फित्काैली डटकमकिताब र मोवाइल
हुँदा हुँदा शौचालय जाने बेलामा पनि मोबाइल छोड्दैनन् । मोबाइल पनि भन्दो हो – “कति हेर्छौ एक छिन मलाई पनि आराम गर्न देऊ न ।” के गर्नु नेपालीले पाएपछि कहाँ छोड्थे र होइन ?

कुसुम घिमिरे :
हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका छन् । उक्त पुरस्कारको व्यवस्थापन बाङ्गा अक्षरले गरेको छ । विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगता २०८२ मा यस निबन्धले प्रथम पुरस्कार प्राप्त गरेकाे हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय मात्र नभएर सहभागी विद्यार्थीहरुका राम्रा निबन्धहरुलाई फित्कौलीले नवश्रृजना स्तम्भको रुपमा नियमित प्रविष्ट गर्नेछ । साथै प्रेरणाको लागि विद्यालय र कलेज तहका विद्यार्थीले लेखेका स्तरीय निबन्धलाई फित्कौलीले प्राथमिकता साथ प्रकाशन गर्नेछ ।- प्रधान सम्पादक
मेरो परीक्षा नजिक आइरहेको थियो, म किताब खोलेर पढ्न बसेको थिएँ । तर २ मिनेट पनि नभई मोवाइलले भन्यो– “तिमी बिना बाँच्नै सक्दिनँ ।” म पनि त्यस्तै भावुक मनको मान्छे । अरुको दुख देख्नै नसक्ने । मैले गर्दा कसैको ज्यान गयो भने, भनेर मोवाइल हातमा समातें । हामीलाई सबैले भन्ने गर्छन्– “नानी धेरै मोवाइल चलाउनु हुँदैन फेरि आँखालाई असर गर्छ ।” तर हामी के कम, आँखा खै बन्दै हुँदैन । बन्द हुने भनेको त किताब मात्र हो । सरहरु भन्नु हुन्छ ‘पढ बाबुनानीहरु पढ्यौ भने भविष्य उज्यालो हुन्छ ।’
फेरि मोवाइल भन्छ ‘तिमीलाई म उज्यालो स्कुलमा भविष्य देखाइदिन्छु ।’ र म पनि त्यो उज्यालो भविष्य हेर्ने भनेर टिकटक हेर्दै बस्छु । म पनि कस्तो छु भने मोवाइलले हेर्यो कि पढाइको चिन्ता हुन्छ । किताब पल्टायो कि निन्द्रा लाग्छ तर परीक्षामा बढी अङ्क मलाई नै चाहिन्छ । यसो म कहिलेकाँही सोच्छु, के मलाई मोवाइलले बिगारेको हैन ? कि मैले चाहिँ मोवाइललाई बिगारेको हुँ । स्कुल जान्छु अनि पढ्न बस्छु । अनि सरहरुले भन्नु हुन्छ ‘पढ्नुपर्छ हेर, पढ्यो भने सबैथोक छ पढ्नु नै सबै भन्दा ठुलो कुरा हो ।’ अनि मेरो दिमागमा आउँछ अब पढ्नु पर्छ । अब आजदेखि मोवाइल हेर्दिन, पढ्ने मात्र हो । घर आउँछु अनि मोवाइल देख्छु अब आज चाहिँ होइन भोलिदेखि पढ्छु ।
त्यस्तै हुँदा हुँदै म बाह्र कक्षामा आइपुगेँ, तर पनि मेरो दिमागमा घाम लाग्या छैन । पहिलै मोवाइलको र मेरो घनिष्ट मित्रता छ । न मोवाइलले मलाई छोड्न सक्छ, न त मैले नै मोवाइललाई छोड्न सक्छु । किताबको र मेरो चै पहिलैदेखि कै दुश्मनी रहेछ । त्यही भएर न म किताव हेर्न सक्छु न कितावले मलाई हेर्न सक्छ ।
