
काइदाको कञ्जुस
नत्र त त्यस्तो बिब्ल्याँटो पक्ष व्यहोर्नु परेको छैन । यस अर्थमा पनि म भाग्यमानी छु । त्यसैले पनि म आफूले आफैलाई काइदाको कञ्जुस घोषित गर्न हर्दम कर्म क्षेत्रमा हतारिन्छु । हजुर पनि ह्याउले भ्याउँछ भने दाउ नचुकाउनुस् है ।

शेषराज भट्टराई :
चाहिदोभन्दा धेरै लोभ गर्ने लोभको भकारीलाई कञ्जुस भन्नुपर्छ । यस्ताको स्वभाव अलिनु पनि नखाने नुन ढिकी पनि नफोर्ने हुन्छ । म आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्दा लाग्छ मभन्दा कञ्जुस यस संसारमा कोही जन्मिएकै छैन । पत्याउनु हुन्छ म पोखरीमा पानी पिएर प्याकाप्याका भएको छु र कसैले हात दे म तान्छु भन्यो भने म हात दिन छच्किन्छु र त्यतैबाट सोझै स्वर्ग जान्छु । दिन खान भनेपछि मेरो नौनारी गलेर आउँछ । अरूको पाएँ भने श्राद्धको बाहुनको झै ल्वाङ खाने ठाउँ पनि राख्दिन ।
ल्वाङ पनि खान नसक्ने ब्राह्मणको विषयमा एउटा कथन छ । पुरेत बाजेले सोह्र श्राद्धका बेला घुमी घुमी श्राद्ध गरेछन् अरे । अनि श्राद्ध सकेपछि साथीको घरमा गएछन् । साथीले केही खान अनुरोध गरेछन् तर उनले मानेनछन् । अनि साथीले एउटा ल्वाङ भए पनि खानुस् भनेछन् । अनि पुरेत बाजेले भनेछन् ल्वाङ अट्ने ठाउँ भएको भए त खीर खाइहाल्थे नि । भनेपछि मीठो कुरा कस्तरी धोकिएछ आफै अनुमान लगाउनुहोस् ।
कुरा बिहान बिउझिए देखिकै सुरु गरौँ । जब निन्द्राले छोड्छ अनि एउटा आँखाको पावर बचत होस् भनेर एउटा आँखा त्यसमा पनि थोरै खोलेर हेर्ने गर्छु । भएकी एक थान आफ्नै स्वास्नीलाई पनि त्यही गर्न सुझाएको बुझाएको छु अनि पाइखाना प्रवेश गर्छु र सौच विधिबाट निवृत्त भएपछि साबुन पानीको बचत होस् भनेर एउटा हातको औलाहरू मात्रै पखालेर आफू सफा चट भएको अनुभव गर्छु । अनि एकै हातले बिरालाले झै मुख धुन्छु । गम्छा टाबेलमा किन लगानी गर्ने भनेर दुवै हातका बाहुलाले मुख पुछ्ने गर्छु । बाहुलाहरु कटकट बनेर दरो अररो हुनु नै त्यसको सबुत प्रमाण हो । जेहोस् मिलेसम्म जोगाउने वा आफ्नो बनाउने ध्याउन्नमा बकुल्लाले झै बेतालमा पनि ताल कुरिरहेको हुन्छु ।
पुजाकोठामा प्रवेश गर्छु जहाँ विभिन्न आकार प्रकार र रङ्गिविरङ्गी ढुङ्गाहरुको बजार लगाएको छु जसलाई शालीग्राम नामले पुकार्छु । प्यारो हृदयका देवता शालीग्रामलाई निख्लो पानीका छिटा थोपा बाहेक धुप दिप, नैवेद्य, अक्षता, पुष्पाञ्जली अर्पण गर्न दशैँ, तिहार वा विशेष पर्व आउनु पर्छ । अरू बेला फलफूल अक्षता, द्रव्यादी आफैलाई ठिक्क हुन्छ । भगवान्का भागमा जहिले पनि अनिकाल सुख्खाराम । दानवीर कर्ण बन्न कहिल्यै सकिएन । उपकार, उपहार, दान दक्षिणा झुक्किएर पनि कतै चुहाएको सम्झना छैन । बरु आफैले अचाक्ली ग्रहण गरेर लुड्याउने र दाताको मन कुँड्याउने काम मबाट प्रशस्त भएको छ । यसमा पनि कञ्जुस्याइँले आफू ओतप्रोत भएको हुनाले अरूको पीर मर्काले झट्ट कहाँ हुन्छ र ? मरुभूमि मनलाई ।
