रामप्रसाद अर्याल ‘अविराम’गणतन्त्रको गथासो
सबैभन्दा गजबको कुरा त के छ भने आम कार्यकर्ता र जनतालाई आश्वासनको लड्डु खान दिए पुग्छ । माग राखुन्, हड्ताल गरुन्, सम्झौता गरे पुग्छ माग पूरा गरिदिनु पर्दैन । आफ्नाले विरोध गर्दै गर्दैनन् ।

रामप्रसाद अर्याल ‘अविराम’ :
तपाई जनतन्त्र भन्नुस् अथवा गणतन्त्र तपाईँलाई छुट छ । तर जोस्ले बोल्दा होस भने पुर्याउनु पर्छ नत्र भने विपक्षीको डरलाग्दो पक्षीले मजाले कुट्छ । जनको तन्त्र जनतन्त्र र गणको तन्त्र गणतन्त्र हो, भनेर शासन गर्ने नेताहरूका भाषन सुन्दै आइएको छ । तलदेखि माथिसम्म जनताले चुनेकाले शासन गर्ने पद्धति सिरिखुरी कुराको धुरी जिलिगाँठी यही हो । गधासो भनेको मनमा जमेको कुराको थासो हो । यो गथासोको थासो हात्तीको विष्ठा भन्दा ठुलो छ भन्दा अनिष्ट नहोला भए कनिष्ट होला । म फिस्टालाई दुनियाँले गणतन्त्रको खोइरो खनेको देख्दा रोइलो गाँउन मन लाग्छ ।
१. विकासको चङ्गा
हेर्दा धागो टुटेको
एैना देखें फुटेको ।
२. समृद्धिको नारा
.हलो बिना जोतारा
भागी सके खेतारा ।
३. खानपानइन भनी
भत्काएर घरवैलो
रोइलो गए भाँडभैलो ।
४. पारी वनपालेमा
स्यालको सिङ उमे्रको
कल्की छैन खुमे्रको ।
५. राजा ल्याउने भन्दै
उर्फ्री उफ्री नाचेका
छेकबार भाँचेका ।
६. लोकतन्त्रको देशमा
गोरु व्यायो बेउती खाम
नाङ्गै नाचे हेर्न जाम ।
७. यती बोल्न पाएको
गणतन्त्र आएर
नयाँगीत गाएर ।
८. कति राम्रो हुन्थ्यो
दिनमा तारा देखिए
सुनौलो घाम छेकिए ।
९. मसान जगाएर
राजा बन्ने जपना
दिनमै देखे सपना ।
१०. आन्दोलनको बेला
लुकी बसे आँटिमा
गोली हान्ने घाँटिमा ।
११. फोटो खिच्यो भनी
कोठा भित्र झारेका
आगो सल्काई मारेका ।
यो “रोइला” जोईला गएर खोइला खाँदाको हो । जोइला जानेले खुदो खान पाउनेकुरा भएन गुड त झन परको कुरा । देशका ठुला मुखियाहरू पनि जोइला गएका र मात्र पहिला भएका छन् । म त झन नाकमा कुकुरसुली लिने र फुली लाउनेको सामान बोक्ने कुल्ली न हुँ ।
त्यसो त म सबैथोक हुँ । अ्रंकुश लिने निरंकुश व्यवस्थाको धुपौरो समाउने धुपौरे हुँ । पञ्चायति कालको पञ्च । सबै नेपाली पञ्च र सबै पञ्च नेपालीको यसोगान सबैका कानकान परेकै हो । त्यसबाट म अछुतो रहन सकिन । पहिले निर्दलको पछि बहुदलको हिमायती म ।
यो ज्यानले के के देख्यो ? र के के बेहोर्यो भनि साध्ये र गनि साध्दे कहाँ छ र ? राणा शासन , राजाको शासन पछि बहुदल निर्दल देशमा भएका सबैदल देखियो । हिमालमा बसे हिमाली, पहाडमा बसे पहाडीया मदेशमा बसे मधेसी अझै तल झरेर भन्ने हो भने काले, गोरे, चुच्चे–बुच्चे, नाँके, आँखे, ठुलो र सानो जाते, माथिल्लो र तल्लो भाते, माग्दै हिड्ने खाते यो लोकतन्त्र हो कि ? गणतन्त्र म अलमलमा छु । गन देखाएर चलाएर ल्याएको हुनाले “गन” तन्त्र भन्नु पर्ने हो तर अर्को मनले चुरीफुरी गर्दै भन्छ यो घनतन्त्र हो । किन भने गनको जत्तिकै घनको पनि महत्व छ ।
