रमेश समर्थनकविजीको बिहे
नी दुलहीलाई उठाउन छाडेर लागे ‘फुर्यो फुर्यो ’ भन्दै कराउन । फुर्न त फुर्यो तर कागजकलम भने तत्काल जुरेन । थुइक्क सुद्दि ! चर्पीमा पनि नछुट्ने कागजकलम छुटेछन् । कविजीलाई पर्यो फसाद ।

रमेश समर्थन :
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान यदि कुनै मान्छे जातिका लागि रिट्ठो नबिराई लागु गर्न सकिन्छ भने त्यो हो कवि । पूर्वीय साहित्यशास्त्रले काव्यलाई साहित्यको पर्याय बनाएझैँ कवि शब्दलाई पनि साहित्यकारको पर्यायका रूपमा लिँदा कसैको केही जान्न । फेरि पनि मेरो लेखको टाउकामा कवि नै लेखिएको हुँदा यसमा कविकै कुरो गर्न खोजिएको भने हो । ‘घरभेटीलाई कामको रन्को घरज्वाइँलाई खानको रन्को’ भनेझैँ यी कविहरूलाई कविताकै रन्काले रन्काइरहेको हुन्छ । चाहे भान्सामा पुत्पुताइरहेको धुवाँसँग भुत्भुताउँदै श्रीमतीले आफ्नो मुखारविन्दबाट खुँखार खुँखार शब्दहरूको सदुपयोग गरी कविका तीन पुस्ताको अन्त्येष्टि गरिरहून् तर कविको पिँडालु पाक्तै पाक्तैन । त्यसैले त मेरी श्रीमती बराबर मसँग भन्ने गर्छिन्, ‘यस्तो कविकी श्रीमती हुनुभन्दा त कपिकी सुन्दरी हुनु जाती ।’ बकम्फुसे कविता सुनिदिन र ‘हजुर त महाकविको पनि कान काट्ने कवि’ भनेर फुर्क्याउनु त पर्दैन ! उल्टै स्वच्छन्द भ्रमण र रमण गर्न पाइन्छ । न दाउराको चिन्ता न छाउराको पीडा । न गाँसको समस्या न बासको फिक्री ।’
कविकी श्रीमतीको यो गुनासो पनि निराधार छैन । कुनै कुनै कवि त अचाक्ली नै पो गर्छन् त गर्न पनि । हाम्रा आदिकविलाई नै लिऊँ न ! कताहो गजाधर सोतीकी बुढीले लोग्ने नभएको दिन साँझमा बास माग्न आउने चिन्नु न जान्नुको परपुरुषलाई बास दिइनन् त के बिराइन् ? हाम्रा आदिकविले भने थाले चौपारीमा बसेर सत्तोसराप गर्दै कविता लेख्न थाले, ‘गजाधर् सोतीकी घरबुढी अलच्छिन्कि रहिछन् , नरक् जानालाई सबसित बिदाबादि भइछन्……।’ भन्दै । यति मात्र कहाँ हो र ? कता हो एकपटक दिउँसोको घाममा कुनै घरमा पुगेछन् । ठिक त्यसै वेला त्यहाँ भुटेका मकै खाने वेला भएको हुँदो हो । खाने वेलामा टुप्लुक्क आइपुगेका बाहुन भनेर थालमा मकै ल्याएर दिइन् होला । तर हाम्रो अडबाङ्गे बुढालाई झोँक चलिहालेछ र भनिदिएछन्, ‘असल् मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलो, कि ता सेता मूला कि त बरु हवस् साग उसको, असल् हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी, भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्यान यसरी ?’ सोच्नुस् त एक त दिनु त्यसमाथि गाली पनि खानु । उनलाई खान मन थिएन भने म त खान्नँ भनिदिएर हुनेमा फर्माइस ! उनले भनेजस्ता जिनिस घरमा थिए कि थिएनन् र भए पनि दिने मन थियो कि थिएन । औनेपौने कौनै विचार नगरी त्यसरी फत्तुर लगाउने बाजे के कम्ताका हुन् त ? धन्नकी रहिछन् उनकी बाहुनी र त ‘छोरालाई पह्राइन् भन्या तँलाई पनि गोद्न्या छु ।’ भनेर चिठी लेख्दा समेत सहेर बसिछन् । अहिलेका जाहान हुन्थे भने, ‘स्याहार बुढा आफ्ना बाहान’ भनेर हिँडिदिन्थे । ‘गरिन् होला तिन्ले तिनिसित त गुज्रान कसरी ?’
ए…! म पनि भानुभक्तकै चेलो भएँ कि क्याहो ?
