साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टराईको ‘सेतो हात्ती’माथि मेरो प्रतिगामी चिन्तन

हात्तीसारतिरै जाओस् त्यो हात्ती चाहिँदैन भो सिंहदर्बारकै स्याल हुइयाँ हुइयाँ गरे भयो ! खोरका कुखुरा चोरी ढाडिने नगरून् अब सिंहको गर्जने शैली देख्दा हैरान छन् सब ! जनता नित्य छन् भेँडा सधै शोषणमा परे सिंहदर्बारका स्यालहरूले खै त के गरे ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया, विभिन्न विचार,स्थिति र घटनाका विचको सम्बन्धको खोजी गर्ने मानसिक कार्यलाई चिन्तन भनिन्छ । त्यस्तै प्रतिगामी भन्नाले उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने, प्रतिक्रियावादी वा उल्टो दिशातिर हिँड्ने भन्ने अर्थ लाग्छ । मेरोको त कसैलाई अर्थ बताइरहनु नपर्ला नै । माथि भन्नाले मा नै बुझिदिनुहोला सप्तमी विभक्तिको चिन्ह; हात्तीको ढाडमाथि भन्ने सोच्नुभयो भने अनर्थ लाग्नेछ । सेतो हात्ती चाहिँ लोकतन्त्रको शङ्खनाद नामक कविता सङ्ग्रहमा सङ्ग्रहित एउटा कविताको शीर्षक हो भन्ने बुझ्नुहोला । भट्टराई भने प्रसिद्ध प्रगतिवादी कवि रामचन्द्र भट्टराई हुन्, अरु होइनन् । यसरी शीर्षकलाई नै मैले उल्टो दिशाबाट परिभाषित गरेँ । अब यो लम्फुदासले के गर्न खोज्यो भन्ने कुरा अलिअलि छेकछन्द बुझेका पाठक महोदयहरूलाई थाहा भएको हुनुपर्छ।

अग्रगामी छलाङ मारेर प्राप्त भएको चरम गणतान्त्रिक युगमा यो प्रतिगामी कदम अघि बढाउने दुस्साहस गरेँ । प्रतिगामीहरूको जरो उखेल्यौँ भनेर ढुक्क भएको बेला यसले मुन्टो उठाउन थाल्यो भन्ने लाग्छ भने निमोठ्न आए हुन्छ । अरु प्रतिगामीहरूले पनि यसरी नै चुनौति दिएका बेला यो लम्फुदास पनि थपियो क्या ! जताततै विकृति र विसङ्गतिले ग्रस्त भएको अहिलेको परिवेशमा विधागत पहिचानको के जरुरी छ र? जातीय पहिचानको पो जरुरी छ । त्यसैले अलिअलि समालोचना जस्तो, अलिअलि संस्मरण जस्तो कतैकतै कविता जस्तो, चिठी हो कि जस्तो पनि लाग्न सक्ने यस्तो मिश्रित विधामा यसो केही लेखौँ जस्तो लागेर हो । लेखाइलाई सिधा बुझ्नुभयो भने उल्टो अर्थ लाग्न पनि सक्छ । सकेसम्म उल्टै बुझेर सिधा अर्थ महसुस गर्नुहोला ।

श्रद्धेय क्रान्तिकारी कवि रामचन्द्र भट्टराईज्यू ! मेरोतर्फबाट कविवरलाई दाहिने हातले खुर्पा उठाएर अनि बायाँ हातले हथौडा उचालेर अभिवादन छ !! तपाईँ जहाँ भए पनि ज्यानलाई राम्रै होस् र रगतमा तातोपन रहिरहोस् भन्ने कामना !! हामी प्रत्यक्ष भेट त भएका छैनौँ तर हाम्रो गाउँमा आएर आजभन्दा तिन दशक पहिले एउटा सांस्कृतिक कार्यक्रममा आम्नेसाम्ने भएको तात्तातो याद छ मलाई । हामी जस्ता भारेभुरेलाई तपाईले चिन्नुहुन्न । त्यो कार्यक्रममा भनेको तपाईँको जोशिलो कविताले भने मलाई याद गराइरहन्छ । अरु सबै बिर्से पनि अनुष्टुप छन्दको एक हरफ भने कहिल्यै बिर्सन्न – ‘यस्ता शोषकको घाँटी खुर्पाले गेड्नुपर्दछ ।‘ आफ्नो गर्धन सुमसुम्याउँदै वाचन गर्नुभएको थियो तपाईँले हाम्रो विद्यालयको प्राङ्गणमा । कता कता सुन्थेँ पछि अमुक पार्टीको झोले कवि बन्नुभयो रे ! के यो साँचो हो? कवि त साझा हुनुपर्ने हैन र ?

