साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेको आनन्द कस्तो हुन्छ ?

खानाको मात्रा धेरै हुँदैमा पाको उमेरमा फाइदा पुग्ने होइन बरु पेट खाली नहुने गरेर, पाचन प्रणालीले नकारात्मक प्रतिक्रिया नदेखाउने र आफूलाई फाप्ने खाना खाने बानी बसालौँ ।

Nepal Telecom ad

पाका मान्छेहरू उमेरिदै जाँदा शारीरिक श्रम कम गर्न थाल्नु स्वभाविकै हो । छ सात दशकदेखि घोटिएको ज्यानले अब त बिस्तारै आराम खोज्छ नि ! निर्जीब भए त प्रयोग नभए वा भइरहे हावापानीको प्रभावमा खिइने, बिग्रने, पहिलेजस्तो राम्रो र काम नलाग्ने हुन्छ । ‘माटाको मट्किलो त अति प्रयोग भए सिद्धिन्छ’ भन्ने उखान त्यसै चलेको होइन होला ! अनि मानिसको ज्यान त जीउँदो छउन्जेल तलमाथि त हुन्छ नि । बेलामा फुर्सद नलिइकन कति काम फाँडे होलान्, परिवारलाई कहाँबाट कहाँ पुर्‍याए होलान् ? फेहरिस्त लगाउने हो भने आजका भर्खरका वयस्कले त ‘होइन होला’ भन्ठान्न पनि सक्छन् । हिजोआज उहाँहरू के गर्नुहुन्छ र के भन्नुहुन्छ फुर्सद मिलाएर सुन्नुहोस् त !

उमेरिदै जाँदा कोही प्राकृतिक वा सिकेको स्वभावकै कारण कम बोल्ने, अँ, हँ, ए मात्र बोलेर र भनेर चित्त बुझाउने होलान् । शुभचिन्तकहरूले यसो मन खोल्ने कोशिस गरौँ त ! कति भवसागर उम्लिरहेको होला उहाँहरूको मनभरी, बाँध फुटे जसरी कति कुरा निस्कन्छन् ! धेरै पाका मान्छे वयस्कलाई अनौठो लाग्ने मसिना कुरामा पनि चिन्तित भएर आफन्तलाई सुनाइरहन ईच्छुक देखिनु हुन्छ । उहाँहरूका कुरा वयस्कहरू तथा हेरबिचारको जिम्बेवारी लिनुपर्नेले गम्भीरतापूर्वक सुन्नै पर्छ ।

सामान्य असाध्य हुन सक्छः
हरेक विषयमा आफूले जानेको भन्ने वा कतिपय चैँ नितान्त आफ्नो समस्यामात्र राखिरहने पाका मान्छे अरुका लागि पनि सहयोगी हुन्छन् । उहाँहरू अरुका क्रियाकलापको निगरानी राख्ने र आफूले जानेको कुरा पनि गरिदिउन् भन्ने सोच्नुहुन्छ । उहाँहरूको कुरा सहानुभूति राखेर सुन्दा पनि उहाँहरूलाई आत्मिक शान्ति भएर आधा समस्या सल्टिन्छ । त्यसपछि भनाईको जड मनोवैज्ञानिक, शारीरिक, उमेरजन्य र रोगव्याध सम्बन्धी भनि छुट्ट्याई गर्नैपर्ने रहेछ भने कार्यान्वयनमा ल्याउन पनि सजिलो हुन्छ । कुरै नसुनिदिँदा र समस्यालाई हलुकासँग लिने परिवार भए त, उहाँहरूलाई मात्र होइन परिवारलाईनै अप्ठ्यारो पर्नसक्छ ! भनेको समस्याले नै पछि साँच्चै असाध्य भई परिवारलाई आर्थिक घाटा र सामाजिक बेइज्जत हुन सक्छ ।

तपाईं वयस्क र किशोरकिशोरीलाई गनगन लाग्ने कुरा कतै सामान्य शारीरिक र पाचन क्रियासँग सम्बन्धित भएर पाका मान्छेले भन्नेगर्‍या हो कि ? जस्तोः पेट सामान्य काम नगर्ने, अथार्त कि कब्जियत हुने कि खाएको नपच्ने, गड्याङगुडुङ गरिरहने । त्यसैले भान्छामा जेकुरा पाके पनि पाका मान्छेको नाकनिक सुनिरहनु पर्ने, दिसाशौँच गडबडीको कुरा आइरहने, अब ध्यान दिनु परेन त ? आफन्त वा दौँतरी कसैले यो उमेरमा हेरबिचार पुगेन भनेर चित्तदुखाई गर्दा ‘के हिरा ख्वाउनु ? कुन अमृत पियाउनु ? हाम्लाई भएकै छ’ भनि समस्या खोज्नुभन्दा परिवारका सदस्यले ओठे जवाफ दिनु सुहाउला त ?

