साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेटिस् भाउ

हामी पनि मनको रित्तो टोकरी बोकेर छेउमा लुसुक्क बसेका टुसुके न थियौँ । नाइटाभित्र भ्यागुत्ता नौमती थर्काउन लागे । कहाँ न कहाँ चौखुरी बाहाँ फरक्क फर्किएर भेटिस् भाउ भन्दै सुइँकुच्चा पो ठोक्यौँ ।

Nepal Telecom ad

हेम अधिकारी :

एउटा साथी मकहाँ आएर लु बजार हेर्न जाऔँ । बजारको रमिता पो होर्नु पर्छ त । भनेर बडो गज्जपले प्रस्ताव राख्यो । ऊ पनि अलिक रमिते नै थियो । उसलाई के के हेर्न मन लाग्थ्यो लाग्थ्यो । हेर्ने नहेर्ने सबै रमिता हेर्न खोज्थ्यो । अब मलाई भाम्लो आइलाग्यो । हेर्न जाऔँ भने अहिलेका बजारका रमिता हेरिसक्नु छैन,नजाऔँ भने साथीले भनेको । त्यो पनि बल्ल बल्ल माघेसग्राँतीमा साथिकहाँ घिउचाकु खान पाइन्छ भनेर दाउ हेरेर आएको । अब कता पो हेर्नु शाली नदीतिर जाँदा नि सालीकै लर्को , त्यता झन् पर्ला चर्को । अचेलका साली पनि खै कस्ता कस्ता थामीसक्ना छैनन् । भेना भनेर फुरुक्क पारेर बिहे गर्ने अनि साता नपुगी डिभोर्स गर्ने । दुईचारवटी सालीसँग बिहे गर्दा ता सुकुम्बासी नै पो हुइने भो ।

फेरि आफ्नो ता विदेशको भिसा लाग्न लागेको हुनाले कति सालीेले ता कागजी बिहे गरेर लाने, खर्च पनि हालिदिने भनेर हुरुक्कै पारिसके । यी साली पो शक्तिशाली रछन् भनेर जिब्रो पड्काउँदै कुरा थालेँ । उनका ब्वाइफ्रेन्ड चैँ उतै छन् रे । गएपछि उही डिभोर्स गरेर आफ्नै निजीसँग गैहाल्ने रे । पछि कमाएर उनले हालेको खर्च तिर्नु पर्ने रे । बच्चासच्चा जन्माएर खर्चबिनै पो घर जम हुने भो भन्ने लागेको ता तीन बल्ड्याङ पो भएँ ।

साथीको पनि ताल ता उही पो रहेछ । कागजी बिहे गरेर करारको पोइ लाने साली खोजिहिँड्दो रहेछ । ए रमिते साथी नि ! यी कति महिनाका लागि करारमा लोग्ने र स्वास्नी खोज्न पनि तिरिमिरि नै हुँदो रहेछ । यो एउटा चलनको जलन नै पो रहेछ त अहिले ।

उहिले ता सालीलाई भेनाको, भेनालाई सालीको वास्ना आउँथ्यो रे । अहिले ता यो आधुनिक साली भेना पनि ठँसक्कै पो गनाइसक्यो । भो अब शालीनदी न सालीनदी जनाने त्यता भनेर चिया पिउन थाल्या ता सालीका रन्काले चिया सेलाएर मुखै छिया छिया पार्ने भएछ । साली र चियाका चेपुवामा परेर जिब्रै अररो भैसक्यो बाबै ।

होस् है यो विदेश पनि के जानु र उता स्वर्ग रूपी विदेशको हानादेव महादेवले भन्दा भक्कुको डमरु बजाएर संसारका आशामुखीका मुटु लुगलुग पारेको छ । खै के गर्ने के गर्ने । यी ठुला ठुला प्रमाण–पत्र पनि दाना नलाग्ने मकैका खोस्टा जत्तिका भाउका नि भएनन् । माउ भए पढ्नु न सढ्नु त्यसै कमाउ माउ नभए जति पढे पनि जिन्दगी जपाउ नै भयो । पढेर सडेका मान्छे ता खालि साली हेरेर खाली नै भए । त्यो रमिताको चक्करले पनि लक्करमा नपुर्‍याउने भो भनेर छाडियो ।

साथी मान्दैमान्दैन त । अब कता जाने । लु ठालुको भालु भेला छ रे त्या हान्निउँ भन्ने लागेर दौडियौँ । कहाँ पो बानेश्वर कि कोटेश्वर, त्रिपुरेश्वर कि कुलेश्वर, के स्वर के स्वर यता हाम्रो चैँ सुकिसक्यो स्वर । कता पो भने थे ? बिलखबन्द परेर जे होस् अलिकति मान्छे आँट्ने छ नि अझै ता भनेर त्यो घिचुवाको थिचुवामा परेर बँचेखुचेको खुल्ला चौरतिरै लागियो ।

