साइबर अपराध सम्बन्धी सचेतना सामग्री

´सी´काे नतिजा ; जिपिए फाेर

भैंसी देखे सुकुटी र मम मान्छ । साग देखे घाँस भन्छ । संस्कार सभ्यता केही जान्दैन । देश देख्दैन । विदेश देख्छ । आफू विदेश गएपछि देशमा केही नभएकाे लेख्छ । हामीले खाेजेकाे शिक्षाकाे गुणस्तर नतिजामा कि व्यवहारमा ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

उहिले स्कुले जीवनकाे अन्तिम कक्षा दस थियाे । कक्षा दसकाे अन्तिम परीक्षालाई पञ्चायतकालीन नाम` प्रवेशिका परीक्षा´ दिइएको थियाे। यसैलाई `स्कुल लिभिङ सर्टिफिकेट ´भनेर बेलायती नाम लिइएको थियाे । स्कुल लिभिङ सर्टिफिकेट `एसएलसी´ का रूपमा खिइएकाे थियाे ।

हेर्दाहेर्दै स्कुले जीवन कक्षा दसबाट बाह्र पुग्याे । यसकाे नाम फेरियाे । प्रवेशिका परीक्षा `माध्यमिक शिक्षा परीक्षा ´ का रूपमा गणतान्त्रिक भयाे । बेलायती नाम `सेकेन्डरी एजुकेसन एक्जामिनेसन ´ बन्याे । कर्तन नाम एसईई(SEE) भनिएकाे छ । याे ठीक हाे या हाेइन अंग्रेजी जानिएन । नजानेकाे कुरामा के जिकिर गर्नु र ? उहिले हामीले पढ्दा SEE काे उच्चारण` सी´ गरिन्थ्यो । `सी´ काे नेपाली अर्थ हेर्नु वा देख्नु भनिन्थ्यो । अहिले SEE लाई एसईई भनेकाे सुन्दै छु । कतिपय गाउँघरे जिब्रोले `सी´ उच्चारण गरेकाे पनि सुनिएकाे छ । उच्चारण जस्तोसुकै हाेस् बाल भएन ।` सी´काे नतिजा निस्किएकाे अन्यथा रहेन ।

अलिकति उहिलेकाे एसएलसीका कुरा गराैं । उहिले अर्थात् हाम्रा पालामा कक्षा ९ र १० बाटै प्रश्न काटिन्थे । सरकाे मात्रै भर हुन्थ्याे । परीक्षाकाे डर हुन्थ्याे । नतिजा प्रकाशनकाे शंख रेडियाेले फुक्थ्याे । विद्यार्थीले गाेरखापत्रमा नाम ढुक्थ्याे । पास हुने समाजमा फुक्थ्याे । फेल हुने दिल्ली, पञ्जाब गई लुक्थ्याे । पास हुनेहरू अङ्कमा हुन्थे । प्रतिशतलाई छुन्थे । काेही नेपाल फस्ट हुन्थे । काेही काम नलाग्ने डस्ट हुन्थे । जाेकाेहीले नतिजा बुझ्दथ्याे । साेही अनुसार काेही कलेज कुद्थ्याे । काेही कतार कुद्थ्याे ।

अहिले कक्षा १० बाट मात्रै प्रश्न काटिन्छ । ज्ञानलाई धनसँग साटिन्छ । भर्नासँगै काेचिङमा राखेर भिटामिनकाे क्यापसुल काेचाउन थालिन्छ । यतिले नपुगेर बाेडस हालिन्छ । उपचारात्मक शिक्षण भनेर भाषण छाटिन्छ । बाेडसमा बाेइलर जस्तै बनाएर विद्यार्थी पालिन्छ । प्रविधिमैत्रीका नाममा विद्यार्थीका गिदीमा अनेक विधि र प्रविधि फालिन्छ । परीक्षा हुनुपूर्व नै जिपिएका लागि ओैला गन्न थालिन्छ । जब पनिकाले नतिजाकाे कनिका फाल्छ तब सामाजिक सञ्जाल रङ्गिन थाल्छ । स्कुलहरू टाउका गन्न थाल्छन् । मेरा स्कुलमा ए पलस यति, बी पलस उति भन्न थाल्छन् । पसल पसलमा पलसकाे चर्चा चल्छ । पसलेले दाबी गर्छ मेराे पसल सर्वाेत्कृष्ट । मेराेबाट यतिजना ए पलस । उति जना फाेर जिपिए । समग्र नतिजा पलसमा आउँछ कि जिपिएमा ? पसलेहरूले किन नेपाल प्रथम र देश टपरकाे डम्फू ठाेकिरहेछन् कुन्नि ? लम्फुले बुझ्न सकेकाे छैन । देश टपरकाे कुरा लाेफरलाई थाहा छैन । फाेर जिपिए देशभर नै एउटा मात्रै हुन्छ कि ? धरैजना हुने भए नेपाल प्रथम कसरी ?

