साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराकान्त–शून्यमुनि संवाद

हे शून्यमुनि ! यसरी नेपाल खण्डभित्र जहाँ जहाँ सत्ताको कुर्सीखेलका क्रममा सास गुमाएकाहरूको बहुलिङ्गी संयुक्त स्वरूपका विभिन्न अङ्गहरूको पतन भयो, त्यहाँ त्यहाँ अनौठा अनौठा किसिमका एक एक पीठ उत्पन्न हुँदैगए ।

Nepal Telecom ad

पिँडालु पण्डित :

कुराकान्तजी आज्ञा गर्नुहुन्छ – हे शून्य नाम गरेका मुनि ! तिम्रो नाम नै ‘शून्य’ भएर हो कि किन हो ? डोको जस्तो तिम्रो दिमागमा तिमीलाई जति जे भने पनि कहीँ कतै केही नअडिने भयो । तैपनि तिम्रो अनुनय विनयमा फेरि एक पटक मर्त्यलोकी हिमालखण्डअन्तर्गत अत्यन्त मनोरम नेपाल मण्डलको कुर्सी केन्द्रविन्दुको एउटा कथा दोहोर्‍याएर सुनाउँदछु, अब उप्रान्त ध्यान दिएर सुन ।

हे शून्यमुनि ! इतिहासको सनातनदेखि कहिले उसले, कहिले उसले र कहिले उसले जनताका नाममा राज्य शक्तिका माध्यमबाट राज गरिआएको त्यस नेपाल मण्डलमा एउटा कहिल्यै नास नहुने सत्ताकुर्सी थियो । त्यस सत्ताकुर्सीका लागि जहिल्यै पनि मदले मात्तिएका र बुद्धिले भ्रष्ट भएका त्यस माटोका किरा फट्याङ्ग्राहरूले अनेकन तिकडम, जालझेल गरी त्यो कुर्सी आप्‌mना हातमा पार्न कोशिस गरिरहन्थे । सत्ताकुर्सीका लागि हुने युद्धरूपी खेलमा कहिले को बलियो देखिन्थ्यो, कहिले को बलियो देखिन्थ्यो र सत्ताकुर्सीमा पुग्थ्यो । सत्तामोहका मादले उन्मत्त भएकाहरूलाई सत्ताकुर्सीमा पुगेपछि पत्तै नपाई आँखाको ठुलो रोगले सताउँथ्यो । फलतः कुर्सीमा चढेपछि उनीहरू आफू बसेभन्दा मुन्तिर केही देख्दैनथे । सबैतिर अन्धकारै अन्धकार हुन्थ्यो । जता थिचे पनि जता कुल्चे पनि केही थाहा पाउँदैनथे उनीहरू । तिनै रोगीहरू जब कुर्सीको सम्बन्धबाट विच्छेद हुन्थे तब फेरि उनीहरूको यसअघि गुमेको दृष्टि पुनः प्राप्त हुन्थ्यो र बस्तीका सबै किरा फट्याङ्ग्रा एक एक गरी देख्न थाल्थे । फकाउन थाल्थे । ती सबैलाई आफ्नै हो भनेर सुम्सुम्याउन थाल्थे । सत्ताकुर्सीमा मोह नभएकाहरू त्यस्तो दृश्य रमिता मानेर एकनासले हेरिरहन्थे । ती सबै व्यवहार सहिरहन्थे ।

हे शून्यमुनि ! त्यस किसिमको दृश्य नियाल्ने र व्यवहार सहने क्रममा उनीहरूले इतिहासका विभिन्न कालखण्डमा अनेकौँ सासना र सास्ती पनि बेहोर्नुपर्‍यो । आर्थिक हानी नोक्सानी बेहोर्नुपर्‍यो । यस्तो सासना र सास्ती अब सिद्धियो, आनन्द भयो, ढुक्कले आप्‌mनो सोझो गरेर खानलाउन पाइन्छ भन्ने युग उनीहरूका जीवनमा कहिल्यै आएन । कुकुरले टोक्न आयो भन्दैमा कुकुरलाई टोक्न जान हुन्न भन्ने ज्ञान पालेका ती सबै किरा फट्याङ्ग्राहरू कुनै न कुनै छद्म रूपमा बरु अलि अलि कागजरूपी राता पहेँला अछेता मन्छेर भए पनि तिनीहरूबाट जोगिने प्रयास गर्थे । मन्छिन्थे । उनीहरूका जीवनमा त्यस किसिमको पुण्यकर्म निरन्तर चलिरहन्थ्यो । यसरी विभिन्न स्रोतबाट अदृश्य रूपमा कागजरूपी राता पहेँला अछेता खान पल्केकै कारणले गर्दा पनि सत्ताकुर्सीका खेलाडीहरूका बिच तँ खाने कि म खानेँ भनेर बेलाबखत राम्रैसँग भीषण सङ्घर्ष चलिरहन्थ्यो । सङ्घर्षका क्रममा कहिले को पछारिन्थ्यो, कहिले को पछारिन्थ्यो थाहै हुँदैनथ्यो । न त यतिखेर यसले जित्छ भनेर कसैले पूर्व अनुमान नै पनि गर्न सक्थ्यो ।

विभिन्न नामले पचासौँ टोल, गौँडा र उपगौँडा राज्यमा विभाजन भएको नेपाल मण्डललाई एउटै राज्यमा मिलाउने काम सम्पन्न भएपछि यस किसिमको सत्ताको कुर्सीखेलले झनै व्यापकता पाउन थाल्यो । सत्ताको कुर्सीखेलले जति व्यापकता पाउन थाल्थ्यो त्यति नै त्यहाँका किरा फट्याङ्ग्रारूपी बासिन्दाले अनेकौँ थप सासना र सास्ती बेहोर्नुपर्थ्यो ।

हे शून्यमुनि ! यस क्रममा कसैले गाँस गुमाए कसैले आस गुमाए । त्रास गुमाउने अवसर कोही कसैले कहिल्यै पाएनन् । त्रास सधैँको साथ । गुमाउने क्रम थपिँदै जाँदा बरु कसैले मान गुमाए, कसैले ज्यान गुमाए । कसैले वरसन्तान गुमाए, कसैले परसन्तान गुमाए । यस किसिमको गुमाउक्रम कहिल्यै रोकिएन । गुम्ने गुमाउने काम निरन्तर चलिरह्यो । ती सबै किरा फट्याङ्ग्रा कहिले कसैको आसैआसमा त कहिले कसैको त्रासैत्रासमा बाँच्न विवश भए । खुसीको दिवस उनीहरूका जीवनमा कहिल्यै आएन । तिनले ढुक्कले शान्तिको सास फेरेर आप्‌mना खेतबारीमा पाखुरा खियाउने र भान्छामा पेट उजिल्याउने काम कहिल्यै गर्न पाएनन् । त्यो उनीहरू सबैको निरन्तरको नियति बन्यो र सन्तान दरसन्तानमा पनि त्यही क्रम अगाडि बढ्दै गयो ।

हे शून्यमुनि ! अन्तमा आजित भएपछि सत्ताको कुर्सीखेलका क्रममा सास गुमाएकाहरूको एउटै बहुलिङ्गी संयुक्त स्वरूप बनेर पृथ्वीमा ठडियो र किरा फट्याङ्ग्रा बस्तीलाई फेरि पनि तर्साउने क्रम सुरु भयो । यही क्रममा कुनै समय परस्त्री रमणका आकाङ्क्षाले ग्रस्त भएर आप्‌mनी रूपवती अर्धाङ्गिनी पार्वती समेतलाई झुक्याएर घरमै छाडी मत्र्यलोकी नेपाल मण्डलमा डुल्दै आएका डुलेश्वर महादेवले ती किरा फट्याङ्ग्राको दुःख कष्ट नजिकबाट देख्ने मौका पाए । यो देखेपछि ती डुलेश्वर महादेवका मनमा अति नै दया पलाएछ र तिनको उद्धार गर्ने मनसुवा लिए । डुलेश्वर महादेवको त्यही मनसुवाका कारण उनैले सत्ताको कुर्सीखेलका क्रममा किरा फट्याङ्ग्रा बस्तीलाई तर्साउन सुरु गरेको त्यही सास गुमाएकाहरूको बहुलिङ्गी संयुक्त स्वरूपलाई च्याप्प अँगालोमा हाले र विश्व भ्रमणमा निस्किए । यसरी विश्वभर डुल्दै जाने क्रममा ती डुलेश्वर महादेवका रापले उनैले अँगालोमा हालेका सास गुमाएकाहरूको बहुलिङ्गी संयुक्त स्वरूपभित्रका विभिन्न अङ्गहरू उनले चालै नपाई टुक्राटुक्रामा विभक्त भई पतन हुन थाले । जहाँ जहाँ त्यस्ता अङ्ग पतन हुन्थ्यो त्यहाँ त्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न हुन्थ्यो । त्यसरी शक्तिपीठ उत्पन्न भएका स्थानमा बहुमुखी ब्रह्माले एक एक कलियुगी नवलिङ्ग स्थापना गर्दै गए ।

हे शून्यमुनि ! पहिले गोर्खामण्डलको लिगलिगकोटमा पुग्दा गोडा पतन भयो ! गोर्खा पीठ, गोर्खेश्वरी देवी, उत्तरघण्टा योगिनी, दौडेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा अचानक द्रव्य नामका एक युवा दौडाहा देखा परी तपस्या गरे । गोर्खेश्वरी देवी प्रसन्न भई उनलाई लिगलिगकोटको दौडमा जित हासिल गरी गोर्खाको राजा भएस् र तेरा सन्तान दरसन्तानले समेत गोर्खा राज्यमा अकण्टक राज्य गर्न सकुन् भनी वरदान दिइन् ।

फेरि गोर्खा मण्डलकै एक जङ्गलछेउ पुग्दा मुख पतन भयो ! गुरु गोरखनाथ पीठ, गुफेश्वरी देवी, जङ्गलघण्टा योगिनी, वान्तेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा पृथ्वी नामधारी एक अबोध बालकले आई तपस्या गरे । गुफेश्वरी देवी प्रसन्न भई तिम्रा पाउले स्पर्श गरेका स्थान जतिमा तिमी विजयी भई तिम्रो एकीकृत राजकाज चल्ने छ र विभिन्न बाधा व्यवधानका बिच पनि द्विअङ्कीय पुस्तासम्म तिम्रा सन्तान दरसन्तानले त्यहाँ राज गर्न सक्ने छन् भनी वरदान दिइन् ।

हे शून्यमुनि ! बहुलिङ्गी संयुक्त स्वरूपको स्वर्गीय अङ्ग पतन हुने क्रममा फेरि काष्ठमण्डप उपत्यकामा पुग्दा पाखुरा पतन भयो । उपत्यकेश्वर पीठ, पाखुरेश्वरी देवी, घनघण्टा योगिनी, मुक्केश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा कुँवरादि थर गरेका वीर नरसिंह नामधारी एक छद्मभेषी युवाले ईश्वरीका सामुन्ने खडा भई तपस्या गरे । पाखुरेश्वरी देवी प्रसन्न भई तिम्रा बलबुता र बुद्धिले यथास्थितिमा रहेका राज्य शक्तिका नायकहरूलाई आपसमा मनमुटाव र निर्बल गराई देखिने रूपमा अरूलाई अगाडि सारी राज्य शक्तिको वास्तविक प्रयोग आफूले गर्न सके । यसैगरी सर्वशक्तिमान भएपछि लोकबोलीमा तिमी र तिम्रा भावी पुस्ताले आप्‌mनो थर समेत गुमनाम गरी नवथरका नामबाट सयौँ वर्षसम्म अरूले दुःख कष्टका साथ आर्जन गरेको पवित्र माटोमा अपवित्र शासनसत्ता चलाउन सके भनी वरदान दिइन् ।

शून्यमुनिसँगको संवादलाई निरन्तरता दिँदै कुराकान्तजी आज्ञा गर्नुहुन्छ– हे शून्यमुनि ! फेरि नेपाल मण्डलअन्तर्गत काठमाडौँस्थित लैनचौरमा पुग्दा आँखा पतन भयो । नयनेश्वर पीठ, त्रिभुवनेश्वरी देवी, स्वतन्त्रघण्टा योगिनी, प्रजातन्त्रेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा पीडितादिजनले एक भई ठुलो होहल्ला गरी सामूहिक रूपमा तपस्या गरे । उनीहरूको तपस्यादेखि खुसी भएकी त्रिभुवनेश्वरी देवीले तिमीहरूको संरक्षण र पालनकर्ता म स्वयं हुनेछु भनी वरदान दिँदै उनीहरूलाई बढी नआत्तिन आग्रह गरिन् ।

फेरि नेपाल मण्डल नारायणहिटीमा पुग्दा जिभ्रो पतन भयो । बोलीवचनेश्वर पीठ, पञ्चेश्वरी देवी, स्वतन्त्रहर्ता योगिनी, महेन्द्रेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा चमेरादिजनले खस्याकखुसुक गर्दै रातको समयमा कुनाकाप्चा अन्तरकुन्तरमा लुकी बसी दुई हात जोडी देवी सामु खडा भई तपस्या गरे । ईश्वरीले प्रसन्न भई बहुजन शासन/प्रशासन सखाप पारी जनताका नाममा निरङकुश शासन/प्रशासन लाद्न सके भनी वरदान दिइन् ।

फेरि नेपाल मण्डल काठमाडौँ विमानस्थलमा पुग्दा कान पतन भयो । बहुदलेश्वर पीठ, मेलमिलापेश्वरी देवी, स्वतन्त्रता पुनरागमनकर्ता योगिनी, विश्वेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा बहुदलआस्था गणले दुवै हातले थपडी बजाई तपस्या गरे । ईश्वरी प्रसन्न भई तिम्रो स्वरको प्रस्ट उच्चारण नभए पनि त्यसले जनताका मनमा ठुलो आशा र भरोसा जगाउन सकोस् भनी वरदान दिइन् ।

फेरि नेपाल मण्डलकै घण्टाघर चोकमा पुग्दा हृदय पतन भयो । हृदयेश्वर पीठ, अलमलेश्वरी देवी, जनमतघण्टा योगिनी, वीरेन्दे्रश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा आआफ्नो पढाइ समेत परित्याग गरी बहुभाषी बहुलिङ्गी विद्यार्थी गणले रातदिन अनेकौँ नाराबाजी गरी तपस्या गरे । ईश्वरी प्रसन्न भई तिनीहरूलाई अल्मल्याउने अभीष्टले तिमीहरूको माग सर्वसाधारण जनताबाट परीक्षण हुन सकोस् भनी द्विअर्थी वरदान दिइन् ।

फेरि चाक्सीबारीमा पुग्दा एक आपसमा विद्यमान शङ्कालु मन पतन भयो । चन्द्रशेखरेश्वर पीठ, बहुदलेश्वरी देवी, उग्रघण्टा योगिनी, सर्वमान्य गणेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा वयस्क नागरिक सबै भेला भई अनेकौँ गानाबजाना र नाचगान गरी उल्लासमय रूपमा सडक सडकमा उभिँदै नाचगान अभियान चलाएर तपस्या गरे । ईश्वरी प्रसन्न भई तिमीहरूको मनोकाङ्क्षा छिट्टै पूरा होओस् भनी वरदान दिइन् ।

हे शून्यमुनि ! फेरि श्वासप्रश्वासविहीन संसद् भवनमा पुग्दा एकता पतन भयो । लोकेश्वर पीठ, कचकचेश्वरी देवी, गुटोपगुट योगिनी, गिरिजेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा अल्पमती कम्युनिष्ट गणले आई तपस्या गरे । ईश्वरी प्रसन्न भई राज्यको ढुकुटी बाँडीचुँडीको इतिहास सुरु गरी जनताका सामु भविष्यसम्म नाम राख्ने/कमाउने काम गर्न सके भनी वरदान दिइन् ।

कुराकान्तजी निरन्तर आज्ञा गर्नुहुन्छ – हे शून्यमुनि ! फेरि नेपाल मण्डलको दरबार मार्गको पूर्वोत्तर दिशामा पुग्दा आपसी विश्वास पतन भयो । अति महत्वाकाङ्क्षी अविश्वासादि पीठ, पन्छेश्वरी देवी, आरोप प्रत्यारोप भटटटट जूनतारा योगिनी, अनामेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस (अ)पुण्यभूमिमा नकच्चरादि सुरक्षाजनले विविध हाउभाउ र वर्दीमा उत्रिएर अनेकौँ आधुनिक हातहतियार काखी च्यापी तपस्या गरे । उनीहरूको दैनन्दिनको बोली, वचन र व्यवहारले यसअघि नै वाक्कदिक्क भएकी ईश्वरीले आफू अत्यन्त खुसी भएको बहाना गरी तिमीहरूका आँखा आकारमा खुला देखिए पनि रातका समयमा तिनले पूर्णतः नीदको अनुभूति गर्न पाउन् भनी वरदान दिइन् ।

फेरि नेपाल मण्डलको विष्णुधारामा पुग्दा आसन पतन भयो । खोसेश्वर पीठ, थुतुनेश्वरी देवी, एकान्तवास योगिनी, नागार्जुनेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा कठैवरेन्द्र नामक एक ज्येष्ठ नागरिकले आई तपस्या गरे । ईश्वरीले प्रसन्न भई वरदान माग भनिन् । नेपालप्रति आफ्नो अगाध आस्था रहेकाले यसै भूमिको कुनै एक छेउमा भए पनि मेरो निवास अकण्टक रहोस् भनी वरदान मागे । ईश्वरीले तथास्तु भनी वरदान दिइन् ।

फेरि नेपाल मण्डलको दुर्गम पश्चिमोत्तर दिशामा पुग्दा सुद्धी पतन भयो । लाठीमुङ्गे्रश्वर पीठ, जङ्गलेश्वरी देवी, एम्बुसादि योगिनी, बमबारुदेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा राज्यशक्तिको कुर्सीलाई केन्द्रविन्दुमा राखी आम जनमानसमा अचम्मको त्रास फैलाई वायुरूपी अदृश्य शक्तिले कष्टकर जङ्गल निवासमै रहेर विभिन्न प्रपञ्च गरी दिव्य बाह्र वर्षसम्म कठोर तपस्या गरे । ईश्वरी प्रसन्न भई क्षणिक शान्तिस्थापनाकै लागि भए पनि राज्यको शासनसत्तामा तिमीहरूको पहुँच पुगोस् भनी वरदान दिइन् ।

फेरि नेपाल खण्डकै चक्रपथमा पुग्दा बुद्धि पतन भयो । चौतर्फी भिडेश्वर पीठ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रेश्वरी देवी, आपसी कलह योगिनी, जनतेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा मेची महाकालीका घरलौरी मानिस एकत्रित भई तपस्या गरे । ईश्वरीले प्रसन्न भई अब उप्रान्त तिमी र तिम्रा छोरीछोरी तथा नातिनातिनाले मुलुकको कागजी नायक भई मुलुकभर एकछत्र शासन गर्न सके भनी वरदान दिइन् ।

फेरि नेपाल खण्डकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार पुग्दा नाक पतन भयो । मतदानेश्वर पीठ, चुनावेश्वरी देवी, हाहाकार योगिनी, अल्पमतेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा अल्पमतमा परेका सबै जना आई जनताप्रति क्रोध दर्शाउँदै र हाहाकार मच्चाउँदै एकत्रित भई ईश्वरीको तपस्या गरे । ईश्वरी प्रसन्न भई तिनीहरू सबैलाई सामूहिक वर माग भनिन् । उनीहरूले दिल चित्तबुझाइ नभए पनि सिट चित्तबुझाइ भएपछि कुनै पनि किसिमको छोइछिटो नगरी सरकार गठनका नाममा अर्को चुनावसम्म सारा जनतालाई अल्मल्याउन सकौँ भनी वरदान मागे । ईश्वरीले तथास्तु भनी वरदान दिइन् ।

हे शून्यमुनि ! फेरि नेपाल मण्डलको बानेश्वर चोकमा पुग्दा बाँकी अङ्ग सबै पतन भयो । सम्पूर्णेश्वर पीठ, आरोपप्रत्यारोपेश्वरी देवी, चार जात छत्तिसवर्णे योगिनी, बन्धनरहितेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे । त्यस जादुमय पुण्यभूमिमा मुलुकका चारै दिशाबाट लखेटिएका बहुरङ्गी मनुवाहरू आई बडो ऐसआरामले तपस्या गरे । ईश्वरीले प्रसन्न भई वरदान माग भनिन् । तपस्यारत सबैले एकै स्वरमा हामी कामले माखो नमारे पनि वचनले सबै थोक गर्न सकौँ भनी मागे । ईश्वरीले तथास्तु पनि भनी वरदान दिइन् ।

कुराकान्तजीले यति कथा वाचन गरिसकेपछि शून्यमुनिलाई भने – हे शून्यमुनि ! यसरी नेपाल खण्डभित्र जहाँ जहाँ सत्ताको कुर्सीखेलका क्रममा सास गुमाएकाहरूको बहुलिङ्गी संयुक्त स्वरूपका विभिन्न अङ्गहरूको पतन भयो, त्यहाँ त्यहाँ अनौठा अनौठा किसिमका एक एक पीठ उत्पन्न हुँदैगए । यी पीठहरूको सङ्ख्या पन्ध्र सय कोटि छ । यी पन्ध सय्र कोटि सबै पीठको वर्णन गर्न एक दुई पटक त के पचासौँ पटक निर्वाचनमा भाग लिएर जनतालाई झुक्याउन सफल भएका बहुजिभ्रे राजनीतिक नेताको त सामर्थ्य हुने छैन भने म एक जिभे्र कुराकान्त बबुराले त्यो सबै वर्णन गर्न कसरी सकुँला र ? त्यसउसले हे शून्यमुनि ! यी विषयमा अब उप्रान्त मसँग थप जिज्ञासा नराखेकै बेस हुनेछ । यस विषयदेखि बाहेकका अन्य कुनै विषयमा केही जिज्ञासा छन् भने फुर्सदले भ्याएसम्म र ज्ञानबुद्धिले दिएसम्म म त्यो वर्णन गर्न तयार छु । अब के सुन्न इच्छा छ भन ।

कुराकान्तजीको यस किसिमको मिठासपूर्ण गुणग्राही विनम्रवाणी उनका मुखारबिन्दबाट प्रस्फुटन भएपछि शून्यमुनि उनीप्रति त्यसै त्यसै नतमस्तक भई अझै पनि थप कथा श्रवणको अपेक्षाले मुसुमुसु हाँस्दै दुवै हात जोडी उनकै सामु अविचलित भई खडा भइरहँदा भए ।

इतिश्री कलियुगपुराणे नेपालखण्डे पाशुपतःक्षेत्रे सत्ताकुर्सीखेल माहात्म्ये कुराकान्त–शून्यमुनि संवादे विविध पीठोत्पत्तिर्नाम वर्णनं नउल्लिखितोद्ध्याय ।

०००
b_guragain@yahoo.com
समष्टि, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x