साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखिल ब्रह्माण्ड सौर्य सम्मेलन

म यो सम्मेलन यहीँ स्थगन भएको घोषणा गर्छु र मानवलाई आफ्ना यानहरू फिर्ता लगी अबउपरान्त हाम्रो दुरुपयोग नगर्न चेतावनी दिन्छु । सदुपयोग गरेसम्म हामी सहयोगी रहने छौँ र दुरुपयोग भएमा मानवअस्तित्वलाई नै समाप्त पारिदिने छौँ ।

Nepal Telecom ad

रमेश समर्थन :

जसरी आज संयुक्त राष्ट्र संघ खडा भएको छ र त्यस्तै अरू पनि सानाठुला संघ महासंघहरू उभिएका छन् ; जस्तै युरोपेली संघ, एसियाली संघ, दक्षिण एसियाली संगठन, इस्लामिक संगठन, हब्सेली संगठन, हिन्दू महासंघ, इसाई संघ, कसाई संघ, नाई संघ, भाइ संघ, किसान संघ, दलाल संघ, सामन्त संघ, भिखारी संघ, रोगी संघ, कैदी संघ आदि आदि पेसैपिच्छे, जातैपिच्छे, धर्मैपिच्छे, क्षेत्रैपिच्छे कुनै न कुनै संघ, संगठन, मञ्च, परिषद् आदि तयार भएका छन् त्यसै गरी त्यति वेला ‘अखिल ब्रह्माण्ड सौर्य मण्डल’ भन्ने एउटा संगठन अस्तित्वमा थियो ।

यो कस्तो पञ्चे कालको मण्डले कुरो गर्‍यो भनेर बुर्लुक्क नउफ्रिनुस् र मेरा कुरा सुन्नुस् । त्यो त्यस युगको कुरो हो जुन युगमा भू नामको गोलामा मात्र हैन सौर्यमण्डलका धेरैजसो सम्भाव्य ग्रहहरूमा मान्छेशासनको साम्राज्यवादी विस्तार भइरहेको थियो । अनि मान्छेको यस साम्राज्यवादी र विस्तारवादी नीतिदेखि अताल्लिएर ब्रह्माण्डभरिका ग्रह, उपग्रह, नक्षत्र, तारा आदिले आआफ्नो गोलीय सुरक्षा अनि हकहितका लागि उक्त मण्डलको स्थापना गरेका थिए र त्यसको नेतृत्व यही हाम्रो अगाडि देखिएको सूर्यले गरेको थियो ।

इतिहासकारहरूले यसको ठिकठिक समय त किटान गर्न सकेका छैनन् तर अनुमानमा यो विक्रम संवत् अनुसार बाइसौँ शताब्दीतिरको हुनुपर्दछ । यहाँ मैले विक्रम संवत्‌को उल्लेख गरे पनि संसारभरि एउटै सन् कायम थियो । देश देशका बेग्लाबेग्लै धर्महरू समाप्त भएर संसारभर एउटै इसाई धर्म कायम भएको थियो । सबैले तन र मनले इसाई धर्म स्वीकार गरिसकेका थिए । धन भने क्रिस्चियन मिसिनरीबाट नै आउँथ्यो ।

हाम्रो आजको नेपाल भन्ने देशका पन्चान्नब्बे प्रतिशतले इसाई धर्म स्वीकार गरेका थिए । कुन्नि कुन धर्मको प्रतापले हो, हामी भने त्यति वेला पनि जिउँदै थियौँ तर पुस्तागत चिन्तनमा आमूल परिवर्तन आएको थियो । हाम्रा झनातिबुहारीहरू थिए हम्मी र डम्मी । वास्तवमा उनीहरूको नेपाली नाम हुमकुमारी र डुमकुमारी थियो तर उनीहरू हरेक कुरामा सर्ट फर्ममा विश्वास गर्थृे । हुमकुमारीको एउटा छोरो पनि थियो जसको नाम थियो लभर । बुहारीले छोरालाई दूध चुसाउँदा ब्युटी लस हुन्छ भनेर कृत्रिम दुध चुसाउँथिन् र आफ्नो ब्युटीका रक्षकहरूलाई जालीदार आवरणले यसरी आवृत्त गरेकी थिइन् मानौँ त्यो आवरण नभएर उद्दीपक हो । समय कस्तो थियो भने मैले तिनलाई ‘हाई हम्मी ! हाउ स्वीट यू !’ भनिदिए पनि केही हुँदैनथ्यो, बरु मैले ट्रेडिसनल र कन्जर्भेटिभ भएर त्यसो नभन्दा नै म पाखे भएको थिएँ । त्यो समय त आजका अश्लील हिन्दी फिल्ममा ‘ट्याक्स फ्री’ भएझैँ बिजुलीका पोलहरूमा ‘सेक्स फ्री’को बोर्ड झुन्ड्याइएको हुन्थ्यो । यस्तो उदार युग थियो । त्यति हुँदा पनि म भने ‘आउट अफ कन्ट्रोल’ भएको थिइनँ, नत्र त ‘होम रिलेसनसिप’लाई कानुनी मान्यता प्राप्त भइसकेको थियो ।