सीकाे नतिजा असार पहिलाे हप्ता हुने हल्ला थियाे । शिक्षक आन्दोलनका कारण तेस्राे वा चाैथाे हप्ता भनियाे । एक्कासि एकासीकाे सीकाे नतिजा दाेस्राे हप्ताभित्रै फालियाे । पनिकाकाे गर्भमा रहेकाे सी गर्भबाट निस्कना साथ हरेक वर्षझ‌ैं यस वर्ष पनि बजार ततायाे । खुसीले कसैले ताली बजाए । तालीसँगै बाजाका रूपम थाली बजाए । दुःखीले कसैले गाली बजाए । कतै बाजा बजे । कतै बङ्गरा बजे ।

सीकाे आगमनसँगै हामी नेपाल प्रथम भनेर ढाेलक पिटाउने जीहरू यस पटक पनि देखिए । सामाजिक सञ्जालभरि लेखिए । काठमाडौंकाे टङ्गालदेखि भारतकाे बङ्गालसम्म, न्यूराेडदेखि न्यूवर्कसम्म बधाई आदानप्रदान चल्याे । बधाई तथा शुभकामनामा कुखुराे र खसी ढल्याे । कक्टेल पार्टी चल्याे । र याे क्रम जारी छ । र रहिरहनेछ ।

जेहाेस् राम्राे गर्नेले यसपालि पनि तालीमार्फत् बधाई खाए । नराम्रो गर्नेले गालीमार्फत् गाेदाइ खाए । बधाई खाए पनि खाए । गाेदाइ खाए पनि खाए । जे खाए पनि खाने नै हाे । ताली वा गालीले अघाएर धेरैले डकार गरेकाे कुरा सकार भइसकेकाे छ ।

कहिलेकाहीँ बधाई दिन्छु भन्दा लिनेले नलिएपछि फसाद हुँदाे रहेछ । शिक्षा प्रशासनका क्षेत्रमा लामाे समय बिताएका एक प्रशासकले बधाई दिंदा बधाई खानेले धन्यवाद सम्मकाे प्रतिक्रिया दिन चाहेनन् भनेकाे सुन्दा अचम्म लाग्याे । “काठमाडौंका नाममा क लेख्न नजान्नेहरूले चार जिपिए ल्याएकाेमा खुसी हुन सकिएन । त्यसैले नपच्ने तपाईंको बधाईमा धन्यवाद दिन सकिएन !” तपाईंलाई याे प्रतिक्रिया कस्तो लाग्याे कुन्नि ? इच्छा छ तपाईंको प्रतिक्रिया सुन्नी !

जेहाेस् विभिन्नथरिकाे नतिजा आयाे । एनजी ल्याउने भाञ्जीदेखि जिपिए फाेरसम्मकाे हल्लाखाेर सुनियाे । नतिजाकै कुरा गर्दा इटा भट्टामा काम गरेर सरकारी स्कुलमा पढेकी गाेमा श्रेष्ठले जिपिए फाेर ल्याइन् । अर्काेतिर अर्की नानीले सामाजिक सञ्जालमा सरकारले सजिला प्रश्न काटिदिएर धेरै जिपिए आएकाे भन्न भ्याइन् ।

अघिल्लो वर्ष यहीँ सीकाे परीक्षामा अठ्चालीस प्रतिशत नतिजा ल्याएकाे भनेर प्रधानमन्त्रीले मास्टरकाे झेंकाे झारेका थिए । यस वर्ष आफ्नै कारणले झण्डै बैसठ्ठी प्रतिशत नतिजा आएकाे भनेर जिब्राे बटारे । एकजना शिक्षाविद्ले पत्रकारसँगकाे अन्तर्वातामा भनेकाे सुनियाे- शिक्षकले पाेहाेरभन्दा बढी पढाएर नतिजा बढाएकाे हुन सक्छ । विद्यार्थी आफैले पनि बढी मिहिनेत गरे हाेलान् । पनिकाले सजिला प्रश्न काटेकाे पनि हुन सक्छ । परीक्षकहरूले उदारतापूर्वक कपी परीक्षण गरे हाेलान् । कपी परीक्षण केन्द्र व्यवस्थित भए हाेला । सरकारले दातालाई नेपालकाे शिक्षामा सुधार भएकाे देखाउनु थियाे यसकारण पनि भित्री रूपमा नतिजा बढाइएकाे हुन सक्छ । यसपाली `सी´काे नतिजा प्रतिशत बढ्नुमा यस्ता अनेकाैं संभावनाहरू हुन सक्छन् । यी र यस्ता प्रतिक्रियाहरू सुनियाे । सुन्नेलाई सुनकाे माला भन्छन् । आफू केवल सुनेकाे मान्छे परियाे । सुनकै माला पाइने हाे कि ? गालाका गाला चड्कन खाइने हाे थाहा छैन !

