घनश्याम रेग्मी‘नयाँ नृत्य तथा कला केन्द्र’ खुल्ने तरखरमा
उद्घाटन चाहिँ चाँडै नै गर्नुपर्ने भयो । सकेसम्म चुनाव अगाडि नै गर्ने सोच छ । बरु कसबाट उद्घाटन गर्दा ठिक होला ? तपाईंका बहुमुल्य सुझावहरूका पर्खाइमा रहने छु ।

घनश्याम रेग्मी :
धेरै अघिदेखि केही नयाँ कामको थालनी गर्ने सोचमा थिएँ । काम पो के गर्ने फुर्दै फुरेन । यसै बसेर त कहाँ हुन्छ र? केही त गर्नैपर्यो । धेरै अघिदेखि साथीहरू पनि केही गरौँ भनिरहेका छन् । ती साथीहरूको भनाइले मात्र त म के तातिँन्थेँ र ? आफ्नै मनको तातो पो तातो । मनमा लागेपछि लाग्यो लाग्यो । अब त सानोतिनो जे जस्तो भए पनि केही न केही गरेरै छाड्ने विचार आएको छ ।
नयाँ काम थाल्नु छ । अरू कसैलाई किन पो सोध्नु भनेर आफैँ एकछिन घोरिने विचार गरेँ । यो गरूँ कि त्यो ? यसरी गरूँ कि त्यसरी ? पुराना व्यापार पद्धति अफापसिद्ध भइसके, नयाँ व्यवसाय के छनोट गर्ने ? कसरी सुरुवात गर्ने र कसरी हेन्डिल गर्दा मुनाफा कति होला ? अनेक प्रश्नले मथिङ्गल झन्न भयो । अँह ! कतै केही उपाय लागेन ।
अरू बेला फटाफट आउने आइडिया आज खै केले खाइदिया भनेजस्तै भयो । मसँग विद्वान् साथीहरू नभएका पनि होइनन्, अनेक साथी छन् मेरा । यस्तो बेलामा कोसित आइडिया लिने, कससँग मनका कुरा सेयर गर्ने केही सोच्नै सकिन । एकएक गरेर साथीहरूका नाम सम्झिँन थालेँ । बुद्धिराम, मोतीराम, होताराम, जोगीराम, धनबहादुर, मनबहादुर, पदम, जगत, भगत, आलम, विक्रम अनेक साथीका नाम दिमागमा फर्फर्ती आए । नाम पनि नामै छन् । नाम फेर्ने धुनमा भैरव अर्यालले अनेकथरी नाम छानेर अन्त्यमा आफ्नो नाम “लिँडे कालु” राखेजस्तै ।
फ्याट्ट दिमागमा उनै हाम्रा स्वनाम धन्य हास्य व्यङ्ग्यकार भैरव अर्यालको आधा श्लोक दिमागमा बिजुलीको गतिमा आयो –
” ……….
दङ्गा फसाद नगरी इज्जतै रहन्न,
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ …..।”
अहा ! क्या गजबको मन्त्र भेटिएझैँ भयो । मलाई चाहिएको मूल मन्त्र । पार्टी चलाउन चाहिँने मूल मर्म । व्यापार व्यवसाय गरेर फड्को मार्ने गुरुमन्त्र ।
हो न हो यिनै मूलमन्त्र साथमा लिएर केही गर्छु । केही गर्ने भए साह्रै सोझा घोचाघारा जस्ता साथी लिएर काम थालनी गर्नै हुन्न । यसो अलिकति फुर्तीफार्ती भएको, कुरो बुझ्ने, चलाख र दूरदर्शी मान्छेका साथमा लागेर काम गर्नु पो राम्रो होला त भन्ने सोचेर चलाख साथीहरूका नाम लिस्ट मनमनै तयार पारेँ । सर्वज्ञरत्न, विकास, होताराम, फुलाराम, मुमाराम, छवि, रवि, भीमसेन, गजाधर, हस्तबहादुर, बुद्धिराम, चेतोराम लगायत अनेक नामको खाँटी लिस्ट तयार भयो । एकसे एक आआफ्ना क्षेत्रका विज्ञ होनहार साथीहरूको बिचबाट कसोकसो मलाई साथ दिने एकजना ननिस्किएला र ? साथीहरूका नाम र उनीहरूका क्षमता सम्झेर नै मन ढुक्क भयो । आधा काम सम्पन्न भएझैं मन ढुक्क भयो ।
“ए दिल मानता नहीँ” भनेझैं मनमा तलतल लागिरह्यो । अब के गर्ने होला त ? अन्तिम सल्लाह कोसित गरूँ ? यसो मनले खामेको साथी भनेको उही होताराम हो । नाम जस्तो भए पनि कुरा बुझ्नमा एक नम्बरको चलाख छ होताराम । होताराम वशिष्ठ । तँ होतेलाई पख् ! उसैलाई फोन गरेँ । होतारामकी श्रीमतीले उठाइन् । होताराम जी कता हुनुहुन्छ भनेर सोधेँ । “होतारामजी त सोताराम!” भनेर जवाफ आयो । पुस महिनाको तराईको शीतलहर अझ उसमाथि शनिबारको दिन नसुतेर के चोता उखेलोस् विचरा होताराम । मलाई पो केही गरूँ भन्ने हुटहुटीले बिहानै निद्राले छोड्यो, उसलाई केको मतलब ।