राजाका पालामा हामीले राजा सबका साझा भन्दै पढ्थ्यौँ । गणतन्त्रमा नेता सबका साझा हुन सक्ने कुरै भएन । तर राष्ट्रपति साझा, प्रथानमन्त्री साझा सभामुख साझा, न्यायाधीश साझा त हुनुपर्थ्यो कम से कम । त्यसो नभएको देख्दा के गर्नु र मलाई पनि खुर्पैले गेड्न मन छ कविज्यू ! गणतन्त्रे नेपालमा साझा कोही छैन । कोही काङ्ग्रेसका, कोही एमालेका, कोहि माओवादीका त कोहि राप्रपाका । स्वतन्त्र रहन चाहेका जनतालाई पनि स्वाँठहरूले स्वतन्त्र नामको पार्टी खोलेर बस्नखान दिएनन् गर्ने के ?अरु जेसुकै भए पनि कवि लेखकहरू साझा, डाक्टर साझा, शिक्षक साझा, कर्मचारी साझा, पत्रकार साझा त हुनुपर्ने हो । खै सबै एक न एकतिर नटाँसिइकन बाँच्नै नसक्ने भएका हुन् कि जुका जस्तो । कति परनिर्भर भएछन् कुन्नि !

कान्छा बाबुको अनुहार हो कि बाँदरको अनुहार हो मैले छुट्याउन सकिन । तपाईँले खुर्पाले गेड्नु पर्दछ भनेका शोषकहरू अझै पनि गर्धन फुलाई फुलाई हिँड्दै छन् र पो दङ्ग छु । मैले अहिले तपाईँसितको एकालाप हैन गर्न खोजेको । दिब्य बीस वर्षअघि तपाईँले लेखेको एउटा कविता सम्झाउन खोजेको मात्र हो । थाहा छ तपाईलाई? त्यो कविता कहाँ छापिएको हो? फिटिक्कै नढाँटी बताइदिन्छु त्यो पनि ।

२०६२ सालको कात्तिक महिनामा एउटा पुस्तक छापिएको थियो ‘लोकतन्त्रको शङ्खनाद’ शीर्षकको । उक्त पुस्तकको विमोचनमा यो टन्टकपाले लम्फुदास पनि उपस्थित हुने अवसर पाएको हो । स्नातक तेस्रो वर्षमा पढ्दै गर्दाको बेला बुटवल नगरपालिकाको हलमा भएको कार्यक्रममा हात परेको पुस्तक आज दुई दशकपछि पल्टाएर हेरेँ । मलाई ठाढ्ठाडै याद छ त्यस कार्यक्रमको प्रमुख अतिथि बैरागी काइँला थिए । त्यतिखेर बैरागी काइलाको साँच्चैको नाम त्यही हो कि, साहित्यको नाम हो नि भनेर एक जना ठुलै नेताले सोधेको पनि सम्झन्छु । त्यो किताबमा रामचन्द्र भट्टराई, दिल साहनी, ऋषिराम भुसाल, बुँद राना, वनमाली निराकार र मुरारी पराजुलीका पपाँचवटा कविताहरू छापिएको रहेछ । त्यसमध्येको तपाईँको ‘सेतो हात्ती’ शीर्षकको कविताले मलाई गिज्याउन थालेकाले उक्त कवितालाई मैले तोडमोड गर्न मन लागेर यो खुर्पा र हथौडा सँगै उचालेको छु, माफ गर्नुहोला ।

