साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबाउको भूत

Nepal Telecom ad

उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैनथ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ ।

हाम्रा बाउले तीनवटी बिहे गरेका थिए भन्ने कुरा त थाहै थियो । एउटी मरी अर्कोे गरे, त्यो पनि मरी अर्को गरे अनि दोस्रो पनि मरेपछि तेस्रो अर्थात् मेरी आमालाई गरे । मरेपछि गरे, के लाग्छ, गरुन् तर हाम्रा हजुरबाउले त गर्नु गरेका रहेछन् । बूढालाई दूरदर्शी भनुँ कि पात्तेको भनुँ कि मर्दको बच्चो भनुँ ।

हाम्रा पिताजी दस भाइ त्यसमाथि चार भाइ त बाल्यकालमै बितेका । जम्माजम्मी चौधओटा सन्तान जन्माएका थिए हाम्रा पट्ठा बाउ र हजुरआमा बूढीले तर एउटी मात्र हजुरआमा कहाँ हो रहेछ र, मेरा त तीनवटी हजुरआमा पो थिए अरे । बाउले मात्र तीनवटी गरे भनेको त कहाँ हुन्थ्यो, हजुरबाउले पनि तीनटी नै पो गरेका रहेछन् । तीनवटी गर्नु पछाडि पनि गजबको दर्शन पो रहेछ । मेरा बाउले बिहे गरेको तीनवटी त बिचरा बाध्य भएर घर चलाउन गरेका थिए तर हजुरबाउले त तीनवटी बिहे गरेर तीन ठाउँमा राखेका रहेछन् । एकै ठाउँमा भाँडा हन्ड्याङहुन्डुङ पनि नहुने, तीन किसिमको भाँडाका आनन्द पनि लिन पाइने ।

हाम्रा हजुरबाउको चर्तिकलालाई कसरी बुझुँ भने हाम्रा हजुरबाउको तीन ठाउँमा मौजा, एउटा दाङमा, एउटा मोरङमा र एउटा भने काठमान्डुमा । बिचरा हजुरबुआलाई टाँगाको घोडाजस्तो कहिले दाङ, कहिले मोरङ मौजामा दगुरिरहनुपर्ने । बूढालाई यता र उता दगुर्दा खानपिन पनि नमिल्ने र म्यानेजरको खर्च पनि निकै लाग्ने । त्यसैले बूढाले एउटा अक्कल लगाए । अहिले त्यस्तो अक्कल लगायो भने के दुर्र्गित हुन्छ भन्न सकिँदैन तर त्यति बेला खोई के भयो बड्डालाई । जहाँ जहाँ मौजा छ त्यहीँ त्यहीँको स्थानीय सुन्दरी कन्यासँग बिहे गर्ने, मौजाको जिम्मा पनि उसैलाई दिने, उसैले हेरिहाल्छे, बालबच्चा भए पनि मौजाको आम्दानीले पालिहालिन्छन्, म्यानेजरको खर्चमा स्वास्नी नै पालिहालिन्छ । त्यसपछि आफ्नो खानपिन, स्याहारसुसार पनि मिल्ने, जहाँ गयो उहीँ स्वास्नी पनि पाइने माया इत्यादि गर्न । क्या मज्जा ! काठमान्डुमा बाहुनी, दाङमा थरूनी र मोरङमा यादवनी । अनेकतामा एकता ।

