राजु झल्लु प्रसादमान्छेले लास्टै गर्यो यार !
म दुवैले मान्छेलाई यो नयाँ प्रविधिको खतरा बुझाउनुपर्छ। 'डिजिटल साक्षरता' हाम्रो लागि बाँच्ने नयाँ बाटो हो। मसँग तँलाई लिएर केहि पुष्टि पूर्वाग्रह छ कि छैन तथ्य जाँच गर्छु। म सोच्दैछु, भविष्यमा म 'शान्ति पत्रकारिता' गर्छु।

राजेन्द्र भट्ट :
पात्रहरू:
मुसु (मुसा): सानो, फुर्तिलो, तर अहिलेको डिजिटल युगको खतराले त्रसित। (डिजिटल साक्षरताको कमीको प्रतीक।)
म्याउँ (बिरालो): फुर्तिलो, सिकारी स्वभावको भए पनि अहिलेको वातावरणबाट चिन्तित। (आधुनिक मिडिया र अर्थतन्त्रको दबावको प्रतीक।)
सेटिङ: एउटा आधुनिक अपार्टमेन्टको भान्छाको कुनामा। रातको २ बजे। (लाइटिङ निर्देश: भान्साको मुख्य बत्ती निभिएको छ। फ्रिजको झिल्को, कुनाको स्ट्यान्डबाइ बत्ती र म्याउँको हातमा भएको मोबाइलको उज्यालोले मात्र दृश्यलाई उज्यालो पारेको छ।)
(पर्दा खुल्दा, मुसु एक टुक्रा चिप्स च्याप्दै बिरालोको डरले कर्नरमा लुकेर बसेको देखिन्छ। म्याउँ भित्तातिर हेरेर गहिरो सास फेर्दै टाउको हल्लाइरहेको छ। मुसु चिप्स चपाउँछ।)
म्याउँ: (आफ्नै तालमा निराशा पोख्दै) मान्छेले लास्टै गर्यो यार! यतिसम्म त सहिन्थ्यो, अब त हद नै नाघ्यो। अब हामी दुवैको भविष्य एउटै प्लास्टिकको ब्यागभित्र छ।
मुसु: (झसङ्ग भएर डराउँदै, चिप्स भुइँमा खस्छ) को… को हो? ओहो! म्याउँ सा’ब! (आफूलाई सम्हाल्दै) हजुरले मलाई ‘इन्टरसेप्ट’ गर्न खोज्नुभएको थिएन जस्तो लाग्यो !
म्याउँ: (मुसुतिर नहेरी, मोबाइलको स्क्रिन हेर्दै उदासीन स्वरमा) किन डराउँछस् मुसु ? आज राति शिकार गर्ने ‘टीआरपी’ नै छैन। दिमागमा एल्गोरिदम भन्ने कुराले कब्जा जमाएको छ।
मुसु: (हौसिँदै, बिस्तारै बाहिर निस्केर डस्टबिनको छेउमा बस्दै) के कुराले हजुरको शिकारको ‘अल्गोरिदम’ खलबल भयो, म्याउँ सा’ब ? आजकल त हामीलाई पनि चैन छैन। रोटी चोर्नु पनि ‘लाइभ स्ट्रिमिङ’ हुन सक्छ।
म्याउँ: त्यो मान्छे! मेरो मालिक ! दिनभरि एउटै सानो ‘चम्किलो बाकस’ (मोबाइल) हेर्छ, त्यसैमा ‘रियल’ जीवनको सुख खोज्छ। मलाई सुतेको बेलाको भिडियो हालेर ‘सेलिब्रेटी’ बनाइदियो। मेरो गोप्यताको अधिकार (Right to Privacy) माथि धावा बोल्यो !
मुसु: (निराश हुँदै) हो त नि ! हाम्रो डर त फेक न्युज जस्तो भयो हजुर! हिजो मेरो ठूलोबुबाले भन्नुभयो, “मैले एउटा यस्तो डिजिटल जाल देखेँ, जुन आँखाले देख्ने, तर हातले छुन नसकिने हुन्छ।” म त डराएर मरें। त्यो त मिसइन्फरमेसन पो रहेछ।
म्याउँ: त्यो त सामान्य भयो। सबैभन्दा ठूलो खतरा त डिसइन्फर्मेसन हो। हिजो एउटा समाचारमा लेखेको थियो रे- “मुसाहरू अब बिरालोलाई ‘दीपफेक’ (Deepfake) अडियो पठाएर धोका दिन्छन्।” मेरो ‘पुष्टि पूर्वाग्रह’ (Confirmation Bias) लाई प्रयोग गरेर मलाई तपाईंको साँचो आवाज र नक्कली आवाज छुट्याउनै गाह्रो भयो।
मुसु: (आत्तिएर) यो त क्वान्टम खतरा भन्दा ठूलो पो रहेछ म्याउँ सा’ब !