लोकतन्त्र ल्याउने क्रममा शङ्खनादस्वरूप पस्किएको कविता दरो र खरो हुन्छ भन्नेमा म ढुक्क छु । मैले पनि ‘नर-माइलो’ शीर्षकको कविता नलेखेको कहाँ हो र ? म भारेभुरे विद्यार्थी । मलाई त्यतिखेर कसले गन्ने ? अहिले गनिने भएको छु भन्न खोजेको चाहिँ पटक्कै हैन नि ! भुइँ मान्छेहरू अझै पनि भुइँमै छन् क्या माथि उठ्न सकेका छैनन् । त्यस्तै हो म पनि भुइँमै छु ।

अनुष्टुप छन्दको ‘सेतो हात्ती’ शीर्षकको तपाईको कविता जोशिलो र पोषिलो त छँदै छ, वीर रसको रसिलो पनि छ । तर आज आएर त्यो रसमा विषादि मिसियो कि कुन्नि कविताको मर्ममा प्रहार भयो मैले जान्न सकिन । अहिले पढ्दा पछुतो जस्तो लागेर तपाईलाई यो गनगन सुनाउन खोजेको हुँ । तपाईँकै शब्द र लयमा यहाँ केही हरफ ओकल्छु ल –
दुब्लो यो देशको मोटो हात्तीको कुन काम छ?
बाटो छेकी बसेको छ सारा ट्राफिक जाम छ
यसैकारण साराको यहाँ नीद हराम छ
हट्नै मान्दैन झन् उल्टै ज्यान लिन्छ हराम छ ।

होइन हो कविज्यू ! अहिले देश मोटाउन थाल्यो, म दुब्लाउन थालेँ भनेर हो कि किन हो हात्ती त फेरि बाटो छेक्न आएर ट्राफिक जाम गराउन थाल्दै छत बा ! के हो यस्तो । हामीले त त्यतिबेला अब साँच्चै नयाँ नेपाल बन्ने भयो भनेर मिठा मिठा सपना देखेका थियौँ । रयाल कतै ट्राफिक जाम नहुने चिल्ला सडक बन्ने भए, झुप्रामा बसेका झुम्रेहरूले पनि दुई चार छाक खान पाउने भए भन्ने आशामा जिभ्राबाट र्या ल काढेका थियौँ । खै! हात्ती हटाएर सिंहहरू पो मोटाउन पुगेछन् हामी जस्ता खच्चर, गोरु, गाई, भेँडा-बाख्राहरू त दुब्लाको दुब्लै ! तपाईँले थप यसो भन्नुभएको थियो –
खान्न पीपलका पात द्यौताका मूर्ति घिच्दछ
पानी प्युँदैन यो आफ्नै वंशको रक्त प्युँदछ
श्वेत आतङ्ककारी यो यसको कुन काम छ ?
यो अस्ताचलको राहु राख्दा नेपाल जाम छ ।

हामीले झैँ पानी नपिएर वंशको रक्त पिएकै कारण बलियो रहेछ क्यारे ! बोइलर कुखुराको मासु खाएका कहाँ आजकलका नेता, कहाँ द्यौताको मूर्ति घिचेको ऊ ! बलियो त त्यसै हुने नै भयो गाँठे रामचन्द्र बा । हत्तेरी ! ओली बा भन्ने बानी परेको जिभ्रो लटपटिए छ क्या । पश्चिमबाट अस्ताएको राहु फेरि कसरी उदायो हँ ? नेपाल जाम भएर हो कि ! नेपाल त जाम नै भैरहेकै छ । खै छलाङ मारेको । पीतआतङ्ककारीहरू पिलपिलाएपछि श्वेतआतङ्ककारीले किन छोडोस् त । उदाउन थाल्यो नागार्जुनबाट ।

बुद्धको झोली थापेर बाँच्नु परेको तत्कालीन समाज अहिले झन् सुध्रिएला भनेको बोरा थापेर माग्नु पर्ने परिस्थितिमा छ कविज्यू ! यो अजिङ्गर पाल्न करोडौँ खर्च लाग्दछ भनेर तपाईँले भन्नुभएको थियो । लाग्थ्यो पनि । बर्सेनी राष्ट्रको कोष रित्याएर कसरी त्यस्तो हात्ती पाल्न सकिन्छ भनेर सबैलाई लात्तीले हानेर फाल्न आग्रह गर्नुभएको हो । तपाईँले भनेरै होला कि हात्ती हटे हट्छ नत्र लात्तीले हान्नुपर्दछ भनेपछि डराएर भागेको थियो बिचरो ! हेर्नुहोस् न अहिले लुसुलुसु लम्कन पो थाल्यो । सिंहदरबारका स्यालहरूको पुच्छर लुलो भएको देखेर होला कि कसो । नत्र गाउँगाउँमा पुगेका सिंहदरबारबाट गर्जने सिंहहरूले भेँडाहरूको मासु नखाई काम गर्न सकेको भए पनि त हुन्थ्यो । उतिखेरको एउटा हात्तीभन्दा अहिलेका हजारौँ सिंहहरू दोब्बर मोटाइसके बुझ्नु भो ?

