साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेको आनन्द कस्तो हुन्छ ?

खानाको मात्रा धेरै हुँदैमा पाको उमेरमा फाइदा पुग्ने होइन बरु पेट खाली नहुने गरेर, पाचन प्रणालीले नकारात्मक प्रतिक्रिया नदेखाउने र आफूलाई फाप्ने खाना खाने बानी बसालौँ ।

Nepal Telecom ad

पाका मान्छेहरू उमेरिदै जाँदा शारीरिक श्रम कम गर्न थाल्नु स्वभाविकै हो । छ सात दशकदेखि घोटिएको ज्यानले अब त बिस्तारै आराम खोज्छ नि ! निर्जीब भए त प्रयोग नभए वा भइरहे हावापानीको प्रभावमा खिइने, बिग्रने, पहिलेजस्तो राम्रो र काम नलाग्ने हुन्छ । ‘माटाको मट्किलो त अति प्रयोग भए सिद्धिन्छ’ भन्ने उखान त्यसै चलेको होइन होला ! अनि मानिसको ज्यान त जीउँदो छउन्जेल तलमाथि त हुन्छ नि । बेलामा फुर्सद नलिइकन कति काम फाँडे होलान्, परिवारलाई कहाँबाट कहाँ पुर्‍याए होलान् ? फेहरिस्त लगाउने हो भने आजका भर्खरका वयस्कले त ‘होइन होला’ भन्ठान्न पनि सक्छन् । हिजोआज उहाँहरू के गर्नुहुन्छ र के भन्नुहुन्छ फुर्सद मिलाएर सुन्नुहोस् त !

उमेरिदै जाँदा कोही प्राकृतिक वा सिकेको स्वभावकै कारण कम बोल्ने, अँ, हँ, ए मात्र बोलेर र भनेर चित्त बुझाउने होलान् । शुभचिन्तकहरूले यसो मन खोल्ने कोशिस गरौँ त ! कति भवसागर उम्लिरहेको होला उहाँहरूको मनभरी, बाँध फुटे जसरी कति कुरा निस्कन्छन् ! धेरै पाका मान्छे वयस्कलाई अनौठो लाग्ने मसिना कुरामा पनि चिन्तित भएर आफन्तलाई सुनाइरहन ईच्छुक देखिनु हुन्छ । उहाँहरूका कुरा वयस्कहरू तथा हेरबिचारको जिम्बेवारी लिनुपर्नेले गम्भीरतापूर्वक सुन्नै पर्छ ।

सामान्य असाध्य हुन सक्छः
हरेक विषयमा आफूले जानेको भन्ने वा कतिपय चैँ नितान्त आफ्नो समस्यामात्र राखिरहने पाका मान्छे अरुका लागि पनि सहयोगी हुन्छन् । उहाँहरू अरुका क्रियाकलापको निगरानी राख्ने र आफूले जानेको कुरा पनि गरिदिउन् भन्ने सोच्नुहुन्छ । उहाँहरूको कुरा सहानुभूति राखेर सुन्दा पनि उहाँहरूलाई आत्मिक शान्ति भएर आधा समस्या सल्टिन्छ । त्यसपछि भनाईको जड मनोवैज्ञानिक, शारीरिक, उमेरजन्य र रोगव्याध सम्बन्धी भनि छुट्ट्याई गर्नैपर्ने रहेछ भने कार्यान्वयनमा ल्याउन पनि सजिलो हुन्छ । कुरै नसुनिदिँदा र समस्यालाई हलुकासँग लिने परिवार भए त, उहाँहरूलाई मात्र होइन परिवारलाईनै अप्ठ्यारो पर्नसक्छ ! भनेको समस्याले नै पछि साँच्चै असाध्य भई परिवारलाई आर्थिक घाटा र सामाजिक बेइज्जत हुन सक्छ ।

तपाईं वयस्क र किशोरकिशोरीलाई गनगन लाग्ने कुरा कतै सामान्य शारीरिक र पाचन क्रियासँग सम्बन्धित भएर पाका मान्छेले भन्नेगर्‍या हो कि ? जस्तोः पेट सामान्य काम नगर्ने, अथार्त कि कब्जियत हुने कि खाएको नपच्ने, गड्याङगुडुङ गरिरहने । त्यसैले भान्छामा जेकुरा पाके पनि पाका मान्छेको नाकनिक सुनिरहनु पर्ने, दिसाशौँच गडबडीको कुरा आइरहने, अब ध्यान दिनु परेन त ? आफन्त वा दौँतरी कसैले यो उमेरमा हेरबिचार पुगेन भनेर चित्तदुखाई गर्दा ‘के हिरा ख्वाउनु ? कुन अमृत पियाउनु ? हाम्लाई भएकै छ’ भनि समस्या खोज्नुभन्दा परिवारका सदस्यले ओठे जवाफ दिनु सुहाउला त ?

