साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको कानून र टुँडिखेलको बार

कानून-नियम र अनुशासन त केवल भद्रभला‌द्मी र सभ्य नागरिकलाई तह लगाउनका लागि हुन्छ, जो त्यसलाई भङ्ग गर्ने साहसै गर्दैन ।

Nepal Telecom ad

रमेश विकल :

‘भाइ रमेश ! तिम्रो देशमा पनि कानून छ ?’ यो प्रश्न मेरो एक जना विदेशी मित्रले गरेको थियो । उसको प्रश्नै नै मलाई अनौठो लाग्यो। के सोध्छ ए यो बेरे मसँग ? किन छैन कानून मेरो देशमा ?… कानून नभए, अनुशासन अनि नियम नभए, यत्रो समाज कसरी चल्छ ?… कसरी चलेको छ त यत्रो देश, यत्रो सरकार ?.. के हाम्रो देशको सरकार र समाज आफ्नो बाटोमा हिँडिरहेको छैन ?… के देख्यो यस खैरेले ? ‘छ भाइ छ, चाहिँदो मात्रामा अर्थात् सरकार चल्न चाहिँदो मात्रामा छ हाम्रो देशमा कानून ।’

‘खोइ मलाई त लाग्दैन ।’ उसले भन्यो । ‘त कसरी चलेको छ त यत्रो देश ? … यत्रो देशको यत्रो सरकार ? म सोध्छु। मलाई त लाग्छ पशुपतिनायका भरमा मात्र चलेको छ तिम्रो देश । ऊ भन्छ ।

‘होइन, के कारणले भन्यो यो तिमीले ?… ‘ अनि उसले मेरो ध्यान टुँडिखेलको बार त्यसको वरिपरिका पेटी र घुमिरहेका प्रहरी, यातायात, प्रहरीतिर आकर्षित गरेर भन्यो । यही होइन तिम्रो कानून ?

विदेशी साथीको संकेतको अनुसरण गर्दैमा म आफ्ना आँखा घुमाउँछु। अनि म देख्छु एक जना आधुनिक पुस्ताको नवयुवक र एक जना गाउँले देखिने अधबैँसे टुँडिखेलको बारको डन्डी भाँचेर त्यसैबाट टुँडिखेल प्रवेश गर्दैछन्, एउटी आधुनिक युवती बारमाथि चढेर सडकतिर हाम्फाल्दैछिन, एक जना जगल्टा पालेर कपालमा रातो रुमाल बाँधेको, जीनको पाइन्ट र छालाको ज्याकेट अनि नारीमा काँडादार पेटी बेरेको (कुकुरको घाँटीमा बाँध्ने जस्तो), कानमा फलामे मुन्द्री भिरेको, देख्तैमा बम्बैमार हिन्दी सिनेमाको खलनायक लाग्ने युवक-हाम्रो देशको भावी कर्णधार, पेटीबाट उल्टो स्मगलर बाइक (मोटरसाइकल) हाँकेर हिँड्ने बटुवाहरूको सातो उडाउँदै जान्छ, अर्को त्यस्तै दादा मार्का केटो रातो बत्तीमा सडकको माझबाट बाटो काट्छ। बार फट्केर ।… अनि यी सम्पूर्ण क्रियाकलापलाई चौबाटो माझको यातायात प्रहरी तटस्थ भावले हेरिरहन्छ, अर्को घुमिरहेको, नजिकको प्रहरी चाहिँ मुन्टो अर्कोतिर फर्काउँछ- मानौं यो सब कुरा उसले देखेकै छैन।

हो, हाम्रा यातायात प्रहरीले सडकमा अवरोध खडा गरेर यू टर्न लिँदैरहेको ट्रक वा बस पनि देखेको छैन, पेटीमा थुपारेका ईंट-काठ, फलाम, बालुवा, रोडा पनि देखेको छैन, पेटी ढाकेर खोलेको मोटरसाइकल वर्कसप पनि देखेको छछैन, बार भाँचेर टुँडिखेल प्रवेश गर्ने खलनायक र उनीहरूले बनाएको टुँडिखेलको छातीको घाउ पनि देखेको छैन, पेटीमा कुदेको मोटरसाइकल पनि देखेको छैन र कुनै पनि अनियमितता देखेको छैन। किनभने जतिबेला यी सब कानून-नियम उल्ल‌ङ्घनका घटना भैरहेका हुन्छन् र जहाँ भैरहेका छन्, त्यतातिर उसले हेरकै हुँदैन- मुन्टो अर्कोतिर फर्काएको हुन्छ, उसले आफ्नो ड्युटी गरिरहेको छ- चौबाटोको माझ उभिएर सवारीहरूलाई ‘पास’ दिइरहेको छ र त्यहाँ वरिपरि ऊ गस्ती गर्दै घुमिरहेको छ- यही नै नियम-कानून पालना गर्ने कुराको पर्याप्त उदाहरण भएन र ?…