किताब पढ्ने बेलामा मेरो दिमागमा अरु कसैले भनेको कुरा याद आउँछ । “पढेर हात्ती ठूलो भएको हो र अनि नपढेर कमिला सानो भएको हो र !” यसो सोच्छु, हो जस्तो पनि लाग्छ । मलाई पनि किन पढ्नु जस्तो लाग्छ । एक मनले पढ्नु पर्छ, अर्को मनले भन्छ मोवाइल हेर्छुं, त्यस्तै गरेर मलाई किताब छुनै मन लाग्दैन । मन लाग्छ त केवल मोवाइल हेर्न ।
अहिले त फेरि मोवाइल माग्न नि कति सजिलो छ । ममी, युटुबबाट हेरेर गर्ने मेरो गृहकार्य छ भन्यो मोवाइल हेरेर बस्यो । पहिले हामी किताब समात्थ्यौं, अहिले चै हामीलाई मोवाइलले समातेको छ । फेरि के भन्नु, साना बच्चालाई पनि भात खाँदा पनि मोवाइल हेर्नुपर्ने ! ए, धेरै मोवाइल हेरेर भनेर गाली गर्यो वा पिट्यो भने पनि फेरि मनाउनको लागि मोवाइल नदिई सुखै हुँदैन । मोवाइलले गर्नुविधि गरिसक्यो ।
पहिला दिदी दाइहरुलाई भन्थे, ‘धेरै नपढ, अलि अलि खेल खेल्न पनि पर्छ ।’ तर अहिले भन्छन्– “कति मोवाइल हेर्छौ । मोवाइल हेर्दाहेर्दै मर्न आँटि सक्यौ, किताब पनि हेर न । भनेर बिन्ती गर्नुपर्छ । फेरि ठुला मान्छे पनि त्यस्तै, हुँदा हुँदा शौचालय जाने बेलामा पनि मोबाइल छोड्दैनन् । मोबाइल पनि भन्दो हो – “कति हेर्छौ एक छिन मलाई पनि आराम गर्न देऊ न ।” के गर्नु नेपालीले पाएपछि कहाँ छोड्थे र होइन ?
अब पढ्दा दिमाग चलाउनुपर्छ । मोबाइल चलाउँदा दिमाग सुतिरहन्छ, कति सुविधा छ । किताबले त निन्द्रा र शान्ति दिन्छ । तर मोबाइलले त नोटिफिकेशन मात्र दिन्छ ।
पढ्दा आमाले बाआमाले गर्व गर्छन्, मोबाइल चलाउँदा चार्जर र वाइफाइले मात्र गर्व गर्छन् । मोबाइल जति हेर्दा पनि धित मर्दैन । किताबको पानाले मन ताजा हुन्छ भने मोबाइलको तानाले गालै रातो हुन्छ । तर पनि मोबाइल नै प्यारो लाग्छ । अरु चै परीक्षा आउदा किताब खोज्न र पढ्न थाल्छन् म चाहिँ मोबाइल कता छ होला भन्दै खोज्दै हिँड्छु ।
गुरु र गुरुआमाहरु भन्नुहुन्छ ‘पढ, जीवन बन्छ’। अर्को तिर मोबाइल भन्छ –‘भाइबहिनी, टिकटक हेर, मजा आउँछ ।’पहिले घरमा किताबको थान हुन्थ्यो । कति सुन्दर । महाभारत देखि विज्ञान सम्म, भानुभक्त देखि कागजका फूल बनेका नोटबुकसम्म, अहिले घरमा मोबाइल चार्जरको प्याक छ । एक टुक्रा प्लास्टिकमा झुन्डिएको तारले हाम्रो जीवनलाई बाँधेर राखेको छ ।
पहिले किताब खोलेर नोट लेखिन्थ्यो, पढिन्थ्यो । किताबमा अन्डरलाइन गरिन्थ्यो दिमागमा किताबको कुरा हालिन्थ्यो, अब अहिले पनि पढ्न त नोट पढिन्छ नि, तर के को? इन्स्टाग्राम र फेसबुकको । मानिस भन्छन्– ‘किताब पढेर मान्छे सफल हुन्छ।’ हो हुन्छ । तर मोबाइल चलाएर पनि मानिस सफल हुन सक्छ, जस्तै – स्क्रोल गर्नेमा विश्व च्याम्पियन । स्क्रीन टाइम बढाउने खेलाडी, टिकटक बनाउने सुपर स्टार । अनि के चाहियो ?
