साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा खोइ काठमाण्डौँ ?

अनुभवी पाका मान्छेको योगदान चाहेको देखिदैन भने युवा जति विदेश जान्छन् त्यति मख्ख पर्ने गरेका छन् । गणतन्त्र ता आयो तर देशका लागि आशलाग्दो केटो जेठाजु पर्‍यो । गफगाफ सकेर आ–आफ्नातिर लाग्यौँ ।

Nepal Telecom ad

हेम अधिकारी :

हाम्रो देशमा काठमाडौँले एकदमै आकर्षित गर्छ । एकात्म होस् वा संघात्मक काठमाण्डौँ जानैपर्छ गाउँठाउँका मान्छेले । खै के भएको हो । केही हुँदा पनि जानैँपर्ने, केही नहुँदा पनि जानैपर्ने,निकै बिरामी हुँदा पनि जानैपर्ने र निकै सञ्च हुँदा पनि जानैपर्ने । यस्तै केकेले काठमाण्डौँ पुर्‍याइरहन्छन् ।

वषौँ भएछ रात्रीबसमा काठमाडौँ नगएका । भाइ जीवन र म जाने निधो भएको थियो । यसपटक भने रात्रिबसमा जाने पक्का गर्‍यौँ । जीवनले चिनेका मान्छेलाई टिकट भनेछन् । त्यसैले मैले काट्न खोजेको नयाँबसको टिकट छाडिदिएँ । खुबै राम्रो बसमा राम्रा सिटमा पठाउँछु भनेका रहेछन् । जीवन बडोढुक्कसँग भरपरेका थिए । मलाई भने शङ्काले घरिघरि घच्घच्याइरहन्थ्यो । पानी परिरहेको थियो । बास आइपुग्यो । उनले सरहरूको बस आयो चढ्नुस् भनेपछि हामी पन पानीमा टाउका निहुर्‍याउँदै गएर बसमा पस्यौँ । पस्नासाथ बस गुड्यो । बस रहेछ सायद त्योभन्दा पुराना आजकल काँकरभिट्टा काठमाण्डौँ चल्दैनन् होला भन्ने मेरो मनले लख काट्यो । राम्रा बसमा सररर जाने चुरिफुरि मटियामेट भयो ।

घ्यार्र घ्यार्र गर्दै भोलिपल्ट अर्थात् २०८१ साल असार २२ गते दिनको ११ बजे बल्ल गोङ्गबु बसपार्क पुर्‍यायो । हामीले ठूलै कास्टीकाटेर मुक्ति पायौँ । जीवनले ता कहिल्यै रात्रिबसमा नहिँड्ने भनेर बाचा गरे भने मैले चैँ अहिलेलाई त्यो थाती राखेँ । जसरी भए पनि आएपुगेको खुसीमा काठमाण्डौलाई दण्डवत गरेर कामकुरातिर लाग्यौँ । त्यो रात गोठाटार कमला बहिनीकहाँ गयौँ । भान्जा रमणबुहारीसँग बडो मजाले भलाकुसारी गरेर बस्यौँ । नजिकै भएका अनिल भान्जाकहाँ गएर एकछिन् नाचगान पनि भयो ।

हामीले गाउँघरमा युवा नभएको कुरा ता राम्ररी बुझेका थियौँ । पूरै देश धतङ्ग्याएर उन्मत्त काठमाडौँले युवालाई राम्ररी राखेर शिक्षादीक्षा, कामदाम दिँदो हो भनेर हामीले अनुमान गरेका थियौँ ।