चिसो सर्दी नलागोस् ज्यानबाट सिगान, कफ, खकार खेर नजाओस् दबाई मुलोको पैसा पुरै बचोस् भनेर वर्षमा एक दुई पटक खरानीले नुहाउने गरेको छु । मेरी प्यारी परानीलाई पनि खरानीले नै नुहाउन लगाउँछु । भन्नेले मलाई जोगी भोगी भन्छन् तर यथार्थमा म अर्ध जोगी हो किनकि बाहुनको जातै आधी उधी त मागेरै गुजारा चलाउँछन् । मात्रै फेरीलगाएर गाउँ चहार्दिन बाँकी सबै मबाट फत्ते हुने कुरा सत्य नै हो । आफ्नो दारी काट्दा छुरा ब्लेडमा ठूलो लगानी खेर जाने हुँदा सारा शरीर, गाला, टाउको लगायत शरीरमा मौजुदा रौँ, मयल पसिनाले सुगन्धित भएर देउते बोको बिर्साउने भएको हुन्छ । कतै लाइनमा बस्नु पर्यो भने सबैले मलाई सम्मान गरेर पुरै ठाउँ छोडी दिन्छन् । अपार खुसी त्यही लाग्छ कञ्जुसले यत्तिको सम्मान पाएकै हो शायद सुगन्धित भएर होला ।
चिया चमेना खान भान्सामा प्रवेश गर्छु अनि अण्डा उसिन्न बसालेकै पानीमा चिया सख्खर घोलेर चियाको स्वाद लिने गरेको छु । अण्डाको छाला बोक्र्याएर गोजीमा हाल्छु ताकि यसले पेट भरेछ भन्ने सुइको अरूलाई दिन मन लाग्दैन । अण्डाको गुदी चाहि मल बनाउन किलकिलेबाट तल छिराइदिन्छु । पचाउने नपचाउने के गर्ने के नगर्ने सम्बन्धित निकायले जानोस् । आन्द्रा र आमाशयको जो मर्जी । कसैले धोक्न नसकेर शेष खुराक केही रहेछ भने पचाउने क्षमताका साथमा दमपच पार्ने तागत आफूमै सुरक्षित राख्न माहिर छु म । त्यसैले होला ससुरालीको भान्सामा हत्तपत्त पस्न नदिए पनि दुःख लाग्दैन । किनकि यस्ता बुहार्तन मैले आफ्नै श्रीमती बुहारीबाट नै व्यहोरेको छु । दुःख, दर्द, कष्टमा म अभ्यस्त भैसकेको छु । यसो विचार गर्छु मान्छेलाई कञ्जुस केले बनाउँछ ? अभाव, स्वभाव, संगत या परिस्थिति ? त्यो भोग्नेलाई या म जस्तो लोग्नेलाई थाहा हुन्छ ।
