शिवप्रसाद जैशीपगोवाद पुनरावृत्तिका लागि मागपत्र
गर्भमा हुँदा कहाँ स्वतन्त्र थियो र यो मानव ? किन चाहयो स्वतन्त्रता ? किन चाहियो विवेक? किन चाहियो स्वाभिमान? दशैंको मौलामा राँगो र बोकालाई पग्याएजस्तै पगो लगाएर तानियोस् ।

शिवप्रसाद जैशी :
लिखितम् हामी नेपाल बासी रैती प्रजा, हजुर मालिक बिना बस्न, उठ्न, बाँच्न, नाच्न, खेल्न, हाँस्न, खानलाउन, सुत्न र सास फेर्न सक्ने अवस्थामा छैनौ। हामीलाई शासनरुपी आसनको एक थान पगो चाहियो। निरङ्कुशताका जन्जिरबाट निस्केर खुला आकाशको स्वच्छन्द हावामा श्वास प्रश्कोवास नियम पालनमा बाधा पुगेकोले सासको गतिका लागि हाम्रो मति सपार्ने पगो आवश्यक ठानेका छौँ। पगो बिना हामी लम्किन, ठम्किन, हिँड्न, डुल्न, लेख्न, पढ्न, बक्न किमार्थ सक्दैनौ। पगोको बानी परेका हामी पगो नहुँदा कता कता के के न पुगे जस्तो। तिहुनमा नुन र खुर्सानीको स्वाद नभए जस्तो। मसला विहीन तरकारी पकाए जस्तो बेस्वादको अन्नले गला अवरुद्ध भएर अन्न अन्नादि अड्केर मर्ने अनि आत्मा भड्केर पृथ्वीलोकमा अप्रिय घटना घट्न सक्ने स्थितिको आँकलन गर्दै हामी पगोप्रेमीहरु फेरि पगोमा बाँच्न पाउँ भनि अदृष्य ख्वामितका पाउमा हाम्रो स्वतन्त्रताको भाउ चढाउन चाहन्छौ। हामी पगो प्रेमीहरुको बिन्तिमाथि सकारात्मक दिव्य दृष्टि भइ स्वस्ति वाचन गराइ बक्सियोस् भनि पगो प्राप्तिका लागि मन, मस्तिष्क र हृदयदेखि राजिखुसी विना करकापकासाथ यो आत्मस्वीकृति पत्र पेश गर्दछौं।
पगोमा बाँधिएर नारिन पाउँ भनि दरखास्त पेश गरेका छौँ। दरखास्त पेश गर्ने उपयुक्त स्थान र ख्वामित नभेटाएपछि भड्किएको हाम्रो आत्मा गह्नाएको अनात्मामा परिणत भएको छ। सडक गल्लिहरु चाहर्दै अलमलिदै पगो लगाउने र पगोमा डोर्याउने ख्वामितको खोजीका लागि गोजी टक्टक्याउँदै जुनाफमा चढाउन र हर्क बढाइ गर्न समेत लालायित यी हाम्रा मन मस्तिष्क र प्राण वायु अग्रगमनबाट पश्चगमनतिर धकेलिन मनोमानी राजिखुसीसहित तम्तयार भएको जाहेरी गर्न पाउँदा सुखानुभूति महसुस गरेका छौँ।गर्वबोध भएको कुरा सहर्ष स्विकार्दछौं।
ख्वामित बिनाको हाम्रो गणतान्त्रिक शासन व्यवस्थाले गरेका र गर्न सक्ने नीति, थीति प्रति हाम्रो घनघोर असहमति छ। हामी स्वतन्त्र मानवले गरेका र गर्ने सक्ने सम्भावित घटना र परिघटनाहरुसँग सुपरिचित भइ वाक्क, दिक्क, ठाक्कठुक्क परी परतन्त्री मानवको स्वाद जस्तो सुगन्ध हाम्रा इन्द्रियहरुले आस्वादन नगरेकोले हामी पुनः रैती र प्रजा हुन पाउँ भनि एकत्रित भएको कुरा अन्जान शक्तिका पाउका खराउमा आदरपूर्वक सभक्ति सविनय निवेदन चढाउँछौँ।