अँ त, म आग्राको कुरो कोट्याएर गाग्रो भर्नपट्टि पो लागेँछु । तर यो पनि आवश्यक नै थियो । म गर्दै थिएँ, अखिल ब्रह्माण्ड सौर्य मण्डलले आयोजना गरेको सम्मेलनको कुरो । ब्रह्माण्डका ग्रहहरूले पनि एउटा विशाल र शक्तिशाली सङ्ठन बनाएर मानवआतङ्कविरुद्ध समयसमयमा सभा, गोष्ठी, सेमिनार र आन्दोलनका कायक्रमहरू गर्न थालेका थिए । फलस्वरूप वर्षा ऋतुमा प्रचण्ड खडेरी पर्ने, शरद्मा भीषण वर्षा हुने, ग्रीष्ममा हिमपात हुने र शिशिरमा उखर्माउलो गर्मी हुनेजस्ता उत्पातहरू मच्चाइरहन्थे । यति भएर पनि मान्छेको दमनकारी नीतिमा कमी आएको थिएन । मान्छे यसै गरी ‘डिभाइड एन्ड रुल’को नीति लिएर कहिले चन्द्रमालाई त कहिले पृथ्वीलाई काखा लिएर अरूलाई पाखा लगाउँदै आफ्नो स्वार्थको रोटी सेक्थ्यो । कहिलेकाहीँ पृथ्वी बढी मात्तिएर भूकम्प जस्ता गतिविधि गर्न थाली भने राहु केतुलाई बोलाएर पृथ्वीग्रहण लगाइदिन्थ्यो । कृत्रिम वर्षा मात्र नभई कृत्रिम जाडो र गर्मी पनि गराउन थालेको थियो । त्यति वेला कृष्ण पक्ष भन्ने हुँदै हुँदैनथ्यो किनभने कृष्ण पक्षका लागि मान्छेले कृत्रिम चन्द्रमा तयार पारेर त्यसको आनन्द लिन थालेको थियो । मानवको हरेक क्रियाकलाप आफूमाथि निर्भर नरहेर स्वनिर्भर भएको यी ग्रहहरूले त्यसै गरी सहन नसक्ने भएका थिए जसरी आजको भारतले नेपाल आत्मनिर्भर भएको देख्न सक्दैन । त्यसैले सौर्यमण्डलका सदस्यहरूले मानवको यस प्रगतिलाई आफूविरुद्धको आतङ्क मानेका थिए र त्यसै आतङ्कविरुद्ध एउटा सौर्य सम्मेलन गर्ने भएका थिए जसको प्रत्यक्ष प्रसारण काठमाण्डौस्थित ‘मून भ्याली टेलिभिजन’ र ‘जुपिटर एफ. एम.’ले अन्तरिक्षबाटै गर्ने भएका थिए ।

त्यस दिन संसारसरकारले सार्वजनिक विदाको घोषणा गरेको थियो । होटल, पसल, प्रयोगशाला, कार्यशाला, विद्यालय, मन्त्रालय आदि सारा बन्द थिए । एउटा तानाशाही सरकारले विपक्षको सम्मेलनलाई यति धेरै महत्त्व दिएको देखेर म आजका दिन सम्झँदै थिएँ । सम्भवतः त्यति वेलाको मानवसरकारलाई कुनै डर नभएर नै त्यो दुस्साहस गरेको हुनुपर्छ ।