जो कवि हुँदैनन् तिनीहरू भन्छन्, कविहरू मुडी हुन्छन् । म त भन्छु कविहरू मुडी हैन, मुढे हुन्छन् । हाम्रा महाकवि पो कहाँ कम थिए र त ! घरमा भरे भात पकाउन चामल नभएर साहिँली बजै बाजेको तलबको बाटो कुरेर बस्थिन् रे ! तर बाजे आउँदा त रित्ताको रित्तै । जुन साथीहरूले उनलाई पागल सावित गर्न कुनै कसर बाँकी राखेनन् तिनैलाई रसभरी र चमचम ख्वाउँदै तलब झ्वाम ! लेख्ने कुरो गर्ने हो भने देब्रे हातका दुई औँलाका बिचमा चुरोट, दाहिने हातका औँलाको बिचमा कलम र भुइँमा एउटा कागज भए पुग्यो चाहे त्यो कागज चुरोटको बट्टा होस् चाहे ट्युसन पढ्न आउने विद्यार्थीको कपी होस् ।
एक पटक ट्युसन पढ्न आएका विद्यार्थीहरू आएको र एक घण्टासम्म बसेको समेत पत्तै नपाई लेखिरहेका कविले विद्यार्थीहरू उठेर हिँड्न थाल्दा पो थाहा पाएछन् र पछुतो मान्दै भनेछन्, ‘बाबुहरूले कपी यहीँ छोडेर जानुस् । आजको पाठ म त्यसैमा लेखिदिउँला ।’ विद्यार्थीले कपी पनि छोडेछन् र कविले लेख्न पनि लेखेछन् तर पाठ नलेखेर कविता पो लेखेछन् । उनैले भनेका छन् कविहरू कवि नहुने हो भने बहुलाहा हुन्थे । त्यसैले होला मेरा एकजना नपढेका परिचितले मलाई सधैँ खुस्केट भन्ने गर्दछन् । अलिकति नखुस्किकन त कवि भइँदैन कि क्या हो ! अचेल मलाई पनि यस्तै लाग्न थालेको छ ।
मैले जानेअनुसार कविहरू दुईखाले हुन्छन् । पहिला हुन्छन् कुरुवा कवि र दोस्रा हुन्छन् फुरुवा कवि । कुरुवा कविलाई साधारण कविता लेख्न पनि निधारमा गाँठो पारेर घण्टौँसम्म एकान्तमा कुर्नुपर्ने हुन्छ र पनि कविता केटाकेटीले भातका सिता छिरोलेझैँ छिरोलिन्छ, सिमलिँदै सिमलिन्न । फुरुवा कविको भने रोगै हो फुर्ने । उनीहरूलाई ठाउँ न ठहर, वेला न अवसर, इच्छा न रहर, जहाँ जति वेला पनि फुरिदिन सक्छ । कहिले भोजनालयमा मधुरसको कविता फुर्छ भने कहिले शौचालयमा वीभत्स रसको कविता फुर्छ । कहिले त पेटमा हुन्डरी मच्चिएकेै वेलामा फुर्छ र पो गाह्रो हुन्छ । यदि पेटको हुन्डरी शान्त पार्न जाऊँ भने फुरेको कविता भुरुरुरुरु उडेर जाला भन्ने पिर र यदि फुरेकोलाई लेखेर जाऊँ भने कागजमा भन्दा पहिले कट्टुमै वीभत्स रस चुहिने फिकिर ।
यो के चुरो न जुरो भएको कुरो गरिस् भन्नुुहोला तर जे भने पनि यो त चार पेजको कविताको चौध पेजको भूमिकाजस्तै हो । कुरोको सुरो भने के हो भने कविहरू स्वभावैले अडबाङ्गे हुन्छन् । जुन र जस्ता कविको कुरो म उठाउँदै छु तिनी पनि हुनसम्मका अष्टावक्र छन् । उनलाई पनि फुर्ने रोग छ र फुरेपछि कागजकलम जुर्नैपर्ने महारोग पनि छ । त्यसैले रस जस्तोसुकै भए पनि कविताको चरो उड्न नपाओस् भनेर उनी भान्सामा र चर्पीमा समेत कागज र कलम सँगै राख्छन् । पानीको भाँडो छुटे पनि यी दुई कुरा छुट्तैनन् ।
एकचोटि एउटी अभागिनीसित उनको पनि लगनगाँठो कसिने भएछ । लगनगाँठो त औपचारिकताको शब्द मात्र हो तर वास्तवमा उनको जीवनमा दुर्भाग्यको गाँठो कसिने भएको थियो । यदि उनलाई पहिले नै उनका हुनेवाला राजकुमार कवि हुन् भन्ने थाहा हुँदो हो त बरु लङ्गुरसित जान्थिन् तर यिनीसित त किमार्थ बिहे गर्ने स्वीकृति दिन्नथिन् । तर हुनु हुनामीलाई कसले पो रोक्न सक्छ र ? त, उनको बिहे हुने भयो एउटी अभागिनीसित । धन्य नियति !