त्यसमाथि उसले नियम-कानून भङ्ग गरेको देखेको, थाहा पाएको बेला त पक्रेर कारबाही पनि त गरेकाे छ। (अस्तिमात्र आफूलाई नटेर्ने मिनीबस र ट्याक्सीका २० जना ड्राइभरलाई लाइसेन्स खोसेर चलान गरेको छ, केही दिनअघि मात्र पेटीमा पसल थापेर बस्ने ५० जना नाइ‌ले पसलेहरूको नाङ्ला सामान लुटेर फालेर उनीहरूलाई कारबाही गरेको छ, के यो नै उनीहरूको तदारुकताको उदाहरण होइन र ? तपाईं अखबारको ‘अपराध’ स्तम्भ पनि हेर्नुहुन्छ । देख्तै नदेखेपछि (भलै त्यासले मुन्टो बटारेरै होस्) पछि त कसको के लाग्छ र ?

हो, नदेखेपछि के लाग्छ विचराहरू ।… मलाई अकस्मात् विदेशको एउटा घटनाको सम्झना हुन्छ । एकदिन (यो सं. १९६६ को, हवाई टापुको कुरा हो) म र मेरा साथीहरू एक जना अमेरिकी पिसकोर स्वयम्सेवकले चलाएको कारमा कतै घुम्न गइरहेका थियौँ । कार त्यतिखेर एउटा निर्जन देखिने एकलासे सडकमा कुदिरहेको थियो । अकस्मात् चालकले के कुरा सम्झ्यो क्यार, उसले अगाडि पछाडि, दायाँ, बायाँ चारैतिर निरीक्षण गर्यो । त्यहाँ आँखाले भ्याउन्जेलसम्म सडक सुनसान देखेर उसले कारलाई घोडाको नाल आकारमा घुमायो ।

तर आश्चर्य ! यतिञ्जेल चरो मुसो नदेखिएको एकलासे सडकमा अलि परको मोडबाट एउटा गस्ती पुलिसको ‘भ्यान’ निस्केर ठ्याक्कै हाम्रो बाटो रोकेर उभियो। अनि त्यसबाट एक जना प्रहरी अफिसर निस्केर चालक सामु उभियो। उसले चालकलाई कठोर स्वरमा हकाऱ्याे- हाई बड्डी ! डोन्ट यू नो दिस इज नट दि प्लेस फर यू टर्न ?…

मलाई सम्झना भयो यी देशहरूमा सडकमा मन लागेको ठाउँमा सवारी मोड्न पाइँदैन, त्यसका लागि खास ठाउँ तोकिएको हुन्छ । र हाम्रो साथी चालकले त्यस नियमलाई ठाडो उल्लङ्घन गरेको थियो । त्यहाँको कानून मिचेर अनुशासन तोडेको थियो ।

‘एस्क्यूज मी अफिसर !… आई बोग योर पार्डन ! उसले आफ्नो पिसकोर भोलन्टियरको प्रमाण देखाएर भन्यो । तर प्रहरी अफिसरले उसको चालक इजाजतपत्र खोसैरै छोड्यो। डोन्ट बाेग पार्डन गीभ मी योर लाइसेन्स प्लीज।

हाम्रो चालक साथीले हामी विदेशीहरूलाई ढाल बनाएर खुसामद गर्न खोज्यो, तर उसको केही सीप लागेन।

त यसरी गराइन्छ मेरो विदेशी साथीको देशमा कानूनको पालना- यसरी राखिन्छ अनुशासनको मर्यादा। तर हाम्रो देसमा कहिल्यै अनुशासन भङ्ग हुँदैन, नियम मिचिँदैन, कानूनको मर्यादालाई लत्याइँदैन। किनभने यो मिचिएको देख्नुपर्ने आँखाले देखिरहेको हुँदैन । (मुन्टो अर्कैतिर बटारिइरहेकाे हुन्छ ।) अनि अरू भद्रभलाद्मी … सभ्य नागरिक जो यी कानून मिच्नेबाट पीडित हुन्छन्, तिनीहरू उदासीन रहन्छन्, किनभने आवfरा, गुण्डाहरू र उच्छृङ्खल ठिटा अथवा असभ्यहरूसँग झगडा गरेर आफ्नो भला‌द्मीपनको निष्कलङ्क छविलाई कलङ्ङ्कित गर्न चाहँदैनन् (वास्तवमा आँटै गर्दैनन्) त्यसले नियम-कानून मिच्नेलाई यहाँ स्वतन्त्रता छ, प्रजातन्त्र छ।

बलियोलाई अनुशासनको आवश्यकता पर्दैन । … कानून-नियम र अनुशासन त केवल भद्रभला‌द्मी र सभ्य नागरिकलाई तह लगाउनका लागि हुन्छ, जो त्यसलाई भङ्ग गर्ने साहसै गर्दैन । त्यसैले यहाँको नियम-कानून र अनुशासन सबै टुँडिखेलको बार छ, सक्छौ भत्काऊ सक्तैनौ घुमेर जाऊ।

गोरखापत्र/२०५२ पुस १ गते शनिबार

०००
श्रीमानजी भन्नुहुन्छ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
शक्ति

शक्ति

लीलाराज दाहाल
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x