हजुरबाउ बूढाको आइडिया मलाई मज्जाको लाग्यो, एउटा टिकटमा तीन मजा । हुन पनि एउटैको पछि कति लाग्नु । सधैँ उही लसुनप्याज र हिङको गन्ध । सधैँ उही स्वाद, उही गन्ध, उही कटाक्ष, उही नक्कल । हजुरबाउको जस्ता कहिले छोएला कचिला, कहिले माछाको झोल र कहिले तरुवाबरुवा । त्यस्तो पो हुनु तर काठमान्डुमा कसरी हुनसक्ला यस्तो चटक ? मौजासौजा गइगए । बूढाको पो मौजा थियो त्यो पनि टाढा । एउटीको भेट अर्कीसँग हुने मौकै नपर्ने । यहाँ कसरी हुनसक्ला त्यस्तो रमाइलो ? कथम्कदाचित त्यस्तो दुर्घटना परेर तीनवटीको कतै जम्काभेट भयो भने उनीहरूको जगल्टाको नास त हुन्छ हुन्छ आफ्नो पनि एउटा पनि टुप्पीको रौँ रहने छैन तर हजुरबुआले लिएको जिन्दगीको मजा लिने अधिकार त नातिको पनि त हुन्छ नि । मौजा नभए के भो त, खाने मुखलाई जुँगाले छेक्छ कि क्या हो ? काठमान्डुमा घरैघर भएको के काम, अहिलेको बेलामा मौजाभन्दा के कम काठमान्डुको घर । एकएक ओटा घरमा राखिदियो, घरैले पालिहाल्छ नि । दुई दिनको जिन्दगीमा मरेर लानु के छ र । आफूलाई लागेको कुरा गर्न नपाए सम्पत्तिको के काम । मरीमरी कमाएको सम्पत्ति उही छोरा मोराहरूले लुँछाचुँडी गरेर लिने त हुन् नि । त्यसैले मैले पक्का विचार गरेँ, दुइटी बिहे गर्छु, दुई ठाउँमा राख्छु र स्वरुची भोजन गर्छु । जेठीलाई चाहिँ फिटिक्क पनि सुइँको दिन हुँदैन, त्यसले थाहा पाई भनेचाहिँ महाभारत मच्चाएर छोड्छे र मेरो सपना चकनाचुर पारिदिन्छे त्यो विराङ्गना नारीले ।

अब हेर्नुुस् न, जिन्दगीका पचास वर्ष त बिती नै सक्यो, अब हद बाँचियो भने अरू बीस–पचीस वर्ष । जे बाँच्ने हो, जे गर्ने हो यसै बीचमा गर्नुपर्छ भने केको डराउनु ? फेरि कसैले नगरेको काम हो भनुँ भने आफ्नै हजुरबाउले गरेको । उल्टो बूढा त तर्छन् । स्वर्गबाटै स्यावासी दिन्छन् र भन्छन्– “स्यावास नाति, बाउबाजेको सिको गरेर पितृलाई तारिस् तैँले । मर्दको बच्चो रै’छस् ।” यस्तो पुण्यको काम गर्न केको डराउनु । तीनवटी बिहे गर्नु त हाम्रो पैतृक हक नै हो । म त आफ्नो पैतृक हकको पालन गर्छुगर्छु जोसुकैले जेसुकै गरोस् । जेठीलाइै सोध्ने कुरै भएन मारिहाल्छे, अरू कोहीसँग सल्लाह लिउँ भने डाढले कसैले हुन्छ भन्ने होइन । आफ्नो लक्ष्य आफैँ हासिल गर्नुपर्छ कसैलाई पत्तो नदिई । मेरो टाउकोभित्रको भ्यागुतो अधैर्य भएर उफ्रिन थाल्यो ।

बिहे त गर्ने तर केटी भनँु कि आईमाईचाहिँ खोज्ने कसरी ? कुमार केटो भए त पचास ठाउँ आफूले, आफन्तहरूले हल्लाखल्ली गर्नुपर्छ अनि बल्ल केटी जुर्छ । मजस्तो गोप्य किसिमले केटी खोज्ने मानिसले के गरी पाउँला केटी त्यसमाथि विधुर भए तै तै । घरमा एक मुरीभन्दा माथिकी एक थान स्वास्नी हुँदाहुँदै कुनचाहिँ आँखा फुटेकोले केटी दिन्छ मलाई । कि त अखबारमा विज्ञापन दिने हुति हुनु पर्यो, स्वास्नीले थाहा पाई भने मेरो त मेरो सके त्यो छाप्ने सम्पादकको पनि दुर्र्गित हुन बेर छैन । पुराना कथाहरू जस्तो पानी भर्न गएका पँधेर्नीहरूलाई प्वाक्क प्वाक्क मट्याङ्ग्राले हानुँ अनि जसले फर्केर हेर्छ त्यसलाई हेरेर मुसुक्क हाँसु न त भने न पँधेरा छन् न त्यस्ता पँधेर्नी । अनि मेरो बिहे कसरी हुन्छ त हौ ?

