
सडकको गन्थन !
यात्री किच्दै, बलजफतमा, चल्छ चर्को सबारी । मिच्दै थिच्दै, नियम विधि नै, राज गर्छन् कबाडी ।। साँच्चै मेरो, जिउ जमिनमा, थिल्थिल्याई खकार्छन् । साँढे गाई, कुकुर कुखुरा, यात्रु जम्मै लघार्छन् ।।

भन्छन् बाटो, जनपथ कयौं, राजपन्था मलाई ।
मान्छन् धेरै, सडक सजिलो, हिंड्न वा डुल्नलाई ।।
ढुङ्गा, गिट्टी, इँट-रट- सयौँ, कार होन्डा अड्याई ।
बालीनाली, सडकभरि नै, दाइँ गर्छन् रमाई ।।१।।
सुर्ती खैनी, रगत—पिपका, नर्क फालेर सारा ।
थाङ्ना-थोत्रा, कसिँगर, दिसा पान प्लाष्टीक धागा ।।
टेक्छन् राँके, जुलुस हुलले, खेल्छ पीटी—कबाज ।
छाती मेरो, थिलथिल गरे, दैत्यजस्तै समाज ।।२।।
मूसाबिल्ली, कुकुर ‘शव’— ले, चल्छ दुर्गन्ध चर्को ।
कौवा गिद्धै चिल र भुसुना दिक्क पार्दैछ झर्को ।।
फोटो खिच्छन्, पर-मुलुकका, खिस्सी गर्दै फिरन्ता ।
मान्छे भन्छन् ? तर सडकमै, चल्छ हिंसा र हत्या ।।३।
मन्त्री हिँड्छन्, हडबड गरी, फर्फराएर झण्डा ।
रक्षा गर्छन्, वरपर बसी, उठ्छ बन्दूक-डण्डा ।।
माग्छन् उर्ली, मजदुर यहीं, चल्छ संघर्ष चर्का ।
गोली पड्की, कुकर बमले, छैन केही सुरक्षा ।।४।।
दाम्ला-नाम्ला, मम पसल छन्, सागसब्जी बजार ।
भैँसीसङ्गै, बस ट्रक डुबे, पोखरी छन् हजार ।।
धूलो मैलो दबदब हिलो, काउलीले धराप ।
बत्ती नाला विचलित बनी, पार्छ यात्री सखाप ।।५।।
यात्री किच्दै, बलजफतमा, चल्छ चर्को सबारी ।
मिच्दै थिच्दै, नियम विधि नै, राज गर्छन् कबाडी ।।
साँच्चै मेरो, जिउ जमिनमा, थिल्थिल्याई खकार्छन् ।
साँढे गाई, कुकुर कुखुरा, यात्रु जम्मै लघार्छन् ।।६।।
०००
धादिङ