अँ, अखिल ब्रह्माण्ड सौर्य सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्न भनेर हामी सम्पूर्ण परिवार आज घरमै थियौँ । यद्यपि हामी बुढाबुढीका लागि एउटै कमन टेलिभिजनबाहेक अन्य सदस्यहरूका लागि छुट्टाछुट्टै थिए तापनि आजको कार्यक्रम हामी सवैले एउटै हलमा बसेर एउटै टेलिभिजनमा हेर्ने भएका थियाँै । यस अर्थमा सौर्य परिवारको सम्मेलन भएझैँ हाम्रो परिवारको पनि सम्मेलन हुँदै थियो । कारण झनातिनी बुहारीलाई ‘मिनी ड्रेस कन्फ्रेन्स’ हेर्न मन लाग्दा टनातिलाई यौनशिक्षा हेर्न मन लाग्ने र झनातिलाई ‘ब्लु फिल्म’ हेर्न मन लाग्ने भयो भने एकअर्काको मौलिक अधिकार खोसिएकामा अदालतको ढोका उघ्रिन्छ कि भन्ने भयले सबैका निम्ति पर्सनल टेलिभिजनको व्यवस्था गरिएको थियो । अर्कातिर हामी बुढाबुढी त बेकम्मा र ‘डेट एक्सपायर’ जस्तै थियाँै र सँगै रहन्थ्यौँ । छोराबुहारी मात्र हैन, नाति र नातिनी बुहारीले पनि विदा लिएका थिए भने र पनाति तथा पनातिनीबुहारी पनि खनाति र खनातिनीबुहारीसित छुट्टै बस्थे । हामीलाई भने त्यो पुस्ताले सम्मान दिएको थियो । (सहजताका लागि हामी तिनीहरूलाई छोरा र बुहारी मात्र भन्थ्यौँ ।) प्रायः घरमा सबै परिवार सँगै हुने अवस्था आउँदै आउँदैनथ्यो किनभने सवैको आआफ्नो अफिस र सर्कल थियो । कहिले लोग्ने जीएफकहाँ पार्टी खान गएको हुन्थ्यो भने कहिले स्वास्नी बीएफसँग पिकनिक गएकी हुन्थी । मैले कोठाभित्र बसेर मोतीविन्दुको अपरेसन गरेकाले लगाएको कालो चस्माभित्रबाट घर आइरहेका उनीहरूलाई हेर्थेँ । कहिले लोग्नेचाहिँका लुगामा लिपिस्टिके ओठका छाप हुन्थे भने कहिले स्वास्नीचाहिँका प्रायः वस्त्रहरू अस्तव्यस्त हुन्थे । तर ‘लाइफ इज पर्सनल म्याटर’ भनिने त्यस युगमा सवै कुरा सामान्य थिए । कहिलेकाहीँ आफूभित्रको रूढीवाद जाग्दा म बुढीलाई भन्थेँ, ‘हेर् त बुढी, यिनको चाला !’ तर बुढी भन्थी, ‘रिल्याक्स बुढा, रिल्याक्स ! रिल्याक्स ! यो सिम्पल कुरो हो न्यु जेनरेसनको ।’ म बुढीको अङ्ग्रेजी सुनेर यति गर्वित हुन्थेँ जति सगरमाथा शिखरमा पहिले पुग्ने तेन्जिङ नोर्केलाई र अन्तरिक्षमा पहिले पुग्ने नील आर्म स्ट्रङलाई पनि भएको थिएन होला ।

कार्यक्रम आरम्भ हुन अझै केही समय शेष थियो । समय त भइसकेको थियो तर नेपालका मानवहरूको सिको गरेर उनीहरूले पनि निर्धारित समयमा कार्यक्रम गर्न छाडिदिएका थिए । त्यसैले अहिले मानवगीत बजिरहेको थियो आजकै जीवन शर्माको स्वरमा । बिचबिचमा उद्घोषक वृहस्पति र शुक्र आउँथे र ब्रहमाण्ड र मानवको इतिहास बताउँदै दुवैको सम्बन्ध र पछि सम्बन्धमा आएको तिक्तताका विषयमा व्याख्या गर्थे । एकै छिनमा हामी बसेको हलमा दुईतिरबाट दुईवटा जोडा निस्के । हामीले ग्रहहरू पनि मानवजस्ता हुँदा रहेछन् भनेर गम्दै थियाँै तर ती त मानव नै रहेछन् अर्थात् हाम्रै झनाति र बुहारीहरू रहेछन् । झनातिहरूका शरीरमा रङ्गीचङ्गी लुगाहरू थिए भने बुहारीहरूका आङमा यति वस्त्राल्पता थियो मानौँ वस्त्रोत्पादकहरूले नारी वस्त्र उद्योग नै बन्द गरिदिएका छन् । आलिङ्गनबद्ध भएर आउँदा नातिनीबुहारीका छातीमाथि झुन्डिएका नातिका हात शिवजीको छातीमा फणा फिँजाएका नागजस्ता देखिन्थे भने बुहारीहरू पनि अर्धनग्न र अर्धनारीश्वर शिवकै सगुण अवतार लाग्थे । उनीहरूलाई देखेर हामी त लाजले राता भयौँ तर उनीहरूको लाजलाई ‘गो गो’ वासिङ पाउडरले सफाचट पारिदिएको थियो ।

