काशीनाथ मिश्रितभट्टराईको ‘सेतो हात्ती’माथि मेरो प्रतिगामी चिन्तन
हात्तीसारतिरै जाओस् त्यो हात्ती चाहिँदैन भो सिंहदर्बारकै स्याल हुइयाँ हुइयाँ गरे भयो ! खोरका कुखुरा चोरी ढाडिने नगरून् अब सिंहको गर्जने शैली देख्दा हैरान छन् सब ! जनता नित्य छन् भेँडा सधै शोषणमा परे सिंहदर्बारका स्यालहरूले खै त के गरे ?

काशीनाथ मिश्रित :
कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया, विभिन्न विचार,स्थिति र घटनाका विचको सम्बन्धको खोजी गर्ने मानसिक कार्यलाई चिन्तन भनिन्छ । त्यस्तै प्रतिगामी भन्नाले उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने, प्रतिक्रियावादी वा उल्टो दिशातिर हिँड्ने भन्ने अर्थ लाग्छ । मेरोको त कसैलाई अर्थ बताइरहनु नपर्ला नै । माथि भन्नाले मा नै बुझिदिनुहोला सप्तमी विभक्तिको चिन्ह; हात्तीको ढाडमाथि भन्ने सोच्नुभयो भने अनर्थ लाग्नेछ । सेतो हात्ती चाहिँ लोकतन्त्रको शङ्खनाद नामक कविता सङ्ग्रहमा सङ्ग्रहित एउटा कविताको शीर्षक हो भन्ने बुझ्नुहोला । भट्टराई भने प्रसिद्ध प्रगतिवादी कवि रामचन्द्र भट्टराई हुन्, अरु होइनन् । यसरी शीर्षकलाई नै मैले उल्टो दिशाबाट परिभाषित गरेँ । अब यो लम्फुदासले के गर्न खोज्यो भन्ने कुरा अलिअलि छेकछन्द बुझेका पाठक महोदयहरूलाई थाहा भएको हुनुपर्छ।
अग्रगामी छलाङ मारेर प्राप्त भएको चरम गणतान्त्रिक युगमा यो प्रतिगामी कदम अघि बढाउने दुस्साहस गरेँ । प्रतिगामीहरूको जरो उखेल्यौँ भनेर ढुक्क भएको बेला यसले मुन्टो उठाउन थाल्यो भन्ने लाग्छ भने निमोठ्न आए हुन्छ । अरु प्रतिगामीहरूले पनि यसरी नै चुनौति दिएका बेला यो लम्फुदास पनि थपियो क्या ! जताततै विकृति र विसङ्गतिले ग्रस्त भएको अहिलेको परिवेशमा विधागत पहिचानको के जरुरी छ र? जातीय पहिचानको पो जरुरी छ । त्यसैले अलिअलि समालोचना जस्तो, अलिअलि संस्मरण जस्तो कतैकतै कविता जस्तो, चिठी हो कि जस्तो पनि लाग्न सक्ने यस्तो मिश्रित विधामा यसो केही लेखौँ जस्तो लागेर हो । लेखाइलाई सिधा बुझ्नुभयो भने उल्टो अर्थ लाग्न पनि सक्छ । सकेसम्म उल्टै बुझेर सिधा अर्थ महसुस गर्नुहोला ।
श्रद्धेय क्रान्तिकारी कवि रामचन्द्र भट्टराईज्यू ! मेरोतर्फबाट कविवरलाई दाहिने हातले खुर्पा उठाएर अनि बायाँ हातले हथौडा उचालेर अभिवादन छ !! तपाईँ जहाँ भए पनि ज्यानलाई राम्रै होस् र रगतमा तातोपन रहिरहोस् भन्ने कामना !! हामी प्रत्यक्ष भेट त भएका छैनौँ तर हाम्रो गाउँमा आएर आजभन्दा तिन दशक पहिले एउटा सांस्कृतिक कार्यक्रममा आम्नेसाम्ने भएको तात्तातो याद छ मलाई । हामी जस्ता भारेभुरेलाई तपाईले चिन्नुहुन्न । त्यो कार्यक्रममा भनेको तपाईँको जोशिलो कविताले भने मलाई याद गराइरहन्छ । अरु सबै बिर्से पनि अनुष्टुप छन्दको एक हरफ भने कहिल्यै बिर्सन्न – ‘यस्ता शोषकको घाँटी खुर्पाले गेड्नुपर्दछ ।‘ आफ्नो गर्धन सुमसुम्याउँदै वाचन गर्नुभएको थियो तपाईँले हाम्रो विद्यालयको प्राङ्गणमा । कता कता सुन्थेँ पछि अमुक पार्टीको झोले कवि बन्नुभयो रे ! के यो साँचो हो? कवि त साझा हुनुपर्ने हैन र ?
