साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको गथासो

सबैभन्दा गजबको कुरा त के छ भने आम कार्यकर्ता र जनतालाई आश्वासनको लड्डु खान दिए पुग्छ । माग राखुन्, हड्ताल गरुन्, सम्झौता गरे पुग्छ माग पूरा गरिदिनु पर्दैन । आफ्नाले विरोध गर्दै गर्दैनन् ।

Nepal Telecom ad

रामप्रसाद अर्याल ‘अविराम’ :

तपाई जनतन्त्र भन्नुस् अथवा गणतन्त्र तपाईँलाई छुट छ । तर जोस्‌ले बोल्दा होस भने पुर्‍याउनु पर्छ नत्र भने विपक्षीको डरलाग्दो पक्षीले मजाले कुट्छ । जनको तन्त्र जनतन्त्र र गणको तन्त्र गणतन्त्र हो, भनेर शासन गर्ने नेताहरूका भाषन सुन्दै आइएको छ । तलदेखि माथिसम्म जनताले चुनेकाले शासन गर्ने पद्धति सिरिखुरी कुराको धुरी जिलिगाँठी यही हो । गधासो भनेको मनमा जमेको कुराको थासो हो । यो गथासोको थासो हात्तीको विष्ठा भन्दा ठुलो छ भन्दा अनिष्ट नहोला भए कनिष्ट होला । म फिस्टालाई दुनियाँले गणतन्त्रको खोइरो खनेको देख्दा रोइलो गाँउन मन लाग्छ ।

१. विकासको चङ्गा
हेर्दा धागो टुटेको
एैना देखें फुटेको ।

२. समृद्धिको नारा
.हलो बिना जोतारा
भागी सके खेतारा ।

३. खानपानइन भनी
भत्काएर घरवैलो
रोइलो गए भाँडभैलो ।

४. पारी वनपालेमा
स्यालको सिङ उमे्रको
कल्की छैन खुमे्रको ।

५. राजा ल्याउने भन्दै
उर्फ्री उफ्री नाचेका
छेकबार भाँचेका ।

६. लोकतन्त्रको देशमा
गोरु व्यायो बेउती खाम
नाङ्गै नाचे हेर्न जाम ।

७. यती बोल्न पाएको
गणतन्त्र आएर
नयाँगीत गाएर ।

८. कति राम्रो हुन्थ्यो
दिनमा तारा देखिए
सुनौलो घाम छेकिए ।

९. मसान जगाएर
राजा बन्ने जपना
दिनमै देखे सपना ।

१०. आन्दोलनको बेला
लुकी बसे आँटिमा
गोली हान्ने घाँटिमा ।

११. फोटो खिच्यो भनी
कोठा भित्र झारेका
आगो सल्काई मारेका ।

यो “रोइला” जोईला गएर खोइला खाँदाको हो । जोइला जानेले खुदो खान पाउनेकुरा भएन गुड त झन परको कुरा । देशका ठुला मुखियाहरू पनि जोइला गएका र मात्र पहिला भएका छन् । म त झन नाकमा कुकुरसुली लिने र फुली लाउनेको सामान बोक्ने कुल्ली न हुँ ।

त्यसो त म सबैथोक हुँ । अ्रंकुश लिने निरंकुश व्यवस्थाको धुपौरो समाउने धुपौरे हुँ । पञ्चायति कालको पञ्च । सबै नेपाली पञ्च र सबै पञ्च नेपालीको यसोगान सबैका कानकान परेकै हो । त्यसबाट म अछुतो रहन सकिन । पहिले निर्दलको पछि बहुदलको हिमायती म ।

यो ज्यानले के के देख्यो ? र के के बेहोर्यो भनि साध्ये र गनि साध्दे कहाँ छ र ? राणा शासन , राजाको शासन पछि बहुदल निर्दल देशमा भएका सबैदल देखियो । हिमालमा बसे हिमाली, पहाडमा बसे पहाडीया मदेशमा बसे मधेसी अझै तल झरेर भन्ने हो भने काले, गोरे, चुच्चे–बुच्चे, नाँके, आँखे, ठुलो र सानो जाते, माथिल्लो र तल्लो भाते, माग्दै हिड्ने खाते यो लोकतन्त्र हो कि ? गणतन्त्र म अलमलमा छु । गन देखाएर चलाएर ल्याएको हुनाले “गन” तन्त्र भन्नु पर्ने हो तर अर्को मनले चुरीफुरी गर्दै भन्छ यो घनतन्त्र हो । किन भने गनको जत्तिकै घनको पनि महत्व छ ।