म्याउँ: खतरा त्यही हो मुसु। हामीबीचको दुश्मनी त सरल थियो। तर, अहिले ‘अल्गोरिदम’ भन्ने एउटा नदेखिने शक्तिले हाम्रो सम्बन्ध चलाइरहेको छ। यसले मान्छेलाई एउटै कुरा बारम्बार देखाएर ‘फिल्टर बबल’ भित्र कैद गर्छ। मेरो मालिकलाई ‘मुसा कसरी मार्ने’ मात्र देखाउँछ, तपाईंको मालिकलाई ‘बिरालोको अत्याचार’ मात्र देखाउँछ। हामीलाई एक-अर्काको ‘पूरा कथा’ बुझ्न दिँदैन।
मुसु: भनेपछि, हामी दुवै ‘रोबो पब्लिक’ बनिसकेछौँ ? बिना जाँचको दुश्मनीमा बाँच्ने ?
म्याउँ: हो। हाम्रो डिजिटल गोपनीयता पनि सकियो। अब त भविष्यमा ‘क्वान्टम कम्प्युटर’ आउँदैछ रे। अहिलेको ‘सिग्नल ईन्क्रिप्शन’ पनि त्यसले तोड्न सक्छ। त्यसैले त मैले मेरा सबै गोप्य दस्तावेजहरू ‘एयर-ग्याप्ड कम्प्युटर’ मा लुकाएको छु, जुन कम्प्युटर इन्टरनेटमा कहिल्यै जोडिँदैन।
मुसु: (त्रासमा) ओहो ! मेरो ठूलोबुबाले लुकाएको चीजको ठेगाना त अब ‘HNDL’ (Harvest Now, Decrypt Later) रणनीति अन्तर्गत असुरक्षित भयो! अब के गर्ने म्याउँ सा’ब ?
म्याउँ: (मुसुको आँखामा हेरेर, मोबाइललाई एकछिन तल राख्दै) अब शिकार होइन, ‘सहकार्य’ (Collaboration) चाहिएको छ मुसु। तँ र म दुवैले मान्छेलाई यो नयाँ प्रविधिको खतरा बुझाउनुपर्छ। ‘डिजिटल साक्षरता’ हाम्रो लागि बाँच्ने नयाँ बाटो हो। मसँग तँलाई लिएर केहि पुष्टि पूर्वाग्रह छ कि छैन तथ्य जाँच गर्छु। म सोच्दैछु, भविष्यमा म ‘शान्ति पत्रकारिता’ गर्छु।
मुसु: (बिरालोसँग आँखा जुधाएर) हुन्छ म्याउँ सा’ब ! म पनि अब रोटी चोर्दा पनि ‘फ्याक्ट चेकिङ’ गर्छु, यो मेरो मौलिक रोटी हो कि कसैले Deepfake गरेर राखेको हो भनेर !
मुसु: (डरको टोनमा, बिस्तारै पछि हट्दै) “तर… अब तपाईंले मलाई खाने होइन नि, म्याउँ सा’ब ?”
म्याउँ: (अचानक मोबाइल उठाउँदै, अनुहारमा कृत्रिम उज्यालो चम्काउँदै) “अँ… अहिले होइन मुसु। TikTok Live मा ‘Cat and Mouse – Real Fight!’ भनेर ह्यासट्याग राख्दैछु, भ्यूज (Views) बढेपछि र विज्ञापन (Ad Revenue) आएपछि मात्रै तँलाई खान्छु। तयार हो ! एक्शन !”
(मुसुको चिच्याहट र हतारमा लुक्ने आवाज, साथै म्याउँको ‘लाइक, शेयर, सब्स्क्राइब’ भन्दै गरेको उत्साहित आवाजको मिश्रणसँगै पर्दा अँध्यारो हुन्छ।)
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































