शिवप्रसाद जैशीगजेटमा बजेट
कात्रो र सात्रो दुवैमा प्रयोग नहुने यो एकुमुलेटेड बजेटको के अर्थ ? भनेर हुन्छ र धन कमाउने मनको रहरले आकाश छुन सुनको लिस्नो मागेपछि कात्रो र सात्रोका बारेमा कहाँ सोच्ने बानी पर्छ र ?

शिवप्रसाद जैशी :
समय बजेटको छ। बजेटलाई गजेटमा ल्याउन हतारो, चटारो र रस्सा कस्सी चल्दैछ– गाउँ र शहर दुवैतिर। पाखुरा सुर्कासुर्की चल्दै छ बजेट तर्जुमा गर्ने संसदीय रण मैदानमा। आखिरी हो के यो बजेट भन्ने जिनिस ? सरल भाषामा बजेट सरकारले वार्षिक रुपमा गर्ने कार्यहरुको रकम कलम सहितको फेहरिस्त हो भन्ने कुरा कसले बुझ्दैन आजकालकाे जमानमा। जुन देशमा वर्षमा सात सय एकसट्ठी पटक सुनिन्छ र सुन्नै पर्छ। माथिदेखि तलसम्म। फेदमा सात सय त्रिपन्न, डाँठमा सात र टुप्पामा एक थान। जम्मा सातसय एकसट्ठी पटक कानमा गुन्जिदा श्रवण शक्तिमा उत्पन्न हुने ध्वनिले दिमागमा नबिर्सने रसायन उत्पादन हुनगइ बजेट शब्दले बसाइँसराई नगर्ने गरी स्थायी घरजम गरेको कुरा लेख्न र भन्न जायज छैन। स्वतःस्फूर्तरुपममा दिमागमा स्थान ओगट्ने शब्द बजेटलाई घोकाउने जस्तो नाजायज काममा मानिसहरुलाई अल्झाउनु किमार्थ राम्रो मानिदैन र हुँदैन। मानिस अल्झाउनु र रोग बल्झाउनु उस्तै उस्तै हो। साइनो लगाए जस्तो। मित्तेरी गाँसे जस्तो।
यो बजेट फुत्त गजेटमा आएपछि भने कसरी बन्यो भन्ने चर्चा चल्छ चोकमा, थोकमा, गल्लीमा र खुद्रामा। थोकमा होस् वा खुद्रामा यसले केही माने राख्दैन। माने कसको निर्वाचन क्षेत्रीय गोजीमा कति ज्यादा बजेटको गजेटमा टाँचा लागेर आयो भन्ने कुरा चाहिँ व्यापक रुपमा अल्छिदेखि जैशीसम्म, पात्रोदेखि सात्रोसम्म चल्ने बहस र पैरवीले राख्छ। पात्रोमा जैशीले लेखिदिएको भाग्यका आधारमा लागेको निधारको राजग्रहको टिकोले निर्धारण गरेको चर्चा चल्छ फगत बजेटले गजेटमा ओगटेको लम्बाई, चौडाई र गहिराई सहितको गतिलो आकारले। जहाँ गतिलो आकार त्यहाँ जयजयकार। जहाँ अगतिलो आकार त्यहाँ हाहाकार।
गजेटको पातो पल्टाउदै आफ्नो भागमा पार्दै। पातो पल्टाउदै आफ्नो निर्वाचन क्षेत्रमा सार्दै। पातो पल्टाउदै आफ्नो जिल्लामा पार्दै। पातो पल्टाउदै आफ्नो सम्भावित वैकल्पिक चुनाव क्षेत्रमा राख्दै। पातो पल्टाउदै आफन्तका अंशमा परेका क्षेत्रमा खुदो हलाइ गर्दै। आऽआऽ आऽऽऽ फ्नो। पातो पल्टाउदै आसेपासे भक्त-भक्तिनीको आसपासमा अलिकति चुरुकचुरुक पितिकपितिक पार्दै बजेटको आकार निर्धारण गर्दा गर्दै उल्लेखित भन्दा वाहेकका भागमा अधपाकेका पिँडालुका विभिन्न स्वादका परिकार भन्दा अरु के नै पर्छन र !
