साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्घटनाको ललनामा सधैं हामी अदना ?

सबैतिर तदर्थवाद र गठबन्धन संयन्त्र अचूक औषधि र रामवाण भएको यो अराजक तथा भजगोविन्दे अवस्थामा सधैं जोखिम मोलेर दुर्घटनाको यात्रामा सामेल छौ हामी । कमिसनको मिसन चलाएर सिद्धान्त, आदर्श र विचार रित्तिएका बिचाैलियाबाट हामीले के आशा गर्ने ?

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

घटना, काण्ड, पर्व, परिघटनाहरुमा दुर्नामको दाैलत कमाएका हामी केही समययता बस, ट्रक, मिनी बस, ट्याक्सी, मोटर साइकल, स्कुटी र आकाशमार्ग उँड्ने थरी थरीका सबार बाहनका दुर्घटनामा नामी भएर विश्व रेकर्ड तोड्न कस्सिएका छौं । ‘दुर्घटना’ भन्नाले कुनैं व्यक्ति वा वस्तुको हानि वा नोक्सानी क्षति हुने आकस्मिक घटना, अपर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना, हानिनोक्सानी, क्षति, नाश, मृत्युजस्ता दुर्घात अथवा दुर्मरणलाई बुझाउँछ । हामीकहाँ घट्ने विविध दुर्घटनामध्ये भैंबाटो र आकाशे बाटोमा घना रुपमा दुर्घटित घटनाले यतिखेर हाम्रो दुर्मेधालाई छिरिलबिरिल पारेको छ ।

दुर्घटना भएपछिका लगत्तै केही आलो समय हामी नियम, कानून र आचारका अनुयायी बनेर निकै तात्छौं, उर्लन्छौं र भाषणमा कुर्लन्छौं पनि । विभिन्न खाले मार्ग तथा राजमार्गमा कर्के नजर लगाएर छड्के जाँच गर्ने ‘हरि’ बिर्सिएका सुरक्षा थरीहरूकाे नाटकीय मार्चपास मजैले चल्छ । जब त्यो दुर्दान्त घटना बिस्तारै विस्मृतितिर धँकेलिन्छ अनि हाम्रो ‘नानी देखिको हेपाहा बानीले’ पानी पानी भएर दुर्घटनाका रचनाकार बन्नतिरै ओरालो झर्छाै ।

धराप सडकमा कुरकुस्त मान्छे र भारी बोकेर हिंडेका कयौं यातायात तडक भडकले छिल्लिएका गीतका रेकर्डमा न्वारनदेखिको बल झिकेर उच्च गतिमा आफ्नो चालकीय मति बिगारी खति पुग्ने गरी हकुवाहरु हाँकिएका देख्दा मुटु भट्याक ! भट्याक ! हुन्छ आम यात्रुहरुको । मिति गुज्रिएका थोत्रा सवारी साधन नयाँ इनामेलमा रङ्गिएर पेसिन्जरको आँखामा फुलो पारी कुलो र भीरतिर निहुँ खोज्दै ढलपल ढलपल यात्रारत छन्, कयाैँ बस, मिनिबस, फोर्स र हाइसहरू । आफ्नो क्षमताभन्दा झन्नै दोबर भार बोकेर उलटपुलट हुँदै दौडेका सबारी साधन देख्दा कल्लाई मुटु चीसो बनाउदैन ?

अझ ड्राइभरका नजीक बसेर वानपिसमा मडारिई चटारिएका छकमली मैँयाहरुको चालकसित अश्लील गफ र रफ कुराले दुर्घटनालाई गतिलै मसला थप्छ । गुरुजीसित लठारिएर यत्रतत्र चिमोट्दा र निमोट्दा आएका ऐ्य्या ! ऐ्य्या ! आथ्था – आथ्था आवाजसँगै कयौं सवारी साधन छङ्गासुर भिरतिर पुगी नदीको तीरमा समाधिस्थ बन्छन् । त्यत्राविधि –यात्रुको जीवनसित खेलबाड गरेर बहाड मार्ने गुरुजी र हुनेवाली गुरुमाहरुले कयौंलाई खुरुखुरु यमलोकतिर पुर्याइ पो दिन्छन् बा ! अनि त दुर्घटनाको ललनामा बिलौना ग¥यो , शोकसभा मनायो , एकछिन रोयो , काजकिरिया सक्यो । यस्तै नियति हाम्रो जीवन गति भैरहेको छ ।

आकाश मार्गमा उड्ने विमानहरुमा पनि सिटबाहेक भैंमा यात्रुलाई बसालेर ओभरलोडमा उडान भर्ने उल्टा बहादुरहरुका कुकर्मले अन्तर्राष्टिय जगत्मा समेत शर्महारा बनाएको छ हामी नकच्चरालाइ । थलमार्गमा गुड्नेको त कुरै नगरुम् । बसभित्र सिट, उपसिट र सहसिट बनाएर चिटचिट पसिना आउने गरी गुन्द्रुक खदाईले नपुगेर भत–भत पोल्ने छतमा समेत पैसा कमाउने कुलतमा यात्रु कोचिन्छन् । ट्राफिक प्रहरीलाई शुभलाभ दिलाएर क्षमताभन्दा दुईगुणा भार बोकेर हिँड्न तयार हुने नाफाखोरी चालक बालख हो, भेडा बाख्रा बनाएर सवारी साधनलाई दोस्रो खोर तयार गर्ने यातायात व्यवसायी व्यवसायी नभएर बगरे हाे भन्छन् कतिपय पेसिन्जर । हेर्न नसक्ने यस्ताे दृष्यलाई पैसाको लोभमा आँखा चिम्लने प्रशासक झन् महाचोर र घुसखोर हो, अनि यस्तो स्थितिमा पनि गन्तव्य सोझ्याउने यात्रुहरु घोर मूर्ख हैनन् र ?

