हरि खनालढुक्कराज
हैन यिनलाई त याशिका मात्र होइन हवि पनि बनाउनै पर्ने भो ।' इन्चार्जले केटोतिर हेरेर भन्यो ।' अब भने साँच्चै याशिका बनाउने भए अझ हवि बनाए के गर्ने ? तिर भैरे तिर ।' मनले भन्यो । मैले चुपचाप एकसय तिरेँ र बाटो लागेँ ।

हरि खनाल :
तपाईंहरू को को के के कुरामा ढुक्क हुनुहुन्छ ? यो मैले सोध्ने प्रश्न पनि होइन जसको उत्तर दिनुपरोस् । तर केही घटनाहरूको चर्चा गर्छु आज जो कसैका कारणले उनीहरू ढुक्कै छन् ।
घटना १: घरमा शुद्ध र ताजा चियापत्ती राखेर र शुद्ध दुध हालेर चिया खाँदा खाँदा वाक्क लाग्यो । श्रीमतीज्यूका आँखा कान छलेर लुसुक्क: नजिकैको चियापसलमा गइयो । यसरी आँखा कान छल्नेको सङ्ख्या त्यहाँ पुगेपछि थाहा लाग्यो धेरै पो हुँदारहेछन् ।
‘दिदी मीठो चिया है ?’ भन्न के बाँकी भयो र ? सिल्ली ग्राहक न हो । साहूजीका पसलमा गयो साहूजी कपडा राम्रा छैन क्यारे । भन्ने हामी । फस्टकल्लासको छ लौ हेर्नुस् नराम्रो भए सिलाइपछि पनि फिर्ता ल्याउन सक्नुहुन्छ । जवाफ दिने साहूजी । होटेलमा गयो भोकको सुरमा सोध्यो साहुजी खाना ताजा छ त ?
साहुजी पनि के कम ? सबै भर्खरै पकाएको भन्दै हिजोको डल्ला धुलो पार्दै टक्र्याउँछन् । आम चलन हो हामीले पनि भनीहाल्यौँ दिदी चियापत्ती राम्रो है । उनले पनि भनिन् ‘फसक्लास । यो त इलामबाटै ल्याएको हो ।’ पकाउने बेलामा इलामबाट होइन लिलामबाट ल्याएको पनि हुँदैन । हिजोदेखि पकाउँदै थन्क्याउँदै गरेकोले बाजी मार्छ । चिया तान्यौँ सुरुप सुरुप पार्दै । चिया मीठो त के भन्नु ? परिवर्तन मीठो भएको होला ।
पैसा दिने बेलामा दिदीले एक कपको चालीस ठटाइन् । मेरो छुचो मुख भनिहालेँ ‘यो के गरेको हो दिदी ? अलि बढ्ता भएन र ? समात्लान् है ?’ मेरो खबरदारीलाई उडाउँदै भनिन् ‘याशिका बनाइदिऊँला है ठूलो स्वरले नबोल्नुस् ।’
‘ए याशिकालाई थन्क्याए भनेर दिदी खुसी ?’ मेरा छिमेकीले सोधे ।
‘खुसी मात्रै होइन ढुक्कई ।’ काला कोट लगाएका दाँत देखाउँदै दिदी हाँसिन् । हामी बबुराले चालीस पञ्चे हालेर निकोटिन पान गर्यौँ र खुरुखुरू बाटो लाग्यौँ ।
घटना २: अर्को दिनको कुरा हो । होटेलमा खाजा खान पस्यौँ । होटेलवालाले पहिले एक एक बोतल पानी ल्याइदिए । तिर्खाएको झोकमा एक होइन दुई बोतल रित्त्यायौँ । खाजा खाएपछि होटेलवालाले पानी मात्रै बोतलको तीस ठटाए ।
‘हैन दश पर्ने पानीलाई तीनगुना साहुजी ? मैले के भनेको थिएँ उनले चोर औँला देखाउँदै भने ‘याशिका बनाइदिऊँ ?’