किताब शब्द भण्डार बढाउँछ । सोच्ने शक्ति बढाउँछ । भविष्य उज्यालो बनाउँछ । मोबाइले रातको सुत्ने समय घटाउँदै भविष्य हुरिबतास सँगै उडाइदिन्छ । कुनै विद्यार्थीको मन न हो, अहँ म त पढ्ने मान्छे, म सँग साहस छ । मोबाइलमा आवाज आउँछ, बहिनीको म्यासेज रहेछ। खोले, एकछिन बसे । एक मिनेट । त्यस पछि एक घण्टा गर्दा गर्दा बेलुका भएको पत्तै भएन । मोबाइल भन्ने चिज पनि कति हेर्न मन लाग्छ के गर्नु है, नहेरे पनि भएन । पहिला भन्थे किताब पढ दिमाग आउँछ, अहिले मोबाइल नहेर दिमाग जान्छ ।
अब हेर्नु है म किताब पढ्छु, अब राम्रो सँग पढ्छु । पढ्ने त वातावरण नै छैन, अब पढ्छु भन्दा भन्दै जाडो आयो । अनि कसरी पढ्नु ? अब त ओछ्यानमा बस्ने तीन वटा सिरक ओडेर मोबाइल हेर्ने होइन ? । अब मोबाइलको कुरा सुन्नु कि किताबको । म दोधारमा छु । कुन रोजौ कुन छोडौ भइरहेछ । तर मोबाइल पनि नराम्रो चांहि होइन हौ । मान्छेले कति पैसा कमाउँछन टिकटक, युटुबबाट । अब हामी लाटाले केही न केही हेर्न पाए भयो । म पनि भन्छु, पढ्नु नै जीवनको ठूलो कुरा हो, तर त्यो कुरा अरु समय त सम्झिन्छु । तर मोबाइल देखेपछि बिर्सन्छु ।
मोबाइलको पनि धेरै फाइदा छन हामीले टिकटक, फेसबुक, इस्टाग्राम हेर्नको सट्टा पढ्ने कुरा हेरियो भने कति राम्रो हुन्छ । सुनमा सुगन्ध । बिचरा हाम्रा आमाबुवाहरु भन्नुहुन्छ – पहिला हामीले पढ्न पाएनौ, पाएको भए के के गरिसक्थ्यौं । अब पढ्न पाउँदा हामी पढ्दैनौ, तर पहिला पढ्न पाउनु पर्ने हो र अहिले हामीले मोबाइल हेर्न पाउन पर्ने हो ।
घरमा काम हुदा वा काम गरेको वेला मलाई लाग्ने गर्छ, आज काम गरेको गरै छु । एकछिन मोबाइल हेर्न पाएको छैन । तर एक छिन पढेन पाको छैन, किताब छुन पनि पाएको छैन भन्ने चांहि कहिले पनि लाग्दैन । मेरो मुखबाट पढाइको बारेमा केही कुरै निस्किदैन । के भएको होे म आफै अचम्ममा पर्छु ।
अहिलेका त बच्चा पनि खै के भएका ? जन्मदै मोबाइल चलाउन सिकेर आउछन् जस्तो लाग्छ मलाई । फेरि मलाई पढ्नुपर्छ भन्ने थाहा छ । राम्रो सँग पढेर राम्रो अंक ल्याउनपर्छ भन्ने पनि थाहा छ, तर पढ्न मन लाग्दैन । फेरि सबै मोबाइल मात्र हेर्ने पनि हुँदैनन् । कोही त पढी रहन्छन । पढ्ने बाहेक केही छैन जसरी पढ्छन् । तर एउटा कुरा नि, पैसा कमाउनु नपरेको भए त कसैले पनि पढ्दैन थिए होला, जस्तो लाग्छ ।
