फित्काैली डटकमकान्छी छोरी
कान्छी छाेरी आजको समयमा जन्मिएकी जेनजी हो, जेनजी । जेनजीले उच्च क्षेत्रमा रहेका भ्रष्टाचारी नेतालाई त उठ् भन्दा उठ् र बस् बस् बस् बनाउँछन् ।

विनिता प्रधान :
हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारको व्यवस्थापक बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता २०८२ मा यो निबन्ध तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय मात्र नभएर सहभागी विद्यार्थीहरुका राम्रा निबन्धहरुलाई फित्कौलीले प्रकाशित गर्दै आएकाे छ। साथै प्रेरणाको लागि विद्यालय र कलेज तहका विद्यार्थीले लेखेका स्तरीय निबन्धलाई फित्कौलीले प्राथमिकता साथ प्रकाशन गर्नेछ । ००
कान्छी छोरी भन्नाले साधारणतया घरको आमाबुबाबाबाट अन्तिम पटक जन्मिएकी छोरी हुन् । उनी घर परिवारको प्रेममा डुबिरहेकी हुन्छिन् । आउनुहोस् उनको महत्व, विशेषता जानौं ।
कान्छी छोरीको दिनचर्या बिहान तीन बजेको आलार्मबाट हुन्छ । ए ! कस्तो बिर्सिएछु, यो त मोबाइलको पो दिनचर्या हो। बिहान तीन बजेदेखि अलार्म बजेपनि उनी सुन्दिनन् । उनको हात चाँही त्यो अलार्म बन्द गर्न उठेको उठै गर्छ,जति उठे पनि अलार्म बन्द भए पो । बिहानको छ बज्छ । कराउँदा कराउँदै मुखै सुकाएर अलार्म चुपचाप बन्द हुन्छ ।
सुरु भयो परिवारका सदस्यले पालै पालो बोलाउने समय । कान्छी, ए कान्छी, ओइ ! आदि इत्यादि । तर उनी लगभग ५-१० पटक बोलाएपछि झसङ्ग हुन्छिन् । तर ओच्छ्यानमै पल्टिएर “घरी आइपुगेँ, घरी बाटोमा छु, घरी भञ्याङबाट ओर्लिएँ” भन्छिन्, तर आइपुग्न त परको कुरा भयो, बाटोमा हो कि भञ्याङमा हो, उनलाई थाहा हुँदैन । तर पनि ओर्लिन सुरसारमा हुन्छिन् ।
बिहानदेखि नै कान्छी छोरीमाथि कामको धेरै भार पर्छ । उनलाई कामको ओदश हुन्छ, पूजा गर, बाख्रा निकाल, कुखुरा निकाल । तर घरको कान्छी छोरी, निद्रामै ती सबै काम समाप्त गरेर अर्को पटक परिवारले बोलाउँदा काम गरिसके भन्दा आफै हुन्छिन् । फुत्त उठेर घरका अरुले चिया पिइरहेको ठाउँमा पुग्छिन् । अब त्यहाँ पर्लय हुन्छ। परिवारको कुनै एक सदस्यले भनिदिनुहुन्छ । “ल ल, कति खेर गर्ने हो ।” अनि उनको भावना एकदम सक्रिय भएर रोदनमा आउन खोज्छ तर आफूलाई सम्हालेर “सङ्खेकिरा” झै काम शुरु गर्छिन् ।
सन्नुस् त । फेरि घरको कान्छी छोरीलाई ठग्न त तपाईंले सिकाइ रहनु पर्दैन नि । हो, अचम्मकै छे। घरका परिवारले केही काम अह्राउनु भयो भने लगभग १० मिनेटसम्म त सजग र सक्रिय नै भएर लाग्छे, तर जब १० मिनेट कट्छ, तबबाट उनमा अल्छी जागेर आउँछ । कोरोना कहरको १०७ डिग्री भन्दा बढी अल्छीको ज्वरो आउँछ र काम टाल्न थाल्छे । तर परिवारका सदस्य पनि केको कम, अल्छी कान्छीलाई झन् काम पो लगाउनु हुन्छ ।
अनि अर्को कुरा थाहा छ त ? बरु तपाईंलाई थाहा छैन होला । लौ म नै भन्छु । जब परिवारले आज यति काम सक्काउने भन्नुहुन्छ नि, तब त उनमा खै केको उत्प्रेरणा जागेर आउँछ कुन्नि “यो भन्दा दुई गुणा बढी गर्ने” भनेर भन्छिन् । तर १० मिनेटपछि त्यो उत्प्रेरणामा ‘अल्छी’ भन्ने रोग लाग्छ । अनि उनी ठग्न थाल्छिन् । त्यसैले त हो नि, छोरीहरूको अर्को नाम “ठगार” ।
पख्नुस् त ! अहिले नै नथाक्नुस् त ! आउनुहोस् अझै कान्छी छोरीको व्यवहार तथा बानी सम्बन्धी जानकारी लियौं।