‘त्यसो भए याशिकालाई थन्क्याएपछि तपाईं पनि खुसी ?’ मैले प्रश्न गरेँ । मेरो प्रश्न नखस्दै उनी हाँसे र भने ‘खुसी मात्र होइन ढुक्क । कम्ता कराउँथिन् तिनले । नाफा पनि खान नपाउने गाँठे ।’
घटना ३: होटेलबाट बाहिर निस्केर हिँड्दैथियौँ बाटोमा दुई वयस्कहरू पिसाब गर्न ठिक परिरहेका रहेछन् । उनीहरू त्यस्तो ठाउँमा पिसाब गर्न लाग्दै थिए जहाँ यहाँ दिसापिसाब गर्न मनाही छ लेखिएको थियो । यो त अति भयो भनेर मैले नै मुख खोलेँ । ‘ए भाइ हो यो दिसापिसाब गर्न मनाही गरेको ठाउँमा पिसाब फेर्न मिल्छ ? कम से कम लेखेको त हेर ।’
‘हामीले त्यो लेखेको ठाउँमा पिसाब गर्न लागेका हौँ र ? हामी त यी यहाँ ।’ एकजनाले भनेर पाइन्ट खोल्न थाले ।
‘यहाँ भनेको त्यही ठाउँ हो नि भाइ ।’ मैले थपेँ ।
‘लौ लौ यही लेखेकाले बाधा गरेको भए यो पनि मिल्यो ।’ अर्का वयस्कले भने र गर्न भनेर लेखेको अघिल्तिर न थपिदिए । ‘अब पढ्नुस् त के भयो ? ‘ उनी हाँसे ।
अर्काले पढेः ‘यहाँ दिसापिसाव नगर्न मनाही छ । देख्नुभयो ? लौ अब यहाँ दिसापिसाब नगर्ने काम गैरकानूनी हुन्छ । आउनुहोस् तपाईं पनि मजाले पिसाब फेरेर जानुहोस् । ‘किच्च हाँस्दै अर्का वयस्कले भने ।
‘यो त अति भयो भाइ । नियम कानून हातमा लिने ? ‘म पनि जङ्गिएँ ।
‘याशिका बन्न लागेको हो तपाईं ? बनाइदिऊँ याशिका ?’ पहिलो वयस्क जङ्गिए । याशिका बनाइदिऊँ भनेपछि मेरो पनि सातो गयो । हैन हैन म याशिका नै होइन । तपाईंहरू याशिकालाई थन्को लगाएपछि कतिको ढुक्क हुनुहुन्छ भनेर जाँचेको मात्रै पो हो त ।
‘हामी त ढुक्क छौँ । लौ आउनुहोस् तपाईं पनि मजाले पिसाब फेर्नुस् ।’ दोस्रो वयस्कले पिसाब फेर्न शुरु नै गरे । हामी लुरुलुरु बाटो लाग्यौँ ।
घटना ४: अर्को दिनको कुरा हो । हाताहात कार्यालयमा कर तिर्न गएको । मलाई थप पाँच सय दिनुहोस् म तिरिदिन्छु । मलाई थप दुई सय दिनुहोस् म तिरिदिन्छु । यसो भनेर दलाली घटाघट पनि भयो तर त्यो राम्रो काम होइन भनेर आफैँ लाइनमा बसियो । दलाली दर घटाघट र बढाबढ गर्नेहरुमध्ये कम्तीमा पनि एकजना पहिले नै लाइन बसेजस्तो गर्दा रहेछन् । एकै जनाले मुठो भिडाएपछि लाइन बस्ने हामी जस्ता बबुराको पालो ढिलै आउँदो रहेछ । त्यहाँ पनि कम्प्लेन गर्न बाँकी राखिएन । ‘किन यस्तो गरेको तपाईंहरू कार्वाहीमा पर्नसक्नुहुन्छ ।’ मैले यति के भनेको थिएँ तीन चार जना हुल उठेर आए अनि एकै स्वरमा चिच्याए ‘ याशिका बनाइदिऊँ ? प्रहरी बोलाइदिऊँ ?’
याशिका बनाइदिऊँ भनेपछि मेरो पनि सातो गयो । उनीहरू पनि याशिका थन्किएपछि ढुक्क रहेछन् । एक घन्टा पाँच मिनेट पाँच सकेण्ड बिताएर मोटरसाइकल झिक्न पार्किङमा गएको रु १०० दिनुहोस् त भनेर त्यहाँको इन्चार्ज चिच्याए । ‘ए बाबा एक घन्टा भएको छ किन एक सय ?’ झिनो स्वरले प्रतिवाद गरेँ । उनी चिच्याए ‘याशिका बनाइदिऊँ ? प्रहरी बोलाइदिऊँ ?’ आशिका बनाइदिऊँ भन्नेबित्तिकै डर लाग्छ ।
नजिकै रहेको अर्को मुन्द्रेले भन्यो ‘यिनको नागरिकताको नाम हेर त । यिनको नाममा सहकारीबाट ऋण लिएर हवि पनि बनाइदिऊँ । एकैपटक याशिका र हवि बनाइदिएपछि काम पुगेन ?’ म पनि गलेँ अब साँच्चै त्यसै गरे भने के गर्ने ? ‘यति त भन भाइ एक घण्टा राखेको कति हो ?’
‘एक घण्टाको ५० हो । तपाईं आउँदा एक घण्टा पाँच मिनेट र पाँच सेकेण्ड भइसकेको थियो अनि थप पचास लाग्यो र १०० भयो ।’ केटाले हिसाब सुनायो ।
‘अलि बढि भएन र भन्या ? ‘
‘कस्तो सुढ्ढो रहेछ ? अब त अर्को ५० थप्नुपर्ने भइसक्यो ।’ मुन्द्रे झर्कियो ।
‘अर्को पचास थप्नुपर्ने कारणचाहिँ के नि भाइ ?’ मैले विनयी स्वरमै सोधेँ ।
‘तपाई यतिका बेर यहाँ उभिइसक्नुभयो । तपाईंको पार्किङ शुल्क लाग्दैन ? हैन यिनलाई त याशिका मात्र होइन हवि पनि बनाउनै पर्ने भो ।’ इन्चार्जले केटोतिर हेरेर भन्यो ।’ अब भने साँच्चै याशिका बनाउने भए अझ हवि बनाए के गर्ने ? तिर भैरे तिर ।’ मनले भन्यो । मैले चुपचाप एकसय तिरेँ र बाटो लागेँ । अलि पर पुगेर पछिल्तिर फर्केर चिच्याएँ ‘ढुक्क राज मुर्दा मुर्दा भन्दै थिएँ मुन्द्रे केटो मैभएतिर दुगुर्यो अनि जिन्दावाद भनिदिएँ । ऊ मुसुक्क हाँस्यो म बाटो लागेँ ।
नोटः यस व्यङ्ग्य निबन्धमा उल्लेखित घटना र पात्रहरू काल्पनिक हुन् कसैको नाम र घटनासँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