काँचा पिँडालुका परिकारले गलामा प्राकृतिक आक्रमण गरेपछि जाँचमा पेलेर निकालिएको अमिलोको रस तामाको ठुलो ताउलोमा पकाइ खिन्ट्याइएको चुक खाएर सघन उपचार सहित सदनमा आउनुको विकल्प हुन्छ र ? अहँ, हुँदैन। चुकखाएको डकारले सदन गुन्जयमान गर्दागर्दै कहीँ गजेटरुपी पाता च्यातिन्छन् त कतै गालिगलोजको वाटर फाउण्टेन चल्दछ। शुद्धाशुद्धिको हवाला दिँदै रतौली दोहोरी जात्रा हेर्न गोजी गोजीमा भएका घुम्ति दूरभाषयन्त्र व्यस्त हुन्छन्। घुम्ति दूरभागषयन्त्रमा मानिसहरुका मस्तिकष्कबाट उब्जेका भावनाहरु मुहार पुस्तिका, इन्ष्टाग्राम, युट्युब, एक्स आदि इत्यादितिर छरपस्टिन्छन् र डिजिटल दोहोरी चल्दछ-डिजिटल दीर्घाबाट थपघट गरेर।
बजेटलाई गजेटमा लेख्दा न मेची न काली, नहलो न हलोको फाली। न किसानको आली, न किसानको बाली। न खेतको कुलो, न ओखती मुलो। न उचो, न होचो। जो ढुकुटीको साहु, उसैले गरी खाउ। संविधान सजाउने, घोषणापत्र भजाउने।आफ्ना जति अघाउने, अरुका भगाउने। आखिर छैटीमा भाविले लेखेको कुरा कसले टार्न सक्छ। हुने हार दैव नटार, थेग्नै पर्यो चुनावको भार। आफ्नोमा बजेट पारौं। चुनाव जितौं। सिद्धान्तको मारौँ गोली, राजनीतिक पार्टी खाउँ पोली। हानौँ मौकामा चौका। मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछोड्नु भन्ने मान्यता नयाँ होइन पुरानै हो। यो मान्यता होइन, उखान पनि होइन, सिद्धान्त हो भनौँ। एकले गरौं। अर्को आउदा अर्कोले पालै पालो उसिनेर, पोलेर, भुटेर, तारेर, झानेर, झोल हालेर, सेकेर, सिठी मारेर आफ्नै निर्वाचन क्षेत्रमा घुमाइफिराइ बजेट राखेर समग्र देशलाई सौतामानेर खाउँ।
आफ्ना हात जगनाथ। घरिना भएपछि डाडुमा खाउँ। पुन्यूमा खाउँ। हाँडीमा खाउँ, भाडीमा खाउँ। अघाउँ ढुङ्गा, लाठी, मुङ्गो र भाँटो पच्ने गरी। क्रिकेटको छक्का जस्तै मारौ, फुटबलको गोल र भलिवलको सट जस्तै हानौँ। तानौँ आफ्नै भागमा पारौँ बजेटको गजेट। भागमा पर्ने पर्ने जति जति जितौं चुनावमा। विराजमान हौं संसदीय डुङ्गामा। पार्टी पार्टी चौतारीतिर पठाउँ। हार्ने हार्ने पाटिपौवातिर खटाउँ। फेद, डाँठ र टुप्पामा सबैतिर, जित्नेहरु तत् तत् सिंहदरवारतिर छिर। पार्टीको मारौँ गोली, गठबन्धनको खेलौँ होली-रङ्गीबिरङ्गी चङ्गा, गरौं है राजनीतिक धन्धा। देशको समावेसी पात्रो- संविधानको एक थान, गुलेलीले हान। पार्टीको सिद्धान्त र घोषणामुखी पात्रो, बनाउँ बुख्याँचाको कात्रो।
सरकारका मन्दिरका पुजारीहरुको आखाँको ढकनीले आफ्नो क्षेत्र बाहिर देख्न नसक्ने अवस्थामा सिङ्गो राष्ट्र देख्ने कुरो हुँदै हुँदैन। देख्दै नदेखेको मुलुकको गजेटमा बजेट कसरी पर्छ। पर्दैन। नदेख्नुलाई दोष कसरी मान्नु। नेदेखपछि झमेला, झन्झट पनि भएन-टण्टै साफ।नदेखिने ठाउँमा खै बजेट भनेर कुर्लिन र हुर्मत लिन मिल्छ ? मिल्दैन। आफ्नो भनेको आफ्नै हो। बुझ्दाबुझ्दै किन बुझपचाएको। बुझपचाउनु थियो भने सरकारका थानमा पुजारी नियुक्त गर्ने पार्टी मुखियाहरुले जस्तै नियुक्त गर्ने म हो भनेर कुबुलियतनामा सहितको बजेटको व्यवस्था गर्न सक्ने हैसियत बनाउन सक्नु पर्छ। हुती नभएकाले थुतुनो नचलाएकै वेस।