होइन, नेपालका बरिष्ठ चिकित्सकका सल्लाह छँदै छ तथा एउटा विशेष रिपोर्ट हार्वाड मेडिकल स्कूलको संवेदनशील पेट भन्नेमा पाका मान्छेमा हुने समस्याको बिस्तृत अध्ययन दिएको छ । उनीहरूको भनाईमा पुरा पाचन प्रणालीसँग मस्तिष्कको समन्वयनै मानिसको जीवनको सहजता र दुर्बलताको द्योतक हो । मस्तिष्कको विकारले पुरा पाचन प्रणाली गडबड हुन्छ र पाचन प्रणालीको गडबडीले मस्तिष्कमा विकार ल्याउँछ । पेट ठिक नहुँदा मानिसमा चिन्ता र तनाव बढ्दैन र दिमागलाई कुनै असर गर्दैन भन्ने कुरा सत्य होइन । पेट र दिमागको अन्तरसम्बन्ध हुन्छ भन्ने तथ्य हँस्यौली पनि होइन, साँच्चै हो । कहाँसम्म भने, पेट बाउँडिने, सुम्ला पर्ने, आन्द्रा बटारिने, घरीघरी दिसाशौँच गर्न मनलाग्ने, आदि कारणहरू पाचन प्रणालीका बिभिन्न अङ्गलाई असर गरिरहेका मनोवैज्ञानिक अनुभूतिहरू रिस, चिन्ता, दुखः, आनन्द र अरु थुप्रै कारणले भइरहेको हुन्छ । ती अनुभूतिहरूले पेट र पुरा पाचन प्रणालीमा विभिन्न जैविक रस उत्पादन वा नियमन गरी उत्तेजित बनाइरहेको हुन्छ ।

पाचन प्रणाली र चिन्ताः
पाचन प्रणालीले सामान्य काम गरिरहँदा कसैले वास्ता गरिरहेको हुन्न, समस्या उब्जेपछि अनि कुराको केन्द्रबिन्दुनै पेट हुन्छ । पेट गडबड हुने, अमिलो पानी आउने, बान्ता हुने, कब्जियत हुने, पखाला लाग्ने, अति अपानबायु छोडिरहनु पर्ने, आदि समस्या देखा पर्दछ । पाका मान्छेमा उमेरिदै जाँदा उमेरमा जस्तो खानाको मात्रा, अङ्गहरूको स्वस्थ्यता र क्षमता नभएर पनि त्यस्तो हुन सक्दछ । तर मुख्य कुरा पाचन प्रणालीको अवस्था र मनोविज्ञानको अन्तरसम्बन्ध नै पाका मान्छेमा देखापर्ने बिभिन्न रोगका कारण बनिरहेको पाइन्छ । दिमागको असर पेट र आन्द्रामा सोझैपरेको पाइन्छ । जस्तोः कुनै मनपर्ने खानेकुरा खाने सोच्नासाथ खाना पुग्नु अघि नै पेटमा पाचन रस निस्कन थालिहाल्छ । कुनै बस्तु खाँदा गडबड भएको पेटले गडबडी भएको पनि दिमागमा सञ्चार गरिसक्छ ।

यसरी दिमाग र पाचन प्रणलीको दोहोरो अति अन्यान्नोश्रित सम्बन्धकै कारणले चिन्ता, तनाव र उन्माद सुरु हुन थाल्छ । त्यसैले त बिना कुनै भौतिक कारण मानसिकरुपले नकारात्मक सोच हुँदा मान्छेका पेटको गडबडी सामान्य भएको पाइन्छ । विभिन्न मनोवैज्ञानिक कारण र चिन्ताले पेट र आन्द्राको गति र कामलाई असर गरिरहेको हुन्छ । त्यसैले त उस्तै भोगाइमा कसैको दिमाग दुखः चिन्तालाई बढि लिनेभई बढि प्रतिक्रिया देखाउँछन् कसैले कम लिनेभई कम । समस्या बढि अनुभूत गर्ने दिमागले समस्या सल्टाउनभन्दा बढाउन मद्दत गर्छ । त्यसैले, पाचन प्रणाली र अङ्गहरू भौतिकरुपले ठिकैरहेको अवस्थामा चिन्ता, तनाव र उन्मादको मनोवैज्ञानिक समेत उपचारले पेटसम्बन्धी गडबडी निको गराउन सकिन्छ ।

