हेम अधिकारीयुवा खोइ काठमाण्डौँ ?
अनुभवी पाका मान्छेको योगदान चाहेको देखिदैन भने युवा जति विदेश जान्छन् त्यति मख्ख पर्ने गरेका छन् । गणतन्त्र ता आयो तर देशका लागि आशलाग्दो केटो जेठाजु पर्यो । गफगाफ सकेर आ–आफ्नातिर लाग्यौँ ।

हेम अधिकारी :
हाम्रो देशमा काठमाडौँले एकदमै आकर्षित गर्छ । एकात्म होस् वा संघात्मक काठमाण्डौँ जानैपर्छ गाउँठाउँका मान्छेले । खै के भएको हो । केही हुँदा पनि जानैँपर्ने, केही नहुँदा पनि जानैपर्ने,निकै बिरामी हुँदा पनि जानैपर्ने र निकै सञ्च हुँदा पनि जानैपर्ने । यस्तै केकेले काठमाण्डौँ पुर्याइरहन्छन् ।
वषौँ भएछ रात्रीबसमा काठमाडौँ नगएका । भाइ जीवन र म जाने निधो भएको थियो । यसपटक भने रात्रिबसमा जाने पक्का गर्यौँ । जीवनले चिनेका मान्छेलाई टिकट भनेछन् । त्यसैले मैले काट्न खोजेको नयाँबसको टिकट छाडिदिएँ । खुबै राम्रो बसमा राम्रा सिटमा पठाउँछु भनेका रहेछन् । जीवन बडोढुक्कसँग भरपरेका थिए । मलाई भने शङ्काले घरिघरि घच्घच्याइरहन्थ्यो । पानी परिरहेको थियो । बास आइपुग्यो । उनले सरहरूको बस आयो चढ्नुस् भनेपछि हामी पन पानीमा टाउका निहुर्याउँदै गएर बसमा पस्यौँ । पस्नासाथ बस गुड्यो । बस रहेछ सायद त्योभन्दा पुराना आजकल काँकरभिट्टा काठमाण्डौँ चल्दैनन् होला भन्ने मेरो मनले लख काट्यो । राम्रा बसमा सररर जाने चुरिफुरि मटियामेट भयो ।
घ्यार्र घ्यार्र गर्दै भोलिपल्ट अर्थात् २०८१ साल असार २२ गते दिनको ११ बजे बल्ल गोङ्गबु बसपार्क पुर्यायो । हामीले ठूलै कास्टीकाटेर मुक्ति पायौँ । जीवनले ता कहिल्यै रात्रिबसमा नहिँड्ने भनेर बाचा गरे भने मैले चैँ अहिलेलाई त्यो थाती राखेँ । जसरी भए पनि आएपुगेको खुसीमा काठमाण्डौलाई दण्डवत गरेर कामकुरातिर लाग्यौँ । त्यो रात गोठाटार कमला बहिनीकहाँ गयौँ । भान्जा रमणबुहारीसँग बडो मजाले भलाकुसारी गरेर बस्यौँ । नजिकै भएका अनिल भान्जाकहाँ गएर एकछिन् नाचगान पनि भयो ।
हामीले गाउँघरमा युवा नभएको कुरा ता राम्ररी बुझेका थियौँ । पूरै देश धतङ्ग्याएर उन्मत्त काठमाडौँले युवालाई राम्ररी राखेर शिक्षादीक्षा, कामदाम दिँदो हो भनेर हामीले अनुमान गरेका थियौँ ।
केही दिन काठमाडौँ बस्ने नै थियौँ । भोलिपल्ट यसो सिंहदरबार जाऊँ न त कोही ठूला मान्छे भेटिएलान्, केही गतिला कुरा सुनिएला भनेर त्यता लाग्यौँ । भित्र पसेर अर्थमन्त्रालयको चमेनागृहमा पुग्यौँ । हामी बस्नासाथ दुईजना भलाद्मी व्यक्तित्व आउनु भयो । एकआपसमा चिनजान भयो । दुवैजना समाजका अगुवा हुनुहुदो रहेछ । एकजना कुनै एउटा दलका सुदुरपश्चिम प्रदेश समितिका पदाधिकारी