के तपाईंले “अल्छे तिग्राे स्वादे जिब्रो,” भन्ने उखान सुन्नु भएको छ ? ओहो । नढाँट्नुस्, मलाई थाहा छ, तपाईंले यस उखानलाई सुन्नमा भ्याउनु भएको छ । ठ्याक्कै ! सयमा सय प्रतिशत बुढापाकाले यस उखानलाई कान्छी छोरीको निम्ति बनाएका थिए जस्तै लाग्छ ।
कान्छी छोरीलाई खानामा ठ्याक्क चौरासी व्यञ्जन हुनुपर्छ । तर ती चौरासी व्यञ्जन मध्ये एउटा परिकार बनाउन लगायो भने त प्रथम त उसलाई पकाउन नै आउँदैन । दोस्रो त उ भान्सामै पस्न मन गर्दिन । यति रड्डी, यति रड्डी कि छ महिनामा एक पटक भान्साभित्र पस्यो र खाना बनायो भने भात पनि खोले भात जस्तै गिलो न गिलो । अनि के भन्नु, सब्जीमा नुन वा खोर्सानी बढी हुन्छ, कि लगाउँदै नलगाउने । तर उसलाई आफैले बनाएको खानालाई मीठो मानी परिवारलाई पनि सान्त्वना दिँदै खान्छे।
घरको कान्छी छोरी हो “ठगार ” कान्छी ! आमा, हजुरआमा र दिदीहरुले बनाएको खानामा यदि कुनै दिन कारण बस सब्जीमा नुन खोर्सानी कम भयो भने यति छिटो अब्जस लाउँछे नि, ओहो ! त राम राम ! म यस कुरालाई शब्दमा बयान गर्न सकिँदैन । तर एउटा कुरा थाहा छ ? यदि कुनै दिन परिवारले खाना पकाउन लगाँउदा उसले ‘आग्रह’ को रुपमा स्वीकारेर खाना बनाउन भनेर पसि भने परिवारको सदस्यको दिमागमा पनि दिमाग चाट्छे। “अजी, चामल कहाँ छ ? चौलाएर के मा राख्नु ? ग्याँस, चुलो, कोइले चुलो, राइस कुकर मध्ये के मा पकाउनु ? कति पानी हाल्नु, ताप सानो, ठिक्क, ठूलो कस्तो बनाउनु ? दाल पकाउनु कि नपकाउनु ? कति दाल पकाउनु, तरकारी के, कति, कसरी पकाउनु, कति नुन हाल्नु…….” हे भगवान ! मलाई लाग्छ परिवारले कान्छीहरुलाई खाना पकाउन नलगाउनुको कारण नै यही हो । “कतै दिमाग नखल्बल्याई दियोस्” भनेर ।
के गर्नु, जति नै प्रश्नको महासागर खन्याए पनि साढे ४ बजे भन्दा अघि भान्सा खाना पकाउन गएको मान्छेले रातको ८ बजे तयार बनाइ सक्छे। कहिलेकाहीँ त परिवारको सदस्यले पनि सिकारू नै हो भनेर छाड्दिनु हुन्छ, तर कहिलेकाहीँ कराएर कान्छीलाई नै खाना खाउँ कि छाडेर जाउँ जस्तै बनाइदिनु हुन्छ ।
ल त आउनुहोस्, उसको अर्को विशेषतातर्फ लागौं है त । तपाईंलाई थाहा छ, कान्छी छोरीहरू परिवारको सदस्यहरु मध्ये सबैभन्दा लोभी हुन्छन् नि । अहो ! तपाईंलाई कारण चाहिए जस्तो छ । यदि प्रमाणको अपेक्षा गर्नुहुन्छ भने आफ्नो घरको सानो सदस्यसँग ५ रुपैयाँ पैसा मागेर हेर्नहोस् त तैपनि फिर्ता नगराउने सत्ले। अहो ! यिनीहरु यति धेरै कन्जुस हुन्छन् नि भनिसाध्यै छैन । आफ्नो पैसा खाँदी खाँदी खुत्रुकेमा राखेर टन्न पारेको बेला पनि छैन भन्दै उल्टो “विश्वको धनी व्यक्ति भनेर एलन मस्क चिनिन्छ भने गरिब भनेर मलाई चिन्छन्” पो भन्छे।
थाहा छ उसले आफ्नो पैसालाई यति कन्जुस्याईंले राख्छे नि, आफ्नो आवश्यकताको सामान किन्ने हो भने पनि पैसा छैन भनी लाज नमानी आमासँग पो पैसा माग्छे। यति मात्र कहाँ हो र, उ त आफूलाई मन परेको खाने कुरा दिदीहरुले मागे भने भागेर बचाउँछे । यदि छक्याएर खाइदिए पनि आफ्नी आमालाई पोल सुनाएर, कराएर भाँडभैलो पो गर्छे त।
यति हुँदाहुँदै पनि कान्छी छोरी कुनै पनि घरको आड दिने खम्बा हो । दिदीहरुले नदेखेको सपनाहरू साकार गरेर आफ्नो परिवारलाई सबैको सामु चिनाउन चाहान्छे । उनले आफूभन्दा अघिल्लो उमेरको दाजुदिदीले भन्दा बढी सेवा सुविधा पाएकी छे । उ आजको समयमा जन्मिएकी जेनजी हो, जेनजी । जेनजीले उच्च क्षेत्रमा रहेका भ्रष्टाचारी नेतालाई त उठ् भन्दा उठ् र बस् बस् बस् बनाउँछन् । उनीहरुले आफ्नो भविष्य र समाजको भविष्य उज्वल बनाउने भरपुर क्षमता राखेका हुन्छन् ।