चिन्ता र पाचन क्रियाः
शरीरका हरेक आन्तरिक क्रियामा मस्तिष्कको घनिभूत सम्बन्ध रहेको चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ । हाँस्दा र रिसाउँदाको अनुहार, मुटुको चाल, स्वासको गति र हातखुट्टाको कम्पन फरकफरक भएको सबैलाई थाह छ । चिन्तारहित अवस्थामा खानाको रुचाई र स्वाद चिन्तित अवस्थामा भन्दा फरक हुन्छ । किन खुसीमा खान सकेजति दुखःपर्दा वा आफन्त बित्दा खाना खान मनलाग्दैन ? चिन्ता र डरले पेट पोल्ने, बाउँडिने र दिसापिसाब खुस्किने हुन्छ ? सबैकुरा मस्तिष्कको काम हो र त्यसलाई स्नायुको सञ्चार पद्दतीबाट पेटलगायत सबै अङ्गमा नियन्त्रित गर्ने भएर नै हो । फेरि दुखः आनन्दका अनुभूतिका हरेक भावनात्मक कुराका हरेक प्रक्रियाका एकएक अवयवलाई उनीहरू बिचको अन्तरक्रियाले अझै जटिल बनाउन सक्छ ।

हेर्नुहोस् न, कोही कतै केही जानेकै कुरा सामुहिकरुपमा वा जान्नेबुझ्नेका अगाडि भन्नुपर्दा कति लकपकाउँछन् । कतिजना बोल्नै नसक्ने वा भकभकाउने, फिँज काढ्ने गर्छन् भने कतिजना हलुका काम्छन् । त्यतिखेर पेट पोल्ने, हगौँमुतौँ हुने पनि हुनसक्छ । परीक्षा भवन अगाडि पुग्दा कतिपय परीक्षार्थीलाई त्यस्तै समस्या देखिन्छ । निराशा, उन्माद, अशक्त र विभिन्न उमेरजन्य रोग लागेको अति चिन्ता, रुचिमा कमी, मन पिरोलिने बानी, अनिद्रा, आदिले पाका मान्छेमा शरीरका सबै प्रणालीमा गहिरो असर परेकाले पाचन प्रणाली पनि अनियन्त्रित भएको हुन्छ । त्यसैले खानपानदेखि अरु बानीमा निकै परिबर्तन आएको देखिन्छ । फलस्वरुप चलनचल्तीकै खाइआएको खानपान गर्दा पनि विभिन्न समस्याबारेमा पाका मान्छे भनिरहनु हुन्छ ।

थरिथरीका समस्याः
पाका मान्छेका कुरा गनगन वा उमेरिदा यस्तै हो नभनौँ बरु सुनौँ र समस्या कस्तो छ ? किन भएको होला ? साँच्चै खानाको कारण हो कि अरु हो भनि पत्तो लगाउन कोशिस गरौँ । उमेरमाजस्तो शारीरिक श्रम गर्न धेरै नसक्ने भएर कतिपय खाने चिजबिज पहिले मिठो मान्ने, रुच्ने र पचाउनसक्ने अब नहुन सक्छ । पाका मान्छेको त्यस्तो अवस्था भएका वयस्कहरूले हेक्का राख्नु पर्छ र कर गर्ने, ‘हामीलाई त हुन्छ, के भएको ? किन मान्छे पाको भएपछि निहुँ खोजेको होला ?’ जस्तो दुर्बाच्य नसोच्दा र नबोल्दा राम्रो हुन्छ । यस्तो सट्टा बरु पाचन प्रणालीका मुख, जिब्रो, दाँत, घाँटी, अन्ननली, पेट, पक्वाशय, फियो, कलेजो, पित्तथैली, सानो आन्द्रा, ठूला आन्द्रा, मलाशय र मलद्वाारसम्मका अङ्गको अवस्था ठिक छ कि छैन थाहा पाउनु जरुरी हुन्छ ।

