रामकृष्ण ढकालदुराचार सुराचार कुराचार लोकाचार र दोचार
संसारमा यिनै पञ्चाचार दुराचार सुराचार कुराचार लोकाचार र दोचारकै शासन चलेको छ । विश्वकै शासक मै हुँ भन्नेको ढाडमा ब्रह्माण्डभन्दा बृहत् आकारको यिनै पञ्चाचारको भारी दुनियाँले देखकै छ ।

रामकृष्ण ढकाल :
भनेको त धेरैपटक सुनियो आचार बिचार दुवैमा जहिलेसुकै बेस्सरी ध्यान पुर्याउनु नत्र पर्ला केही न केही गुमाउनु । कुरो त बुझ्नेका लागि चौरमा उन्रेर लुगामा बिझ्नेचाहिँभन्दा पनि मननयोग्य नै हो । लुगाबिझ्ने कुरोले मनमा अल्लि कमै बिझाउँछ । तर मनमै बिझ्ने कुरो आएपछि महत्त्वपूर्ण हो भन्ने थाहा पाएपछि अल्लि बढी ध्यान त दिनैपर्यो । आखिर आचार बिचार अन्तर्गतकै त हुन सदाचार दुराचार सुराचार कुराचार लोकाचार अनि दोचार । कतिपय अवस्थामा त अझ मानसिक लछारपछार थेचार निचार समेत यसैको सिमाना भित्र रमाना भएका हुन्छन् ।
भन्नलाई त सजिलै भो चियापसलमा होस् कि दियापसलमा लियापसलमा होस् कि खियापसलमा चुरा पसलमा होस् कि कुरा पसलमा किराना पसलमा होस् कि बिरानापसलमा यस्सो एकदुई जोर जोरिपारी भेट्यो कि भन्दिइहाले भो । तर भन्न भन्दा असजिलो गन्न गन्नभन्दा असजिलो ठसठस कन्न त हो क्यारे । त्यसैले यो कुरा भन्नेले अनि भन्नेहरूले आफ्नै व्यवहारमा यहि बोलीको पालन गरे कि गरेनन कुन्नि । आफू राष्ट्रिय चियोचर्चो मन्तरी परिएन त्यसैले त्यो बाटोको यात्रा गरिएन । अब बाँकी कुरो र त्यसको चुरो भनेको औंलो आफैंतिर सोझ्याउने हो ।
खासगरी दुराचार सुराचार कुराचार दोचार र लोकाचार वर्तमान समयका पञ्चरत्न नै भए । यि सबैका मिश्रण बनाएर मन मष्तिष्कमा गहना लगाउनेहरुको कल्पनाभन्दा बाहिरको जुलुसै छ । शायद त्यसैले होला हाम्रा पूर्खाहरूले यसैसँग सम्बन्धित उखानै बनाए — बाहिर बाहिर लोकाचार भित्रभित्र पोकापार । भित्रभित्र त कतिले पोका पारे , कतिले बोका पारे, कतिले धोका पारे त्यो त कसलाई के थाहा ? आखिर के त भन्दा खेरी सक्नेले देख्ने हर्कत वर्कत त उहीँ बोक्रे अर्थात् बाहिरी नै हो ।
संसारमा यिनै पञ्चाचार दुराचार सुराचार कुराचार लोकाचार र दोचारकै शासन चलेको छ । विश्वकै शासक मै हुँ भन्नेको ढाडमा ब्रह्माण्डभन्दा बृहत् आकारको यिनै पञ्चाचारको भारी दुनियाँले देखकै छ । सानै हो भनिएको देशमा पनि दुराचार सुराचार कुराचार लोकाचार दोचारको अपरम्पार भण्डार दरबारमा राज भएको देखिएको हुँदै हो । आखिर दरबारहरूका तरबारका एक महत्त्वपूर्ण भाग भनेका यिनै दुराचार सुराचार कुराचार लोकाचार दोचार नै रहेछ ।
हुँदोभन्दा नहुँदो बढी गरिगरी मरिहत्ते र धपेडी सत्ता भत्ता हतियार मतियार बेइज्जत बेइमानी सबै गर्न र तिनलाई संस्थागत गर्न आफ्नालाई सपार्न निर्दोषलाई झपार्न यताको कुरो उता लगाउन उसलाई उक्साउन त्यसलाई तर्साउन बिचरामाथि बर्साउन केही उपद्रो नगरेकोजस्तो भ्रम पार्न देखावटी लिस्नु झ्याङ पलाएको सिस्नु बनाउनैपर्यो । सोझासिधाको एउटा कुरा पाए त्यसलाई चारवटा फूलबुट्टा भरेर कुराचार अनि त्यसलाई यता र उता कटुवालीकरण गरेर दोचार भैगो ।
बृहन्नारदियसंहिता अर्थात नारदपुराणले नै स्वयम् नारदलाई नै नभनेको कुरौटे आफ्ना अह्रौटे भौरौटेले भन्दैनन् अरुले भनिहाले अनेक अन्यायका झञ्झट झमेला झोलाका झोला छँदैछन् ।
हुन पनि संसारको कुनचाहिँ देशका शासकहरूले यहाँ उल्लेखित पञ्चाचारको प्रयोग गरेका नहोलान् र यहाँका पनि पन्छिनु र एकातिर थन्किनु । यिनको पालन नगरे त न हाम्रो भुँडी भरिन्छ न हाम्रो वरिपरि कौडे मुन्द्रे जुम्रे जगल्टे कुकुरभुत्लेहरूको लुँडी लाग्थ्यो । त्यसमाथि तन्त्रको हिसाबले जे सुकै भने पनि यो अवस्थाका जनक अनि उडुस उपियाँ जुम्रा जुका किर्ना लाम्खुट्टे कोरोना आदिको त राजै हामी । नपत्याए हाम्रो लोकाचार नामक नाटक छोडेर बाँकी दुराचार सुराचार कुराचार दोचार नियाल्नुस् ।
अरूका लागि जे भए पनि हामी जस्ता सत्ता भत्ता हतियार मतियारधारीहरूको लागि यी त नामले पञ्चाचार भने पनि हुनलाई पञ्चशील नै हुन् । हाम्रा लागि यीबाट छँदैछैन बैगुन । यिनै बिना आउँदैन हामिकहाँ सुन । यिनैबिना बन्दैनन् जनता नामका रुन्चेहरू पिसिने लसुन । त्यसैले एकदम रौरवसाथ उर्लँदै कुर्लँदै हामी भन्छौं – दुराचार सुराचार कुराचार लोकाचार दोचार, गणतन्त्र सुशासन सङ्घियताको महा आधार । जनतालाई बनाउँदै रुनि कराउनी हामीले बचाउने यहि हो सञ्जीवनी ।
०००
२०८२ साउन १७
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