पशुहरुलाई जस्तै घाँटीमा बाँधेर एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रयोग हुने डोरी अर्थात पगो हामीलाई पनि प्रयोग गरियोस्। डोरीले डोर्याइ पग्याइयोस्। उन्मुक्त स्वतन्त्रताको वातावरणबाट कालकोठरीतिर पदार्पण गर्दा चाहिने पगोको व्यवस्था गरी उतैतिर डोर्याँउने उपल्लो दर्जाका मालिकको व्यवस्था नभएसम्म हाम्रो प्राणले त्राण नपाउने कुरा स्पष्टताका साथ सभक्ति चढाउन चाहन्छौँ। हामी स्वाभिमानपूर्वक आफ्नै बलबुताले गर्न सक्ने मनुवारुपी प्राणी भएको भए ख्वामितको चरणमा शरण पर्न आउने थिएनौँ । हाम्रा नसिवले दिएको गणतान्त्रिक व्यवस्थामा आफ्नै बलबुताले राष्ट्को उन्नति प्रगति आम जनभावनाको कदर सम्मान र महासम्मानमा सम्मिलित हुन सक्ने सकल दर्जाको प्रेम हुन्थ्यो भने सरकारका जुनाफमा यो राज्य सत्ताको भारी हत्याउन अनुनय विनय गर्न किमार्थ राम्रो हुने थिएन। हाम्रो रगत र वर्गतमा कहिँकतै राज्य सञ्चालनको अभिभारा आएमा सञ्चालन गर्न सक्ने हुती हँदो हो त ब्रह्मा, विष्णु, महेश्वरको रुपमा पुजन गरी खराउ शिरमा भरी आत्मालाई बन्धक बनाइ शरणमा पर्ने थिएनौँ।
हामी पशु समानका मानवरुपी अर्धमानवहरुको मिलिमतोमा सर्वसम्मत रुपमा ख्वामित खोजी शभक्ती दासत्व स्विकार्न मन, हृदय र घटबाटै उद्देलित हाम्रा नविन भावनाहरुलाई संरक्षण गर्न प्रविधिको अनन्त विकासको रागले अन्तरघुलन गरी हामीलाई पुरातनवादमा धकेल्न राजिखुसी मनोमानीका साथ लाप्चे लगाई सहिछाप गरिदिएका छौँ ।हामीलाई स्वतन्त्रताको अन्यायबाट मुक्त गरी परतन्त्रताको दासत्वमा अद्यावधिक होइन जुगजुगसम्म सन्तान दरसन्तान समेतलाई बन्धक बनाइ हजुरका सन्तान दरसन्तानको सेवकको रुपमा स्विकार गरिबक्सियोस् भनि यो मागपत्र दर्ज गर्न कहीँ कतै ख्वामित नभेटिँदा सडकलाई नै नवख्वामित मानी राजधर्म अपनाइ दासत्व स्विकार गर्न घुँडा टेकेर भक्तिपूर्वक शरणमा पर्दछौँ। आवधिक रुपमा चुनी चुनाइ फेर्न सक्ने जन चाहना बमोजिमको गणतान्त्रिक पद्दति हाम्रो भोगका लागि नसुहाएको व्यथा सर्वथा यथार्थ भएको व्यहोरा जाहेर गर्दछौँ। शरणलाई मरण गर्नु हुने छैन भन्नेमा हामी विश्वस्त छौँ ।
गाईभैंसी लगायत घरपालुवा पशुहरुलाई स्थानान्तरण गर्दा पशु आजाद भएर स्वतन्त्र ढंगले कहीँकतै जान नपावस्र भनेर ग्वालले रसीको माध्यमबाट डोर्यारएजस्तै हामीलाई पनि डोर्यााइयोस् । पशुलाई डोरीको माध्यबाट अनुशासनमा राख्ने माध्यम, तरीका. विधि, जुक्ति, बुद्धि अनि नियम हो पगो लगाउनु, त्यो पगो हामीलाई पनि लगाइयोस्। पगो विहीन पशु स्वतन्त्र भएर छाडा हुन सक्छ भनेर नै पगोको आविस्कार भएको होला। तसर्थ आविस्कार भएको नवप्र्वर्तन लाई हाम्रो गलाको माला बनाइ हामीलाई दायाँबायाँ जता लग्न मन छ त्यतै डोर्यााइ पजनी गरियोस् भनि स्वभावना अर्पण गर्दछौँ।
अक्षरमाथि केरकार गरियोस्। शब्दहरुमा काँटछाट गरियोस्। स्वतन्त्र वाक्यहरुमा प्रतिबन्ध लगाउन पनि पगो प्रयोग होस् ताकि लेख्न हातले बुझोस्, निर्देशन दिन मस्तिष्कले बुझोस्, टाइप गर्दा कम्प्युटरले बुझोस्, सूचना प्रवाह गर्दा इन्टरनेटले बुझोस्। विधि र प्रविधि दुवैमाथि दाम्ले लोहा साङ्लोको पगो बनाइ पहिराइयोस् ताकि सबै इन्द्रिय बन्धनमा बसुन्। प्रमुको पाउमा पसुन् । असिमित गणतान्त्रिक अधिकारले फुल्ने, फल्ने र फस्टाउन खोज्ने सिमान्तिकृत सिमाहरु भत्किएर पर्खालभित्र अड्किउन् । पर्खाल अग्लिउन्। पुलहरु भत्किउन्। डुङ्गाहरु पल्टिउन् । बाढी र वेगले उखेलेर लगोस् ।हावाले उडाएर लगोस् श्रमजीवि र कर्मजीवी कलमहरु र स्वतन्त्रताका मलमहरु।