र अर्का युवासमितिका केन्द्रीय पदाधिकारी । उहाँको जन्मभूमि कर्णाली प्रदेश रहेछ । उहाँलाई कर्णाली प्रदेशका सबै जिल्ला खुटका खुट थाहा रहेछ । मैले पनि मेरो भर्खरै प्रकाशित उत्तरी धु्रवतिर टहलिँदा नामक क्यानडाको यात्रासंस्मरण पुस्तक दिएँ । दुवै पढन्ता हुनुहुदोरहेछ । सबै निबन्धका शीर्षक पढिहाल्नुभयो र निकै खुसीभएर मलाई पुनः धन्यवाद दिनुभयो ।
कफी पिउँदै गफ अगाडि बढे । निश्चित विषय थिएनन् । उहाँहरू समाजका सञ्चालक भएकाले मैले धेरै कुरा सुन्ने बिचार गरेँ र थोरै बोलेँ । सुदुर पश्चिमका गाउँ ता के शहरमा पनि युवा नभएर समस्या भैरहेकोबाट सुदुरपश्चिमेली मित्रले कुरा अघि बढाउनुभयो । “उहाँ बडो पीडापूर्वक भन्नुहुन्थ्यो । गाउँमा युवा छैनन् । खेतबारी बाँझै छन् । गाउँमा कुनै समस्या आइपर्दा समाधान गर्ने युवा सकिँदै गए । खै के हुने हो गाउँको हालत अब !” मैले पनि किन मुख चियाउनु गफै ता हो भनेर उहाँलाई समाजका अगुवा समाज हाँक्ने नेता भएपछि युवालाई गाउँघरमा थाम्नुपर्छ नि । युवाबिना अब कसरी विकास गर्नुहुन्छ । सुदूरपश्चिममा ठूला शहरहरू छन् । शहरमा ता युवा भेला भएका होलान् नि अवसर पाएर ? भनेर कुराले कसेँ ।
उहाँको मनको बह अझ पोखियो । “के को हुनु नि धनगढी,महेन्द्रनगर,सुर्खेतजस्ता ठूला शहरमा ता युवा कमै छन् । बाह्र वा स्नातक सक्तानसक्ता विदेश गइहाल्छन् । सक्ने समुद्रपारि नसक्ने खाडी । त्यहाँ पनि नसक्नेहरू सुदूरपश्चिमबाट ता भारतका विभिन्न शहर र जम्मुकश्मीर,हरियाणा,पञ्जावतिरका खेती,फलफुलका फाराममा काम गर्न जान्छन् । गाउँमा कोही बस्तैबस्तैनन् ।” उहाँका कुरा सकिएनन् । समितिहरूमा राख्ने गतिला युवा नपाइने रे । पाएर राखिहाले पनि केही समयपछि बिदा वा राजिनामा दिएर उतै लागिहाल्छन् रे । ए अचम्म ! नेपालकोजस्तो अपवादलाई बाहेक उच्च व्यवसाय मानिएको राजनीति गर्ने पनि युवा नपाइनु अचम्मै भएछ भनेर हामी सुनिरह्यौँ ।
अर्का झन् युवाकै नेता के रहेछ उहाँको भनेर त्यता मोडियौँ । उहाँको ता झन् हतौडीभन्दा घन् ठूलो भनेझैँ पो रहेछ । कर्णालीका सबै जिल्लाका कैरन ल्याउनुभयो । “गाउँघर रित्तै छन् । युवा कोही बस्तैनन् । सक्ने युरोप अमेरिका, अस्ट्रेलिया जान्छन्,त्यहाँ नसक्ने खाडीतिर जान्छन्, त्यहाँ पनि नसक्ने भारतका विभिन्न शहर र खेतीका फारमतिर जान्छन् । गाउँमा बस्न कोही मान्दैनन् ।
कमिटीहरूमा पनि बस्न मान्न छाडे । बसिहाले पनि अलिक पछि छाडेर हिँडिहाल्छन् । खै के गर्ने कसरी युवालाई थामेर राख्ने साह्रै गाह्रो छ । काठमाडौँमै ता युवा पाइन छाडे ।” उहाँहरूले ता हाम्रै गाउँशहरको कैरन पो ल्याउनुभयो ।