हजुरबाउको भूत ममाथि मज्जैले चढिसकेको थियो । कुनै नयाँ आइमाई देख्यो कि यो मान्छ कि, यो हुन्छ कि भन्याजस्तो मनमा उथलपुथल हुन थालिसकेको थियो । जसलाई पायो उसलाई “मसँग बिहे गर्छेऊ” भनेर सोध्न पनि भएन, मार्लान् भन्ने पीर । अनि के गर्नु त ? मलाई त्यसै त्यसै औडाहा भएर आउन थालेको थियो । मनमा कुरा खेलाउँदा खेलाउँदै अचानक मेरो मनमा अफिसकी टाइपिस्टको सम्झना भएर आयो । छि, हुँदैन त्यो । देख्दै गिली, पाकेर लितिक्क परेकी अम्बाजस्ती । त्यसमाथि ओठमाथि लाएको रातो लिपिस्टिक हरदम गर्मी महिनामा केटाकेटीको ओठमा लागेको पग्लेको क्याडबरिज चक्लेटजस्तो ल्यातप्यात । देख्दै घीन लागेर आउने । टाँस्सिन त खोज्थी बेलाबेलामा– ‘सर, सर त हामीसँग बोल्दै बोल्नुहुन्न’ लाडिएर बोल्थी । आफूलाई चाहिँ उनको उपस्थिति नै असह्य भएर आउँथ्यो । त्यत्रो लगानी गरेर त्यस्ती गँड्यौला जस्तीलाई ल्याएर के गर्नु, टोक्नु न बोक्नु ।

अचानक मलाई गरुडा म्याडमको सम्झना भएर आयो, हक्की, अग्ली, राम्री तर खरी । जो पायो ऊसँग बोल्दा पनि नबोल्ने । टिमटिम परेर हिँड्ने । पारपाचुके र विवाह भन्ने कुरासँग घृणा भएकी । मसँग कुरो गर्न त तम्सिने तर मैले नै त्यति साह्रो चासो नलिएको हुनाले अलि परपरै । यस्तीसम्म भएचाहिँ हुन त हुन्छ तर कुरो कसरी गर्ने । त्यसमाथि विवाह भन्ने कुरासँगै घृणा भएकी । कतै अर्कै लिङ्गी पो हो कि । त्यस्तो भयो भने त फेरि चौटा खान गएकी के जाति झोलमा डुबेर मरीजस्तो होला नि ।

एक दिन म उनको केबिनमा हिम्मत गरेर छिरेँ । उनी पहिले त झस्किन् अनि अलि सामान्य भइन् । मैले नै विस्तारै कुरा कोट्याएँ– “क्या हो गरुडा म्याडम, हामीलाई चाहिँ किन दुश्मनजस्तो व्यवहार गरेको । हामी पनि त साथी नै हौँ क्यारे । हामीलाई पनि यसो कहिलेकाहीँ समय दिए पाप त लाग्दैन होला त ।”