राजमार्गको काँढो लगेर नागार्जुनमा रोपिएको थियो उतिखेर । त्यहाँ सिउँडी भएर झाङ्गिएछ क्यारे । अहिले फेरि घोच्न थालिसक्यो बा ! पृथ्वी उल्टो घुमेको होर कवि बा ? त्यो सिउँडीलाई मलजल गर्ने पनि यहीँकै गाईहरू हुन्, भेँडाहरू हुन् । फेरि खपिनसक्नु भएर हात्तीलाई गुहारेका होलान् । एउटा हात्तीभन्दा सयौँ सिंहहरू बढि हिंस्रक भएर पो निस्के कि ! बडे बडे सिंहहरू आपस आपसमा ङार्रङुर्र गर्न थालेपछि हात्तीको खोजी गर्न थालेका हुन् भेँडाहरूले । लामै समय सिंहको रजाइँ हेरेरै त बसेका हुन् तिनीहरू ।
तपाईँले भनेका अन्तिम दुई हरफ पनि हेरिहालौँ न –
जरो अशान्तिको यै हो उखेली फाल्नुपर्दछ
त्यो बस्ने ठाउँमा सेता परेवा पाल्नुपर्दछ ।

खै त्यो अशान्तिको जरो उखेलिएकै हो । त्यो बस्ने ठाउँमा सेता परेवा पनि पालिएकै हो । अहिले शान्ति भैदिएको भए यो गनगन गर्नै पर्दैनथ्यो । हुन त एक प्रकारले शान्ति नै शान्ति छाएको छ । ती अशान्ति मच्चाउने जवान भेँडाहरू खाडितिर गाडिएका छन् । गाउँमा होहल्ला गर्ने कोही छैन । बिचरा रौँ खुइलिएका भेँडाहरू र भरखर जन्मेका छतौराहरूले के अशान्ति फैलाउन सकून् र ! तपाईँले परेवाका बच्चा भनेर पालेका त गिद्धका पो परेछन् क्यारे कवि बा ! हेर्नुहोस् न, जिउँदा गाई भैसी र मिर्गको मासु घिचेर टन्न ढाडिएका छन् । झुक्किनुभएछ क्यारे तपाईँ ! सेता परेवा भन्ठान्नुभएका बच्चा त बाजका पो परेछन् ।

कवि बा पटक्कै नरिसाउनुहोला है ! तपाईँको त्यो ‘सेतो हात्ती’ कवितालाई यो लम्फुदासले यस्तो बनाइदियो –

हात्ती फालेर पालेका परेवा गिद्ध भैदिए !
युवा विदेशिए सारा देशमा वृद्ध रैदिए ।

त्यो अस्ताचलको राहु फेरि उदाउने भयो
राहुको टाउको देखी सातो लौ ! सिंहको गयो ।

हात्तीसारतिरै जाओस् त्यो हात्ती चाहिँदैन भो
सिंहदर्बारकै स्याल हुइयाँ हुइयाँ गरे भयो !

खोरका कुखुरा चोरी ढाडिने नगरून् अब
सिंहको गर्जने शैली देख्दा हैरान छन् सब !

जनता नित्य छन् भेँडा सधै शोषणमा परे
सिंहदर्बारका स्यालहरूले खै त के गरे ?

पालो पाएन खै कैल्यै कामयाब थियो तर
मिहिनेती छ साह्रै त्यो घोडा पाल्ने गरौँ अब ।
अस्तु

०००
२०८२ वैशाख २०
गुल्मी ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ram Prasad Aryal
Ram Prasad Aryal
11 months ago

अति उत्तम

Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x