साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल बहादुरको दाउ

लुटेरा, उडुस, उपियाँ, किर्ना, जुका, अर्ना, डाँठहरु नै दौरा सुरुवाल ढाकाटोपी सिउरिएर अत्यन्त राष्ट्रवादी देशभक्ति देखिइ टोपलिने दलबहादुरको दाउ देखेर नेपाली जनता हत्तु हैरान छन् । यिनलाई देशको कानुन त लाग्दैन लाग्दैन के महामारी हैजा पनि लाग्दैन त प्रभु ? 

Nepal Telecom ad
शेषराज भट्टराई :
दलबहादुर आफूलाई अचाक्ली बाठो ठान्छ । पढाउँदा पढाउँदै विद्यार्थीहरूलाई आफ्‌नो दलमा आबद्ध बनायो । गाउँ गाउँमा पसेर श्रम सिप गरेर भन्दा पनि लुटेर ठगेर खान सिकायो । मान्छेलाई अप्ठ्यारो पार्न र मार्न पनि सिकायो । अर्काको घरमा बसेर आफ्‌नै घर ध्वस्त अस्तव्यस्त पार्न सिकायो । आफ्‌नै आमाको थैलीबाट पैसा सुन चाँदी चोर्न दराज फोर्न सिकायो । मन्दिर भत्कायो । पुजारी मार्न सिकायो । गाई काट्न, किरिया पुत्री र आफ्‌ना विरुद्धमा बोल्ने शिक्षकलाई पनि मार्नु पर्छ भनेर विद्यार्थीलाई अरायो ।
एक दिन दलबहादुरलाई पाता कसेर किन यति धेरै विगार गरेको भनेर समाजले केरकार पार्दा दलेले हाकाहाकी भन्यो । यो त के विगार हो र जम्मा सत्र हजार मात्रै मारेको छु । मलाई यहाँको शेर नमान्ने हो भने अझै धेरैलाई सोत्तर पार्छु ।
अनि गाउँलेले भने यस्तो जोस जाँगर शिक्षक मान्छेलाई कहाँबाट आयो । कहाँको नुन खान्छौ ? हामी जनताले खाने नै खान्छौ कि अर्कै नुन ? अनि शिक्षकले पाखुराले सिगान पुछेको बाहुला सुर्किदै बहुला जस्तो बनेर बोल्यो नुन र गुन भारतीय हो । त्यसैले मेरा हरेक निर्णयहरु भारतमुखी हुन्छन् । अनि सारा गाउँलेले दलबहादुरको दाउ बुझेर जिब्रो टोके ।
अनि विस्तारै पाप धुरीबाट कराउँदै गयो । दलबहादुरको लाउलाउ खाउखाउको उमेरकी छोरी मरी । अल्लारे उमेरको जोदाहा छोरो मर्‍यो । हल्ला त दलबहादुरले नै मारेको पनि भन्छन् । बग्रेल्ती छोराछोरी पैदा गर्ने श्रीमती मैदा खाँदाखाँदै मानसिक रोगले नै दल बहादुरकी पत्नीलाई स्वर्गको अधिपति बनायो । दलबहादुरको हुंकार, डंका र दाउले गर्दा नै बाउले नपाएको सम्मान श्रीमती र छोरालाई भिरायो । अहिले दलबहादुर बुढो खोत्तर बाघझै बनेको छ । उमेरले डाँडो काटेपछि अहिले दलबहादुर नयाँ दाउ रच्दै भन्छ– “मलाई मूलघरको ताला चाबी जिम्मा दिएदेखि बढारकुँडर लिपपोत गरेर सफा सुन्दर बनाउने थिएँ तर हिंस्‌क, उदण्ड, उत्ताउलो, संहारे दलबहादुरलाई कसैले पनि विश्वास गर्दैनन् । मरेको मान्छेलाई जुम्राले छोडे जस्तो कसैले पनि साथ दिएका छैनन् । दलबहादुर एक्लै काल कुरेर कुक्रुक्क परिरहेको छ । गाउँलेले बुढो बाघको चाल विचार गरिरहेका छन् ।
विदेशीले नेपाली नागरिकलाई बहादुर भनेर विश्वमा चिनाएपछि अरू देशको तुलनामा हाम्रो देशका मानवको नाक गर्वैगर्वले उचो, चुच्चो बुच्चो र भद्या भएको छ । धेरै बाठो हुँ भनेर हुइयाँ गर्ने ब्राह्मणको चुच्चो, बहादुर हुँ भनेर कड्किने क्षेत्रीको उचो, सठ सर्वत्र पड्किने शुद्रको बुच्चो र मेरो चाहिँ गर्मी याममा पनि फाटेको कोट, वडा वडा ओठ, कुरूप अनुहार लिएर सडकमा लखर लखर हिँड्ने शुकरातको जस्तो भद्दा छ । जो जस्तोसुकै नाक मुख आकार प्रकारको भए पनि नाकको काम सुगन्ध र गुगन्ध छुट्याउने हो । नाकले गुगन्ध नछुट्याइ दिएको भए विकारलाई नि शिकार गरिन्थ्यो । गन्ध मन्दमन्द छुट्याउनेहरू न यता न उता न्यूटलमा डबली मार्नमै मस्त हुन्छन् । भने बाठा चतुरहरू दलमा आबद्ध भएर आफ्‌नो बहादुरी देखाइरहने हुनाले नै तिनीहरु दलबहादुर बनेका हुन् । अब दल बहादुरका विषयमा नबोल्दा म आफै छलबहादुर हुने हुनाले थपक्क नाक जोगाउन पनि दलबहादुरकै कायाकैरन प्रस्तुत गर्दा नै मेरा चन्द्रमा दाहिना हुन्छन् कि ।
जे त होला गर्नैपर्छ । म लेखक बनेर पनि ठिकै गरेछु कि जस्तो लाग्छ । नेपाली काँग्रेसको लेखक भन्नेले त पैसा त फ्याउरी नै लगाउँदो रहेछ । दिनकै पचास लाख सिरानेमै आउँछ अरे । अहिले गृहमन्त्रीको बागडोर उनकै हातमा छ । यार अख्तियार र प्रधानमन्त्रीलाई पनि प्रसादी दिन्छन् अरे । प्रधानमन्त्रीको मौन स्वीकृतिले पनि कस्तो राम्रो काम गरेको । बाफ्‌रे दिनकै पचास लाख । के गर्नु त्यो दुनियाँको आँखामा पर्ने कसिंगर ? भुटानी शरणार्थी काण्ड, गृहमन्त्री लेखकको दैनिक पचास लाख काण्डले नेपाली काँग्रेसको नाक रहन्छ र अब ? नाकै भाँचिने गरी के गरेको यी लठैत दरिद्र दल बहादुरहरूले ?