होइन, नेपालका बरिष्ठ चिकित्सकका सल्लाह छँदै छ तथा एउटा विशेष रिपोर्ट हार्वाड मेडिकल स्कूलको संवेदनशील पेट भन्नेमा पाका मान्छेमा हुने समस्याको बिस्तृत अध्ययन दिएको छ । उनीहरूको भनाईमा पुरा पाचन प्रणालीसँग मस्तिष्कको समन्वयनै मानिसको जीवनको सहजता र दुर्बलताको द्योतक हो । मस्तिष्कको विकारले पुरा पाचन प्रणाली गडबड हुन्छ र पाचन प्रणालीको गडबडीले मस्तिष्कमा विकार ल्याउँछ । पेट ठिक नहुँदा मानिसमा चिन्ता र तनाव बढ्दैन र दिमागलाई कुनै असर गर्दैन भन्ने कुरा सत्य होइन । पेट र दिमागको अन्तरसम्बन्ध हुन्छ भन्ने तथ्य हँस्यौली पनि होइन, साँच्चै हो । कहाँसम्म भने, पेट बाउँडिने, सुम्ला पर्ने, आन्द्रा बटारिने, घरीघरी दिसाशौँच गर्न मनलाग्ने, आदि कारणहरू पाचन प्रणालीका बिभिन्न अङ्गलाई असर गरिरहेका मनोवैज्ञानिक अनुभूतिहरू रिस, चिन्ता, दुखः, आनन्द र अरु थुप्रै कारणले भइरहेको हुन्छ । ती अनुभूतिहरूले पेट र पुरा पाचन प्रणालीमा विभिन्न जैविक रस उत्पादन वा नियमन गरी उत्तेजित बनाइरहेको हुन्छ ।

पाचन प्रणाली र चिन्ताः
पाचन प्रणालीले सामान्य काम गरिरहँदा कसैले वास्ता गरिरहेको हुन्न, समस्या उब्जेपछि अनि कुराको केन्द्रबिन्दुनै पेट हुन्छ । पेट गडबड हुने, अमिलो पानी आउने, बान्ता हुने, कब्जियत हुने, पखाला लाग्ने, अति अपानबायु छोडिरहनु पर्ने, आदि समस्या देखा पर्दछ । पाका मान्छेमा उमेरिदै जाँदा उमेरमा जस्तो खानाको मात्रा, अङ्गहरूको स्वस्थ्यता र क्षमता नभएर पनि त्यस्तो हुन सक्दछ । तर मुख्य कुरा पाचन प्रणालीको अवस्था र मनोविज्ञानको अन्तरसम्बन्ध नै पाका मान्छेमा देखापर्ने बिभिन्न रोगका कारण बनिरहेको पाइन्छ । दिमागको असर पेट र आन्द्रामा सोझैपरेको पाइन्छ । जस्तोः कुनै मनपर्ने खानेकुरा खाने सोच्नासाथ खाना पुग्नु अघि नै पेटमा पाचन रस निस्कन थालिहाल्छ । कुनै बस्तु खाँदा गडबड भएको पेटले गडबडी भएको पनि दिमागमा सञ्चार गरिसक्छ ।

यसरी दिमाग र पाचन प्रणलीको दोहोरो अति अन्यान्नोश्रित सम्बन्धकै कारणले चिन्ता, तनाव र उन्माद सुरु हुन थाल्छ । त्यसैले त बिना कुनै भौतिक कारण मानसिकरुपले नकारात्मक सोच हुँदा मान्छेका पेटको गडबडी सामान्य भएको पाइन्छ । विभिन्न मनोवैज्ञानिक कारण र चिन्ताले पेट र आन्द्राको गति र कामलाई असर गरिरहेको हुन्छ । त्यसैले त उस्तै भोगाइमा कसैको दिमाग दुखः चिन्तालाई बढि लिनेभई बढि प्रतिक्रिया देखाउँछन् कसैले कम लिनेभई कम । समस्या बढि अनुभूत गर्ने दिमागले समस्या सल्टाउनभन्दा बढाउन मद्दत गर्छ । त्यसैले, पाचन प्रणाली र अङ्गहरू भौतिकरुपले ठिकैरहेको अवस्थामा चिन्ता, तनाव र उन्मादको मनोवैज्ञानिक समेत उपचारले पेटसम्बन्धी गडबडी निको गराउन सकिन्छ ।

