साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काजीमानको विशेषाङ्क

'म पनि भूतभाइलाई नै दिउँ कि के हो ? प्रकाशकलाई दिने भनेको एकबाट आधा लिइहालिन्छ । यिनले दिएको पाँचबाट तीन दियो भने त भूतभाइले लेखिदिइहाल्छ ... प्रयागराज सोचमग्न भए । काजीमानले गएँ है भनेको पनि उनले सुनेनन् ।

Nepal Telecom ad

हरि खनाल :

‘कता हो काजीमान दाजु ? आज त खुट्टा पनि जेड आकारमा पो चल्या छ त । कुनै विशेष दिन ?’ छिमेकी प्रयागराजले परैबाट चिच्याए । ‘एक्स भयो होला भन्ने ठानेको त जेड पो भएछ ?’ काजीमानले किच्च दाँत देखाउँदै सोधे ।

‘एक्स नै हुनुपर्ने थियो र काजी दाजु ?’ प्रयागराजले प्रश्न थपे । काजीमान केही नबोली प्रयागराजकै घर छेउमा गए ।
‘लौ सुन भाइ, यसपाली एउटा किताब निस्किँदैछ क्या ।’
‘किताब ? किताब त जहिल्यै निस्किरहेको होला नि । हजुरले यसअघि पनि धेरै किताब ल्याउनुभएको थियो हैन र ?’ प्रयागराज प्रश्नमाथि प्रश्न थप्दै गए ।
‘हैन हैन त्यस्तो कुरा होइन । कुरा अर्कै छ क्या ।’अलिक सानो स्वरमा बोले काजीमान । उनले स्वर सानो बनाएपछि प्रयागराज काजीमानको नजिक सरे ।

‘कस्तो किताब ? अनि के हो अर्कै कुरा ? सुनाउन मिल्छ ?’ प्रयागराजले पनि सानै स्वर बनाउँदै सोधे ।
‘मेरो विशेषाङ्क प्रकाशन हुने कुरा भएको छ । भाइले पनि सहयोग गर्नुपर्यो क्या ?’ काजीमानले प्रयागराजको कुममा हात राख्दै भने ।
‘तपाईंको बारेमा लेख्नुपर्ने हो ?’
‘हो ।’
‘के लेख्ने ?’
‘त्यति पनि थाहा छैन र भन्या ? समाजसेवी, साहित्यकार, लेखक, असल छिमेकी कति छ कति विषय लेख्नका लागि ?’ काजीमानले भने ।

‘ए ठीक भन्नुभयो । दुई वर्ष अघि तपाईँले त्यहाँ मन्दिर बनाउन केही चन्दा दिनुभएको थियो । मानिस मर्दा धेरैपटक मलामी पनि जानुभएको छ हकि ? ल ल समाजसेवी भनेर लेख्ने मसला पुग्यो । तर….’
‘के तर किन अड्किएका भाइ ?’
‘साहित्यकार र लेखकचाहिँ कसरी भन्ने हो ?’ प्रयागराजले सोधे । काजीमान मुसुक्क हाँसे ।
‘पोहोर साल भ्यान्टाबारी भन्ने पत्रिकामा कविता छापिएको हैन ? मैले देखाएको थिएँ त बिर्सियौ ?’ काजीमानले प्रयागराजको हात समाउँदै भने ।
‘ए त्यो कविता हो हो हाम्रो माहिलोले लेखिदिएको हैन त ?’ प्रयागराजले भेद खोले ।
‘अँ अँ सानो स्वरमा भन । त्यसका लागि मैले तिम्रो माहिलोलाई पाँच सय दिएको थिएँ ।’ काजीमानले भने ।
‘ए हो हो सानो स्वरमा भन्नुहोस् ।’ यसपटक सानो स्वर भन्ने पालो काजीमानको आयो ।

‘यस्तै गरी लेखिएका कथा र नाटक पनि त होला नि ?’ प्रयागराजले सोधे ।
‘कथाकार काजीमान, नाटककार काजीमान शीर्षकमा अरू कसैले लेख्दैछ । कवि काजीमान पनि अर्कैले लेख्दैछ । तिमीचाहिँ सामाजिक व्यक्तित्व काजीमान भनेर लेख भाइ ।’ काजीमानले भने ।
‘हजुरको विशेषाङ्क भनेपछि यस्तो लेखिदिनेहरूलाई केही छ कि ?’ प्रयागराजले सोधे । काजीमान मुस्कुराए । उनले दुई औँला देखाउँदै भने ‘यति हिँडिसक्यो ।’

‘दुई भनेको कति ? ‘ प्रयागराजले नबुझेजस्तो गरी सोधे । काजीमानले सानो स्वरमा भने लाख त लेखाउन मात्रै खर्च भइसक्यो । पुस्तक प्रकाशन गर्नेलाई यति ।’ काजीमानले दुई ‌औँला देखाए ।
‘भनेपछि मेरो भागमा कति आउने भयो त दाजु ?’ प्रयाग राजले पनि खुँगा थापे । काजीमानले खल्तीबाट चल्तीको पाँच हजार गनेर दिए ।