आजका कान्छी छोरीहरू जतिसुकै अल्छी भए पनि पनि यो समाजलाई सकारात्मक धारतर्फ लैजान पुरा शक्ति प्राप्त गर्दछन् । पहिलाको समाजमा छोरीलाई हेप्छु, गिद्धे नजरले हेर्छु भन्ने भाव थियो। तर आज नारीलाई गरिने शारीरिक, मानसिक, सामाजिक हिसांको विरुद्ध आवाज उठाउन तिनै साहसी छोरीहरु सक्षम छन् । तिनीहरूको साहसले महिलालाई गरिने शोषण, दमन र हिंसालाई रोकेर “पुरुषवादी” समाजको अन्त्य गरी महिला र पुरुषलाई समान भावले हेर्ने “समतापूर्ण” समाजको विकासमा अग्रसर छन् ।
कान्छी छोरीकी आमा, हजुरआमाहरुले पुरुषवादी समाजमा जुन हिंसा सहेर बस्नुभयो त्यसलाई परिवर्तन गर्न चहान्छे । तर यो अराजकतापूर्ण समाज बदलिन नै चाहदैन । तपाईंलाई के लाग्छ, महिला चै सधैभरि “हिंसक” पुरुषको हिंसामा दबिइरहनु पर्ने हो ?
०००
कक्षा-१२, श्री सिद्देश्वर माध्यमिक विद्यालय दाँवा, भोजपुर
तृतीय पुरस्कार प्राप्त गरेपछि विनिता प्रधानसँग फित्कौलीले संक्षिप्त कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानी अंश :
०खुल्ला निबन्ध प्रतियोगितामा तृतीय हुँदा कस्तो लाग्यो ?
उत्तर: खुल्ला निबन्ध प्रतियोगितामा तृतीय हुँदा म अत्यन्तै खुसी भएको थिएँ। जब मैले तृतीय भएको कुरा थाहा पाएँ तब म परीक्षा हलमा डेस्कमा बसेकी थिएँ। त्यतिबेला शिक्षक आउनु भयो र यस विषयमा सुनाउनु भयो; त्यतिबेला म धेरै खुसी भएँ र सानो स्वरमा खुसीको कारणले चिच्याउन समेत पुगेछु।
० प्रतियोगिताको बारेमा कसरी जानकारी पाउनुभयो ?
उत्तर: मैले प्रतियोगिताको बारेमा जानकारी शिक्षक सरोज खत्रीज्यु र गणेश श्रेष्ठ ज्युबाट पाएको थिएँ।
०निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो त ? अनि लेखनमा कसैले मद्दत पनि गर्नु भयो कि ?
उत्तर: निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने मलाई अलिकति पनि लागेको थिएन; तापनि एक चोटी प्रयास गरी हेर्छु, फल त कर्म अनुरुप भेटिहालिन्छ भन्ने लागेको थियो। लेखन कार्य चाहिँ मैले आफैले गरेको हुँ। मैले यसको बारेमा मेरी आमालाई बाहेक दिदीहरू कसैलाई भनेको थिइन। मेरी आमाले मलाई दिनुभएको उत्प्रेरणा, साथले मलाई लेखन कार्यमा सहयोग गर्यो।
० यस भन्दा पहिले पनि यस्ता रचना लेख्ने गर्नु भएको थियो ? थियो भने के लेख्नु हुन्थ्यो ?
उत्तर: यसअघि मैले कहिलेकाहीँ रचना लेख्ने गर्थें। फाट्टफुट्ट केही कविताहरू लेखेकी छु।
० हास्यव्यङ्ग्य रचना के हो र कसरी लेख्ने भनेर आगामी भाग लिन चाहने जुनियर कक्षाका साथीलाई केही बताई दिनु त ?
उत्तर: मलाई लागे अनुसार हास्यव्यङ्ग्य रचना भनेको साहित्यको त्यस्तो विधा हो जहाँ समाजको विसङ्गतिलाई हाँसोको मार्फत उजागर गरिन्छ। मलाई लाग्छ हास्यव्यङ्ग्य रचना लेख्न सर्वप्रथम उपयुक्त विषयको छनोट गर्नुपर्छ। त्यसपछि त्यस विषय सम्बन्धी हसाउने कुरा सोची बढाइचढाइ गर्दै लेख्नुपर्छ। अन्त्यमा एउटा समाजमा सुधारसँग सम्बन्धित गहिरो सोचाइ विचार समावेश गर्नुपर्छ।
०००
Subscribe
Login
0 Comments
Oldest











