चिन्ता र पाचन क्रियाः
शरीरका हरेक आन्तरिक क्रियामा मस्तिष्कको घनिभूत सम्बन्ध रहेको चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ । हाँस्दा र रिसाउँदाको अनुहार, मुटुको चाल, स्वासको गति र हातखुट्टाको कम्पन फरकफरक भएको सबैलाई थाह छ । चिन्तारहित अवस्थामा खानाको रुचाई र स्वाद चिन्तित अवस्थामा भन्दा फरक हुन्छ । किन खुसीमा खान सकेजति दुखःपर्दा वा आफन्त बित्दा खाना खान मनलाग्दैन ? चिन्ता र डरले पेट पोल्ने, बाउँडिने र दिसापिसाब खुस्किने हुन्छ ? सबैकुरा मस्तिष्कको काम हो र त्यसलाई स्नायुको सञ्चार पद्दतीबाट पेटलगायत सबै अङ्गमा नियन्त्रित गर्ने भएर नै हो । फेरि दुखः आनन्दका अनुभूतिका हरेक भावनात्मक कुराका हरेक प्रक्रियाका एकएक अवयवलाई उनीहरू बिचको अन्तरक्रियाले अझै जटिल बनाउन सक्छ ।

हेर्नुहोस् न, कोही कतै केही जानेकै कुरा सामुहिकरुपमा वा जान्नेबुझ्नेका अगाडि भन्नुपर्दा कति लकपकाउँछन् । कतिजना बोल्नै नसक्ने वा भकभकाउने, फिँज काढ्ने गर्छन् भने कतिजना हलुका काम्छन् । त्यतिखेर पेट पोल्ने, हगौँमुतौँ हुने पनि हुनसक्छ । परीक्षा भवन अगाडि पुग्दा कतिपय परीक्षार्थीलाई त्यस्तै समस्या देखिन्छ । निराशा, उन्माद, अशक्त र विभिन्न उमेरजन्य रोग लागेको अति चिन्ता, रुचिमा कमी, मन पिरोलिने बानी, अनिद्रा, आदिले पाका मान्छेमा शरीरका सबै प्रणालीमा गहिरो असर परेकाले पाचन प्रणाली पनि अनियन्त्रित भएको हुन्छ । त्यसैले खानपानदेखि अरु बानीमा निकै परिबर्तन आएको देखिन्छ । फलस्वरुप चलनचल्तीकै खाइआएको खानपान गर्दा पनि विभिन्न समस्याबारेमा पाका मान्छे भनिरहनु हुन्छ ।

थरिथरीका समस्याः
पाका मान्छेका कुरा गनगन वा उमेरिदा यस्तै हो नभनौँ बरु सुनौँ र समस्या कस्तो छ ? किन भएको होला ? साँच्चै खानाको कारण हो कि अरु हो भनि पत्तो लगाउन कोशिस गरौँ । उमेरमाजस्तो शारीरिक श्रम गर्न धेरै नसक्ने भएर कतिपय खाने चिजबिज पहिले मिठो मान्ने, रुच्ने र पचाउनसक्ने अब नहुन सक्छ । पाका मान्छेको त्यस्तो अवस्था भएका वयस्कहरूले हेक्का राख्नु पर्छ र कर गर्ने, ‘हामीलाई त हुन्छ, के भएको ? किन मान्छे पाको भएपछि निहुँ खोजेको होला ?’ जस्तो दुर्बाच्य नसोच्दा र नबोल्दा राम्रो हुन्छ । यस्तो सट्टा बरु पाचन प्रणालीका मुख, जिब्रो, दाँत, घाँटी, अन्ननली, पेट, पक्वाशय, फियो, कलेजो, पित्तथैली, सानो आन्द्रा, ठूला आन्द्रा, मलाशय र मलद्वाारसम्मका अङ्गको अवस्था ठिक छ कि छैन थाहा पाउनु जरुरी हुन्छ ।