अनायास काजीमानको मोबाइल फोनको घण्टी बज्यो । उनले फोन उठाए । ‘हेलो नमस्कार । हँ ? हँ ‘ काजीमान लडे ।
‘काजीमान दाजु, के भयो ? के गर्यो  यो फोनले हँ ?’ प्रयागराजले काजीमानको फोन समाते र भर्खर आएको फोन नम्बरमा कल गरे ।
‘के भन्नुभएको काजीमान दाजुलाई ? उहाँ त लड्नु भयो त ?’ प्रयागराजले सोधे ।
‘म पुस्तक प्रकाशक हो । मैले उहाँलाई यो महिना तपाईंको नपर्ने भयो अर्को महिना के भनेको थिएँ लड्नु भयो जस्तो छ । सम्झाउनु होला ।’
प्रयागराज फोन राखेर काजीमानको तालुमा चिसो पानी ठोक्न थाले । केहीबेरपछि काजीमानको होश आयो । प्रयाग राजले सम्झाउँदै भने ‘हजुरको पालो अर्को महिना भनेको छ त किन लड्नुभएको ?’
‘त्यसले अर्को महिना भनी भनी दुई वर्ष पुर्याइसक्यो । अब उसलाई दुई होइन तीन वा चार दिने मानिस आए होलान् ।’ काजीमानले लामो सास तान्दै भने ।

प्रयागराजले फेरि फोन गरे । ‘प्रकाशकज्यू ! उहाँको तयारी सकिइसकेको छ । अर्को महिना नभन्नुहोला । बरू हजुरलाई दुईको ठाउँमा अरू केही थपेर दिनुहुन्छ रे ।’ प्रयागराजले भने ।
‘हवस् लौ पक्का भयो । यसपाली काजीमानकै गर्ने ।’ उताबाट आवाज आयो । काजीमान जुरुक्क उठे । उनले भने ‘यो पुस्तक प्रकाशन भएपछि यसको विमोचन गर्ने खर्च पनि मैलै नै बेहोर्ने हो । त्यतिबेला पनि एक डेढलाख लाग्ला । यसको बारेमा राम्रो बोलिदेऊ न भनेर मान्छे खोज्नुपर्छ । बोलिदिनेलाई पनि दश दश हजार दिइसकेको छु । अनि अहिले आएर अर्को महिना भन्दा मान्छे लड्दैन त भाइ ? ‘ काजीमानले प्रश्न गरे ।
‘अब भन्दैन दाजु । एक थप पाइसक्यो । ढुक्क हुनुहोस् । अँ एउटा कुरा भन्नुहोस् त यो दाहिने हातको खत समाज सेवा गर्दाकै होइन त ?’ प्रयागराजले सोधे ।
‘यो त घर मै लड्दा लागेको हो भाइ ।’ काजीमानले अनकनाउँदै भने ।

‘हैन दाजु , गाउँका मानिस विरामी भएको भन्ने सुनेर आधा रातमा उनीहरुकहाँ दौडिँदा लागेको चोट हो यो ।’ प्रयागराजले हाँस्दै भने ।
‘स्यवाश, दामी कुरा गर्यौ । यस्ता राम्रा राम्रा कुरा लेखमा आयो भने म भाइलाई पुरस्कार पनि दिनेछु है । अहिले जाऊँ ?’ काजीमानले भने । प्रयागराज काजीमानलाई पुर्याउन गल्लीसम्म पुगे ।
‘काजीमान दाजु । मैले त्यसलाई एक थपूँला भनिदिएको छु । अब त्यसलाई एक दिन हजुर होइन मै जाऊँला । त्यसले गडबड गर्न लाग्यो भने मै ठीक पारूँला । तपाईंले एक दिनुस् र ढुक्क हुनुहोस् । अरू लेखकहरूलाई छिटो लेख्न भन्नुहोला नि ।’ प्रयागराजले सम्झाए ।

‘लेख्नेको चिन्ता नगर भाइ । भूत भाइले लेखिरहेका छन् । शायद सकियो होला । नाम मात्रै फरक फरक मान्छेको राख्ने हो । आफैँले लेख्ने कामचाहिँ तिम्रो मात्रै हुनेछ ।’ काजीमानले रहस्य खोले ।

‘म पनि भूतभाइलाई नै दिउँ कि के हो ? प्रकाशकलाई दिने भनेको एकबाट आधा लिइहालिन्छ । यिनले दिएको पाँचबाट तीन दियो भने त भूतभाइले लेखिदिइहाल्छ …’ प्रयागराज सोचमग्न भए । काजीमानले गएँ है भनेको पनि उनले सुनेनन् ।

‘भाइ ! किन नबोलेको ? एक त म केहीबेरपछि ल्याइहाल्छु नि किन चिन्ता गरेको ? पत्यार नलागे हिँड घरमै ।’ काजीमानले भने । प्रयागराजले मुसकुराउँदै भने ‘म हजुरलाई विश्वास गर्छु । किन जानुपर्यो ?’
‘हस् हस् ।’ काजीमानले हात हल्लाए । प्रयागराजले पनि हात हल्लाउँदै भने ‘वास्तवमा दाजु महान् समाजसेवी हुनुहुन्छ ।’

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x