स्वतन्त्रताको ओखतीमा परतन्त्रताको बिष घोलेर गणतन्त्रलाई घाटमा पुर्याइउन स्वजनको सत्तालाई चितामा डढाएर परतन्त्रको तिलकले निधार सजाउन हामी तयार भएकै हो। स्वाभिमानको झण्डालाई अभिमानको राँकोले सल्काएर पराक्रमको ज्योतिमाथि अन्धकारको मुस्लोले सोड्न सकियौ भन्ने हाम्रो आफ्नै स्वधर्म र कर्म हो। कोही कसैको उक्साहट जालझेल केही नभएको कुरालाई भित्री मनबाट सगौरव विन्ति बिसाएका हौँ ।
आफै आफ्नै गोडाले हिँड्न बहुत सकस भएर नै स्वतन्त्रताको मुक्तिबाट बन्धनको बाटोमा पगोको सहायता खोज्न बाध्य भएको कुरा सगौरव राख्न पाउँदा कहीँकतै मनका अन्तर कुन्तरमा पशु भएको भान भएको भए कसम खाएर भन्छौ हुँदै होइन। गणतन्त्रको कसम खान सकिएन। पगोको कसम। दाम्लोको कसम। नेल र हत्कडीको कसम।
परतन्त्रताको र परचक्रीको कसम। अहँ हुदै होइन अन्तरमनले दासत्वको फलामे साङ्लोमै बस्न मनमस्तिष्कले रुचाएपछि भौतिक शरीरको कुरा कसरी मान्नु । मानिदैन। स्वतन्त्रताका पछि लागिदैन। पगो लोहाको नै चाहिदैन। सुकेका वा हरिया बाबियाका केही त्यन्द्राको मसिनो रसिले पग्याए पनि हामी हल्लिने छैनौँ। लुख्रुक लुख्रुक डोरिने छौँ । अनुशासित भएर डोरिने भएकोले बलियो नचुँडिने खालको डोरी आवश्यक छैन। केवल पगो रुपी डोरो हाम्रा काँधमा बाँधेर हामीलाई तानेर हामीमाथि पजनी चलाइ बक्सियोस्। हाम्रो इच्छामामाथि सदीक्षा होस्।
पटक्कै मन छैन खुला आकाशमा स्वतन्त्र हावा भएर वतासिन।वतासलाई रोकियोस् पग्याएर। सुन्दर जंगलभित्र मदहोस बिरुवा भएर उम्रिन पनि पगो लागइयोस सृष्टिको वसन्तलाई। सेता हिमालबाट शीतल जल भएर बग्न बाँधरुपी पगो लागइयोस् जलको प्रवाह रोक्न।आफ्नै प्वाँखका भरमा ब्रह्माण्ड विचरण गर्दा हुनसक्ने सृजनात्मक सम्भावनालाई पिँजडा बनाइयोस् थुन्न। अमिलो, तितो, टर्रो लाग्न थाल्यो आजकाल स्वतन्त्रता त्यसैले परतन्त्री भएर बाँच्न पाउँ, हाँस्न पाउँ र खेल्न पाउँ। लाउन र खान पाउँ पगोमा कुनै निश्चित घेरामा- पर्खालमा र किल्लामा।
लेख्ने हातमा हत्कडी पगो, बोलीमा जिब्रे पगो, खुट्टामा नेल पगो, मस्तिष्कमा नियन्त्रित पगो, विवेकमा धरौटी पगो लगाइयोस् । पगैपगोको माला एकबारको जुनिमा के स्वतन्त्र भएर बस्नु ? गर्भमा हुँदा कहाँ स्वतन्त्र थियो र यो मानव ? किन चाहयो स्वतन्त्रता ? किन चाहियो विवेक? किन चाहियो स्वाभिमान? दशैंको मौलामा राँगो र बोकालाई पग्याएजस्तै पगो लगाएर तानियोस् । पगोवाद पुरनरावृत्तिका लागि मागपत्र । पगोवाद जिन्दावाद ! जय पगोवाद !
०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं






































के हो यो पगो भनेको ! कोयालाई भनेको हो कि ,डोरीलाई भनेको हो कि, दाम्लोलाई भनेको हो कि बरियोलाई भनेको हो कि ,पाट/ पटुवालाई भनेको हो कि ?बुझ्न त त मरि गए सकिएन त !
पगो भनेको पशुलाई स्थानान्तरण गर्दा लगाईने डोरी हो हजुर