केही दिन काठमाडौँ बस्ने नै थियौँ । भोलिपल्ट यसो सिंहदरबार जाऊँ न त कोही ठूला मान्छे भेटिएलान्, केही गतिला कुरा सुनिएला भनेर त्यता लाग्यौँ । भित्र पसेर अर्थमन्त्रालयको चमेनागृहमा पुग्यौँ । हामी बस्नासाथ दुईजना भलाद्मी व्यक्तित्व आउनु भयो । एकआपसमा चिनजान भयो । दुवैजना समाजका अगुवा हुनुहुदो रहेछ । एकजना कुनै एउटा दलका सुदुरपश्चिम प्रदेश समितिका पदाधिकारी र अर्का युवासमितिका केन्द्रीय पदाधिकारी । उहाँको जन्मभूमि कर्णाली प्रदेश रहेछ । उहाँलाई कर्णाली प्रदेशका सबै जिल्ला खुटका खुट थाहा रहेछ । मैले पनि मेरो भर्खरै प्रकाशित उत्तरी धु्रवतिर टहलिँदा नामक क्यानडाको यात्रासंस्मरण पुस्तक दिएँ । दुवै पढन्ता हुनुहुदोरहेछ । सबै निबन्धका शीर्षक पढिहाल्नुभयो र निकै खुसीभएर मलाई पुनः धन्यवाद दिनुभयो ।

कफी पिउँदै गफ अगाडि बढे । निश्चित विषय थिएनन् । उहाँहरू समाजका सञ्चालक भएकाले मैले धेरै कुरा सुन्ने बिचार गरेँ र थोरै बोलेँ । सुदुर पश्चिमका गाउँ ता के शहरमा पनि युवा नभएर समस्या भैरहेकोबाट सुदुरपश्चिमेली मित्रले कुरा अघि बढाउनुभयो । “उहाँ बडो पीडापूर्वक भन्नुहुन्थ्यो । गाउँमा युवा छैनन् । खेतबारी बाँझै छन् । गाउँमा कुनै समस्या आइपर्दा समाधान गर्ने युवा सकिँदै गए । खै के हुने हो गाउँको हालत अब !” मैले पनि किन मुख चियाउनु गफै ता हो भनेर उहाँलाई समाजका अगुवा समाज हाँक्ने नेता भएपछि युवालाई गाउँघरमा थाम्नुपर्छ नि । युवाबिना अब कसरी विकास गर्नुहुन्छ । सुदूरपश्चिममा ठूला शहरहरू छन् । शहरमा ता युवा भेला भएका होलान् नि अवसर पाएर ? भनेर कुराले कसेँ ।

उहाँको मनको बह अझ पोखियो । “के को हुनु नि धनगढी,महेन्द्रनगर,सुर्खेतजस्ता ठूला शहरमा ता युवा कमै छन् । बाह्र वा स्नातक सक्तानसक्ता विदेश गइहाल्छन् । सक्ने समुद्रपारि नसक्ने खाडी । त्यहाँ पनि नसक्नेहरू सुदूरपश्चिमबाट ता भारतका विभिन्न शहर र जम्मुकश्मीर,हरियाणा,पञ्जावतिरका खेती,फलफुलका फाराममा काम गर्न जान्छन् । गाउँमा कोही बस्तैबस्तैनन् ।” उहाँका कुरा सकिएनन् । समितिहरूमा राख्ने गतिला युवा नपाइने रे । पाएर राखिहाले पनि केही समयपछि बिदा वा राजिनामा दिएर उतै लागिहाल्छन् रे । ए अचम्म ! नेपालकोजस्तो अपवादलाई बाहेक उच्च व्यवसाय मानिएको राजनीति गर्ने पनि युवा नपाइनु अचम्मै भएछ भनेर हामी सुनिरह्यौँ ।

अर्का झन् युवाकै नेता के रहेछ उहाँको भनेर त्यता मोडियौँ । उहाँको ता झन् हतौडीभन्दा घन् ठूलो भनेझैँ पो रहेछ । कर्णालीका सबै जिल्लाका कैरन ल्याउनुभयो । “गाउँघर रित्तै छन् । युवा कोही बस्तैनन् । सक्ने युरोप अमेरिका, अस्ट्रेलिया जान्छन्,त्यहाँ नसक्ने खाडीतिर जान्छन्, त्यहाँ पनि नसक्ने भारतका विभिन्न शहर र खेतीका फारमतिर जान्छन् । गाउँमा बस्न कोही मान्दैनन् ।

कमिटीहरूमा पनि बस्न मान्न छाडे । बसिहाले पनि अलिक पछि छाडेर हिँडिहाल्छन् । खै के गर्ने कसरी युवालाई थामेर राख्ने साह्रै गाह्रो छ । काठमाडौँमै ता युवा पाइन छाडे ।” उहाँहरूले ता हाम्रै गाउँशहरको कैरन पो ल्याउनुभयो ।