सबै अङ्ग दुरुस्त छन् भने मानसिक तनाव, चिन्ता र पिरले उहाँहरूलाई कहाँ कुन अङ्गमा के हुन्छ, याद गर्नुपर्छ । किनकि पाचन प्रणालीको सोझै सम्बन्ध सबै उमेर समुहमा जस्तै पाका मान्छेमा उमेरिएकाले अझ बढि चिन्ताग्रस्त र जटिल भएको हुन सक्छ । स्वाद नपाउने, खाना चपाउँदा जिब्रो, गाला टोकिने, रगत जमेर काला फोका हुने, तातो, चिसो, पिरो अमिलो थाह नपाउने, निल्न गाहारो हुने र हुलुकहुलुक भएर अमिलो पानी आउने हुनसक्छ । जचाउँदा केही खराबी नदेखिने तर किन हुन्छ त उहाँहरूलाई ? सम्भव छ, त्यस्ता पाका मान्छेमा विभिन्न सामाजिक कुराले र पारिवारिक सदस्यहरूका व्यवहार, बोलीचालीले दिमागमा असर गरिरहेको छ । उहाँहरू चिन्तित र निराश हुँदै हुनुहुन्छ र पाचन प्रणलीमा असर गर्ने गरेर प्रभावित हुनुहुन्छ । एक्कासी बान्ता समेत हुन सक्छ, त्यस्तोमा समान्य अम्लपित्त बिरुद्धको औषधिले केहिबेर काम त गर्ला तर समस्या समाधान हुँदैन ।

पाका मान्छेलाई मनोवैज्ञानिक रुपले खुसी पारेर खाना ख्वाएमात्र पाचन क्रिया दुरुस्त हुन्छ । मन नलागि नलागि वयस्कहरूले कर गरेर ख्वाउँदा अपच हुने सम्भावना प्रबल रहन्छ । ‘हामीलाई हुन्छ तपाईँलाई के भएको ?’ जस्ता रुखा कुरा नगर्नुनै बेश हुन्छ । खानाको पाक पुगेको छ कि छैन, नरम र रसिलो छ कि छैन आदि खानपानको अवस्था बिचार गरेरै पाका मान्छेलाई भोजन गराउनु सबैलाई फाइदै हुन्छ । पाचन प्रणाली र अरु जैविक शारीरिक अवस्थाअनुसार बार्नुपर्ने खानेकुरा कारणसहित नखान अनुरोध गर्नुनै परिवारको कल्याण गर्नु हो । सकेसम्म पाचन प्रणाली बिगार्ने कुनै पनि खानेकुराको लसपसनै पाका मान्छेको खानामा नपारी पेट बिग्रने र त्यसपछि उमेरिएकालाई दुख दिने काम नगर्नु कर्तव्य सम्झनु पर्छ ।

उमेरिदै जाँदा शारीरिक क्षमता र श्रमको मात्रा घटेर खाना नै कम खाने हुन्छ । बैँसमा एक कुरुवा चामल झिरिप्प पार्ने मान्छे पनि पाको हुँदा एक चौथाई चामलको भात बुत्याउन गाहारो मान्छन् । कतिपय शारीरिक रोगका कारण पनि धेरै मात्रामा खानेकुरा एकैचोटी खानमा बन्देज हुनसक्छ । उमेरमा तन्कीएका पेट र आन्द्राहरू पाको हुँदा कम खाना र शारीरिक कमजोरीले खुम्चिएका हुन्छन् । अनि फेरि पाको उमेरको अनमेल सामाजिक अवस्थाको बाह्यपिर र उहाँहरूलाई घरपरिवारका सदस्यको अति सुरक्षात्मक चिन्ता, के चाहियो र ? शरीरभरि डाह हुन र छाती पोले जस्तो हुन निहुँ पुगिहाल्यो नि । पाचनरस बिनासित्ती निक्लेर पेटभरीनै पोल्दा कोखा, छाती पोल्नेमात्र होइन हातखुट्टै गलेको अनुभव भइहाल्छ ।

सामान्य परिश्रममा अपानबायु खुस्कनु, हिँड्दा त अझ धाराबाहिक हावा निस्कनु यस उमेरमा स्वभाबिकै हो । दैनिक लघुशङ्का (पिसाब) नियमित भए पनि दीर्घशङ्का (दिसा) दैनिक हुन छोड्ने पनि हुनसक्छ । त्यसरी पहिला कहिल्यै नभएकालाई पनि एक प्रकारको कब्जियत अवस्य हुन्छ । अब दैनिक क्रियाकलापमा कमी आउन थालेपछि के चाहियो ? पाका मान्छेलाई त्यसैले चिन्तित तुल्याउँछ, गतिविधि कुरमानी निराशाले भरिन्छ र असाध्ये भएर उन्माद हुन पनि सक्छ । त्यसैले त सवाल र जबाफ भन्ने लेखमा नैकापे काका (वासुदेव लुइँटेल)ले के गर्दा आनन्द आउँछ भन्ने सवालमा जवाफ दिँदै भन्नुभएको थियो- ‘…मिठो खाएर… चर्पीमा टुक्रुक्क बस्दा…आनन्द लाग्छ ।’ हेर्नोस्त ! जीउ हलुको, फूर्तिलो र मन चङ्गा हुन त पेट खलास हुनुपर्ने त बासुदेव गुरुले २०४१ सालमा नै भनिसक्नु भएको रहेछ । हेक्का रहोस्, उहाँको भनाइमा दिसाशौँचमा ढाडको समस्या छैन भने त टुक्रुक्क बसेर राम्रो रहेछ । आधुनिक उर्गल (कमोठ)मा फिला, तिघ्रा र गोडा जोडिने भएर दिसाशौँच गर्दा कम्मर र नसाको समस्या भएकालाई बल नपुगी खलास नहुन सक्छ ।