यस्तै कुकामले दिनको झन्नै दसजना यात्रुलाई कालले हाम गर्छ भने त्यसको दोब्बर यात्रु घाइते र अपाङ्ग बन्न पुगेका छन् । अनि सवारी साधन क्षतविक्षत भएर ठूलो भौतिक एवं मानसिक नोक्सानी पर्छ । हालै पत्रपत्रिका प्रकाशित हचुवा मिथ्याङ्क हो वा सत्य तथ्याङ्क हो जस अनुसार झन्नै वर्षेनी चार अरबभन्दा बढी रुपैयाँ सवारी साधन, घाइते र मरेकाहरुको क्षतिपूर्तिमा व्ययभार हुन्छ, त्यसैले त नेपालको अर्थतन्त्र क्रमशः ओरालो लागेको मृगनियति भोगिरहेको छ ।

अनुभवहीन सहचालक र उपचालकलाई त्रिबललोटको बाहन जिम्मा दिएर नखरी परीसित ताता गफमा चटारिएका चालकहरुले यात्रुजतिलाई बालक बनाएको देख्दा दुर्घटनाले बाजा बजाउन पर्ने थिति नै पर्दैन । सडक निर्माण र मर्मतका कोटेसन र टेण्डरमा दादागिरी मच्चाएर आधा रकम हात लागी गर्ने अराजक जत्था, कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरेर उपल्लो बिल पेश गर्ने हरामी छद्म निर्माण व्यवसायी , जनसेवाको रामनामी ओढेर भ्रष्टाचार गर्न पल्किएका कर्मचारीतन्त्र नै सुन्दर र स्वस्थ सडकका अस्वस्थ भाइरस हुन् भनी हाकाहाकी आराेपकाे खाेप लगाइरहेका छन् । कागजी बाघ उठाएर योजना र परियोजनालाई खाग बनाउने थरीथरीका हरिहीन नामधारी सरकार, दलको नाममा रहेका पाल्तु दादा — सञ्जाल, दरिद्र मानसिकताका धर्ममारा कर्महाराहरूकै कुकृत्यले नेपालमा दुर्घटना बढ्दो छ ।

चालकहरु बालख छन् कि भनेर जाँची–बुझी तालिम दिने, सवारी साधनको यान्त्रिक तन्दुरुस्तीको विशेषज्ञद्वारा निरीक्षण, सडकहरुको अवस्थिति कस्तो छ ? त्यसको अवलोकन र यथाशीघ्र मर्मत सम्भार तथा नियम कानून र नीतिको पालना हरेक तप्काबाट हुने हो भने धेरै नेपालीले असमयमै आँखा चिम्लन पर्ने वा अपाङ्ग बन्नुपर्ने अभिसाप हुने थिएन । जसरी पनि बाटो पुर्याउने नाममा धर्सो कोरेर बजेट सिध्याई बिल पेश गरी जय — भागबन्डा गर्ने लुटेरा जथ्थाको निर्माण कार्य पनि गतिलो एम्बुस बनेको छ दुर्घटनाका लागि ।

घडेरी बनाउने लहर, यत्रतत्र ठाँउकुठाउँ सहर बसाल्ने रहर र बहर भएकोले पनि यो स्थिति सिर्जना भएको हो । बूढा बूढी, बालक र युवतीहरुलाई अत्यन्त सास्ती दिई अधमरो यात्रा गराउने सवारी साधनले दुर्घटनाको वेग लिएको छ । इन्धनको मूल्य घट्दा पनि सरकार नामधारीलाई जनसरोकारबाट गिराई निरीह बनाउने हुती भएका सिन्डीकेटे यातायात व्यवसायी लूटको स्वर्गमा यात्रुभाडा चुचुरोमै पुर्याएर “काग कराउँदै छ पिना सुक्दै छ” भन्ने उखान चरितार्थ गराएका छन् । सरकारको विज्ञप्ति र चेतावनीलाई धोती लगाइदिएर आम उपभोक्तामा दोब्बरसम्म भाडा असुल्ने अरिङ्गालहरुको बिगबिगी कति सहँने ?

सबैतिर तदर्थवाद र गठबन्धन संयन्त्र अचूक औषधि र रामवाण भएको यो अराजक तथा भजगोविन्दे अवस्थामा सधैं जोखिम मोलेर दुर्घटनाको यात्रामा सामेल छौ हामी । कमिसनको मिसन चलाएर सिद्धान्त, आदर्श र विचार रित्तिएका बिचाैलियाबाट हामीले के आशा गर्ने ? त्यसैले दिनप्रतिदिन हाम्रो सबै यात्रा दुर्घटनातिर सोझिएका छन् । शिक्षा, स्वास्थ्य, दैनिक उपभोग्य यावत् पक्षमा उपभोक्ताहरु लुटेराहरुकै लैनो भैंसी बनेर सधैं जाेखिम खालका दुर्घटनामा हामी केबल ललना गर्ने अदना, निरीह, शोषित प्रजा, बिलौना गर्ने पात्र मात्र बनिरहेछौं भुरेटाकुरेसामु ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x