गणेश शर्मा पौडेल 'चन्दन'सामन्ती रूख
यो कसरी हामी सुकुम्बासीहरूको हितैषी हुन सक्छ, जबकि यसले वर्षाैंदेखि ३/४ कठ्ठा जमिनमा आफ्नो अड्डा जमाएको जमायै छ ।

गणेश शर्मा पाैडेल :
मानिसहरूले शमीको रूख रोपे । समयक्रममा त्यो रूख निकै ठूलो भयो । त्यो मूल बाटाको शमीको शीतल छहारीमा बटुवाहरू सुस्ताउन थाले । भरियाहरू मस्ताउन थाले । शमीको रूख अझै झाँगिदै गयो । समय सँगसँगै गाउँ टोल छरछिमेक वरपर चारैतिर त्यही झाँगिएको त्यही शमीको चर्चा परिचर्चा हुन थाल्यो । शमीको रूखको अगाडि अरू वरपिपल, सिमल, डुम्रीका रूखहरू फिका हुन थाले । वर्षैं बित्यो ।
युग परिवर्तन भयो । नयाँ बटुवाहरू आए, नयाँ भरियाहरू आए । नयाँ गोठालाहरू आए, नयाँ नयाँ चेहरा देखिन थाले । शमीको रूख खचाखच भरियो ।
त्यस्तैमा एउटा बासिन्दाले घाँटीको नशा फुल्ने गरी चिच्चायो, साथी हो, “त्यो शमीको रूखको शीतलता वाहियात तर्क हो । तपाईहरूलाई मूर्ख बनाउन खोजिएको छ । यो कसरी हामी सुकुम्बासीहरूको हितैषी हुन सक्छ, जबकि यसले वर्षाैंदेखि ३/४ कठ्ठा जमिनमा आफ्नो अड्डा जमाएको जमायै छ ।”
अर्को बोल्यो – “साथी हो, त्यो ३/४ कठ्ठा जमिनमा हाम्रा झुपडी र टहराहरू बन्न सक्थे । यो सामन्ती रूख हो । अब यसको नामोनिसान मेट्नु पर्छ ।”
कुरा सुन्नेहरू चकित भए । सबैजना चुपचाप चाराना बोले आठाना अवस्थामा पुगे । शमीको गुण र शीतलताको वकालत गर्ने त्यहाँ कोही निस्केन ।
०००
कुथुङ्ग्रो (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