सबै अङ्ग दुरुस्त छन् भने मानसिक तनाव, चिन्ता र पिरले उहाँहरूलाई कहाँ कुन अङ्गमा के हुन्छ, याद गर्नुपर्छ । किनकि पाचन प्रणालीको सोझै सम्बन्ध सबै उमेर समुहमा जस्तै पाका मान्छेमा उमेरिएकाले अझ बढि चिन्ताग्रस्त र जटिल भएको हुन सक्छ । स्वाद नपाउने, खाना चपाउँदा जिब्रो, गाला टोकिने, रगत जमेर काला फोका हुने, तातो, चिसो, पिरो अमिलो थाह नपाउने, निल्न गाहारो हुने र हुलुकहुलुक भएर अमिलो पानी आउने हुनसक्छ । जचाउँदा केही खराबी नदेखिने तर किन हुन्छ त उहाँहरूलाई ? सम्भव छ, त्यस्ता पाका मान्छेमा विभिन्न सामाजिक कुराले र पारिवारिक सदस्यहरूका व्यवहार, बोलीचालीले दिमागमा असर गरिरहेको छ । उहाँहरू चिन्तित र निराश हुँदै हुनुहुन्छ र पाचन प्रणलीमा असर गर्ने गरेर प्रभावित हुनुहुन्छ । एक्कासी बान्ता समेत हुन सक्छ, त्यस्तोमा समान्य अम्लपित्त बिरुद्धको औषधिले केहिबेर काम त गर्ला तर समस्या समाधान हुँदैन ।

पाका मान्छेलाई मनोवैज्ञानिक रुपले खुसी पारेर खाना ख्वाएमात्र पाचन क्रिया दुरुस्त हुन्छ । मन नलागि नलागि वयस्कहरूले कर गरेर ख्वाउँदा अपच हुने सम्भावना प्रबल रहन्छ । ‘हामीलाई हुन्छ तपाईँलाई के भएको ?’ जस्ता रुखा कुरा नगर्नुनै बेश हुन्छ । खानाको पाक पुगेको छ कि छैन, नरम र रसिलो छ कि छैन आदि खानपानको अवस्था बिचार गरेरै पाका मान्छेलाई भोजन गराउनु सबैलाई फाइदै हुन्छ । पाचन प्रणाली र अरु जैविक शारीरिक अवस्थाअनुसार बार्नुपर्ने खानेकुरा कारणसहित नखान अनुरोध गर्नुनै परिवारको कल्याण गर्नु हो । सकेसम्म पाचन प्रणाली बिगार्ने कुनै पनि खानेकुराको लसपसनै पाका मान्छेको खानामा नपारी पेट बिग्रने र त्यसपछि उमेरिएकालाई दुख दिने काम नगर्नु कर्तव्य सम्झनु पर्छ ।

उमेरिदै जाँदा शारीरिक क्षमता र श्रमको मात्रा घटेर खाना नै कम खाने हुन्छ । बैँसमा एक कुरुवा चामल झिरिप्प पार्ने मान्छे पनि पाको हुँदा एक चौथाई चामलको भात बुत्याउन गाहारो मान्छन् । कतिपय शारीरिक रोगका कारण पनि धेरै मात्रामा खानेकुरा एकैचोटी खानमा बन्देज हुनसक्छ । उमेरमा तन्कीएका पेट र आन्द्राहरू पाको हुँदा कम खाना र शारीरिक कमजोरीले खुम्चिएका हुन्छन् । अनि फेरि पाको उमेरको अनमेल सामाजिक अवस्थाको बाह्यपिर र उहाँहरूलाई घरपरिवारका सदस्यको अति सुरक्षात्मक चिन्ता, के चाहियो र ? शरीरभरि डाह हुन र छाती पोले जस्तो हुन निहुँ पुगिहाल्यो नि । पाचनरस बिनासित्ती निक्लेर पेटभरीनै पोल्दा कोखा, छाती पोल्नेमात्र होइन हातखुट्टै गलेको अनुभव भइहाल्छ ।

सामान्य परिश्रममा अपानबायु खुस्कनु, हिँड्दा त अझ धाराबाहिक हावा निस्कनु यस उमेरमा स्वभाबिकै हो । दैनिक लघुशङ्का (पिसाब) नियमित भए पनि दीर्घशङ्का (दिसा) दैनिक हुन छोड्ने पनि हुनसक्छ । त्यसरी पहिला कहिल्यै नभएकालाई पनि एक प्रकारको कब्जियत अवस्य हुन्छ । अब दैनिक क्रियाकलापमा कमी आउन थालेपछि के चाहियो ? पाका मान्छेलाई त्यसैले चिन्तित तुल्याउँछ, गतिविधि कुरमानी निराशाले भरिन्छ र असाध्ये भएर उन्माद हुन पनि सक्छ । त्यसैले त सवाल र जबाफ भन्ने लेखमा नैकापे काका (वासुदेव लुइँटेल)ले के गर्दा आनन्द आउँछ भन्ने सवालमा जवाफ दिँदै भन्नुभएको थियो- ‘…मिठो खाएर… चर्पीमा टुक्रुक्क बस्दा…आनन्द लाग्छ ।’ हेर्नोस्त ! जीउ हलुको, फूर्तिलो र मन चङ्गा हुन त पेट खलास हुनुपर्ने त बासुदेव गुरुले २०४१ सालमा नै भनिसक्नु भएको रहेछ । हेक्का रहोस्, उहाँको भनाइमा दिसाशौँचमा ढाडको समस्या छैन भने त टुक्रुक्क बसेर राम्रो रहेछ । आधुनिक उर्गल (कमोठ)मा फिला, तिघ्रा र गोडा जोडिने भएर दिसाशौँच गर्दा कम्मर र नसाको समस्या भएकालाई बल नपुगी खलास नहुन सक्छ ।