देशैभर युवा नरहने अनि कसले विकास गर्ने ? के बुढापाकाबाट विकास सम्भव छ ? उनीहरूबाट मानशिक योगदान अवश्य हुन्छ सरकारले श्रीखण्ड चिने ,खुर्पाको बिँड ठाने त्यो पनि हुदैन । भर्खर गणतन्त्र आएकाले स्थानीयदेखि संघीय सरकारले पनि आफैँ सर्वज्ञ र शक्तिशाली ठानेका पाइन्छन् । अनुभवी पाका मान्छेको योगदान चाहेको देखिदैन भने युवा जति विदेश जान्छन् त्यति मख्ख पर्ने गरेका छन् । गणतन्त्र ता आयो तर देशका लागि आशलाग्दो केटो जेठाजु पर्‍यो । गफगाफ सकेर आ–आफ्नातिर लाग्यौँ ।

धेरै युवा काठमाण्डौँमै थुप्रिएछन् । सबै ता कसरी बाहिर गए होला । पढाइ यतै राम्रो , केके अवसर यतै पाइने भएकाले यही खाल्डोमा भरिएछन् युवा भन्ने लख काट्यौँ । त्यसपछि हामीले बागबजार जानु थियो । त्यहाँ क्याम्पसमा पढाउने केही साथीहरूसँग भेट भयो । पद्मकन्या क्याम्पसका छेउको चियापसलमा बसेर गफ गर्न थाल्यौँ । उहाँहरूले पहिल्यै बिलौनाबाट सुरु गर्नुभयो । “सर सरकारी क्याम्पसमा ता विद्यार्थी भए नभए पनि जागिर जाँदैन । हाँजिर गरे जागिर पाकिहाल्छ । पेन्सन लगायतका सेवासुविधा भैहाल्छन् । हामी निजी (नेपालमा समुदायले चलाएका पनि निजीकै परिभाषामा पर्छन्‌)मा पढाउनेको ता के हालत हुन्छ कुन्नि ! स्नातक तहमा भर्नाहुन विद्यार्थी आउदै आउदैनन् । सामान्य विषय ता के इन्जिनियरिङमा पनि आउन छाडे । यहाँ बागबजार, पुतलीसडक, बानेश्वर, त्रिपुरेश्वर, कोटेश्वरतिर चलेका विदेशी भाषाका तालिम केन्द्रमा आँटीनआँटी विद्यार्थीको भिड छ । सबै पासपोर्ट बनाएर जान चाहेको देशका लागि आवश्यक तालिम लिन कस्सिएका छन् । अब क्याम्पस खालि हुने भए !”

नभन्दै बेलुकाखेरि भएछ । सडकपेटीमा आँटीनआँटी युवायुवतीका अविरल लर्कन देखिए । उहाँहरूले काठमाडौँमा पनि अन्त युवा भेटिँदैनन् भन्दै यिनै तलिम केन्द्रका आसपासमा मात्र यिनको भिड देखिने बताउनु भयो ।

हामी विलखबन्द पर्‍यौँ । हाम्रातिरबाट ता घर खालि पारेरै काठमाडौँ जाने भनेर युवा हिँड्छन् । गाउँघर खालि छन् । साना शहरबजार खालि छन् । घरहरू नै वृद्धाश्रम भएका छन् । गाउँहरू वृद्धबस्तीमा रूपान्तरण भएका छन् । त्यसैले ती गाउँबस्तीहरू, घरगोठहरू, शहरबजारहरू पनि उराठिला हुँदैछन् । हामी भन्थ्यौँ , युवाहरूले काठमाडौँ भरिभराउ छ । ब्रेनदेखि गेनसम्म सबै त्यहीँ छ । इुवा नै देशविकासका स्फटिक खम्बा हुन् तर यहाँ ता अचम्म लाग्यो र देशको आकर्षणको केन्द्र राजधानी शहरलाई सोध्न मनलाग्यो ए काठमाडौँ युवा खोइ ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x