आफ्नै पार्टीको मन्त्री छ है यो बन्छ त्यो बन्छ भनेर जनताको भोक जगाउनेले धूपबत्ति नबालेर शंखघण्ट नबजाइकन केको आधारमा भने उनै जानुन्। नजाने उनैले लगौँटीको म्वालो थुतुनोमा बेर्नु सिवाय अरु के नै गर्न सक्नुहुन्छ। बजेट बनाउने एकधारे नीति अन्तर्गत बहुधारा कसरी समेटिउन्। एक घर एक द्वार मिलिजुली विपरित पार्टीहरुका भए पनि समानन्तर विकासका लागि सहमति त जनाउनै पर्यो। सहमति अन्तर्गत जहाँ जहाँ जसको जसको बजेट उतै उतै चुनावको भागबण्डीय गजेट भएपछि चुनावपछि गठबन्धनको गाँठो पनि सजिलै फुक्छ भन्ने कुराको जानिफकार सरकारी पुजारी भन्दा अरु को पो होला र ? बजेट गठबन्धनबाटै दिगो गठबन्धनको भावी रेखा कोर्न कति सजिलो। गजब। काइदा।
हैन सरकारको गजेटमा आफ्नो क्षेत्रमा बजेट पाउने अर्को बाटो पनि खुला रहेछ। खुलाबाटो प्रयोग गर्न पनि बुद्धि घोटी चन्दन लगाउनु पर्योम नि ! तितेपाती लिएर कम्तिमा महिनामा दुईदिन औँसी र पुनीमा सम्भव भए सम्बन्धित मन्दिर शाखाको पुजारी, नभए बिचौलिया, त्यो पनि न भए ठटौलियाको काँधमा सिउरिनु पर्यो। तितेपातीसँग पुष्पको प्रयोगले केही गर्न सक्दैन। पुष्पको सट्टा पत्र लिएर जानु पर्छ। पूजा गर्दा बाहुनले पुष्पम् पत्रम् भनेको सुनेको छैन ? नसुनेको भए पुजापाठ हुने ठाउँमा गएर प्रशिक्षित हुनु पर्यो नि ! पत्रम् बिनाको पुजाले बजेट गजेटमा पर्दैन भन्ने कुरा केही पुजारी भैसकेका र हुन योग्य मानिसहरुका मुखारबिन्दबाट सार्वजनिक रुपमै सुनिन थालेपछि अरु दसी के चाहियो। समान्य मनुवाको हैसियत के होला नजाने भगवान !
गजेटमा बजेट पार्ने पूर्व प्रतिशत अर्थात प्रि पर्सेण्टेज विधि पनि चलन चल्तिमा छ। यो विधि अन्तर्गत गजेटमा बजेट पार्न पार्नु पर्ने बजेटको मात्रा अनुसारको पूर्व निर्धारित प्रतिशत अग्रिम रुपमा सरकारका ढुकुटी संचालकलाई बुझाउनु पर्ने कुरा सार्वजनिक रुपमा सतहमा आइसकेकोले प्रतिशत बढाबढ भएमा प्रतिस्पर्धामा समेल हुन तयार रहनु पर्छ। सामेल त हुनु पर्यो नि । सामेलै नभैकन बजेट नपाएको रोइलो गर्न किमार्थ सुहाएन। च्यातचुत पारेर समस्या समाधान पनि हुँदैन। लाज लजाएर आफ्नो लगौटी खोलि सकेपछि घैँटोमा घाम लाग्नु त उही हो-औँसीको रातमा जुन देख्नु। बुद्धि लाउनु पर्यो नि बुद्धि।
जेजसरी जुनसुकै विधिबाट जम्मा पारेर घरको बजेटको आकार तान्तुन पारे पनि मानव चोलाको अन्तिम यात्रामा भने न यो कात्रोको रुपमा प्रयोग हुन्छ न त सात्रोकै रुपममा। सात्रो भने अर्कै हो। मानिस मेरेपछि मुर्दा हुन्छ मुर्दा भएपछि घाटमा लिँदा उसका ओड्ने ओछ्याउने उसैसँग लिएर घाट नपुग्दै बाटोमा तोकिएको निश्चित ठाउँमा फालिन्छ-त्यही हो सात्रो। कात्रो र सात्रो दुवैमा प्रयोग नहुने यो एकुमुलेटेड बजेटको के अर्थ ? भनेर हुन्छ र धन कमाउने मनको रहरले आकाश छुन सुनको लिस्नो मागेपछि कात्रो र सात्रोका बारेमा कहाँ सोच्ने बानी पर्छ र ?
बजेट बढाउदै गजेटमा लेख्दै जानु पर्छ। हाँस्ने हाँसुन, रुने रोउन, च्यात्ने चातुन, थुत्ने थुतुन्। तिनीहरु पनि पालो पर्खेर बसेका हुनाले हामीलाई पापको चिन्ता छैन। आलोपालो विधिबाट व्यक्तिगत बजेटको आकार बढाएर गजेटमा छापौं। हामीलाई लाग्ने पाप बजेटको गजेटमा क्रमिक रुपमा सर्दै जावस्। आउनेहरु पनि हामीलाई उछिनेर जाउन्। अनि पाप न साप। पापाको पनि त हस्तान्तरण हुँदै जान्छ। जे होस् गजेटमा आफ्नो हिस्सामा बजेट पार्न चुक्नु भएन।
०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































