साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलाम खान इलाम जाँदा

खुँगीभित्र कोचरिएका हामीहरूले आहाल बसेको खुँगीलाई उठाएर हिँड्न कति ठाउँ पुच्छर निमोठेका थियाैँ, कति ठाउँ गल लगाएर ठेलेका थियौँ, कति ठाउँका धरापबाट ओरालो लाग्ला भनेर टेको लगाई थामेका थियौँ ।

Nepal Telecom ad

होम सुवेदी :

‘गयो इलाम खायो सिलाम’ बूढापाकाहरूले भनेको सुनेको थिएँ। गहतको फाँडो र फिलुङ्गे समेत खान नपाई सिस्नु र भ्याकुर खानुपर्ने यस विवश युगमा सिलाम खान पाइने विश्वास नभए पनि जे त होला भनेर इलाम यात्राको पाइलो टेकें। अरू बस पनि यस रुटमा रहेछन् तापनि तापनि सबैभन्दा पहिले जाने सयपत्री बसमै जाने निधो गरें। भैरहवादेखि काठमाडौं र काँकरभिट्टाबाट काठमाडौंसम्म खडाबावा भएर यात्रा गर्ने ख्याम्ता भएको म जस्तो मान्छेलाई बिर्तामोडबाट ७८ किलोमिटर मात्रैको यात्रालाई उभिएर त होइन टाउकाले टेकेरसमेत जान सक्तछु भनेर ह्याकुलाले नै मिचेर यात्रा सुरु गरें।

दैव भन्ने जन्तुले मनुवा जातिलाई सबैथोक दिएर पनि एउटा कुरा दिएन। कमसेकम भरे के मात्रै हुँदैछ भन्नेसम्म मनुवा जातिलाई त्यो दैव भन्ने जन्तुले ज्ञान दिएको भए कति राम्रो हुन्थ्यो ? आफू बस भनेर चढियो त्यो वस्तु त खुँगी पो रहेछ ।

‘खुँगी’ भनेको सबैले बुझे बुझेनन् र म भन्न सक्तिनँ। नेपाली शब्द बुझ्न छाडेका नेपालीहरूलाई गाहारो नै पर्दो हो। जे होस्, खुँगीमा कुखुरा कोचिन्छ। वीर अस्पतालनेर खुँगीमा खदिका कुखुरा बगरेले खुर्पाठ्याक्क पारेको सवैले देखेकै छन्। सयपत्री नामक बस त्यही कुखुरा कोचर्ने महान खुँगी रहेछ त्यही वीर अस्पतालनेरको कुखुरा कोचर्ने खुँगी।

खुँगीको निर्माण सामग्री बाँसको चोया हो। सयपत्री खुँगी भने निर्माण सामग्रीका दृष्टिले वेखल खालको थियो। यो फलाम, सिसा, आलुमोनियम जस्ता सामग्रीले निर्मित रहेछ । निर्माण प्रक्रियामा केही अन्तर भए पनि प्रयोग गरिने दृष्टिकोणले कुखुरे खुँगी र सयपत्री खुँगीमा तात्त्विक अन्तर रहेनछ। चोया निर्मित खुँगीमा कुखुरा प्राणी खप्टिंदै जाकिन्छ, यता सयपत्री खूँगीमा मान्छे प्राणीलाई खप्टिएर खाँदिदो रहेछ। खुँगीभित्रको कुखुराको शरीर नदेखी टाउको मात्र देखिन्छ, यस खुँगीमा पनि मान्छेको शरीर पारस्परिक रूपमा एकाकार हुँदोरहेछन् र सास फेर्न टाउको मात्र निकाल्नु पर्दो रहेछ। सयपत्री खुँगीमा एउटा जर्जर इन्जिन रहेछ। क्षतविक्षत भएको शरीर रहेछ। यिनै केही विभेदक विन्दुहरू भएकाले नै होला, सयपत्री नामक मान्छे जाक्ने खुँगी र कुखुरा जाक्ने खुँगीबीचको तात्विक भिन्नता। नत्र यी दुईवीच कुनै भेद थिएन। खुंँगीका कुखुरा मोलतोल गर्ने बगरेहरू हुन्छन् । यता सयपत्रीभित्र मान्छेमाथि मान्छे खप्टाउँदै जाक्ने बगरेहरू खुँगीको मुखैमा विराजमान भएका हुन्छन् । यस कोणबाट पनि चर्चित दुई खुँगीबीच भेद रहेनछ। धेरै मात्रामा पोल्ट्री फार्मबाट कुखुरा बिक्री गर्दा किन्नेले कि कुखुराको खुट्टा बाँधेर कुभिन्डो पारेर बोकी हिँड्छ कि त खुँगीमा जाकेर लान्छ। सयपत्रीले यी मान्छे यात्रीहरूलाई आफ्ना खुँगीमा हाल्ने मात्र बन्दोबस्त गरेको रहेछ। धेरै यात्रुका रूपमा कोचिने मान्छेहरूको खुट्टा मुठो पारेर बाँधी आफ्ना झ्यालतिर कुभिन्डो पारेर झुन्ड्‌याउने गरिएको भने पाइएन। यसै कारण कमसेकम सयपत्री खुँगीदेखि म कृतकृत्य थिएँ।

