साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविजीको बिहे

नी दुलहीलाई उठाउन छाडेर लागे ‘फुर्‍यो फुर्‍यो ’ भन्दै कराउन । फुर्न त फुर्‍यो तर कागजकलम भने तत्काल जुरेन । थुइक्क सुद्दि ! चर्पीमा पनि नछुट्ने कागजकलम छुटेछन् । कविजीलाई पर्‍यो फसाद ।

Nepal Telecom ad

रमेश समर्थन :

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान यदि कुनै मान्छे जातिका लागि रिट्ठो नबिराई लागु गर्न सकिन्छ भने त्यो हो कवि । पूर्वीय साहित्यशास्त्रले काव्यलाई साहित्यको पर्याय बनाएझैँ कवि शब्दलाई पनि साहित्यकारको पर्यायका रूपमा लिँदा कसैको केही जान्न । फेरि पनि मेरो लेखको टाउकामा कवि नै लेखिएको हुँदा यसमा कविकै कुरो गर्न खोजिएको भने हो । ‘घरभेटीलाई कामको रन्को घरज्वाइँलाई खानको रन्को’ भनेझैँ यी कविहरूलाई कविताकै रन्काले रन्काइरहेको हुन्छ । चाहे भान्सामा पुत्पुताइरहेको धुवाँसँग भुत्भुताउँदै श्रीमतीले आफ्नो मुखारविन्दबाट खुँखार खुँखार शब्दहरूको सदुपयोग गरी कविका तीन पुस्ताको अन्त्येष्टि गरिरहून् तर कविको पिँडालु पाक्तै पाक्तैन । त्यसैले त मेरी श्रीमती बराबर मसँग भन्ने गर्छिन्, ‘यस्तो कविकी श्रीमती हुनुभन्दा त कपिकी सुन्दरी हुनु जाती ।’ बकम्फुसे कविता सुनिदिन र ‘हजुर त महाकविको पनि कान काट्ने कवि’ भनेर फुर्क्याउनु त पर्दैन ! उल्टै स्वच्छन्द भ्रमण र रमण गर्न पाइन्छ । न दाउराको चिन्ता न छाउराको पीडा । न गाँसको समस्या न बासको फिक्री ।’

कविकी श्रीमतीको यो गुनासो पनि निराधार छैन । कुनै कुनै कवि त अचाक्ली नै पो गर्छन् त गर्न पनि । हाम्रा आदिकविलाई नै लिऊँ न ! कताहो गजाधर सोतीकी बुढीले लोग्ने नभएको दिन साँझमा बास माग्न आउने चिन्नु न जान्नुको परपुरुषलाई बास दिइनन् त के बिराइन् ? हाम्रा आदिकविले भने थाले चौपारीमा बसेर सत्तोसराप गर्दै कविता लेख्न थाले, ‘गजाधर् सोतीकी घरबुढी अलच्छिन्‌कि रहिछन् , नरक् जानालाई सबसित बिदाबादि भइछन्‌……।’ भन्दै । यति मात्र कहाँ हो र ? कता हो एकपटक दिउँसोको घाममा कुनै घरमा पुगेछन् । ठिक त्यसै वेला त्यहाँ भुटेका मकै खाने वेला भएको हुँदो हो । खाने वेलामा टुप्लुक्क आइपुगेका बाहुन भनेर थालमा मकै ल्याएर दिइन् होला । तर हाम्रो अडबाङ्गे बुढालाई झोँक चलिहालेछ र भनिदिएछन्, ‘असल् मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलो, कि ता सेता मूला कि त बरु हवस् साग उसको, असल् हुन्थ्यो धुप्‌मा नतर कसरी खानु यसरी, भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्यान यसरी ?’ सोच्नुस् त एक त दिनु त्यसमाथि गाली पनि खानु । उनलाई खान मन थिएन भने म त खान्नँ भनिदिएर हुनेमा फर्माइस ! उनले भनेजस्ता जिनिस घरमा थिए कि थिएनन् र भए पनि दिने मन थियो कि थिएन । औनेपौने कौनै विचार नगरी त्यसरी फत्तुर लगाउने बाजे के कम्ताका हुन् त ? धन्नकी रहिछन् उनकी बाहुनी र त ‘छोरालाई पह्राइन् भन्या तँलाई पनि गोद्न्या छु ।’ भनेर चिठी लेख्दा समेत सहेर बसिछन् । अहिलेका जाहान हुन्थे भने, ‘स्याहार बुढा आफ्ना बाहान’ भनेर हिँडिदिन्थे । ‘गरिन् होला तिन्ले तिनिसित त गुज्रान कसरी ?’
ए…! म पनि भानुभक्तकै चेलो भएँ कि क्याहो ?

