हाेमनाथ घिमिरेमहारोग !
सत्ता-भोक अचम्म हुन्छ नरमा छोड्दैन पाएपछि । आँफै बस्छ हरेक उच्च पदमा कुर्सी समाएपछि । छैनन् कत्ति विचार राष्ट्र जनता, कर्तव्य बुझ्ने छ को ! मान्छे पागल हो कि वा लहड हो कस्तो महारोग यो ।

होमनाथ घिमिरे :
बाली खास छ राजनीति अहिले, फस्टाउँदो देशमा !
माली दास छ शत्रुकै हित हुने, षड्यन्त्रको भेषमा !
त्याग्नै हुन्न; यही छ मानसिकता, नेतृत्व सत्ता अब ।
भोग्नैपर्छ हरेक राष्ट्र सुविधा, चाहे गुमोस् गौरव ।
छोड्ला काल कतै; परन्तु पदमा, गर्दै रडाको अति !
सत्ताप्राप्ति निमित्त व्यक्ति दलमा, छर्दै बखेडा कति !
निद्रा हुन्न अरे विना पद हुँदा, देखिन्छ आडम्बर ।
खोज्छन् दाउ सदैव राष्ट्र कसरी, लुट्ने र खानेतिर ।
आओस् व्यक्ति नयाँ विचार गतिलो, छैनन् भने चाहना –
होला राष्ट्र विकास फेरि कसरी, राखेर दुर्भावना !
यौटै पात्र हरेक शक्ति पदमा, खोज्दै छ नेताागण ।
दाबेदार हरेकपल्ट छ उही, के हुन्छ नौलोपन !
अर्काको भरमा उठेर भुइँमा टेक्नेहरू छन् कति !
अर्काकै करमा बसेर सपना देख्नेहरू छन् जति !
छैनन् सोच कुनै भविष्य गतिलो, सङ्कल्प हुन्नन् भने !
होला उन्नति के सधैँ अगतिलो, मान्छे निकम्मा बने ।
बाँचिञ्जेल यहाँ लडाइँ झगडा, सम्बन्ध छन् बर्बर ।
के लान्छन् सँगमा मरेर तटमा, अज्ञानता आखिर ।
पैसामा पदमा उमेर बलमा , सन्तुष्टि के मा भन !
के हो अर्थ विशेष मानव जुनी, के हुन्छ त्यो मापन !
सत्ता-भोक अचम्म हुन्छ नरमा छोड्दैन पाएपछि ।
आँफै बस्छ हरेक उच्च पदमा कुर्सी समाएपछि ।
छैनन् कत्ति विचार राष्ट्र जनता, कर्तव्य बुझ्ने छ को !
मान्छे पागल हो कि वा लहड हो कस्तो महारोग यो ।
०००
भरतपुर चितवन
२१ असार, २०८२
Subscribe
Login
0 Comments
Oldest








