खुँगीमा कुखुरा कोचर्न वा खुट्टा मुठ्याएर उभिन्ड्याउन कुखुराको भालेपोथी हेरेर पक्षपात गरिँदैन । बगरेसँग कुखुरा व्यवसायीहरूको कुनै लिङ्गभेद हुँदैन। भालेपोथी समान ढङ्गले बिक्री बट्टा हुन्छन् र समान ढङ्गले नै खुँगीमा पनि कोचरिन्छन् । यसै रीतले सयपत्री खुँगीमा पनि मान्छे प्राणीहरूलाई विना पक्षपात प्रवेश मिल्दोरहेछ । खुँगीको खँदाइमा लिङ्गभेद नभएको कुरामा धेरै यात्रुहरू विशेष गरी घाेत्लिन थालेका प्रसङ्ग हुँदारहेछन् ।

लिङ्गभेद नगरी यात्रु खप्टाएर भित्र कोचर्ने यस खुँगीमा एक प्रकारको आनन्द पनि प्राप्त हुँदोरहेछ। उभिएर खप्टिंदै जात्रा गर्नुपरे पनि विषम लैङ्गिक स्पर्श सुखबाट ब्रह्माण्ड नभए पनि आत्मानन्द भने मनग्गे हुने बुझेँ । यो बन्दोबस्त गरेकोमा सयपत्री खुँगी धन्यवादयोग्य पनि रहेछ। स्पर्श सुखको बन्दोबस्त यात्रा अवधिभरि यात्रुले पाए पनि स्पर्शोत्तर सुखहरू मध्येका अन्य सुख यात्रुलाई सुलभ बुझिएन। आखिरी खुँगीमा ठिङ्गुरा ठोक्किएका कुखुरा नहुन तीन फर्लाङसम्म लखेटेरसमेत पोथीलाई नछाड्ने भालेहरू एउटै खुँगीमित्र कोचरिंदा के नै गर्न सक्छन् र ?

फुल पार्ने अवस्था पार गरेका पोथीहरू सयपत्री खुँगीमा ढोका कुरुवाहरू भित्रैतिर कोचर्दा रहेछन् । भर्खर फुल पार्ने अवस्थाका पोथीहरू भने खुँगीको मुख कुरुवा बगरेहरू आफ्नै छेउमा राख्दा रहेछन्। अरू कुरा बाँकी रहुन् । भेटे भने वगरे र सगरे भन्ने फटाहालाई ठाेक भनेर मेरो स्वर्गपुरीतिरकै जात्रा नगराउलान् भन्ने के ग्यारेन्टी ।

सयपत्री खुँगीले बूढी भैँसीको गतिमा हामीलाई विहान सातबजे विर्ताबाट हिँडाएर बेलुका पनि सात बजे नै पुऱ्यायो इलाम। बाटोभरि आहाल बस्तै हिँडेको बूढी भैँसीझै विरूप र थकित भई हिलैहिलोले लच्याप्प्रो भई इलाम पुगेको थियो- खूँगी। बाटोभरि खुँगीभित्र कोचरिएका हामीहरूले आहाल बसेको खुँगीलाई उठाएर हिँड्न कति ठाउँ पुच्छर निमोठेका थियाैँ, कति ठाउँ गल लगाएर ठेलेका थियौँ, कति ठाउँका धरापबाट ओरालो लाग्ला भनेर टेको लगाई थामेका थियौँ । साँझपख इलाम पुऱ्याइदिएकोमा जर्जर सयपत्री खुँगीकाप्रति कोचिएर खुँगीभित्र आएका सबै प्राणीहरू कमसेकम कृतज्ञता प्रकट गरिरहेका जस्ता देखिन्थे। लाग्थ्यो, सिलाम खान इलाम आएका प्राणीहरूको जिन्दगी सयपत्री खुँगीबाट मृत्युका मुखमा लिलाम नभई सलामत रहेकोमा कृतज्ञता प्रकट गरिरहेका छन् । लाग्थ्यो, स्पर्श सुख प्राप्त गराएकोमा कृतज्ञता जाहेर गरिरहेका छन्।

इलाम पुगेपछि पो आफ्नो अवस्था त झ्वाट्ट सम्झना आयो । असारे खेलेको बाउसेको भन्दा फरक अवस्था रहेनछ आफ्नो । दिउँसोभरिका रोपाहाको फरक रहेनछ आफ्नो। हिलैहिलोले लुगा लतपत रहेछन् ननुहाई नहुने भयो। लज भन्ने बस्तुमा सुत्ने बन्दोबस्त गरेँ। होटलवालासँग ‘नुहाउन पाइन्छ कि’ एउटा सरस प्रश्न गरेँ।

होटलवालाले जर्खरिंदे उत्तर दियो- “एक त इलाम, त्यसमाथिको रातको बेलामा नुहाउन खोज्नु यो के अचम्म हो है। नुहाउने नै भए जानुस् पुवा खोला। खानेपानी नभएका बेला नुहाउने, त्यसमाथि राति । त्यो पनि इलाममा….।” होटल मालिकको टिक्काटिप्पणी सुनेर मैले आफैंलाई भनें- “सिलाम खान इलाम आएको थिइस् खाइस् भुत्रो…।”

०००
भदपुर, झापा
२०४८ माघ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x