साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडाघरेको घटिया चाला

हुन त मेरो यो लख व्यक्ति विशेष वा पीडितका लागि कन्पारो तात्ने अचार होला तर पीडकका लागि भने घोरिएर निर्णय लिने विचार पनि हुन सक्छ।

Nepal Telecom ad

माधव पाेखरेल गाेज्याङ्ग्रे :

नेपालका बडाघरेहरूले के सपना देखे कन्नि ? हिजो आज विपनामै पागल जस्तो भएर हिँड्न थालेका छन् । गाउँबाट राजधानी गएर बडा हुन तम्सिए पनि आखिरी चाला त घटिया नै देखाए । गाउँमा जतिसुकै बडाचाला देखाउन खोजेको भए पनि गाउँलेहरूले वेवास्ता गरेपछि राजधानी हानिएर बडाघरे बन्न पुगेकाहरू अहिले भने बडाघरे शब्दलाई नै मात खुवाएर घटियाघरेमा परिणत भएर खुम्चिन बाध्य भएका छन् । हुन् त यो गोज्याङ्ग्रेलाई पनि बडाघरे भएर बस्न चौपट्टै मन थियो तर के गर्नु धन आकाशबाट वर्षिदैन । गाउँ ठाउँ भएकोले बडाघरको आशा पनि पलाएन । राजधानीको बडाघर भन्दा त गाउँको छोटाघर नै बेस ठानेर मलाई मेरा सहयोगीहरूले खुट्टा तानेर राखे । अहिले यसो सोच्छु ठिकै गरिए छ जस्तो लाग्यो । मेरा गाउँका छोटाघरेबाट बडाघरेमा परिणत भएकाहरूको अवस्था देख्दा मलाई खुशी नै लागेको छ । दुःख लाग्ने त कुरै भएन किनभने आफू छोटा घरमा बस्ने भएकोले बडाघरेको अवसानमा आत्म सम्मान बढ्नु स्वभाविकै हो ।

विचरा बडाघरेहरू आफ्नै घर हेर्न आकाशतिर फर्किएर पनि पूरा घर हेर्न सक्दैनथे । ठाडो मुन्टो लाउँदा आफैँ लडिएला भन्ने डर भएकोले पनि होला बडाघरेको इज्जत राख्न हेसियारी अपनाएको। पहिले बडाघरे बन्ने रहरका कारण जहर नै प्रयोग गरेर भए पनि रहर पुरा गरे र तर अहिले रहरको जोशिलो आँटले वडाघरे हुनुको पीडामा नुनचूक थपिदिएको छ। अरू भन्दा पनि राजधानी छिरेपछि त गाउँ बिर्सने। त्यहाँका साथी भाइ इष्टमित्र बिर्सने गाउँका मान्छलाई मान्छे नै नगन्ने जस्ता बडाघरे हुनुको विशेषता, लक्षण बोकेर हिँड्ने संस्कारको विकास भने राम्रोसँग भएको छ । यो सस्कारलाई भत्काउन सक्ने संस्कृतिको विकास नेपालमा भएको थिएन । हामीले यो संस्कृतिको विकासका लागि कहीं कतै अनुरोध पनि गरेका थिएनौं । तर २०७२ वैशाख १२ गते खै कताबाट हो बडाघरेहरूलाई चेतना दिने र विर्सेका कुराहरूलाई सम्झाइ दिने अनि घटियाघरेहरूसँग एकता गराइ दिने लहर आयो।

धन्य वैशाख १२ गते । भूईंमा नहेर्ने संस्कृतिलाई राजधानीबाट जनधानीमा पुऱ्याएर गतिलो चोट पुग्ने गरी शिक्षा दिएको छ । आखिरी शिक्षा न हो चोटिलो, पोटिलो, रसिलो, गुनिलो, नुनिलो, भरिलो खोक्रो पनि हुनसक्छ । तर मलाई के लाग्छ भने ती बडाघरेहरूलाई वैशाख बाह्न गतेले र उनन्तीस गतेले खोक्रो शिक्षा दिए जस्तो लागेको छ । भिक्षा मागेर लिएको शिक्षाको महत्व अर्कै हुन्छ र अरुबाट सिकेर जानेर बुझेर लिएको शिक्षाको महत्व फरक हुन्छ। तर ती बडाघरेहरुले भने आफ्नै घमण्डबाट पाएको शिक्षाका कारण अहिले शिक्षा अरुसँग भिक्षा माग्न बाध्य हुनुपरेको छ । पहिले नै अरुको शिक्षा लिएर निहुरमुन्टी न भएरै आरामसँग बसेको भए अहिले छोटाघरेहरुका अगाडि निहुरमुन्टी न भएर निन्याउरो मुख लाएर नेपालको पालमा बस्नु पर्ने थिएन ।