महाभारत कालमा अहिलेको हिसाबले अर्जुनले लामो दुरीको हतियार गन चलाएर भने दाजु भीमले छोटो मोटो (गदा) घन चलाएर । गनले भन्दन धनले थिचेर सय भाई कौरब मारे । हो रजाइं गर्न घनघोर लडाई गर्ने पर्दछ । अठ्ठा जोकेर ख्याल ख्यालैमा कहाँ हुन्छ र ? कसैेको भनाई छ यो धनतन्त्र हो । किनभने यहाँ धन हुनेले मात्र कुर्सी हत्याउँछ ।

कसैकसैले भन्दछन् यो गणतन्त्र होइन गाँडतन्त्र हो । हो यो भनाई पनि ठिकै हो कमिला अरिङगाल माहुरीको गोला ठुलै हुन्छ, र त बैरीलाई टोकेर चिलेर झोत्तिएर मार्छन, भगाँउँछन् । पंचायती शासनमा भाषन सम्म पनि गर्न बन्देज थियो । पंचको बारीको दाउरा चिरेको, खेतीमा बाख्रा छिरेको नाममा जेल सजाय काट्नेहरू अझैसम्म जिउँदै छन् । भेटाएको मान जानजान कसैले पनि गुमाउन चाहाँदैनन् । अहिले वर्षा लाग्दैछ र जुका जाग्दैछन् । सिमसमार क्षेत्रमा गएको दिन फर्काउने सुरमा ।

अर्को थरी भन्दछन् यो गणतन्त्र होइन भाँडतन्त्र हो । यसले ल्याएको संघीयता नेपाललाई गलगाँड भएको छ । यो हाम्रो देशको लागि ढाड भएको छ । हो यो कुरामा मेरो पनि शत प्रतिशत सहमति छ । घरैबाट सुरु गरौं । आजकाल छोराछोरी अथवा छोरा बुहारीहरूलाई आफ्ना आमा बाबा वा सासुससुरा ढाँड भएर वृद्धाश्रममा सुखशैल गरुन् भनेर थनको मनको लाउँछन् । आधुनिक सम्पन्न बाबुआमाले दुई वर्षे दुधे बालक बालिकालाई बोर्डिङतिर बोडस् गर्दछन् ।

सरकारी क्षेत्र पनि यसबाट अछुतो छैन । चित्त नबुझका कर्मचारीलाई अभागी कार्यालयमा जिल्ला कटाउँछन् , अथवा दुर्गम खटाउँछन् । राजनैतिक दलहरू स्वार्थको दलदलमा फसेका छन् । हरेक दलभित्र अर्को उपदल खडा गर्दछन् । एउटा गुटले अर्को गुटको कार्यकर्ता देखे चिलले चल्ला उडाएझै उडाउँछन् । वा अखन्द्रोमा बुडाउँछन् । केही सीप नलागे अनुशासनको दण्डा चलाएर पार्टीबाटै घोक्रेछुत्ती खेलाउँछन् । गणतन्त्र दुःख गरी ल्याएको हो यो यति धेरै प्यारो छ कि यसको नाम सुन्ने बित्तिकै अँध्यारो मुख लगाउनुपर्दछ ।

गणतन्त्रमा धेरै कुरा छुट हुन्छ । छुट नभए लुट हुन्छ । फुट हुन्छ । यो पनि नभए बोलेको कुरा झुट हुन्छ । यसको एउटा मलाई मनपर्ने विशेषता चाहिँ के लाग्छ भने भ्रष्टाचार पनि नीतिगत हुन्छ । नीति चाहिँ नेतागत हुन्छ अथवा नातागत वा नातागतको हुन्छ । तागतको भए पछि के के गर्न पाइन्छ नेताको विगत हेरौँ है त ।

