साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुकुकाे महाकुम्भ दर्शन

डुकुले दाबाका साथ भन्न सक्छ नागा हाेस् या अघाेरी यताका जस्ता सिद्ध संसारमा काेही हुनै सक्दैन । कुम्भ दर्शन हाेस् या तीर्थाटन कुनै पनि कार्यका लागि अन्यत्र भाैतारिनु मूर्खता हाे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

बेलबखत आमाले भन्नुहुन्थ्यो ,”बाँच्नु पर्छ अनेक देख्न पाइन्छ ।” आमाकाे किस्सा सुनेर याे डुकु खिस्स हास्थ्याे । आमाले ठान्नुहुन्थ्याे,”मेराे डुकु बुझक्कड छ । कुराेकाे चुराे बुझेर हाँस्याे ।” वास्तवमा म आमाकाे कुरा नपत्याएर हाँसेकाे हुन्थें ।

बुद्धि बङ्गाराे नपलाउँदासम्म आमाकाे अभिव्यक्तिलाई डुकुले ठानेकाे थियाे ,”देख्ने भनेकाे बाँचेकाले नै हाे । मरेकाले के देख्छ ?” तर कुराकाे चुराे घट्ट जस्तै घुमेकाे रहेछ । बाँचेपछि देख्ने कुरा त देखिहालिन्छ । कागताली पर्याे भने नदेख्ने कुरा पनि ट्वाल्ल परेर हेर्नू पर्ने हुन्छ । ङिच्च मुख लाएर देख्नु पर्ने हुन्छ ।जब बुद्धि बङ्गाराे पलाएर आयाे याे कुरा डुकुले थाहा पायाे ।

कागताली परेपछि खुइलिएकाे तालुमा पनि आलु फल्छ भनेकाे सुनेकाे थिएँ । डुकुलाई पनि त्यस्तै भयाे । यसै वर्ष बुद्धि बङ्गाराे पलायाे । यसै वर्ष कुम्भ दर्शनकाे साइत जुर्याे । याे हाेइन त कागताली ? डुकु कति भाग्यमानी छ भन्ने कुरा पनि भन्दिन्छु । म सानै छँदा मेरी आमालाई ज्याेतिषले भनेका रे – “याे बच्चा असाध्यै सच्चा छ । दिमाग अलिक कच्चा छ तर मनकाे अच्छा छ । काल नआएसम्म बाँच्ने कुरा पनि पक्का छ । कुरा यत्ति हाे बेलाबखत राहु,केतु र शनिकाे धक्का छ । “डुकुकाे जीवनमा भएकाे राहु, केतु र शनिकाे डर तिनै ज्याेतिषले जन्तरमा बाँधिदिएर थरथर बनाइदिएको त भन्नै बाँकी थियाे गाँठे ।

डुकुले कुरा मात्रै घुमायाे भन्नुभयाे भने अन्याय हुन जान्छ । डुकुले कुरा मात्रै हाेइन तपाईंलाई सित्तैमा तीन त्रिलाेक चाैध भुवन घुमाइदिन सक्छ । हेर न त्याँ ! बाह्र सत्ताइसका कुरा गर्याे भनेकाे ! कुरा गर्ने भनेकै बाह्र सत्ताइसकाे हाे । बाह्र राशी सत्ताइस नक्षत्र । यहीँ बाह्र सत्ताइसकाे शुभ साइतले बाह्र वर्षे कुम्भ दर्शनकाे माैका मिलेकाे हाेइन ? गङ्गा सागरमा मानव सागर त्यसै उर्लिएकाे हाेला ?

डुकु कुम्भ गएकाे कुरा गाउँमा चर्चाकाे विषय बनेछ । नबनाेस् पनि कसरी ? आखिर गाउँ सानाे छ । मान्छे साना छन् । चित्त सानाे छ । पित्त सानाे छ । ठूलाे छ केबल कुरा मात्रै । काम सानो छ । डुकु सानो चित्त भएकाे मान्छे हाेइन । कुरा काट्नेहरूलाई गंगाजल, टीका र फल ल्याइदिएर याे मन अझ प्रफुल्ल भएको छ ।

कुम्भ दर्शनकाे कुरा शुम्भ निशुम्भलाई नसुनाएर पनि भएन । कुम्भ दर्शनमा दर्शनयाेग्य थिए नागा साधु र अघाेरी बाबाहरू । यसैगरी थिए ; याेगी, सन्यासी, महात्मा तपस्वीहरू । डुकुकाे नजर यिनै नागा र अघाेरीहरूमा थियाे । डुकुकाे मात्रै किन ? प्राय : सबैकाे थियाे । नागा हर्ने भनेपछि सबैका आँखा जागा नहुने कुरा भएन । अनेक स्वरूप र भावभङ्गीका रङ्गीचङ्गी बाबा र माताहरूकाे दर्शन मात्रै डुकु तृप्त भएकाे कुरामा कुनै सन्देह छैन ।

डुकु कुम्भबाट फर्कदै गरेकाे हल्ला गाउँभरि फैलिएकाे रहेछ । सारा मानिसहरू गाउँकाे चाैताराेमा मेरै पर्खाइमा बसेका रहेछन् । मलाई पनि खुसी लाग्याे । घरघरमा डुल्नु परेन ।एकै ठाउँमा सबैलाई जल र फल दिन पाएँ । गाउँलेहरूले जिज्ञासा राखे , “कुम्भमा खास के थियाे ?”