पहिले आफै आकाशतिर हेर्ने मान्छे अहिले निहुर मुन्टी न भएर हिँड्नु पर्दा मनमा कति आनन्द र खुशी भयो होला। पाइला राख्न नपुग्ने जग्गामा टोपी नै खस्ने गरी ठाडो घाँटी पारेर आफैले र अरूले समेत हेर्नुपर्ने अस्वभाविक अवस्था सिर्जना गरेपछि जस्ले भोग्यो उसैले व्यहोर्नु पर्ने प्राकृतिक नियम लागु हुनु स्वभाविकै पनि हो । कतिपय पीडितहरूले त बैशाख १२ गतेलाई धारे हात पनि पारे होलान। तर प्रकृतिको लीलाका बारेमा धारे हात त के जुम्ल्याहा हातै पारे पनि हुने कुरो भएरै छाड्छ अर्थात् लिखिते ललाटे जाते उसको हम किम करिस्यती। बधाई छ वैशाख १२ गतेलाई ।

कस्तो अचम्म ! त कोही ठाडो घाँटी लाएरै बस्ने कोही निहुरमुन्टी न भएरै बस्ने कोही सडकमा समेत वास नपाएर, भोकै चस्न वाध्य हुनुपर्ने ? प्रकृतिको नियतिलाई स्वयम् प्रकृतिले नै आफूले बसालेको थितिलाई सबैमा समान रूपले वितरण गर्नका लागि पनि आफै माथि प्रहार गरेको हो कि भन्ने शंका लागेको छ यो गोज्याङ्ग्रेलाई । हुन त मेरो यो लख व्यक्ति विशेष वा पीडितका लागि कन्पारो तात्ने अचार होला तर पीडकका लागि भने घोरिएर निर्णय लिने विचार पनि हुन सक्छ। जे होस् आखिरी यो सबै वैशाख १२ गतेको बदमासी त हो नै।

तसर्थ अब आउँदा दिनहरूमा पुनः बैशाख १२ गते आउन नदिन पहल गर्ने कि नगर्ने भन्ने विषयमा टोपी झर्ने गरी हेर्दा पनि बडाघरको छत नदेखिने र निहुर मुन्टी ‘न’ लाई मान्छेको संज्ञा नै नदिने प्रवृत्तिको अन्त्य गर्न घोचपेच सम्मेलन गर्नु नितान्त जरुरी भएको गोज्याङ्ग्रेले महशुस गरेको छ । नढाँटी भन्नु पर्दा नेपालका वडा घरेहरू साँच्चै नै मातिएका थिए भन्दा अनुपयुक्त हुन्न । छोटा घरेबाट बढुवा भएर, चप्पलबाट जुतामा चढेका, क ख नपढी एविसिडिमा उक्लेका भुइँमा हेर्दा हेर्दै मास्तिर हेर्न पल्केका गाउँ समाजमा स्थापित हुन नसकेर शहर मा विस्थापित भएका यी आफू त राड देशै भाँड स्वभावका टुप्पे महाजनहरूलाई कस्ने कानून नहुँदा खाएको नुन पनि नपच्ने भएको छ ।

अब अर्को तर्फ गएको वैशाख १२ गतेलाई समातेर कुटौं भने पनि त्यो हुती हामीमा छैन । त्यो महिना गते फेरि आए पनि साल र बार कहिले आउने हो थाहा छैन । बरु ती पीडितहरूलाई प्रकृतिको गर्भभित्र पसेर कुन कुन कानून लाएर कारवाही गर्ने हो गरे हुन्छ । बडाघरेहरूलाई छोटाघरेमा झार्न त प्रकृति कै कानून काफी रहेछ भन्ने कुरा पुष्टि भै सकेको छ । रुन्चे अनुहारमा निहुरमुन्टी न लाएर बडाघरे हुनुको पीडा भोगिरहेकाहरूले अरुले दिएको शिक्षा लिन इन्कार गरे पनि प्रकृतिले दिएको शिक्षा त अनिवार्य रुपमा ग्रहण गर्नु परेको छ ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x