नगिता लेप्चा राईलोकार्पण फोबिया
हिजोआज कतिजना साहित्यिक, समाजसेवक भनाउँदाहरू किताब किनिदिनुपर्छ भन्ने फोबियाले कार्यक्रममा उपस्थित हुन डराउँछन्। यसलाई लोकार्पण फोबिया नभनेर अर्को नाम मलाई आएन।
नगिता लेप्चा राई :
ज्यू,
लोकार्पण भनेको त कुनै नयाँ पुस्तक सार्वजनिक गर्नु। अनि फोबिया चाहिँ ?
फोबिया चाहिँ एक किसिमको टेन्सन विकार हो म भन्छु। यो डर, भय, सुर्ता, चिन्ताको क्लाइमेक्स रुप हो। यस्तो स्थितिमा फोबियाको जन्म हुन्छ। फोबियाले जन्तु जनावर मात्र होइन मानिसलाई समेत बढ़ी मात्रामा दुर्बल बनाउने डर हो। कसैलाई पानीदेखि डर लाग्छ…नदीमा तैरिरहेको डुङ्गामा बसी नदीविहार गर्न डराउँछ। यसलाई वाटर फोबिया भनिन्छ।
त्यसरीनै हिजोआज केही केही साहित्यकारलाई लोकार्पण फोबियाले ग्रस्त पारेको देखिन्छ। किनभने लोकार्पणको निम्तो पाएपछि धेरै साहित्यकार तथा तथाकथित समाजसेवक भइटोपल्नेहरू किताब किनिदिनुपर्छ भनेर लोकार्पण फोबियाले लोकार्पण समारोहमा उपस्थित हुनदेखि डराउन थालेको देखिन थालिएको छ।
जाति, समाजको सर्वाङ्गीण विकास, उन्नति र प्रगति गर्न रातदिन तड़पिरहने एकजना समाजसेवक महोदयकहाँ लोकार्पण समारोहका निम्ता पुगेछ। निम्तो पत्र देखाउँदै आफ्नै मिल्ने साथालाई भनेको सुनिहालेँ- हेर्न एई…फेरि लोकार्पण समारोहमा उपस्थित भइदिने निम्तो पत्र आएछ।
साथीले भने, जा ना त अन्त….कस्तो सम्मान गरेर बोलाएको तँलाई। आफ्नो जाति र समाजप्रति तेरो योगदान समर्पणको कदर गरेर पठाएको निम्तोको अनादर नगरी गई दे न।
ती समाजसेवक निम्तो पत्रलाई उल्टा हातले हिर्काउँदै बोले, ठिकै भनिस् । तर बुझिस् ? यो सब धन्दा हो…धन्दा हो।
छक्क पर्दै साथी बोले, धन्दा ? के भन्छस् हौ ब्र ?
उनको जवाब, धन्दा हो। लिक्खटिक्कै एउटा खदा घिच्रामा झुण्डाइदिन्छ अन्त किताब बोकेर खाता लिएर आउँछन्…पैसाको लागि। पाँच सय हाल्नैपर्ने । कति किताब किन्नु हौ यसरी। न आफूलाई साहित्य पढ़्ने बानी होस् न है फेरि।
साथी घरै उचाल्ने गरी बोल्छन्, आम्बो ! तैँले के भनेको यो हँ ब्र ? अन्त लोकार्पणमा तँलाई तीन सय देखि साँढ़े तीनसयको भात दिएको, घरि घरि पनि कार्यक्रमको बीच बीचमा स्न्याक्स, पकौड़ी, प्याजी, बिस्कुट, चिया दिएको हिसाब गरेको छस् के त हँ !
उनको तर्क, म चिया त पिउँदिनँ।
पिउनेले त पिउँछन् नि। हेर् भाइ कार्यक्रम हुँदै गर्छ,,,,बिच बिचमा तीनदेखि चारपल्ट चिया दिन्छ। एक कप चियाको दस रुपियाँ। चार पल्ट, कतिले त पाँच देखि छ कपसम्म उड़ाउँछन्। हिसाब गर् त लु चार कप नै ओके। चार कप चियाको दस रुपियाँ गरेर चालिस रुपियाँ। स्न्याक्स, पकौड़ी, प्याजी, भुजा, (कति कार्यक्रममा त काजु, किसमिस वा ड्राइ फ्रुट पनि दिन्छ)…सबै मिलाएर लु एकसय रुपियाँ अरे। अन्त हिसाब गर् त..भात, मासु, सब्जी, दाल. पाप़ड़, सलादको साँढ़े तीन र स्न्याक्सको एक। साँढ़े चार भएन ? अन्त तैँले लु पाँच सय दिइस् अरे। तँलाई त पचास रुपियाँ नाफा भएन ?