हलमा उनीहरू कमन इजी चेयरमा बसे । हुन पनि स्प्रिङ लागेर सुतेजस्तो हुने त्यो कुर्सी दुई जना सजिलै बस्न वा चल्न मिल्ने गरी बनाइएको थियो । एक छिनपछि कान्छीले स्क्वासको ठुलो बोतल, केही गिलास र फ्राइ मासु ल्याएर जेठाजुका अगाडि राखेर फर्किँदा जेठाजुका गालामा च्वाप्प म्वाइ खाइन् भने जेठाजुले पनि प्रत्युत्तरमा त्यसै गर्‍यो जसको कुनै असर जेठीमाथि परेन । भाइबुहारीले जेठाजुका अगाडि टाउको ढाक्ने र नछोइने पाखे युगका हामी हेरेका हेर्‍यै भयौँ । केही बेरपछि कोल्ड ड्रिङ्क्सका बोतलहरू हाम्रा अगाडि पनि आए । बुहारीले बोतल मेरा अगाडि राख्दा मेरो मुटुमा भयानक हलचल सुरु भएको थियो किनभने जेठाजुसितको व्यवहार मसित पनि हुन्छ कि भन्ने आशङ्का भनूँ वा आशा ममा पनि थियो । तर उनले मलाई ओठले मात्र ‘ऊँ’ गरेर लोग्नेलाई अँगालो हाल्न पुगिन् । मैले बुढीलाई हेरेँ । बुढीले मुख घुमाई । हामी त्यहाँ कुनै प्रदर्शनीमा राखिएका पुरातात्त्विक वस्तु थियौँ ।

यता टनातिले स्क्वासको बोतलको मुख आफ्नो मुखमा जोतेर घटघट गरी सबैका अगाडि आधा बोतल रित्यायो, उता सम्मेलनको कार्यक्रम आरम्भ भयो । अध्यक्षले चीसो अनुहार बनाएर सदस्यहरूलाई हेरे । सदस्यहरू डरले घरी घरी पल्याकपुलुक हामीलाई हेर्थे । पृथ्वी सबैभन्दा बढी आतङ्कित देखिन्थिन् । केश उजाडिएको, अनुहारमा चिरा परेका र जलेको दागैदाग देखिन्थ्यो । सूर्य पनि सदस्यहरूको अनुहार देखेर भयभीत देखिन्थे । जति चिसो अनुहार भए पनि भित्री तहमा भने भयानक आगो भएकाले खलखली पसिना काढेका सूर्यले पसिना पुछेर फ्रिजबाट कोकको बोतल झिकेर ठाडो घाँटी लगाई गटागट पारे अनि लामो सास तानेर भने –

‘उपस्थित सौर्यसदस्यहरूहो ! आज हामी यसरी भेला हुनुको एउटै उद्देश्य मानवजातिको बढ्दो हैकमवादी आतङ्क र उसले हामीमाथि गरेको क्रूरतम व्यवहार अनि त्यसको प्रतिकार गर्ने उपायको खोजी गर्नु हो । त्यसैले अब ढिला नगरी म आफ्नो मर्का बताउन छोरी पृथ्वीलाई बोलाउँछु ।’