गरुडा म्याडम पनि उत्साहित भइन्– “के कुरा गरेको सरले । सर नै तर्कीतर्की हिँड्नुहुन्छ हामीसँग । म त जहिले पनि तैयार छु । सरको लागि समय नै समय छ ।” त्यसपछि मैले केही सल्लाह गर्नुछ भनी समयको माग गरेँ । उनले अफिस टाइमपछि उनकै डेरामा जाने प्रस्ताव गरिन् । पछि हामी सँगै उनको डेरामा पुग्यौँ । उनी मलाई बैठकमा बसाएर बेडरूममा छिरिन् । एकै छिनपछि टेबुलमा एउटा स्कचको बोतल र केही स्न्याक्स ल्याएर राखिदिइन्, मेरो भने ढुकढुकी बढ्न थाल्यो । त्यसपछि उनी डियोसियो छर्केर फ्रेस भएर एकदमै पारदर्शी स्लिपलेस म्याक्सीमा आएर मसँग टाँस्सेर बसिन् र “जाउँ सर भित्रै” भन्दै मलाई घिच्याउँदै बेडरुममा पो पुर्याइन् । मलाई उनको नियत अर्कै लागेर हतपत आफ्नो कुरो राखिहालेँ बिहेको । उनी दङ्ग पर्दै हाँसिन् । स्कचको नसा पनि लागिसकेको थियो उनलाई ।

“सर, बिहेसिहे गरेर घरजम गरेर बस्ने भए म करोडपति लोग्नेसँग बसिहाल्थेँ नि, किन डाइभोर्स गर्थेँ । बिहेमा के मजा छ र सर, एउटासँग टाँस्सियो बसिरह्यो, त्यो मबाट हुँदैन सर । मलाई त थरीथरीको स्वाद चाहिन्छ । जिन्दगीमा मोज नगरे के गर्नु । त्यसैले सरले पनि बिहेसिहेको कुरा छोडौँ, सरलाई जहिले मन लाग्छ आउँ, इन्ज्वाय गरौँ । हिजो हाकिमसाब आउनुभएको थियो, अरू पनि आउँछन्, सर पनि मजाले आउँ” भन्दै मलाई अङ्कमाल गर्न तम्सेपछि म आफ्नो जेठीको अनुहार सम्झिँदै त्यहाँबाट उम्केँ ।

त्यति गर्दा पनि मेरो बिहे गर्ने नसाचाहिँ उत्रेको थिएन । म त्यत्तिकै भौँतारिँदै काठमान्डुको सडक नाप्दै वायुसेवा निगमको कार्यालयतिरबाट जाँदै थिएँ, अँध्यारो भइसकेको थियो । सडक बत्तीको पोलमुनि एउटी सुन्दर कन्या आफूतिर हेर्दै मस्किरहेको देखेर दङ्ग परेँ । कहाँबाट चिनिछन् यिनले सोच्दै म नजिक पुगेँ । “जाने होइन सर”– उनले लाडिँदै प्रश्न गरिन् । म छक्क परेँ, चिन्नु न जान्नु घचेडी माग्नु । “कहाँ जाने भनेको तपाईंले” मैले प्रतिप्रश्न गरेँ ।

“मेरो ठाउँमा जाने भए हजार पर्छ, सरको ठाउँमा होल नाइटलाई पाँच हजार भए पुग्छ” आईमाईले त मस्किँदै हातै पो समातिन् बा । तिनले हात समातेपछि म झसङ्ग भएँ र मेरो गरुडा म्याडमकहाँको नसा पनि उत्रेकोजस्तो भयो र पो बल्ल मैले बुझेँ, यी कन्या त नागकन्या पो हुन् भनेर । त्यसपछि म हात छुटाएर फटाफट हिँड्न थालेँ । त्यो केटी पनि “सर तीन सय भए पनि हुन्छ सर” भन्दै पछ्याउन थालिन् मलाई । निकै बेरसम्म तिनले पछ्याउन नछोडेपछि म दगुर्न थालेँ र दगुर्दादगुर्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै म घर पुगेँ । श्रीमती बिचरी दैलोमै कुरेर बसेकी रहिछन् । “लौन नि उहाँलाई के भयो” भनेर हल्लीखल्ली गर्दै मलाई भित्र लगिन् । त्यसपछि म लखतरान परेर झन्डै अर्धबेहोसीको अवस्थामा डङरङ्ग खाटमा लडेँ ।
त्यतिञ्जेल मेरो हजुरबाउको भूत मन्छिसकेको थियो ।
मधुपर्क २०६५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x