राजाका पालामा हामीले राजा सबका साझा भन्दै पढ्थ्यौँ । गणतन्त्रमा नेता सबका साझा हुन सक्ने कुरै भएन । तर राष्ट्रपति साझा, प्रथानमन्त्री साझा सभामुख साझा, न्यायाधीश साझा त हुनुपर्थ्यो कम से कम । त्यसो नभएको देख्दा के गर्नु र मलाई पनि खुर्पैले गेड्न मन छ कविज्यू ! गणतन्त्रे नेपालमा साझा कोही छैन । कोही काङ्ग्रेसका, कोही एमालेका, कोहि माओवादीका त कोहि राप्रपाका । स्वतन्त्र रहन चाहेका जनतालाई पनि स्वाँठहरूले स्वतन्त्र नामको पार्टी खोलेर बस्नखान दिएनन् गर्ने के ?अरु जेसुकै भए पनि कवि लेखकहरू साझा, डाक्टर साझा, शिक्षक साझा, कर्मचारी साझा, पत्रकार साझा त हुनुपर्ने हो । खै सबै एक न एकतिर नटाँसिइकन बाँच्नै नसक्ने भएका हुन् कि जुका जस्तो । कति परनिर्भर भएछन् कुन्नि !
कान्छा बाबुको अनुहार हो कि बाँदरको अनुहार हो मैले छुट्याउन सकिन । तपाईँले खुर्पाले गेड्नु पर्दछ भनेका शोषकहरू अझै पनि गर्धन फुलाई फुलाई हिँड्दै छन् र पो दङ्ग छु । मैले अहिले तपाईँसितको एकालाप हैन गर्न खोजेको । दिब्य बीस वर्षअघि तपाईँले लेखेको एउटा कविता सम्झाउन खोजेको मात्र हो । थाहा छ तपाईलाई? त्यो कविता कहाँ छापिएको हो? फिटिक्कै नढाँटी बताइदिन्छु त्यो पनि ।
२०६२ सालको कात्तिक महिनामा एउटा पुस्तक छापिएको थियो ‘लोकतन्त्रको शङ्खनाद’ शीर्षकको । उक्त पुस्तकको विमोचनमा यो टन्टकपाले लम्फुदास पनि उपस्थित हुने अवसर पाएको हो । स्नातक तेस्रो वर्षमा पढ्दै गर्दाको बेला बुटवल नगरपालिकाको हलमा भएको कार्यक्रममा हात परेको पुस्तक आज दुई दशकपछि पल्टाएर हेरेँ । मलाई ठाढ्ठाडै याद छ त्यस कार्यक्रमको प्रमुख अतिथि बैरागी काइँला थिए । त्यतिखेर बैरागी काइलाको साँच्चैको नाम त्यही हो कि, साहित्यको नाम हो नि भनेर एक जना ठुलै नेताले सोधेको पनि सम्झन्छु । त्यो किताबमा रामचन्द्र भट्टराई, दिल साहनी, ऋषिराम भुसाल, बुँद राना, वनमाली निराकार र मुरारी पराजुलीका पपाँचवटा कविताहरू छापिएको रहेछ । त्यसमध्येको तपाईँको ‘सेतो हात्ती’ शीर्षकको कविताले मलाई गिज्याउन थालेकाले उक्त कवितालाई मैले तोडमोड गर्न मन लागेर यो खुर्पा र हथौडा सँगै उचालेको छु, माफ गर्नुहोला ।
लोकतन्त्र ल्याउने क्रममा शङ्खनादस्वरूप पस्किएको कविता दरो र खरो हुन्छ भन्नेमा म ढुक्क छु । मैले पनि ‘नर-माइलो’ शीर्षकको कविता नलेखेको कहाँ हो र ? म भारेभुरे विद्यार्थी । मलाई त्यतिखेर कसले गन्ने ? अहिले गनिने भएको छु भन्न खोजेको चाहिँ पटक्कै हैन नि ! भुइँ मान्छेहरू अझै पनि भुइँमै छन् क्या माथि उठ्न सकेका छैनन् । त्यस्तै हो म पनि भुइँमै छु ।
अनुष्टुप छन्दको ‘सेतो हात्ती’ शीर्षकको तपाईको कविता जोशिलो र पोषिलो त छँदै छ, वीर रसको रसिलो पनि छ । तर आज आएर त्यो रसमा विषादि मिसियो कि कुन्नि कविताको मर्ममा प्रहार भयो मैले जान्न सकिन । अहिले पढ्दा पछुतो जस्तो लागेर तपाईलाई यो गनगन सुनाउन खोजेको हुँ । तपाईँकै शब्द र लयमा यहाँ केही हरफ ओकल्छु ल –
दुब्लो यो देशको मोटो हात्तीको कुन काम छ?