केही सामान्य उपायहरूः
चिन्ता र निराशाले पाचन प्रणालीमा गर्ने असर पाका मान्छेलाई फरकफरक हुनसक्छ, त्यसैले उपयुक्त चिकित्सकले फरकफरक औषधि सिफारिस गर्न सक्नुहुन्छ । कसैलाई खासखास बेला र खानामा छाती पोल्ने हुन्छ भने कोही पाका मान्छेलाई सँधैभरी वा हरेक रात अप्ठ्यारो बढ्दै जान्छ । कोही सामान्य समस्यामा पनि बिकरालरुपमा भन्न उत्सुक हुन्छन् र आफूलाई संसारमै नभएको कडा रोग लागेको जस्तो गर्छन् कोही असाध्ये भइसक्दा पनि सामान्य बर्णन गर्छन् । रोग भएको बारेमा जस्ताको त्यस्तै भन्ने गर्दा चिकित्सकलाई समस्याको जरोमा पुग्न सजिलो पर्छ । औषधिमात्र होइन त्यसपछि रोग र मनोवैज्ञानिक कारणको भरथेगसहित एकीकृत उपचार गर्न सप्ठ्यारो भई रोगमुक्त हुन सकिन्छ । मनोवैज्ञानिक उपचार भनेको रोगले गर्दा उत्पन्न हुने सम्बन्धित चिन्ता र तनाव घटाउने हो, मस्तिष्क बिग्रेको पागल भएको होइन है ।

पाचन प्रणालीको अङ्गहरूमा बिग्रह छैन भने सामान्यतया देखिने समस्या भनेको पाचनमा देखिएका समस्या हुन सक्छन् । ती समस्याहरू अल्सर वा क्यान्सर जस्ता समस्या नहुन सक्छन् । त्यसैले समयमा उपयुक्त सरल खानेकुरामा नियमितता दिउँ । खानाको मात्रा धेरै हुँदैमा पाको उमेरमा फाइदा पुग्ने होइन बरु पेट खाली नहुने गरेर, पाचन प्रणालीले नकारात्मक प्रतिक्रिया नदेखाउने र आफूलाई फाप्ने खाना खाने बानी बसालौँ । मिल्छ भने मौसमअनुसारका फलफूल, रेसायुक्त हरिया सागपात शरीरको निर्माण-मर्मतमा काम लाग्ने गेडागुडी र पचाउन सजिलो पर्ने नरम खानामा रुचि बढाऔँ । चलनचल्तीका रासायनिक पदार्थ मिसावट भएका बाजारीया खानेकुरा, शरीर र स्वादमा क्षणिक उत्तेजना ल्याउने गरिष्ट सामग्री त्यागौँ । बरु सकिन्छ भने पहिला नहुने निमुखाले खाने ढिँडो, च्याँख्ला, गहुँका खस्रा रोटी, गहुँकै चिउरा, ढूटे बिस्कुट आदिमा बानी पारौँ ।

गर्न सकिने र मनपरेका काममा समय बिताऔँ, सकेजति शारीरिक श्रम गरौँ, केहि नसके हलुका गतिमा दैनिक हिँडौँ । सामान्य पसिना निक्लने गरेर तथा स्वासप्रस्वास एकछिन बढ्ने व्यायाम गरौँ, अनि पेट खलास नभई सुख पाउला र ? यसप्रकारको दैनिकीले तपाईंको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दै जाला र पाचन प्रणालीले नियमित काम गरेर कब्जियत लगायत पेट सम्बन्धी धेरै रोगले ढिम्किनै पाउने छैन । त्यसो भएमा हाम्रो पाको उमेरले पनि थप सामाजिक योगदान गर्दै आनन्दले अघि बढाउन सकिहालिन्छ नि ।

०००
२०७९ भदौ ३
ल.पु. चालिसेडाँडा

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डटकम अनलाईन, १९जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्तिभए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम अनलाईन, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युज नेपाल डट कम अनलाईन, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम अनलाईन, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका मान्छेको जीवनशैली कस्तो हुनुपर्छ ? मकालुखबर डटकम अनलाईन, १४ अगस्त २०२२, साउन २९, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x