बराह अवतारले दाह्रामा राखी समुद्रबाट निकाल्दाझैँ पसिनाले निथ्रुक्क भिजेकी पृथ्वीले ‘सुइय’ गरेर सुस्केरा काढ्दै भनी –‘आदरणीय बुवा ! अथवा यस सम्मेलनका अध्यक्ष महोदय ! म एकदमै आतङ्कित छु । आउन त यहाँ आएँ तर मेरो कल्याण छैन । मान्छेका भूउपग्रहरूपी गुप्तचर कुकुरहरूले मलाई धुइँधुइँती खोजिरहेका होलान् वा म फर्केर जानासाथ मेरो छातीमा स्काभेटर चलाएर वा मेरा केशहरूमा डढेलो लगाएर मलाई यातना दिनेछन् । अझ केहीले त मलाई बममा बाँधेर पड्काउने योजना सफल भएकामा रात्रिभोज पनि गरिसकेका छन् ।’

सूर्यले रन्किँदै भन्यो, ‘यो सबै हाम्रा सदस्यहरूको उदारताको परिणाम हो । पृथ्वी त पृथ्वी तर चन्द्रमा र मङ्गलले आफूमा किन स्वागत गर्नु परेको नि ? मैले पृथ्वीलाई भनेको थिएँ बढी उदार बन्नु हुँदैन भनेर तर उनले नै म त धर्ती हुुँ र धर्तीको स्वभाव नै सहनशील हुनु र प्राणीका लागि भोजन उपलब्ध गराउनु हो भनेर भनिन् । आज मान्छेलाई भोजनले मात्र पुगेको छैन । उसले तिम्रा आन्द्राभुँडी लुछिसक्यो । तिम्रो गर्भको पानीसमेत सोसेर सुक्खा बनाउँदै छ । मुटु, कलेजो केही नराख्ने भयो । शठे शाठ्यं समाचरेत् भन्ने तिमीहरूले बुझेका छैनौ । मलाई हेर, म नभई उनीहरूको अस्तित्व रहँदैन । उनीहरूको त के ? तिमीहरूकै रहँदैन तर सदुपयोग गरेसम्म मात्र म उनीहरूको सहयोगी बन्छु । नत्र ताता सोइलाले तिनीहरूको सातो लिन्छु ।’

चन्द्रमाले बिचैमा बोल्यो, ‘भो धाक नलगाउनुस् हजुरबा ! मान्छेले सोलार प्यानल राखेर तपाईंको तापलाई अधीनस्थ बनाई घरेलु ऊर्जाका रूपमा प्रयोग गरेको देखेका छैनौँ र ? ग्रीन हाउस बनाएर तापलाई फर्टिलाइजेसनमा प्रयोग गरेको देखेका छैनौँ र ? अघि नै तपाईंले जुन फ्रिजबाट झिकेर चिसो पानी खानुभयो, के त्यो तपाईंको तापबाट मुक्ति पाउन उसले गरेको आविष्कार हैन र ? तसर्थ मेरो भनाइ के छ भने यो एकअर्कालाई दोषी मान्ने समय होइन । मान्छेको हैकमवाद यत्रतत्र सर्वत्र छ । अतः अब के गर्न सकिन्छ र के गर्नुपर्छ भन्नेतर्फ हाम्रो सम्मेलन केन्द्रित हुनुपर्छ ।’

‘चन्द्रमा !’ वृहस्पति रिसले आगो भयो । दुष्ट ! गुरुको त मान राखिनस् , राखिनस् । के परिवारका मूलीसित कसरी बोल्ने भन्ने सोमत पनि चरित्रसँगै स्वाहा पारिस् ? थुक्क कलङ्की !’ परिस्थिति बिग्रिने देखेर सूर्यले दुवैलाई शान्त पार्‍यो ।

यसपछि दृश्य बदलिएर भूमण्डलमा पुग्यो । नष्ट भइसकेको धर्म फेरि पलाएको थियो । पूजा, जप, तप, ध्यान, दान, भजन, कीर्तनमा मान्छेको मन फर्किँदै थियो । सबैको मुखमा एउटै कुरो थियो, सबै ग्रहहरू एकै ठाउँमा आए । अब प्रलय हुन्छ । ढोंगीहरूले नक्कली ज्योतिषी बनेर नयाँनयाँ भविष्यवाणी गर्न थाले । यसो गरे अपार धनलाभ हुने, उसो गरे सन्तानलाभ हुने र नगरे नाश हुनेजस्ता उरन्ठेउला कुरा पनि गर्न थालेका थिए भने केहीले आफूले पहिले नै यस्तो हुनेछ भनेर भविष्यवाणी गरेको र आज त्यो पूर्ण हुन थालेको पनि भन्न थालेका थिए । केहीले त अझै अघि बढेर अमुक दिन पृथ्वी सखाप हुनेछ र नभए मलाई मृत्युदण्ड दिनू पनि भन्न भ्याएका थिए ।

