडबखानमा निकै शब्द र समय खर्चिए मानौँ उनी शेषनाग नै उत्रिए । उनका भगवानले सबै कुरा तथास्तु भनेकाले अब सबका सब जन मग्नमस्तमा रामाउन पाउछन् । उनका वाक्य ता तेत्तीसकोटि देउताले ता काट्न सक्तैनन् अरुका के कुरा । तल पररर पररररर तालिमप्राप्त तालीवाजहरू । केही प्राध्यापक डा. पनि ओठमुसार्दै गोजीमा हात घुसार्थे । अरुका देशमा प्राध्यापक डा.को जीवन अनुसन्धानमा बित्छ, हाम्रामा कति गतिलो छ हेर्नु न तालीका तालिमे भएर बित्छ । प्राध्यापक डा. को हैसियत ता लाइटरको बेटरी जस्तो पो ।
ती वक्ता ता डाक्टरभन्दा कैयौँ गुना उपचार गर्न जान्ने पो रहेछन् । अझ इन्जिनियरभन्दा बडा,वकिलभन्दा खडा बाफ रे बाफ तिनले नजानेको ता विश्वव्रह्माण्डै पो रहेनछ । तर गोलीबाट बँचेर झोली थाप्नेको ता के थाहा तिनलाई । बाख्रा हुल्ने बेलादिेखि थालेर तिनले संसार हाँक्ता हाँक्तै घामले ता एकजुवा मात्र बाटो बाँकी राखेरछन् । मान्छेका कता काम कता दाम,कसको नाम कसको माम । एकदुई गर्दै चौरी ता झन्नै खालि पो भएछ । प्रमुखले बोल्नै बाँकी छ त्यसैले बस्ने आग्रह आइरहे पनि ताइँ न तुइँका फुइँ भन्दै मान्छे कुलेलम ठोक्न थाले । हामी पनि मनको रित्तो टोकरी बोकेर छेउमा लुसुक्क बसेका टुसुके न थियौँ । नाइटाभित्र भ्यागुत्ता नौमती थर्काउन लागे । कहाँ न कहाँ चौखुरी बाहाँ फरक्क फर्किएर भेटिस् भाउ भन्दै सुइँकुच्चा पो ठोक्यौँ ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