महाभारत कालमा अहिलेको हिसाबले अर्जुनले लामो दुरीको हतियार गन चलाएर भने दाजु भीमले छोटो मोटो (गदा) घन चलाएर । गनले भन्दन धनले थिचेर सय भाई कौरब मारे । हो रजाइं गर्न घनघोर लडाई गर्ने पर्दछ । अठ्ठा जोकेर ख्याल ख्यालैमा कहाँ हुन्छ र ? कसैेको भनाई छ यो धनतन्त्र हो । किनभने यहाँ धन हुनेले मात्र कुर्सी हत्याउँछ ।
कसैकसैले भन्दछन् यो गणतन्त्र होइन गाँडतन्त्र हो । हो यो भनाई पनि ठिकै हो कमिला अरिङगाल माहुरीको गोला ठुलै हुन्छ, र त बैरीलाई टोकेर चिलेर झोत्तिएर मार्छन, भगाँउँछन् । पंचायती शासनमा भाषन सम्म पनि गर्न बन्देज थियो । पंचको बारीको दाउरा चिरेको, खेतीमा बाख्रा छिरेको नाममा जेल सजाय काट्नेहरू अझैसम्म जिउँदै छन् । भेटाएको मान जानजान कसैले पनि गुमाउन चाहाँदैनन् । अहिले वर्षा लाग्दैछ र जुका जाग्दैछन् । सिमसमार क्षेत्रमा गएको दिन फर्काउने सुरमा ।
अर्को थरी भन्दछन् यो गणतन्त्र होइन भाँडतन्त्र हो । यसले ल्याएको संघीयता नेपाललाई गलगाँड भएको छ । यो हाम्रो देशको लागि ढाड भएको छ । हो यो कुरामा मेरो पनि शत प्रतिशत सहमति छ । घरैबाट सुरु गरौं । आजकाल छोराछोरी अथवा छोरा बुहारीहरूलाई आफ्ना आमा बाबा वा सासुससुरा ढाँड भएर वृद्धाश्रममा सुखशैल गरुन् भनेर थनको मनको लाउँछन् । आधुनिक सम्पन्न बाबुआमाले दुई वर्षे दुधे बालक बालिकालाई बोर्डिङतिर बोडस् गर्दछन् ।
सरकारी क्षेत्र पनि यसबाट अछुतो छैन । चित्त नबुझका कर्मचारीलाई अभागी कार्यालयमा जिल्ला कटाउँछन् , अथवा दुर्गम खटाउँछन् । राजनैतिक दलहरू स्वार्थको दलदलमा फसेका छन् । हरेक दलभित्र अर्को उपदल खडा गर्दछन् । एउटा गुटले अर्को गुटको कार्यकर्ता देखे चिलले चल्ला उडाएझै उडाउँछन् । वा अखन्द्रोमा बुडाउँछन् । केही सीप नलागे अनुशासनको दण्डा चलाएर पार्टीबाटै घोक्रेछुत्ती खेलाउँछन् । गणतन्त्र दुःख गरी ल्याएको हो यो यति धेरै प्यारो छ कि यसको नाम सुन्ने बित्तिकै अँध्यारो मुख लगाउनुपर्दछ ।
गणतन्त्रमा धेरै कुरा छुट हुन्छ । छुट नभए लुट हुन्छ । फुट हुन्छ । यो पनि नभए बोलेको कुरा झुट हुन्छ । यसको एउटा मलाई मनपर्ने विशेषता चाहिँ के लाग्छ भने भ्रष्टाचार पनि नीतिगत हुन्छ । नीति चाहिँ नेतागत हुन्छ अथवा नातागत वा नातागतको हुन्छ । तागतको भए पछि के के गर्न पाइन्छ नेताको विगत हेरौँ है त ।