लोकार्पण कार्यक्रममा त लञ्च स्न्याक्स हुनैपर्छ नि। त्यो आयोजक समितिको कर्तव्य पनि हो।
अन्त तैँले यत्रो ग्यादरिङमा खदा लाउनु पाएको चैँ ? त्यसको मूल्य त हजार रुपियाँभन्दा कम्ति नहोला। सबैले खदा लाउनु कहाँ पाउँछ र ?
यस्तो अवस्था छ। त्यसैले हिजोआज कतिजना साहित्यिक, समाजसेवक भनाउँदाहरू किताब किनिदिनुपर्छ भन्ने फोबियाले कार्यक्रममा उपस्थित हुन डराउँछन्। यसलाई लोकार्पण फोबिया नभनेर अर्को नाम मलाई आएन।
फेरि फेरि कोही चाहिँ खदा लाउनु पाएन भनेर किताबको सर्जकलाई टेँढ़ो आँखाले हेरिवरी कार्यक्रम चल्दै गर्दा मेरो अलिकति इम्पोर्टेण्ट काम छ भनेर सुइँकुच्चा ठोक्नेहरू पनि मेरो नजरबाट ओझेल भएको छैन।
त्यतिमात्र कहाँ र कार्यक्रममा खदा लाउनु नपाउनु अर्कै कुरा हो…खास कुरा लोकार्पण कार्यक्रममा माथि मञ्चमा लोकार्पण कार्यक्रमको सभा शिरोमणि, प्रमुख अतिथि, विशिष्ट अतिथि, अति विशिष्ट अतिथि, सम्माननीय अतिथिको आसनमा बस्नु नपाउनेहरू ठुस्किने पनि कम्ति छैन। यो कुराले मलाई एउटा घटनाको याद आयो। मेरो किताब लोकापर्णमा मसित सधैँ राति च्याट गर्ने अनि मिसयू मिस यू…मिस यू….मिस यू लेख्ने झिल्के साहित्यकारलाई निम्त्याएँको थिएँ। उनी आए। मसित हात मिलाए। उनको हात मिलाइमा अर्कै लक्षण बुझेँ मैले तर मैले यादै गरिनँ। उनलाई आयोजकमण्डलीले माथि चढ़ाएनन्। त्यस्तो भयङ्कर भएको भा पो चढाउनु माथि ? खदा पाउने त कुरै आएन। मैले पनि मेरो वक्तव्यमा मलाई अनगन्ति सहयोग गर्ने, मेरा शुभचिन्तकहरूको नाम मञ्चबाट भनेँ। उनको नाम लिनु भुसुक्कै बिर्सेछु।
माथिबाट बोल्दै भए पनि यसो हेरेको ती खदा फोबिया, अतिथि आसन फोबिया माष्टर कति बेला सुइँकुच्चा ठोकेछन् थाहै भएन।
किताब लोकार्पण समारोहको दिन मोबाइल धेर चलाएकीले बेलुकी ब्याट्री डाउन भएछ। म पनि थाकेकीले मोबाइल चार्जमा हालेर सुतेँ। भोलिपल्ट बिहान फ्रेस भई मोबाइल हेरेँ…त्यो मिस यू फोबियाको म्यासेज हेरेँ….मोराले मलाई राति नै ब्लक गरेछन्।
हाँस् उठ्यो…यो लोकार्पण फोबिया, अतिथि आसन फोबिया, खदा फोबियाभन्दा पनि मिस यू फोबिया र उनको ब्लक सम्झेर घरै उचाल्ने गरि हाँसिपठाएछु।
म हाँसेकी देखेर पति महोदयले घोचिहाले….ल्या तिमीलाई पनि लोकार्पण फोबियाले भेट्यो कि क्या हो ??
म बोलिनँ….नबोलि ड्रेसिङ टेबलको ग्लासमा मुख देखाएर लिपस्टिक दल्न थालेँ। किनभने मलाई अरु फोबियाले नभेटे पनि मेक अफ फोबियाले त भेटेकै छ नि हजूर !!
000
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest





