जो कवि हुँदैनन् तिनीहरू भन्छन्, कविहरू मुडी हुन्छन् । म त भन्छु कविहरू मुडी हैन, मुढे हुन्छन् । हाम्रा महाकवि पो कहाँ कम थिए र त ! घरमा भरे भात पकाउन चामल नभएर साहिँली बजै बाजेको तलबको बाटो कुरेर बस्थिन् रे ! तर बाजे आउँदा त रित्ताको रित्तै । जुन साथीहरूले उनलाई पागल सावित गर्न कुनै कसर बाँकी राखेनन् तिनैलाई रसभरी र चमचम ख्वाउँदै तलब झ्वाम ! लेख्ने कुरो गर्ने हो भने देब्रे हातका दुई औँलाका बिचमा चुरोट, दाहिने हातका औँलाको बिचमा कलम र भुइँमा एउटा कागज भए पुग्यो चाहे त्यो कागज चुरोटको बट्टा होस् चाहे ट्युसन पढ्न आउने विद्यार्थीको कपी होस् ।

एक पटक ट्युसन पढ्न आएका विद्यार्थीहरू आएको र एक घण्टासम्म बसेको समेत पत्तै नपाई लेखिरहेका कविले विद्यार्थीहरू उठेर हिँड्न थाल्दा पो थाहा पाएछन् र पछुतो मान्दै भनेछन्, ‘बाबुहरूले कपी यहीँ छोडेर जानुस् । आजको पाठ म त्यसैमा लेखिदिउँला ।’ विद्यार्थीले कपी पनि छोडेछन् र कविले लेख्न पनि लेखेछन् तर पाठ नलेखेर कविता पो लेखेछन् । उनैले भनेका छन् कविहरू कवि नहुने हो भने बहुलाहा हुन्थे । त्यसैले होला मेरा एकजना नपढेका परिचितले मलाई सधैँ खुस्केट भन्ने गर्दछन् । अलिकति नखुस्किकन त कवि भइँदैन कि क्या हो ! अचेल मलाई पनि यस्तै लाग्न थालेको छ ।

मैले जानेअनुसार कविहरू दुईखाले हुन्छन् । पहिला हुन्छन् कुरुवा कवि र दोस्रा हुन्छन् फुरुवा कवि । कुरुवा कविलाई साधारण कविता लेख्न पनि निधारमा गाँठो पारेर घण्टौँसम्म एकान्तमा कुर्नुपर्ने हुन्छ र पनि कविता केटाकेटीले भातका सिता छिरोलेझैँ छिरोलिन्छ, सिमलिँदै सिमलिन्न । फुरुवा कविको भने रोगै हो फुर्ने । उनीहरूलाई ठाउँ न ठहर, वेला न अवसर, इच्छा न रहर, जहाँ जति वेला पनि फुरिदिन सक्छ । कहिले भोजनालयमा मधुरसको कविता फुर्छ भने कहिले शौचालयमा वीभत्स रसको कविता फुर्छ । कहिले त पेटमा हुन्डरी मच्चिएकेै वेलामा फुर्छ र पो गाह्रो हुन्छ । यदि पेटको हुन्डरी शान्त पार्न जाऊँ भने फुरेको कविता भुरुरुरुरु उडेर जाला भन्ने पिर र यदि फुरेकोलाई लेखेर जाऊँ भने कागजमा भन्दा पहिले कट्टुमै वीभत्स रस चुहिने फिकिर ।

यो के चुरो न जुरो भएको कुरो गरिस् भन्नुुहोला तर जे भने पनि यो त चार पेजको कविताको चौध पेजको भूमिकाजस्तै हो । कुरोको सुरो भने के हो भने कविहरू स्वभावैले अडबाङ्गे हुन्छन् । जुन र जस्ता कविको कुरो म उठाउँदै छु तिनी पनि हुनसम्मका अष्टावक्र छन् । उनलाई पनि फुर्ने रोग छ र फुरेपछि कागजकलम जुर्नैपर्ने महारोग पनि छ । त्यसैले रस जस्तोसुकै भए पनि कविताको चरो उड्न नपाओस् भनेर उनी भान्सामा र चर्पीमा समेत कागज र कलम सँगै राख्छन् । पानीको भाँडो छुटे पनि यी दुई कुरा छुट्तैनन् ।

एकचोटि एउटी अभागिनीसित उनको पनि लगनगाँठो कसिने भएछ । लगनगाँठो त औपचारिकताको शब्द मात्र हो तर वास्तवमा उनको जीवनमा दुर्भाग्यको गाँठो कसिने भएको थियो । यदि उनलाई पहिले नै उनका हुनेवाला राजकुमार कवि हुन् भन्ने थाहा हुँदो हो त बरु लङ्गुरसित जान्थिन् तर यिनीसित त किमार्थ बिहे गर्ने स्वीकृति दिन्नथिन् । तर हुनु हुनामीलाई कसले पो रोक्न सक्छ र ? त, उनको बिहे हुने भयो एउटी अभागिनीसित । धन्य नियति !