म यसो हेर्छु भाइलाई मरी मरी बोलाउन्छु, तर सुन्दै सुन्दैन । किनकि मोबाइल हेर्दा त बोलेको पनि सुनिदैन । न भोक लाग्छ न निन्द्रा लाग्छ । खै के हो कुन्नी, मोबाइलले सबै दुःख भुलाइ दिन्छ । किताब पढ्न थाल्नु पर्छ, नआएको ट्वाइलेट पनि पढ्ने बेलामा आउँछ । नलागेको भोक पनि पढ्ने बेलामै लाग्छ, नलागेको निद्रा पनि पढ्ने बेलामै लाग्छ , जे हुन्छ पढ्ने बेलामै हुन्छ । मेरो र पढाइको अनि मेरो र मोबाइलको यो घनिष्ट सम्बन्धलाई हजार जिभ्रा भएका शेष नागले त वर्णन गर्न नसकेको कुरा म एउटा मनुवाले कसरी सकुँला र ? तर जे होस, आजका हरेक नेपालीका घरमा जति मोबाइल छन्, त्यति किताब छैनन होला ।
मलाई त लाग्छ आजकाल किताब बोकेर हिड्ने मानिस लाजले किताबै देखाउँदैन । बरु छोपेर हिँड्छ र समाजमा प्रतिष्ठित ब्यक्तिको सिँढीमा उक्लन खोजेको महसुस गर्दै नाक फुलाउँछ । कक्षा कोठामा पनि शिक्षकले किताबको कुरा गर्दा कान टट्याउछन् र मोबाइलका कुरा सुन्न र मोबाइलनै हेर्न लालायित हुन्छन् ।
अझ अहिले परीक्षामा त्यही मोबाइल हेरेर सार्न नपाए त मलाई गुरुसुरु भन्न पनि मन नलाग्ने रोगले पो समाइसक्यो त । तपाईसँगै बरु यसको उपचार छ भने बताईदिनुहोस् । म त सञ्जिवनी बुटी सम्झेर खान्थे । अठार पुराणमा यो नयाँ एउटा मोबाइल पुराण थप्न पाए अरु सबै पुराणलाई आजको दिनमा जित्थ्यो जस्तो लाग्छ मलाई । मोबाइल आज मेरो बाबा र आमा भन्दा पनि प्रिय बस्तु बनेको छ । बाबा र आमाको अनुहार हेर्दा र कुरा सुन्दा दिक्क लाग्ने मलाई मोबाइल हेर्न र सुन्न आफू यौवन आवस्थामा रहँदा कक्षामा मन परेको सँगै पढ्ने केटालाई हेरेको भन्दा पनि बढि हेर्न मन लाग्छ । हेरौं मोबाइल र मेरो सम्बन्ध कहाँसम्म गएर सँगै रहन्छ होला ?
०००
कक्षा १२, काभ्रे इङ्लिस माध्यमिक विद्यालय पनौती– ४, काभ्रे
००
प्रथम पुरस्कार प्राप्त गरेपछि कुसुम घिमिरेसँग फित्काैलीले संक्षिप्त कुराकानी गरेकाे थियाे । प्रस्तुत छ कुराकानी अंश :
प्रश्न (१) प्रतियोगितामा तपाइँकाे निबन्धले प्रथम पुरस्कार प्राप्त गर्दा कस्तो लाग्याे ?
० खाइराइड हास्यव्यङ्ग्य पुरस्कार प्रतियोगितामा प्रथम हुँदा मलाई एकदमै खुसी लागेको छ। आफूले आफूलाई भाग्यमानी ठानेकी छु। यो प्रतियोगिता जितेकोमा म, मेरो परिवार र मेरो स्कुलको लागि गर्वको विषय हो भन्ने लागेकाे छ। याे प्रतियाेिगतामा प्रथम भएकै कारण मलाई धेरैले चिन्नुभएको छ। म धेरै खुसी छु। मेरो स्कुल काभ्रे इङ्लिस माध्यमिक विद्यालयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
प्रश्न (२) याे प्रतियोगिताका बारेमा कसरी जानकारी पाउनुभयो ?
