डिल्लीराज अर्यालमलामी बन्न निस्के झैँ
राजै राजा हुने कस्तो अनौठो गणतन्त्र यो

निरङ्कुश भनी राजा फालिएथ्यो भने जब
किन थप्नु तिनै राजा-रजौटा पर्दथ्यो अझ ?
एउटै राजधानीले काम चल्थ्यो भने अझ
थपी नयाँनयाँ राजा किन हौसिन्छ मानिस ?
जति राजा भए त्यत्ति राजधानी हुने भए !
राजधानी भए जत्ति त्यति राज्य हुने भए !
राजै राजा हुने कस्तो अनौठो गणतन्त्र यो
निचोरी जनता बाँच्ने अनौठो लोकतन्त्र यो !
‘सार्वभौम भयो लोक,-गफमा सबथोक भो
मलामी बन्न निस्के झैँ परन्तु लाग्छ देशको !
ख्वाउँला कसरी मैले – मलामी यति धेर छन् ?
सम्मान कसरी होला- जहाँ स्वार्थ अनेक छन् ?
कोदोवारी त हो पुग्ने फटेङ्ग्रा जति उफ्रिऊन्
कहाँ छ सजिलो बाँच्न कमिला यत्रतत्र छन् !
बारीमा उफ्रिने त्यस्सै फटेङ्रो किन बन्नु झन्
खाने दाउ गरी बस्ने बाटा बीच तयार छन् !
फटेङ्ग्रा जोगिएलान् र भए पनि ठुला ठुला
सानै भएर के हुन्छन् कमिला अति जोशिला,
हेर्छु सङ्घर्षमा देख्छु- फटेङ्ग्रा हार्दछन् ठुला !
आपसी मेल राख्नेले जित्छन् युद्ध ठुला ठुला।
अहो ! विचित्रको खेला देखिएको छ वास्तव
म उस्तै हेरिराख्दैछु तिनैलाई छु बिस्मित
लाश बन्न हिडे जस्तै फटेङ्ग्रा हिड्दछन् यतै
मलामी बन्न निस्के झैँ कमिला छन् जताततै ।
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