साथीभाइ, छोराछोरी, साला, ससुरा, साली, सासू, दाजु भाइ, इष्टमित्र बाहिर भित्र, जेजतिले मलाई नजिकबाट चिन्छन् ती सबैले मेरो छाया देखेपछि माया नमानी जानीजानी हक्कानिँदै आफ्नो खुराक दायाँबायाँ, खाल्डो टोड्को गुह्यस्थान शिरपोषभित्र जता हुन्छ त्यतै लुकाउने छोपछाप पार्ने गर्छन् । एकपटकको कुरो हो हजुर आमाले टोक्दै गरेको तातो पिडालु लुकाउनु भएको रहेछ । म अगस्ती ऋषिको बिँडो धान्न जन्मिएकाले केकेन भेट्टाएँ भनेर गड्याम्म टोकेको हजुर आमाको अगाडिको चारवटा नक्कली दात त्यही पिडालुमा अड्किएर बसेको रहेछ । चपाउँदा दाँत नै छिन्नभिन्न भयो । पछि हजुर आमाले मेरो पिडालु खै भन्दै खोजिरहनु भएको थियो । म पेट दर्द भयो भन्दै ट्यापेको भट्टी पसलतिर टाप कसे । भरे साँझमा घर आउँदा सबैले मलाई माझमा पारेर थुरे थर्काए भएका मेरा मौजुदा दाँत पनि झारुम्लाझै गरे । थोते दाँतले नै मलाई चिथोरौला झै गरेर विस्फारित नेत्रका साथ हजुरआमाले जङ्गिनै लट्ठीले लघारिन । विचरा वृद्ध हजुरआमाको मानमर्दनमा पनि मलाई कुनै पछुतो लागेन । किनकि पिताजी भन्नु हुन्थ्यो जे काम गर्छस् राम्रोसँग गर । नभन्दै कसैले आँखा झिमिक्क नपार्दै दुनियाँको गाडधन अन्न पानी जानीजानी मैले मेरै खोकिलामा अटाइदिन्छु । हुन त उखानै छ नि अराउनु भन्दा गर्नु छिटो माग्नु भन्दा चोर्नु निको ।
भोज भतेर विवाह ब्रतबन्ध, सभा समारोहमा हत्तपत्त कसैले बोलाउँदैनन् । कसैले आक्कल झुक्कल बोलाएछन् भने त्यो भोजको आयोजक प्रायोजक ठेकेदार थकथक मान्दै नराम्रोसँग जिल खान्छन् । मेरो जागर पनि प्रशंसनीय छ । घण्टौँ लगाएर पचाउँदै थप्दै प्याच्च पुच्च थुक्दै फेरि खाना छोडेर पाइखाना जादै फेरि खानामा रम्दै जम्दै फेरि नानाले सिगान पुछ्दै मलाई कस्तो मस्ती । तल र माथिबाट संकोच नमानी ढुइँढुइँ डकार्ने कला पनि मसँग मौजुद छ । अनि भोजमा डकार्दै हसुर्दै कसैले हकार्ला भन्ने पिरलो पनि पटक्कै नहुने । साँच्चै भनुभने भोज त मलाई नभई नहुने । भोजको सुरुको उपभोक्ता पनि म आफै र अन्त्यको अतिथि पनि म आफै ।
यसरी जसैतसै दाँत घाटी र आन्द्रालाई दुःख दिएर गोजेरो त भर्छु भर्छु अनि मौका मिलाएर कोट पाइन्टका गोजी र थैला थैली पनि पुष्ट बनाएर भोलिको जोहो गर्ने जाँगर पनि म बाहेक अरूसँग कहाँ छ र ? हत्तु हैरान छ ज्यानलाई । आफ्नो इलम धान्न सधैँ तरबारको धारमा हिँड्नुपर्ने । तैपनि स्वाँठ छुसीहरु भन्ने गर्छन् लोभीको भाँडो उभिण्डो । यसै क्रममा बाथरुममा एकाध पटक उपर्तली हुनु ग्रह कमजोर भएर हो । नत्र त त्यस्तो बिब्ल्याँटो पक्ष व्यहोर्नु परेको छैन । यस अर्थमा पनि म भाग्यमानी छु । त्यसैले पनि म आफूले आफैलाई काइदाको कञ्जुस घोषित गर्न हर्दम कर्म क्षेत्रमा हतारिन्छु । हजुर पनि ह्याउले भ्याउँछ भने दाउ नचुकाउनुस् है । फेरि सधैँ चुकुचुकाएर बस्नुपर्ला ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest