शेषराज भट्टराईठोक सरकार ठोक
अब मसानघाटको राजप्रेत बौरिएर साँच्चै बिच्कियो भने गणतन्त्रका मठाधीश पुजारीहरूले भाग्ने ठाउँ पनि नपाउने हुन् कि भन्ने पिरलोले यो बुद्धुरामको ध्यान ज्यान खिनाउरो मात्रै होइन निन्याउरो भइसकेको छ ।

शेषराज भट्टराई
ठोक्नु अर्थात् भकुर्नुलाई पनि नेपाली जनजिब्रोले ठोक्नु नै भन्ने गरेका छन् । खास गरी तागत हुनेले तागत विहिनमाथिको अतिचार अन्यायलाई बुझ्नुपर्छ । सानामा बालबालिकालाई अनुशासन सिकाउन बेलाबेलामा ठोकठाक टोकटाक गर्नुपर्छ । स्कुल लाइफमा गुरुवर्गले विद्यार्थी वर्गलाई सुम्लो बस्ने गरी ठोक्ने परम्परालाई अझै पनि निरन्तरता दिइराखेको देख्दा ज्यानले आनन्दको अनुभूति गर्छ । विश्व जगत्मा नै मत्स्य न्यायले निरन्तरता पाएको देख्दा पनि मानव साँच्चै विकसित भएकै हो कि झै लागि रहेको छ । अनि हामीले सहर्ष स्वीकार्न सक्नु पर्छ कि सक्ने बलशालीले कमजोरलाई ठोकिरहेको छ र ठोक्नैपर्छ । किनकि बल, तागत, मौजात राखेर नठोकी मनले मान्दै मान्दैन ।
सरकार भनेको खोक्ने मात्रै होइन ठोक्ने हुनुपर्छ तर धेरैजसो सरकारले खोकेको मात्रै हुन्छ । एक तमासले हिँड्ने मात्रै सरकार होइन हिँडेकालाई रोक्ने पनि सरकार हो । आवश्यक परे अर्कालाई बोक्ने पनि सरकार हो । बोक्ने ठोक्ने, टोक्ने काम सरकारबाट मात्रै हुनुपर्ने हो तर छाडा जनताले नै सरकारलाई टोकेर खुत्रुक्कै पार्न खोज्छन् । त्यसैले अटेरा अटेरीलाई जगल्ट्याउँदै मुन्ट्याउँदै, लछार्दै, पछार्दै, घुँडा टेकाएर ठोक सरकार ठोक ।
एउटा विचरा निहत्था फोटो पत्रकारको हुर्मत लिए । बिचरा जिउँदै सति गयो । अपराधीले कोठामा थुनेर आगो लगाएर मारे । यी सबै बहादुरी र प्रपञ्च सरकारको नै हो । त्यसैले जब चल्छ झोँक तब ठोकी हाल सरकार आँखा चिम्म गरेर ठोक । भन्नुपर्दैन कसैलाई ठोक्नु अगाडि रोक । तब न साम्य हुन्छ साम्यवादीको झोँक । मेटाउ ठोक्न मन लागेको भोक, ठोक्न मिलेन भने मुखले टोक तर ठोक्ने क्रम पटक्कै नरोक ।
उखरमाउलो गर्मी भए पनि एकासी साल चैतदेखि मसानघाटको राजप्रेत जगाउन लागेका छन् ज्याद्रा जनताले । जनताले नै मारे जनताले नै जगाउनु ठूलो कुरै भएन । हिन्दु सनातनका प्रतिमूर्ति बिरेन्द्रको परिवारै सखाप पारेपछि ज्ञानेन्द्रले पुर्खाको थलो ओगट्न पाउँ भन्दै मौरीहरू (अरिङ्गाल चाहिँ एमालेको रे) ले काठमाडौँ छपक्कै ढाकेका छन् मह बनाउनलाई । बयासी सालको पूर्वाद्ध कालमा नै राजसंस्था नामक घार तयार गर्ने भनेर विभिन्न प्रजातिका मौरीहरू राजधानीका गल्ली गल्छेडामा भुनभुनाइ रहेका छन् । एउटा अमेरिकाबाट आएको अलग प्रजातिको मौरीले यो सरकार मुर्दावाद के भनेको थियो । विचरालाई रानुबाट छुटाएर हप्ता दश दिन थुनेर राखे अनि धेरै भुन्भुनाए छ कि के हो खप्नुखेप्नु नभएर गोरालाई देश निकाला गरेर आफ्नै घारमा जाउ भनेर पठाइ दिए ।
ती मौरीका रानाहरूलाई पक्रिँदै थुन्दै गरेपछि राजसंस्थाको घार वार न पार होला जस्तो छ । घार नभएपछि मौरीको घरबार कसरी हुन्छ ? भन्छन् नेपाली भूगोल, हावा, पानी, माटो सुहाउँदो त राजसंस्था नै हो । नेपालका कतिपय जल्दाबल्दा मौरीका रानाहरू स्वर्ग नर्क जता गए पनि जे भए पनि नेपाल हिन्दु अधिराज्यलाई लोभलाभको मोहजालमा परेर डलरमा अनुवाद गर्दै विलासी स्वासप्रस्वास कायम राखेका छन् ।
कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझै कसैलाई के रुच्दैन कसैलाई के पच्दैन अनि विद्रोहको अग्निकुण्ड स्थापना गरिन्छ । यसैको रापतापले कोही बाँचिन्छ त कोही मरिन्छ । यो क्रम सिलसिला भनेकै राज्य रहेछ अनि जनता यसका तमासे । तमासा देखाउँदा देखाउँदै हेर्दाहेर्दै जुनी बित्छ । एवं क्रम जारी रहनु भनेको नै देश हो, संसार हो र सत्ता हो । जो निरन्तर आफ्नै भुमरीमा रुमल्ली रहेको हुन्छ । सरकारले हरतरहले जनताको पत्ता साफ गरेपछि नै विद्रोहको बिजारोपण हुने रहेछ ।
अहिले मञ्चन भइरहेको राजप्रेत बिउझाउने खेलले कतिलाई भाग्यमानी र कतिपयलाई अभागी बनाउँछ त्यो भविष्यको पाठेघरमा सुरक्षित रहने छ । तर आन्दोलनले सरकारको आधा हर डढीसकेको छ । आन्दोलन अगाडि बढी सकेको छ । तैपनि सरकारलाई जर्मनको हिटलरलाई स्मरण गर्दै नेपालको जङ्गबहादुरलाई सम्झिएर भए पनि आफ्नो बहादुरीलाई निरन्तरता दिनलाई नि म भन्छु ठोक सरकार ठोक । छैन कसैको रोकतोक जब चल्छ झोक तब ठोक ।
विचरा साधु सरकारलाई मौरीले त सताउनु सताए फेरि सज्जन भनाउँदा शिक्षकहरू नेपाल सरकारको नुन खाएर उधुम मच्चाउनु त भएन नि । यो विधि आन्दोलनले सरकारलाई नै कता कुदुम कुदुम भैसक्यो । एकाएक गुरुहरू खुरुखुरु महामूर्ख दुर्जन बन्दै सडकमा आएर गाईजात्रा, बाघजात्रा, घोडेजात्रा, हनुमान जात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथ जात्रा हुँदाहुँदा काही नभएको हाडी गाउँको जात्रा देखाउँदै स्कुलको घण्टी नबजाएर खत्राको घण्टी बजाइ रहेका छन् । तै पनि गर्जिनेहरू भनिरहेका छन् कि भ्रष्टाचारको महलमा कुनै खतरा छैन । भ्रष्टाचारी गणतन्त्रको जग मजबुत छ । आन्दोलनको कुरै छोडौँ जति ठूलो भूकम्पमा पनि ढल्दै ढल्दैन गल्दै गल्दैन भनेर सरकारका खेतालाहरूको खैलाबैला पनि मौरीको भुनभुनाहट भन्दा कम छैन । बेमौसमी राग उराल्ने सठ शिक्षकको भन्दा कम छैन । एक तमासले फलाकी रहेका छन् संघीय गणतन्त्र नेपालको आयु अजम्बरी, चिरञ्जीवी छ । यसो विचार गर्छु मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ भन्थे साँच्चै हो कि झै लागिरहेको छ ।
सरकारको डँडाल्नामा खनिएको यो काउछोलाई के गरेर पन्छाउने गणतन्त्रका छोटे राजालाई आपत परिसक्यो । सरकारको निधारबाट पसिना झरिसक्यो । प्यारो सरकारलाई पिर परिसक्यो । सरकारको आत्मा मरिसक्यो । तै पनि सरकार बेहोसमा लरबराउँदै फलाक्दै छ । आन्दोलन नगर, आन्दोलन गर्नु व्यर्थ छ । सरकारलाई नटेर्ने अटेरी जनता भन्दै धारे हात लगाएर फक्लक्क भनिरहेको छ । कसैको सुनुवाइ नभएपछि एक किसिमले सरकार नै मरिसक्यो । यसो घोसेमुन्टो लगाएर बुझ्दा त आन्दोलनकारीको पत्तासाफ होइन गणतन्त्र नामक सत्ता नै साफ होला जस्तो छ ।
छोटे सयौँ राजाहरूको बिल्लीबाठ हुन्छ कि भन्ने पिरलोले ओठमुख सुकिरहेको छ । गणतन्त्रका माफिया भ्रष्टाचारीलाई कसरी जोगाउने, कसरी संरक्षण गर्ने भन्ने चिन्ताले प्रधानमन्त्री स्वयम् थकित भइसकेका छन् । निभ्ने बेलाको दियो एकैछिन चर्को बल्छ र निभ्छ । अब मसानघाटको राजप्रेत बौरिएर साँच्चै बिच्कियो भने गणतन्त्रका मठाधीश पुजारीहरूले भाग्ने ठाउँ पनि नपाउने हुन् कि भन्ने पिरलोले यो बुद्धुरामको ध्यान ज्यान खिनाउरो मात्रै होइन निन्याउरो भइसकेको छ । तै पनि हामी सबैले सरकारलाई ठोक्न सक्ने त्राँणदिन एकै स्वरमा भनौ “यो सरकारलाई बल देऊ भिमसिन” । हैंसे । स्याबास !
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