होतारामसँग कुरा हुन नपाए पछि आगो बालेर ताप्दै बिहान बिताइयो । खानासाना खाएर अब भएन बुद्धिरामलाई फोन गरूँ भनेको त्यहीबेला होतारामको फोन आयो । क्या होता है ? कुछकुछ होता है क्या पो भन्छ बा ! अँ कुछकुछ होता है ! कर्ता हे क्या भनेर भनेँ । आज एकछिन भेटौँ भनेको व्यापार मेलामा आइज, त्यहीँ भेटेर कुरा गर्दा हुन्न र भन्न थाल्यो । के छ र त्यस्तो व्यापार मेलामा आज ? प्रश्न नसकिँदै आज त फलाना फलानाहरू प्रस्तुति दिन आउँछन् पो भन्छ बा ! आउने भनेका पात्र र चरित्रका नाम सुन्दा नै दिगमिग लाग्यो ।
छ्या! व्यापार मेलाको नाममा अङ्ग प्रदर्शन, धर्म संस्कृतमाथि प्रहार र मानवअधिकारको ठाडो उल्लङ्घन । कठै ! कस्तो जमाना ? नीति चौपट्ट, परिश्रम गर्न चाहँदै नचाहने ठग र आरिसे नयाँ पुस्ता । शिक्षा, प्रविधि, सीप र कला अब जिउँदो रहेन । तिघ्रा देखायो, न सोमत न इज्जत । भाव न राग । छन्द न बन्दका निकृष्ट गाना ! सभ्यता र संस्कृतिमाथि प्रहार गरेर पैसा कमाउने दुर्नियत ।
अझ नाबालक किशोरीलाई ललाईफकाई प्रलोभनमा पारेर आश्वासन दिएर भोग्ने, पैसा खुवाएर प्रमाण मेटाउन लगाउने, झूटो बयान दिएर मर्द बनेका होनहार सम्राट् पनि आउने रे ।
खोरमा राखिनुपर्ने मानिस विजयको हर्षोल्लास मनाई रहेछ फूल अबिर र खादासहित ! कस्तो अचम्म ! यो के न्यायसँङ्गत छ ?
कठै कता जाँदै छ मेरो देश ! हामीले कस्तो विकास गर्न खोजेका हौँ ? कस्तो उन्नति र प्रगति चाहन्छौँ हामी । यस्ताका प्रदर्शन र प्रस्तुतिबाट स्कुले बालबालिकाले के कति सिक्छन् र यो देश भोलि कता लैजान्छन् ? टाउको भाउन्न भएर आयो ।
सम्झाई बुझाई गरेर घर पठाउनुपर्ने बालकहरूमाथि गोली दाग्नेहरू गर्जन गरिरहँदा कानुन हातमा लिनेहरू किन बेखबर ? आगो लगाएर राज्यका संरचना ध्वस्त पारिन्छ र यसो गर्नेलाई नपक्रिने भनेर उर्दी दिने अधिकारीहरू यही विकास र निकास चाहन्छन् होइन र ? प्रश्नहरू तेर्सिए । जवाफ कसले देला र ?
आ ! जेसुकै होस्, मलाई मात्र के टाउको दुखाउनु छ र ? सबै यस्तै हेर्न, सुन्न र देख्न चाहन्छन् । यस्तै कुरामा अघि बढ्नु प्रगति हो र विकास हो भन्छन् भने कसलाई के भन्नु र ? तै यही मेसोमा हाम्रो ठाउँमा “नयाँ नेपाल नृत्य तथा कला प्रशिक्षण केन्द्र” नामको एउटा सिकाइ केन्द्र खोल्ने सोच बनाएँ । उहाँ वरिष्ठहरूलाई मुख्य प्रशिक्षक राखेर हाम्रो डनलाई कार्यक्रम कोअर्डिनेटर राख्न सके नाम र दाम राम्रै कमाइ हुने देखियो । उद्घाटन चाहिँ चाँडै नै गर्नुपर्ने भयो । सकेसम्म चुनाव अगाडि नै गर्ने सोच छ । बरु कसबाट उद्घाटन गर्दा ठिक होला ? तपाईंका बहुमुल्य सुझावहरूका पर्खाइमा रहने छु ।
यो कुरामा होतारामजी लगायतका मेरा साथीहरूलाई मनाउन कसो नसकिएला र ? उता चुनाव पनि आइसक्यो, कम्ती दौड धूप छैन मलाई । मेरो नयाँ सोच र भावी रणनीति कस्तो लाग्यो ? सुझाव पाऊँ है साथीहरू ।
अस्तु !
०००
विकास चोक, ५ भरतपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest







