बाटो छेकी बसेको छ सारा ट्राफिक जाम छ
यसैकारण साराको यहाँ नीद हराम छ
हट्नै मान्दैन झन् उल्टै ज्यान लिन्छ हराम छ ।
होइन हो कविज्यू ! अहिले देश मोटाउन थाल्यो, म दुब्लाउन थालेँ भनेर हो कि किन हो हात्ती त फेरि बाटो छेक्न आएर ट्राफिक जाम गराउन थाल्दै छत बा ! के हो यस्तो । हामीले त त्यतिबेला अब साँच्चै नयाँ नेपाल बन्ने भयो भनेर मिठा मिठा सपना देखेका थियौँ । रयाल कतै ट्राफिक जाम नहुने चिल्ला सडक बन्ने भए, झुप्रामा बसेका झुम्रेहरूले पनि दुई चार छाक खान पाउने भए भन्ने आशामा जिभ्राबाट र्या ल काढेका थियौँ । खै! हात्ती हटाएर सिंहहरू पो मोटाउन पुगेछन् हामी जस्ता खच्चर, गोरु, गाई, भेँडा-बाख्राहरू त दुब्लाको दुब्लै ! तपाईँले थप यसो भन्नुभएको थियो –
खान्न पीपलका पात द्यौताका मूर्ति घिच्दछ
पानी प्युँदैन यो आफ्नै वंशको रक्त प्युँदछ
श्वेत आतङ्ककारी यो यसको कुन काम छ ?
यो अस्ताचलको राहु राख्दा नेपाल जाम छ ।
हामीले झैँ पानी नपिएर वंशको रक्त पिएकै कारण बलियो रहेछ क्यारे ! बोइलर कुखुराको मासु खाएका कहाँ आजकलका नेता, कहाँ द्यौताको मूर्ति घिचेको ऊ ! बलियो त त्यसै हुने नै भयो गाँठे रामचन्द्र बा । हत्तेरी ! ओली बा भन्ने बानी परेको जिभ्रो लटपटिए छ क्या । पश्चिमबाट अस्ताएको राहु फेरि कसरी उदायो हँ ? नेपाल जाम भएर हो कि ! नेपाल त जाम नै भैरहेकै छ । खै छलाङ मारेको । पीतआतङ्ककारीहरू पिलपिलाएपछि श्वेतआतङ्ककारीले किन छोडोस् त । उदाउन थाल्यो नागार्जुनबाट ।
बुद्धको झोली थापेर बाँच्नु परेको तत्कालीन समाज अहिले झन् सुध्रिएला भनेको बोरा थापेर माग्नु पर्ने परिस्थितिमा छ कविज्यू ! यो अजिङ्गर पाल्न करोडौँ खर्च लाग्दछ भनेर तपाईँले भन्नुभएको थियो । लाग्थ्यो पनि । बर्सेनी राष्ट्रको कोष रित्याएर कसरी त्यस्तो हात्ती पाल्न सकिन्छ भनेर सबैलाई लात्तीले हानेर फाल्न आग्रह गर्नुभएको हो । तपाईँले भनेरै होला कि हात्ती हटे हट्छ नत्र लात्तीले हान्नुपर्दछ भनेपछि डराएर भागेको थियो बिचरो ! हेर्नुहोस् न अहिले लुसुलुसु लम्कन पो थाल्यो । सिंहदरबारका स्यालहरूको पुच्छर लुलो भएको देखेर होला कि कसो । नत्र गाउँगाउँमा पुगेका सिंहदरबारबाट गर्जने सिंहहरूले भेँडाहरूको मासु नखाई काम गर्न सकेको भए पनि त हुन्थ्यो । उतिखेरको एउटा हात्तीभन्दा अहिलेका हजारौँ सिंहहरू दोब्बर मोटाइसके बुझ्नु भो ?