`सी´काे नतिजा निस्किएपछि समीक्षा र बहसहरू सधै हुने गरेकाे पाइन्छ । परीक्षा सञ्चालनमा देखिएका विकृतिहरू किन सुधार हुन सक्दैनन् कुन्नि ? समग्र तराईको परीक्षा केन्द्रमा हुने परीक्षा सबैले देखे जानकै विषय हाे । डाेकाका डाेका पाेकाहरू परीक्षा केन्द्रमा पठाएर कस्तो शिक्षा वा सन्देश दिन खाेजिएकाे हाे उनैले जानून् । कपी जाँचिदा रहेछन् । नतिजा निस्किएपछि सबै ढाकिदा रहेछन् । सुबिधासम्पन्न सहरका विद्यार्थी र विद्यालयसँग दूरदराजका विद्यार्थी र विद्यालयकाे नतिजा एउटै डालेमा मिसाएर किन फालिन्छ कुन्नि ? यस्ता तामाम प्रश्नकाे उत्तर दिने कसले ?

`सी´काे नतिजा बढ्दै गर्दा धेरैका घिराैंले नाक पनि बढेकाे देखियाे । एकासी म‌ै फाेर जिपिए ह्वात्तै बढ्याे । यहीँ सरकार रह्याे भने चाैरासीसम्म कति बढ्ला ? जिज्ञासा धेरैकाे छ ।

एक वर्ष फाेर जिपिए ल्याएर वाह ! वाह ! बनेका संस्थाहरूले अर्काे वर्ष किन ल्याउन सक्दैनन् ? `सी´मा उच्च नतिजा ल्याउने विद्यार्थी उच्च कक्षामा किन थुचुक्क हुन्छ ? सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाे विद्यार्थीले पछि किन अर्कै मुलुक चुन्छ ? यस्तो विश्लेषण गर्ने सरकार कहिले हुन्छ ? विद्वान् वर्गलाई कहिले छुन्छ ?

आफू परियाे बल्लतल्ल थर्ड डिभिजन पास । फाेर जिपिए त धेरै ठूलाे कुरा भइहाल्यो । त्यत्राे नतिजा ल्याउने भतिजाहरूलाई स्यालुट त गर्ने पर्याे । तर नबुझेको कुरा त्यत्रो नतिजा ल्याउने भतिजाले सिके के ? घरमा आउने पाहुनालाई सञ्चाे विसञ्चाे साेध्न जान्दैन । नमस्कार गर्नुलाई कर्तव्य ठान्दैन । भाेक लागेमा अनलाइन अर्डर गर्न जानेकाे छ । आफै पकाएर खान जान्दैन । दूध बजारकाे डेरीले दिने ठान्छ । भैंसी देखे सुकुटी र मम मान्छ । साग देखे घाँस भन्छ । संस्कार सभ्यता केही जान्दैन । देश देख्दैन । विदेश देख्छ । आफू विदेश गएपछि देशमा केही नभएकाे लेख्छ । हामीले खाेजेकाे शिक्षाकाे गुणस्तर नतिजामा कि व्यवहारमा ?

सीकाे नतिजा हेर्नेले त्याेभन्दा तल र माथि किन हेर्दैन ? एसईईमा फाेर जिपिए ल्याउने कति विद्यार्थीले उच्च शिक्षामा त्याे नतिजा कायम गर्न सके ? यस्ताे विश्लेषण कहिल्यै भयाे ? भएन । इसिडीमा भर्ना भएकाे एउटा विद्यार्थी कस्ताे सिढी पार गर्दै आयाे ? कतै कसैलाई अध्ययन गर्ने फुर्सद छ ? छैन । छैन भने सतही कुरामा किन काेही कुदिरहेकाे छ ? जनता जान्न चाहन्छन् ।

लुताे आएका बेला कनाउँदा आनन्द आउँछ । आनन्द मान्दा मान्दै उता छालामा घाउ बनिसक्छ । सीकाे नतिजाबाट हाैसिनेहरूलाई याे क्षणिक आनन्द दिने लुताे नबनाेस् । बिग्रिनेहरूका लागि फाटेकाे काम नलाग्ने जुताे नबनाेस् । नतिजालाई ज्ञान र सीपसित जाेड्न सकाैं । पलायनवादी साेच र संस्कारलाई माेड्न सकाैं । देशमा विद्यमान विकृतिका जाला ताेड्न सकाैं । यहीँ धरतीमा माटाका डल्ला फाेड्न सकाैं । अनि मात्रै देश बन्ला । अनि मात्रै नतिजा सार्थक बन्ला । यस्ता कुरा कसले भन्ला ? जसले भन्ला त्याे पागल बन्ला
पागलकाे सबैले खाेइराे खन्ला । तपाईं आफै भन्नुहोस् यसरी देश कहिल्यै बन्ला ?

०००
मिति २०८२।०३।२१
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x