० याे प्रतियोगिता बारे हाम्रो विद्यालयलाई जानकारी आएको रहेछ, हामीलाई बसन्त राज सरले कक्षामा सबैलाई सूचना दिँदै भाग लिन भन्नुभएको थियो।
प्रश्न (३) निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो ? अनि लेखनमा कसैले मद्दत पनि गर्नुभयो कि ?
० पहिला त म यो निबन्ध लेख्छु जस्ताे लागेकै थिएन । अभ्यास पनि खासै छैन । तर कक्षामा सरले हामी सबैलाई लेखेर ल्याउनु भन्नुभयाे । अनि मैले पनि सरले फेरि गाली गर्नुहुन्छ होला भनेर लेखेर दिएँ। पहिला मैले धेरै लेखेको थिइनँ । अनि मैले मेरो नेपाली पढाउने सरलाई पढ्न दिएँ । सरले ‘राम्रो छ, भोलि फेरि एक पटक पुनरलेखन गरेर ल्याऊ’ भन्नुभयो। त्यसपछि फेरि लेखेँ तर मलाई निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु जस्तो लागेको थिएन।
मैले निबन्ध त आफैले लेखेको हुँ तर अन्तिममा चाहिँ सरले हेर्दिनुभएको थियो र नमिलेको सच्याइदिनु भएको हाे।
प्रश्न (४) यसभन्दा पहिले पनि कविता निबन्धहरू लेख्नु भएको थियो कि ?
० यसभन्दा पहिला मैले यस्तो कुनै पनि प्रतियोगितामा भाग लिएको थिइनँ। यो नै मेरो पहिलो हो। यसभन्दा पहिले कुनै पनि साहित्यिक रचना लेखेको थिइनँ। पहिलो पटक निबन्ध प्रतियाेगितामा भाग लिएकी हुँ, मै पाे प्रथम भएँछु।
प्रश्न (५) आगामी साल प्रतियाेिगतामा भाग लिन चाहने जुनियर कक्षाका साथीहरूलाई के सल्लाह दिनुहुन्छ ?
० हास्यव्यङ्ग्य निबन्ध भनेको हास्य र व्यङ्ग्य दुवै मिसिएको निबन्ध हो। यसले समाजमा हुने गलत बानी, कमजोरी वा अव्यवस्था जस्ता कुरालाई सिधै होइन, रमाइलो तरिकाले हँसाउँदै सच्याउने उद्देश्य राख्दछ। यसमा सबैले देखेको, बुझेको लेखियो भने पढ्दा पनि रमाइलो हुन्छ। हास्यले मनोरञ्जन र हाँसो पैदा गर्छ भने व्यङ्ग्यले सोच्न र सुधार गर्न प्रेरित गर्छ। यसलाई लेखनका लागि सुरुमा सबैले चिनेको विषय छानिन्छ र त्यसपछि रमाइलो भाषामा घटना र व्यवहार वा पात्रलाई देखाइन्छ।
अन्त्यमा चाहिँ हाँसोभित्र शिक्षा र सन्देश राखिन्छ ताकि पढ्नेले रमाइलोसँगै केही सिक्न पनि सकोस्। त्यसैले आगामी वर्ष प्रतियोगितामा भाग लिन चाहने जुनियर साथीहरूले विषय छान्ने, हलुका भाषामा लेख्ने, गाली वा अपमान नगर्ने, हाँसोभित्र सन्देश राख्ने र आत्मविश्वासका साथ प्रस्तुत गर्ने अभ्यास गर्नु आवश्यक छ।
०००













































गजब राम्रो व्यङ्ग्य निबन्ध ।