बिहेका दिन कविको पार्थिव शरीर मात्र जग्गेमा थियो । मन भने चुँडेको चङ्गाझैँ अन्तरिक्षमा कावा खाँदै थियो । उनका हातहरूले यन्त्रवत् यज्ञका क्रियाहरू सम्पन्न गर्दै थिए । उनी यस्तो महत्त्वपूर्ण घडीमा यही होमकुण्डको आगोझैँ भर्भराउँदो र दुलहीको चुनरीझैँ फर्फराउँदो कविता फुरिदिए हुन्थ्यो भनेर गम्दै थिए । कवितादेवीले भने आज उनलाई त्यसै गरी छोडेकी थिई जसरी केही बेरपछि उनकी हुनेवाली दुलहीले उनलाई छोड्नेवाली थिइन् ।
बिहेको प्रसङ्ग त्यहाँ पुग्यो जहाँ बेहुलाले बेहुलीलाई उचालेर दाहिनेपट्टिबाट देब्र्पट्टि बसाल्नुपर्ने हुन्छ । यो चलन पनि कम्ती अडबाङ्गे छैन । हुनत उहिले केटामा कुनै कमजोरी त छैन भनेर जान्नका लागि पनि यो चलन चलाइएको हुन सक्छ तर जुन गुन्द्रीमा बसेकी छन् त्यसमा उनकी लोकन्दी पनि हुन्छिन् र दुलहीले लोकन्दीको सल्लाहमा गुन्द्री समातेकी हुन्छिन् । अनि उचाल्ने बेहुलो पनि त्यसैमाथि उभिएको हुन्छ । यस अवस्थामा कसरी उचाल्न सकिन्छ र ? मनोरञ्जन मात्र हो भने त ठिकै छ नत्र यस्तो विधिको विधि पुर्याए हुन्छ ।
कविजी उठे दुलहीलाई उठाउन । उनका हात दुलहीले लगाएको सिल्कको साडीमा के परेका थिए उनको उरन्ठेउलो मगजमा बिजुली चम्क्यो झिर्लिक्क र मिर्लिक्क गर्दै । उहिले ढिलै होस् छोरै होस् भन्थे । त्यसै गरी उनलाई पनि ढिलै फुरे पनि एउटा कविता फुरिहाल्यो । उनी दुलहीलाई उठाउन छाडेर लागे ‘फुर्यो फुर्यो ’ भन्दै कराउन । फुर्न त फुर्यो तर कागजकलम भने तत्काल जुरेन । थुइक्क सुद्दि ! चर्पीमा पनि नछुट्ने कागजकलम छुटेछन् । कविजीलाई पर्यो फसाद । त्यसै वेला उनीजस्तै एकजना रसिक काव्यप्रेमी पनि कराए, ‘सुनौँ न त कविजी फुरेको कुरो । बिहे त फेरि पनि भइहाल्छ ।’ कविलाई पनि हाँके भीमभए चौगुना भनेझैँ भएछ । त्यसै त कविहरूको सधैँ एउटै गुनासो हुने गर्छ, उनीहरूको कविता सुनिदिने को ? सुनेर बुझिदिने को ? बुझेर मूल्याङ्कन गरिदिने को ? त्यसैले त केही कविहरू कविसम्मेलनमा जाँदा केही आसेपासेहरूलाई गाडीभाडा दिएर र खाजा खुवाएर भए पनि सँगै लैजान्छन् र आफूले कवितावाचन गर्दा ताली बजाउन र वन्स मोर भन्न लगाउँछन् ।
अँ त, कविलाई फमाइस आउनु के थियो उनले राग गर्दभमा कविताको आलाप लिन थाले –
चिप्लो छ सारि तिमरो कसरी समातूँ
साथ्मा ल्वकन्दि पनि छन् कसरी उचालूँ
पक्रेकि गुन्द्रि किन हो यसरी भनीद्यौ
जानी अशक्त मकनै तिमि नै उठीद्यौ ।
यता साथीहरू वाह कविजी वाह ! गर्दै थिए उता कोही करायो, ‘भगायो भगायो !’ कसले कसलाई भगायो भनेको त दुलही बोक्न आएको डोलेले पो भगाएछ त ! धन्य कविको नियति ! भन्दै म पनि छिट्छिटो घरतिर लागेँ । मलाई पनि डर के थियो भने कतै मेरो अडबाङ्गे चालाले वाक्क दिक्क भएकी मेरी पनि बिहानै दुध दिन आउनेसित पो भाग्ने हुन् कि ? किनभने मलाई पनि अचेल कवि बन्ने लुतो अलिअलि सल्केको छ ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