केही सामान्य उपायहरूः
चिन्ता र निराशाले पाचन प्रणालीमा गर्ने असर पाका मान्छेलाई फरकफरक हुनसक्छ, त्यसैले उपयुक्त चिकित्सकले फरकफरक औषधि सिफारिस गर्न सक्नुहुन्छ । कसैलाई खासखास बेला र खानामा छाती पोल्ने हुन्छ भने कोही पाका मान्छेलाई सँधैभरी वा हरेक रात अप्ठ्यारो बढ्दै जान्छ । कोही सामान्य समस्यामा पनि बिकरालरुपमा भन्न उत्सुक हुन्छन् र आफूलाई संसारमै नभएको कडा रोग लागेको जस्तो गर्छन् कोही असाध्ये भइसक्दा पनि सामान्य बर्णन गर्छन् । रोग भएको बारेमा जस्ताको त्यस्तै भन्ने गर्दा चिकित्सकलाई समस्याको जरोमा पुग्न सजिलो पर्छ । औषधिमात्र होइन त्यसपछि रोग र मनोवैज्ञानिक कारणको भरथेगसहित एकीकृत उपचार गर्न सप्ठ्यारो भई रोगमुक्त हुन सकिन्छ । मनोवैज्ञानिक उपचार भनेको रोगले गर्दा उत्पन्न हुने सम्बन्धित चिन्ता र तनाव घटाउने हो, मस्तिष्क बिग्रेको पागल भएको होइन है ।

पाचन प्रणालीको अङ्गहरूमा बिग्रह छैन भने सामान्यतया देखिने समस्या भनेको पाचनमा देखिएका समस्या हुन सक्छन् । ती समस्याहरू अल्सर वा क्यान्सर जस्ता समस्या नहुन सक्छन् । त्यसैले समयमा उपयुक्त सरल खानेकुरामा नियमितता दिउँ । खानाको मात्रा धेरै हुँदैमा पाको उमेरमा फाइदा पुग्ने होइन बरु पेट खाली नहुने गरेर, पाचन प्रणालीले नकारात्मक प्रतिक्रिया नदेखाउने र आफूलाई फाप्ने खाना खाने बानी बसालौँ । मिल्छ भने मौसमअनुसारका फलफूल, रेसायुक्त हरिया सागपात शरीरको निर्माण-मर्मतमा काम लाग्ने गेडागुडी र पचाउन सजिलो पर्ने नरम खानामा रुचि बढाऔँ । चलनचल्तीका रासायनिक पदार्थ मिसावट भएका बाजारीया खानेकुरा, शरीर र स्वादमा क्षणिक उत्तेजना ल्याउने गरिष्ट सामग्री त्यागौँ । बरु सकिन्छ भने पहिला नहुने निमुखाले खाने ढिँडो, च्याँख्ला, गहुँका खस्रा रोटी, गहुँकै चिउरा, ढूटे बिस्कुट आदिमा बानी पारौँ ।

गर्न सकिने र मनपरेका काममा समय बिताऔँ, सकेजति शारीरिक श्रम गरौँ, केहि नसके हलुका गतिमा दैनिक हिँडौँ । सामान्य पसिना निक्लने गरेर तथा स्वासप्रस्वास एकछिन बढ्ने व्यायाम गरौँ, अनि पेट खलास नभई सुख पाउला र ? यसप्रकारको दैनिकीले तपाईंको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दै जाला र पाचन प्रणालीले नियमित काम गरेर कब्जियत लगायत पेट सम्बन्धी धेरै रोगले ढिम्किनै पाउने छैन । त्यसो भएमा हाम्रो पाको उमेरले पनि थप सामाजिक योगदान गर्दै आनन्दले अघि बढाउन सकिहालिन्छ नि ।

०००
२०७९ भदौ ३
ल.पु. चालिसेडाँडा

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डटकम अनलाईन, १९जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्तिभए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम अनलाईन, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युज नेपाल डट कम अनलाईन, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम अनलाईन, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका मान्छेको जीवनशैली कस्तो हुनुपर्छ ? मकालुखबर डटकम अनलाईन, १४ अगस्त २०२२, साउन २९, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x