बिहेका दिन कविको पार्थिव शरीर मात्र जग्गेमा थियो । मन भने चुँडेको चङ्गाझैँ अन्तरिक्षमा कावा खाँदै थियो । उनका हातहरूले यन्त्रवत् यज्ञका क्रियाहरू सम्पन्न गर्दै थिए । उनी यस्तो महत्त्वपूर्ण घडीमा यही होमकुण्डको आगोझैँ भर्भराउँदो र दुलहीको चुनरीझैँ फर्फराउँदो कविता फुरिदिए हुन्थ्यो भनेर गम्दै थिए । कवितादेवीले भने आज उनलाई त्यसै गरी छोडेकी थिई जसरी केही बेरपछि उनकी हुनेवाली दुलहीले उनलाई छोड्नेवाली थिइन् ।

बिहेको प्रसङ्ग त्यहाँ पुग्यो जहाँ बेहुलाले बेहुलीलाई उचालेर दाहिनेपट्टिबाट देब्र्‌पट्टि बसाल्नुपर्ने हुन्छ । यो चलन पनि कम्ती अडबाङ्गे छैन । हुनत उहिले केटामा कुनै कमजोरी त छैन भनेर जान्नका लागि पनि यो चलन चलाइएको हुन सक्छ तर जुन गुन्द्रीमा बसेकी छन् त्यसमा उनकी लोकन्दी पनि हुन्छिन् र दुलहीले लोकन्दीको सल्लाहमा गुन्द्री समातेकी हुन्छिन् । अनि उचाल्ने बेहुलो पनि त्यसैमाथि उभिएको हुन्छ । यस अवस्थामा कसरी उचाल्न सकिन्छ र ? मनोरञ्जन मात्र हो भने त ठिकै छ नत्र यस्तो विधिको विधि पुर्‍याए हुन्छ ।

कविजी उठे दुलहीलाई उठाउन । उनका हात दुलहीले लगाएको सिल्कको साडीमा के परेका थिए उनको उरन्ठेउलो मगजमा बिजुली चम्क्यो झिर्लिक्क र मिर्लिक्क गर्दै । उहिले ढिलै होस् छोरै होस् भन्थे । त्यसै गरी उनलाई पनि ढिलै फुरे पनि एउटा कविता फुरिहाल्यो । उनी दुलहीलाई उठाउन छाडेर लागे ‘फुर्‍यो फुर्‍यो ’ भन्दै कराउन । फुर्न त फुर्‍यो तर कागजकलम भने तत्काल जुरेन । थुइक्क सुद्दि ! चर्पीमा पनि नछुट्ने कागजकलम छुटेछन् । कविजीलाई पर्‍यो फसाद । त्यसै वेला उनीजस्तै एकजना रसिक काव्यप्रेमी पनि कराए, ‘सुनौँ न त कविजी फुरेको कुरो । बिहे त फेरि पनि भइहाल्छ ।’ कविलाई पनि हाँके भीमभए चौगुना भनेझैँ भएछ । त्यसै त कविहरूको सधैँ एउटै गुनासो हुने गर्छ, उनीहरूको कविता सुनिदिने को ? सुनेर बुझिदिने को ? बुझेर मूल्याङ्कन गरिदिने को ? त्यसैले त केही कविहरू कविसम्मेलनमा जाँदा केही आसेपासेहरूलाई गाडीभाडा दिएर र खाजा खुवाएर भए पनि सँगै लैजान्छन् र आफूले कवितावाचन गर्दा ताली बजाउन र वन्स मोर भन्न लगाउँछन् ।

अँ त, कविलाई फमाइस आउनु के थियो उनले राग गर्दभमा कविताको आलाप लिन थाले –
चिप्लो छ सारि तिमरो कसरी समातूँ
साथ्‌मा ल्वकन्दि पनि छन् कसरी उचालूँ
पक्रेकि गुन्द्रि किन हो यसरी भनीद्यौ
जानी अशक्त मकनै तिमि नै उठीद्यौ ।

यता साथीहरू वाह कविजी वाह ! गर्दै थिए उता कोही करायो, ‘भगायो भगायो !’ कसले कसलाई भगायो भनेको त दुलही बोक्न आएको डोलेले पो भगाएछ त ! धन्य कविको नियति ! भन्दै म पनि छिट्छिटो घरतिर लागेँ । मलाई पनि डर के थियो भने कतै मेरो अडबाङ्गे चालाले वाक्क दिक्क भएकी मेरी पनि बिहानै दुध दिन आउनेसित पो भाग्ने हुन् कि ? किनभने मलाई पनि अचेल कवि बन्ने लुतो अलिअलि सल्केको छ ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x