दृश्य बदलिएर वैज्ञानिक प्रयोगशालामा पुग्यो । त्यहाँ वैज्ञानिकहरू यन्त्रहरूसित जुध्दै थिए । उनीहरू मानवजातिलाई आश्वस्त पार्दै ग्रहहरूको यो सम्मेलन सम्मेलनभन्दा बढी केही नहुने र यसले मानवजातिले चिन्ता मान्नुपर्ने केही छैन भन्दै थिए । दृश्य घुमेर फेरि अन्तरिक्षमा पुग्यो । उता चन्द्रमा मलिन मुख लगाएर भन्दै थियो –‘मेरा छातीमा बालुवै बालुवा छ । न अक्सिजन छ न पृथ्वी माताले झैँ तानेर राख्ने क्षमता (गुरुत्वाकर्षण) मसँग छ तापनि यो मान्छेले मेरो पनि अंशबन्डा गरिसक्यो । लौ न, केही त गर्नैपर्‍यो ।’ वृहस्पति मत्थर भइसकेको थियो किनभने तारा र बुधसँगै शुक्रले पनि उसमाथि कुदृष्टि लाउँदै थिए । त्यसैले वृहस्पतिले सही थाप्दै भन्यो –‘हो हो, कृतघ्नै भए पनि चन्द्रमाको भनाइ सही हो । आजको मानव दानवभन्दा पनि क्रूर बनेको छ । मानवले स्वनिर्मित उपग्रहहरू हामीमाझ पठाएर हाम्रो गोपनीयतामाथि हस्तक्षेप गरिरहेको छ ।’

शुक्रले आपत्ति जनाउँदै भन्यो –‘नियमापत्ति अध्यक्ष महोदय ! नियमापत्ति ! देवगुरुले यसरी कहिले पुराना कुरा उठाएर त कहिले कुन कुरा गरेर सम्मेलनलाई विषयान्तर गर्न खोज्दै छन् । मेरा शिष्य दानवहरूलाई मानवसित तुलना गरेकामा नियमापत्ति छ । यदि हामी यसरी विवादमा फँस्यौँ भने चतुर मानवले हामीलाई एकअर्कासित भिडाइदिन सक्छ । तसर्थ हामीले निर्विवाद भएर समस्याको समकाधान खोज्नुपर्छ ।’

शनिले राहु र केतुको समेत प्रतिनिधित्व गर्दै भन्यो – मान्छेले त अब हाम्रो दुष्प्रभावलाई समेत मान्यता दिन छाड्यो । यस मान्छेलाई तह लाउनैपर्छ । हाम्रो शक्ति देखाइदिनैपर्छ ।’
नवयुवक बुधले जोसिँदै भन्यो –‘अरू केही उपाय छैन । हामी जहाँ छौँ त्यहीँ अडिऔँ र घुम्न छाडौँ त यो मान्छेले आफ्ना बराजु मनुको र शतरूपाको बिहे देख्छ ।’
समूहले समर्थन गर्‍यो – हो, हो, हामीले पनि उनीहरूकै दाउ उनीहरूमाथि लगाउनुपर्छ । उनीहरू जे भए पनि चक्काजाम गर्छन् नि ! हामीले पनि चक्काजाम गरौँ ।’
वृहस्पतिलाई बुधका कुरा सुनेर रिस उठेन । उसले घृणायुक्त दृष्टि तारा, चन्द्रमा र बुधमाथि पार्‍यो अनि समर्थनमा टाउको हल्लायो । उसलाई लाग्यो, झड्केलो छोरो भए पनि यो केटो सही बोल्छ ।