गाउँलेहरूका जिज्ञासा मेटाइदिनु डुकुले कर्तव्य ठान्याे । स्वस्थानी कथाका अगत्स्य मुनि र कुमारजीका संवाद शैलीलाई पछ्याउँदै कुम्भ वर्णन अगाडि बढ्याे –

ए मेरा आमाबाबु, दाजुभाइ र दिदीबहिनीहरू हाे ! हामीले कुरा नबुझ्दा नजिकैको तीर्थ हेला भएकाे रहेछ । उता बाह्र वर्षमा एकपटक कुम्भ लाग्छ । तर हामीकहाँ लाग्ने कुम्भ उताकाे जस्तो हाेइन । याे त देवादिदेव महादेव पशुपतिनाथकाे देश हाे । पशुपतिनाथकाे कृपाले यहाँ सधैंभरि कुम्भ छ । यताका नागा जस्ता उताका देखिएनन् । कुरा सत्य हाे; उताका नागा वस्त्र तथा आभुषणरहित थिए । यताका नागाहरू वस्त्र तथा आभुषणमा सुसज्जित छन् । यताका नागाहरू सुट, बुट र टाइमा शाेभाएमान छन् । यता र उताका नागालाई तुलना गर्दा उताका नागाहरू टिठलाग्दा देखिए । शरीरमा वस्त्रका नाममा धराे पनि देखिएन । जाडाेकाे माैसममा पनि चरनाम नाङ्गै । उताकाे कति गरिब देश हाे ? जनतालाई धराेसमेत दिन सकेकाे छैन । केही नभएर त नाङ्गा भएका हाेलान् । कतिपय नाङ्गा हुँदा बाङ्गा काम गरेर बाबा भए हाेलान् जस्तो पनि लाग्याे ।

कुम्भ हाेस् त यताकाे जस्तो । बाह्रमासे कुम्भ पाे कुम्भ । बाह्र वर्षमा लाग्ने के कुम्भ ? नागा साधु र अघाेरी बाबाहरू हाम्राजस्ता धर्मनिष्ठ उताका लागेनन् । यताका नागा अलिक आधुनिक छन् । हेर्दा नागाजस्ता लाग्दैनन् । त्याे केवल व्यवहारमा झल्किन्छ । अध्ययनशील नभए पनि विद्यावारिधीका ज्ञाता छन् । भूत,वर्तमान र भविश्य यिनकै वशमा वशीभूत छ । सर्वसाधारणहरू चालीस कटेपछि चालीसे लाग्याे भन्छन् । नागा साधुहरूलाई बुढ्याैली छुँदैन । अझ भनाैं यिनमा अष्टचिरञ्जीवीकाे आशीर्वाद छ । भीष्म पितामहकाे इच्छामरणकाे वरदान छ ।

डुकुले केही कुरा अघाेरीका पनि गर्दछ । मसानघाटमा बस्नु , भस्मीभूत घस्नु , जे पायाे त्यहीँ ठेस्नु अघाेरी बाबाका विशेषता हुन् । यताका अघाेरीहरूले पूर्ण रूपमा आफ्नो धर्म पालना गरेका छन् । शब्दकोशले जे पायाे त्यहीँ खाने , ज्यादै फाेहरी र कालाे जादु जानेकाे भनेर अघाेरी शब्दलाई परिभाषित गरेकाे छ । यताका अघाेरीमा यी सबै विशेषता विद्यमान छन् ।

सामान्यत : अघाेर पन्थका अनुयायीहरूलाई अघाेरपन्थी भन्ने गरिन्छ । यताका अघाेरपन्थीहरूका पनि विभिन्न सम्प्रदायहरू छन् । काेही आफूलाई दक्षिण पन्थीका रूपमा ,काेही वामपन्थीका रूपमा आफूलाई चिनाउन ज्यादा रुचि राखेकाे पाइन्छ । यताका अघाेरीहरूले आन्दोलन ,विद्राेह र क्रान्तिका नाममा नरभक्षण गरेर मुण्ड माला लगाएकाे किम्वदन्ती बुढापाकाहरू सुनाउँछन् । परिवर्तनशील वर्तमान परेवेशमा यताका अघाेरीहरू आठदस तले कुटीहरूलाई आश्रम बनाएका छन् । चिल्ला एवम् चील गाडीहरूमा सवार गर्छन् । पाैराणिक कालका ऋषिहरूले जस्तै नदीनालाहरू सर्लक्क निलिदिन्छन् । जमिनहरू दबाइदिन्छन् । सुनचाँदी , धनदाैलत भाैतिक वस्तुहरू जठराग्निमा लगेर पचाइदिन्छन् । खाद्य हाेस् कि अखाद्य यिनले नपचाउने कुनै चिज या वस्तु छैन ।

डुकुले दाबाका साथ भन्न सक्छ नागा हाेस् या अघाेरी यताका जस्ता सिद्ध संसारमा काेही हुनै सक्दैन । कुम्भ दर्शन हाेस् या तीर्थाटन कुनै पनि कार्यका लागि अन्यत्र भाैतारिनु मूर्खता हाे ।

अब डुकुकाे सबै दाजुभाइ ,दिदीबहिनी र आमाबुबाहरूमा एउटै मात्र अनुराेध छ । आफूसितै रहेकाे कस्तुरीलाई पहिचान गर्न सकाैं । यतैकाे कुम्भ दर्शनलाई प्रवर्द्धन गर्नु आजकाे अपरिहार्यता हाे । उताउताका कताकताका नागा साधु र अघाेरी बाबाहरूका सट्टा यतैका नागा तथा अघाेरीहरूकाे दर्शन गरी मनाेकाङ्क्षा पूरा गराैं ।

०००
२०८१।११।०३

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

जय होस् नागाहरुको!

Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x