देशैभर युवा नरहने अनि कसले विकास गर्ने ? के बुढापाकाबाट विकास सम्भव छ ? उनीहरूबाट मानशिक योगदान अवश्य हुन्छ सरकारले श्रीखण्ड चिने ,खुर्पाको बिँड ठाने त्यो पनि हुदैन । भर्खर गणतन्त्र आएकाले स्थानीयदेखि संघीय सरकारले पनि आफैँ सर्वज्ञ र शक्तिशाली ठानेका पाइन्छन् । अनुभवी पाका मान्छेको योगदान चाहेको देखिदैन भने युवा जति विदेश जान्छन् त्यति मख्ख पर्ने गरेका छन् । गणतन्त्र ता आयो तर देशका लागि आशलाग्दो केटो जेठाजु पर्यो । गफगाफ सकेर आ–आफ्नातिर लाग्यौँ ।
धेरै युवा काठमाण्डौँमै थुप्रिएछन् । सबै ता कसरी बाहिर गए होला । पढाइ यतै राम्रो , केके अवसर यतै पाइने भएकाले यही खाल्डोमा भरिएछन् युवा भन्ने लख काट्यौँ । त्यसपछि हामीले बागबजार जानु थियो । त्यहाँ क्याम्पसमा पढाउने केही साथीहरूसँग भेट भयो । पद्मकन्या क्याम्पसका छेउको चियापसलमा बसेर गफ गर्न थाल्यौँ । उहाँहरूले पहिल्यै बिलौनाबाट सुरु गर्नुभयो । “सर सरकारी क्याम्पसमा ता विद्यार्थी भए नभए पनि जागिर जाँदैन । हाँजिर गरे जागिर पाकिहाल्छ । पेन्सन लगायतका सेवासुविधा भैहाल्छन् । हामी निजी (नेपालमा समुदायले चलाएका पनि निजीकै परिभाषामा पर्छन्)मा पढाउनेको ता के हालत हुन्छ कुन्नि ! स्नातक तहमा भर्नाहुन विद्यार्थी आउदै आउदैनन् । सामान्य विषय ता के इन्जिनियरिङमा पनि आउन छाडे । यहाँ बागबजार, पुतलीसडक, बानेश्वर, त्रिपुरेश्वर, कोटेश्वरतिर चलेका विदेशी भाषाका तालिम केन्द्रमा आँटीनआँटी विद्यार्थीको भिड छ । सबै पासपोर्ट बनाएर जान चाहेको देशका लागि आवश्यक तालिम लिन कस्सिएका छन् । अब क्याम्पस खालि हुने भए !”
नभन्दै बेलुकाखेरि भएछ । सडकपेटीमा आँटीनआँटी युवायुवतीका अविरल लर्कन देखिए । उहाँहरूले काठमाडौँमा पनि अन्त युवा भेटिँदैनन् भन्दै यिनै तलिम केन्द्रका आसपासमा मात्र यिनको भिड देखिने बताउनु भयो ।
हामी विलखबन्द पर्यौँ । हाम्रातिरबाट ता घर खालि पारेरै काठमाडौँ जाने भनेर युवा हिँड्छन् । गाउँघर खालि छन् । साना शहरबजार खालि छन् । घरहरू नै वृद्धाश्रम भएका छन् । गाउँहरू वृद्धबस्तीमा रूपान्तरण भएका छन् । त्यसैले ती गाउँबस्तीहरू, घरगोठहरू, शहरबजारहरू पनि उराठिला हुँदैछन् । हामी भन्थ्यौँ , युवाहरूले काठमाडौँ भरिभराउ छ । ब्रेनदेखि गेनसम्म सबै त्यहीँ छ । इुवा नै देशविकासका स्फटिक खम्बा हुन् तर यहाँ ता अचम्म लाग्यो र देशको आकर्षणको केन्द्र राजधानी शहरलाई सोध्न मनलाग्यो ए काठमाडौँ युवा खोइ ?
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