अहिले भर्खरे नेपाल देशको राष्ट्र बैंकले अठारौँ नयाँ गभर्नर जन्माएको छ । मेरो दलको राख्ने कि तेरो दलको राख्ने ? कि न्युटलको राख्ने भन्दा भन्दै धेरै दहलफसल भए । बडो कष्टका साथ समय नष्ट गरे । आफ्‌नो दास बाहेक दल बहादुरहरूले अरू कसैलाई पनि नरुचाउने हुनाले काँग्रेससँग सती जान सक्ने क्षमता भएको अत्यन्तै बलवान् खोट रहित निष्कलंकित दलबहादुरलाई छानेर साँढेलाई जस्तो पनिउले डँडाल्नामा डामेर नोठमा राइदाई गर्ने हकाधिकारका साथ गद्यावाले गद्यीमा बलशाली विवेक खाली रद्दी दलबहादुरलाई राखेका छन् । दलबहादुरले आफ्‌नो पावर प्रस्तुतीका साथ होक्काँ गर्दै डुक्रिएर भने म स्पोर्ट सुटरले जस्तो सुइटर फुकालेर गन सोझ्याउँदै भट्टट्टट् गरिहाल्दिन । यसको मतलब दलबहादुर श्लोपोइजन बनेर आफ्‌नै दलभक्त बनेर भजन प्रस्तुत गर्छन् । यस्तो दारी भएका बफादारी दलबहादुर कहाँ पाउनु ? सामन्ती दलको छोटे राजा र्‍याल चुहाउँदै दास दलबहादुरहरूलाई दङदास पार्ने दाउमा ग्रिनसिग्नलको बुढी औँलो ठड्याउँछन् र भन्छन् स्याबास केटा हो राम्रो गर । कमसेकम लेखकले जति दैनिक कमाऊ । अनि मेरो नाकको साइज किन घट्थ्यो जो लेखक न परियो । सारा लेखकको शिर एकाएक शिव लिङ्ग झै ठाडो भएको छ ।
अर्को दलबहादुर चिच्याउँदै भन्छ अबको नौनी शाखामा हाम्रो दलबहादुरलाई औलो बाङ्गो पारेर विरजमान गराउने भागवण्डाको सहमतिपत्रमा ल्याप्चे लगाउँछ र लोड्सेडिङ वा शुल्क वृद्धि गर्ने जोदाहा निर्णयमा दलबहादुर मौन बस्छ । अनि जनताको ढाड सेकाउने मामलामा दुबैले बुढी औलो ठड्याउँछन् र आकाश भेदी अटहास उराल्छन् अनि भट्टीमा सिसाका गिलास जुधाएर राणालाई बिर्साउने गरेर आमोद प्रमोद र हग गर्छन् ।
अर्को दलबहादुरले यो सबै देखिरहेको हुन्छ अनि मुख मिठ्याउँदै जिब्रो पड्काउँछ र भन्छ सत्ताको रत्तिभर लालच छैन । बरु एयरपोर्टको सुनमार्ग अलिक लुज गरिदिएदेखि हामी धुप बालेर चुप बस्छौँ । करोडौँको भारी बोक्ने ट्रक छोडिदिए चौरासी पूजा गरुन्जेलसम्म हामी केही बोल्दैनौँ । किनकि यो दलबहादुरलाई लसुन मार्ग भन्दा सुन मार्ग खुकुलो मात्रै होइन सानो कुलो नै चाहियो । सानो होइन ठूलो नै चाहियो ।
एउटाले बेस्सरी लादी फर्किने गरी कुटेझै गर्छ त अर्को धोक्रो पड्किएला झै गरेर रोएझैँ गर्छ । जनताले सुइको नपाउने गरी दलबहादुरहरू बेलुकासँगै लमपसार गर्छन् । विहानसँगै ब्रेक फास्ट लुँड्याउँछन् । अनि निशाचर बनेर राइफाडो मच्चाउँदै देशको लाम्टो चुस्दै मीठो सपना देख्छन् । यिनै सन्त हितकारी लुटेरा, उडुस, उपियाँ, किर्ना, जुका, अर्ना, डाँठहरु नै दौरा सुरुवाल ढाकाटोपी सिउरिएर अत्यन्त राष्ट्रवादी देशभक्ति देखिइ टोपलिने दलबहादुरको दाउ देखेर नेपाली जनता हत्तु हैरान छन् । यिनलाई देशको कानुन त लाग्दैन लाग्दैन के महामारी हैजा पनि लाग्दैन त प्रभु ?
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x