त्यहाँ ता मन्चमा सबै पहाडे फर्सीभन्दा ठुला टाउके पो रछन् त । ठिकै हो तल लाउके माथि टाउके भनेर रोटीको टुक्राको झटारो आउला कि भनेर बसेको छाउरा झैँ एकछेउमा लुसुक्क छिरेर टुसुक्क बसियो । व्यास ऋषिले एकछेउ पनि नभ्याउनेले बोलीको तिर हान्ने माइकको फुनाउरो छेउमा आएर नवपुराण छाँटन थाले । “यस महान कार्यक्रमको उद्घोषण गर्न मलाई जिम्मा दिनुभएकामा हाम्रा दछेप्रजापति सरहकाज्यूलाई धन्नेबाद ।”

अब उनको पुराणका अनेक अध्याय र कथानकले श्रोताका कानमा रुवा कोचौँ झैँ हुन थाल्यो । यस्तो टाउको भएका,यस्ता कान भएका,यस्तो नाक भएका,यस्ता आँखा भएका,यस्तो जिउडाल भएका महान व्यक्तित्वलाई ….को आसन ग्रहण गर्न अनुरोध भन्दा भन्दै आधा समय चट् । ती म हान्‌हरू कुरा हान्न महाभारतका अस्त्र जस्तै शब्दास्त्र लिएर तयार थिए । कस्ले तोडिलो अस्त्र तोड्ने भन्ने ध्याउन्नले अरु कुरा सम्झिने फुर्सदै थिएन ।

कार्यक्रममा बिरालो बाँधेर गरिने उद्घाटन र श्राद्धादि कामले आधाको आधा समय फेरि चट् । अब बाँकी समयमा ती तिखारिएका म हान्‌ले कसले कति हान्ने हुन् । हामी जस्तै पशुपतिमा वरदान माग्न जाने भक्तजन जस्ता रोटीका टुक्राका आशामुखी भक्तका कुरा ता गोली मारौँ ।

उनले तीनत्रिलोक चौधभुवन पुकारेर एकजना फर्सी टाउकेलाई पोडियमको ओडियम लाइदिए । उनको पालो आफ्नै मुख मुसार्दै जिब्रो फट्कार्न थाले । उनका भगवानरूपी महाप्रभुको बाडबखानमा निकै शब्द र समय खर्चिए मानौँ उनी शेषनाग नै उत्रिए । उनका भगवानले सबै कुरा तथास्तु भनेकाले अब सबका सब जन मग्नमस्तमा रामाउन पाउछन् । उनका वाक्य ता तेत्तीसकोटि देउताले ता काट्न सक्तैनन् अरुका के कुरा । तल पररर पररररर तालिमप्राप्त तालीवाजहरू । केही प्राध्यापक डा. पनि ओठमुसार्दै गोजीमा हात घुसार्थे । अरुका देशमा प्राध्यापक डा.को जीवन अनुसन्धानमा बित्छ, हाम्रामा कति गतिलो छ हेर्नु न तालीका तालिमे भएर बित्छ । प्राध्यापक डा. को हैसियत ता लाइटरको बेटरी जस्तो पो ।

ती वक्ता ता डाक्टरभन्दा कैयौँ गुना उपचार गर्न जान्ने पो रहेछन् । अझ इन्जिनियरभन्दा बडा,वकिलभन्दा खडा बाफ रे बाफ तिनले नजानेको ता विश्वव्रह्माण्डै पो रहेनछ । तर गोलीबाट बँचेर झोली थाप्नेको ता के थाहा तिनलाई । बाख्रा हुल्ने बेलादिेखि थालेर तिनले संसार हाँक्ता हाँक्तै घामले ता एकजुवा मात्र बाटो बाँकी राखेरछन् । मान्छेका कता काम कता दाम,कसको नाम कसको माम । एकदुई गर्दै चौरी ता झन्नै खालि पो भएछ । प्रमुखले बोल्नै बाँकी छ त्यसैले बस्ने आग्रह आइरहे पनि ताइँ न तुइँका फुइँ भन्दै मान्छे कुलेलम ठोक्न थाले । हामी पनि मनको रित्तो टोकरी बोकेर छेउमा लुसुक्क बसेका टुसुके न थियौँ । नाइटाभित्र भ्यागुत्ता नौमती थर्काउन लागे । कहाँ न कहाँ चौखुरी बाहाँ फरक्क फर्किएर भेटिस् भाउ भन्दै सुइँकुच्चा पो ठोक्यौँ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x