यता वैज्ञानिकहरू अझ सक्रिय देखिए । उनीहरूले एउटा स्पष्ट सन्देशसहित थुप्रै अति शक्तिशाली यानहरूलाई एकसाथ अन्तरीक्षमा प्रक्षेपण गरे । ती यानहरूले सम्मेलनकेन्द्रमाथि गएर चक्कर लगाउन थाले र पर्चा पनि छर्न थाले । शुक्रले एउटा पर्चा उठाए र वाचन गर्न थाल्यो जसमा लेखेको थियो – सौर्यमण्डलका सम्पूर्ण सदस्यहरूलाई कठोरतापूर्वक आदेश दिइन्छ कि अविलम्ब आआफ्नो कक्षमा गति समातून् । अन्यथा ‘हम तो डूबेंगे, तुम्हें भी ले डूबेंगे’ भनेझैँ मानवजाति नै नरहने भए पनि ग्रहहरूको पनि के काम ? त्यसैले यहीँ हामीसँग रहेका शक्तिशाली बमहरू खसालिदिने छौँ ।

शुक्रका पर्चा समातेका हात पनि कामिरहेका थिए भने अन्य ग्रहहरूमा पनि त्राहि त्राहि मच्चिन थालेको थियो । सूर्यलाई छाडेर सबै आतङ्कित देखिन्थे । पृथ्वीको त हालत खराब थियो किनभने मानवलाई जीवन दिने उही थिई र मानवलगायत अन्य ग्रहहरूको तारो पनि ऊ नै थिई । ध्र्रुव ताराले आफ्नै ठाउँमा उभिएर भन्यो – ‘म पनि पहिले मानव नै थिएँ र आफ्नो कर्मले तारा बनेको हुँ । हामी मानवलाई अवमूल्यन गर्दै छौँ । मानवको अहित गर्ने सोच नै दोषयुक्त छ । मानवजातिलाई जिस्क्याउनु भनेको चकचके केटाले अरिङ्गालको गोलामा ढुङ्गा हान्नुजस्तै हो । उहिलेका कुरा खुइलिसके । आजको मानव मभन्दा बढी शक्तिशाली भएको छ । हामीले आफ्नै सुरक्षाका लागि पनि मानवलाई सुरक्षित राख्नुपर्छ । मेरो भनाइ यत्ति हो ।’

ग्रहहरू कुनै निर्णयमा पुग्न टाउको जोरिरहेकै समयमा पृथ्वीले कहालिँदै गुहार लगाई –‘पिताजी, अध्यक्षका रूपमा मात्र नभएर पिताका रूपमा पनि परिवारको सुरक्षाका निम्ति कुनै ठोस निर्णय लिनुपर्‍यो । त्यसै वेला पृथ्वीको एउटा कुनामा भयानक विस्फोट भयो र त्यहाँबाट तातो न तातो लाभा निस्किन थाल्यो । पृथ्वी त्यो भाग थिचेर थुचुक्क बसी । सूर्य पनि अत्तालिएको थियो । एक त सिङ्गो सौर्य परिवार नै असुरक्षित महसुस गरिरहेको थियो । त्यसमाथि अत्यन्त प्यारी छोरी पृथ्वीको दुःख सहिनसक्नु भएको थियो । उसले घोषणा गर्‍यो –‘परिवारका सदस्यगण ! पृथ्वीको अवस्था र ध्रुवको विचारका आधारमा म कुन निष्कर्षमा पुगेँ भने मान्छे आगो हो जसलाई अँजुलिमा लिए पनि पोल्छ र लातले हाने पनि पोल्छ । तत्काललाई उससँग मेलमिलापको नीति नलिई सुखै छैन । तसर्थ हाललाई हामी मानवसित मित्रताको हात बढाउँछौँ । तर यसपछि पनि उसले विश्वासघात गर्‍यो भने जुन उसको स्वभाव हो त्यस वेला हामीले पनि आफ्नो टाउको फुटेपछि मितको टाउको बेलसरी भन्नुपर्ने छ । तसर्थ आजको सम्मेलनको निर्णयअनुसार हामी सबै आआफ्नो कक्षमा घुमेर आफ्नो नियमिततालाई पुरा गरौँ । यति भन्दै म यो सम्मेलन यहीँ स्थगन भएको घोषणा गर्छु र मानवलाई आफ्ना यानहरू फिर्ता लगी अबउपरान्त हाम्रो दुरुपयोग नगर्न चेतावनी दिन्छु । सदुपयोग गरेसम्म हामी सहयोगी रहने छौँ र दुरुपयोग भएमा मानवअस्तित्वलाई नै समाप्त पारिदिने छौँ । धन्यवाद

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x