राजमार्गको काँढो लगेर नागार्जुनमा रोपिएको थियो उतिखेर । त्यहाँ सिउँडी भएर झाङ्गिएछ क्यारे । अहिले फेरि घोच्न थालिसक्यो बा ! पृथ्वी उल्टो घुमेको होर कवि बा ? त्यो सिउँडीलाई मलजल गर्ने पनि यहीँकै गाईहरू हुन्, भेँडाहरू हुन् । फेरि खपिनसक्नु भएर हात्तीलाई गुहारेका होलान् । एउटा हात्तीभन्दा सयौँ सिंहहरू बढि हिंस्रक भएर पो निस्के कि ! बडे बडे सिंहहरू आपस आपसमा ङार्रङुर्र गर्न थालेपछि हात्तीको खोजी गर्न थालेका हुन् भेँडाहरूले । लामै समय सिंहको रजाइँ हेरेरै त बसेका हुन् तिनीहरू ।
तपाईँले भनेका अन्तिम दुई हरफ पनि हेरिहालौँ न –
जरो अशान्तिको यै हो उखेली फाल्नुपर्दछ
त्यो बस्ने ठाउँमा सेता परेवा पाल्नुपर्दछ ।
खै त्यो अशान्तिको जरो उखेलिएकै हो । त्यो बस्ने ठाउँमा सेता परेवा पनि पालिएकै हो । अहिले शान्ति भैदिएको भए यो गनगन गर्नै पर्दैनथ्यो । हुन त एक प्रकारले शान्ति नै शान्ति छाएको छ । ती अशान्ति मच्चाउने जवान भेँडाहरू खाडितिर गाडिएका छन् । गाउँमा होहल्ला गर्ने कोही छैन । बिचरा रौँ खुइलिएका भेँडाहरू र भरखर जन्मेका छतौराहरूले के अशान्ति फैलाउन सकून् र ! तपाईँले परेवाका बच्चा भनेर पालेका त गिद्धका पो परेछन् क्यारे कवि बा ! हेर्नुहोस् न, जिउँदा गाई भैसी र मिर्गको मासु घिचेर टन्न ढाडिएका छन् । झुक्किनुभएछ क्यारे तपाईँ ! सेता परेवा भन्ठान्नुभएका बच्चा त बाजका पो परेछन् ।
कवि बा पटक्कै नरिसाउनुहोला है ! तपाईँको त्यो ‘सेतो हात्ती’ कवितालाई यो लम्फुदासले यस्तो बनाइदियो –
हात्ती फालेर पालेका परेवा गिद्ध भैदिए !
युवा विदेशिए सारा देशमा वृद्ध रैदिए ।
त्यो अस्ताचलको राहु फेरि उदाउने भयो
राहुको टाउको देखी सातो लौ ! सिंहको गयो ।
हात्तीसारतिरै जाओस् त्यो हात्ती चाहिँदैन भो
सिंहदर्बारकै स्याल हुइयाँ हुइयाँ गरे भयो !
खोरका कुखुरा चोरी ढाडिने नगरून् अब
सिंहको गर्जने शैली देख्दा हैरान छन् सब !
जनता नित्य छन् भेँडा सधै शोषणमा परे
सिंहदर्बारका स्यालहरूले खै त के गरे ?
पालो पाएन खै कैल्यै कामयाब थियो तर
मिहिनेती छ साह्रै त्यो घोडा पाल्ने गरौँ अब ।
अस्तु
०००
२०८२ वैशाख २०
गुल्मी ।








































अति उत्तम