पुरुष संसदले सुत्केरीले खाने औषधि फोर्टुम खान पाइन्छ । प्राडो पजेरो चढ्न पाइन्छ । राजधानीमै घर भएपनि घरभाडा ढड्न पाइन्छ । नेपाली नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाउन पाइन्छ । नागरिकलाई बेच्न पाइन्छ । आफ्ना नाल नातालाई टिकट दिलाउन र धनाढ्यसँग ठूलै धन राशी जिलाउन पाइन्छ । ठूलो मान्छे भएपछि आलिशान महल बनाउन पाइन्छ । आजीवन सेवा सुविधा हसुर्न पाइन्छ । सहिदका छोराछोरीको नाममा आएको छात्रवृत्ति आफ्नो सन्तान जेहनदार भएपनि नभएपनि दिलाउन पाइन्छ ।
देशमा प्राकृतिक प्रकोप जस्तै आगो लागी, बाढी पहिरो, भूकम्प, कोरोना आदि आए यी हनुमन्तेहरूका खुसीका दिन छाए भने हुन्छ । घर भत्किएर पालभित्र बस्नेहरूलाई आएको त्रिपाल चोर्न पाइन्छ । राहत वितरणको नाममा चार पोका चाउचाउ, चार माना चिउरा, चार किलो चामल र चार मुठी दाल दिएर फोटो खिचाएर टिकटक बनाएर यस एमहरूमा, मुहार पुस्तिकामा अनुहार देखाउन पाइन्छ ।
महामनाहरू यति उदार छन् । कि उनीहरू औषधिमा समेत खेलबाड गर्छन् । कमिसन खाने मिसन सफल छ उनीहरूको । आफूले आन्दोलन गरे लाखौंको संख्यामा जुलुस निकालेको भन्न र अरुले निकाले सय पचासको गन्न पाइन्छ ।
सबैभन्दा गजबको कुरा त के छ भने आम कार्यकर्ता र जनतालाई आश्वासनको लड्डु खान दिए पुग्छ । माग राखुन्, हड्ताल गरुन्, सम्झौता गरे पुग्छ माग पूरा गरिदिनु पर्दैन । आफ्नाले विरोध गर्दै गर्दैनन् । अर्काको विरोध गर्नु धर्म नै हो । भनेपछि किन माग पूरा गर्ने ? भए गरेका काम राम्रो भए मैले नराम्रो भए अर्कालाई दोष दिन पाइने ।
यो देशमा विकास यति धेरै भएको छ कि सारङ्गी भुँडी, घ्याम्पे भुँडीमा परिणत भइसकेको छ । बस्ती नभएको ठाउँमा बाटो, घर नभएको ठाँउमा बिजुली पुगेको छ । नेतृत्वले धेरै कुरा गरेको छ । गणतन्त्रमा खोला नभएको ठाउँमा पुल निर्जन बस्तीमा मूल फुटाएको छ ।
जनता पनि कुन गतिका छाैँ र ? स्याललाई कुखुराको धुमको पाले, बिरालोलाई भरिलो कुडेको रखवाले बनाउँछौं, अनि भन्छाैँ कुखुरा हरायो दूध मन परायो । वर्ग शत्रु र मित्रु छुट्याउन सक्दैनौ हामी आफैले । मैले लोकतान्त्रिक गणतन्त्रको एकथासो गथासो छरपस्ट्याएपछि यसलाई स्याहार्न को आउला ?
एकथरीले भन्छन् राजा आउ देश बँचाउ । म भन्छु हिजो कति खाएका र कति बँचाएका थियौ र ? अहिले सातसय त्रिपन्न छोटे राजाहरू छन् । प्रदेश र सङ्घमा अझ धेरै खाननीय, माननीयहरू छन् । मन्त्री र मुख बाएका सभामुखहरू छन् । तिनले त केही गर्न सकेनन् । मन्त्रीले तोक लगाएर्कोे फाइल महिनौ दिनसम्म पर सर्न दिन्नन् । कर्मचारी नामका स्थायी सरकारी ज्वाइँहरूले । अनि हाम्रो रिसको पारो र दुखेसोको धारो नेतासँग मात्र खन्याएर हुन्छ र ?
अब हामीले साेंच्नुपर्ने बेला आएको छ । को को सच्चिनुपर्ने हो र के के सच्याउनुपर्ने हो ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