पुरुष संसदले सुत्केरीले खाने औषधि फोर्टुम खान पाइन्छ । प्राडो पजेरो चढ्न पाइन्छ । राजधानीमै घर भएपनि घरभाडा ढड्न पाइन्छ । नेपाली नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाउन पाइन्छ । नागरिकलाई बेच्न पाइन्छ । आफ्ना नाल नातालाई टिकट दिलाउन र धनाढ्यसँग ठूलै धन राशी जिलाउन पाइन्छ । ठूलो मान्छे भएपछि आलिशान महल बनाउन पाइन्छ । आजीवन सेवा सुविधा हसुर्न पाइन्छ । सहिदका छोराछोरीको नाममा आएको छात्रवृत्ति आफ्नो सन्तान जेहनदार भएपनि नभएपनि दिलाउन पाइन्छ ।

देशमा प्राकृतिक प्रकोप जस्तै आगो लागी, बाढी पहिरो, भूकम्प, कोरोना आदि आए यी हनुमन्तेहरूका खुसीका दिन छाए भने हुन्छ । घर भत्किएर पालभित्र बस्नेहरूलाई आएको त्रिपाल चोर्न पाइन्छ । राहत वितरणको नाममा चार पोका चाउचाउ, चार माना चिउरा, चार किलो चामल र चार मुठी दाल दिएर फोटो खिचाएर टिकटक बनाएर यस एमहरूमा, मुहार पुस्तिकामा अनुहार देखाउन पाइन्छ ।

महामनाहरू यति उदार छन् । कि उनीहरू औषधिमा समेत खेलबाड गर्छन् । कमिसन खाने मिसन सफल छ उनीहरूको । आफूले आन्दोलन गरे लाखौंको संख्यामा जुलुस निकालेको भन्न र अरुले निकाले सय पचासको गन्न पाइन्छ ।

सबैभन्दा गजबको कुरा त के छ भने आम कार्यकर्ता र जनतालाई आश्वासनको लड्डु खान दिए पुग्छ । माग राखुन्, हड्ताल गरुन्, सम्झौता गरे पुग्छ माग पूरा गरिदिनु पर्दैन । आफ्नाले विरोध गर्दै गर्दैनन् । अर्काको विरोध गर्नु धर्म नै हो । भनेपछि किन माग पूरा गर्ने ? भए गरेका काम राम्रो भए मैले नराम्रो भए अर्कालाई दोष दिन पाइने ।

यो देशमा विकास यति धेरै भएको छ कि सारङ्गी भुँडी, घ्याम्पे भुँडीमा परिणत भइसकेको छ । बस्ती नभएको ठाउँमा बाटो, घर नभएको ठाँउमा बिजुली पुगेको छ । नेतृत्वले धेरै कुरा गरेको छ । गणतन्त्रमा खोला नभएको ठाउँमा पुल निर्जन बस्तीमा मूल फुटाएको छ ।

जनता पनि कुन गतिका छाैँ र ? स्याललाई कुखुराको धुमको पाले, बिरालोलाई भरिलो कुडेको रखवाले बनाउँछौं, अनि भन्छाैँ कुखुरा हरायो दूध मन परायो । वर्ग शत्रु र मित्रु छुट्याउन सक्दैनौ हामी आफैले । मैले लोकतान्त्रिक गणतन्त्रको एकथासो गथासो छरपस्ट्याएपछि यसलाई स्याहार्न को आउला ?

एकथरीले भन्छन् राजा आउ देश बँचाउ । म भन्छु हिजो कति खाएका र कति बँचाएका थियौ र ? अहिले सातसय त्रिपन्न छोटे राजाहरू छन् । प्रदेश र सङ्घमा अझ धेरै खाननीय, माननीयहरू छन् । मन्त्री र मुख बाएका सभामुखहरू छन् । तिनले त केही गर्न सकेनन् । मन्त्रीले तोक लगाएर्कोे फाइल महिनौ दिनसम्म पर सर्न दिन्नन् । कर्मचारी नामका स्थायी सरकारी ज्वाइँहरूले । अनि हाम्रो रिसको पारो र दुखेसोको धारो नेतासँग मात्र खन्याएर हुन्छ र ?

अब हामीले साेंच्नुपर्ने बेला आएको छ । को को सच्चिनुपर्ने हो र के के सच्याउनुपर्ने हो ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x