हाेमनाथ घिमिरेमान्छे आलु भयो !
मान्छे आलु भयो र आलु न जन हो, दोधार धेरै बढ्यो यस्तो बीज छरेर हुन्न गतिलो, दुर्गन्ध साह्रै सढ्यो ।

ए ! ए ! ए ! पख है भएन गतिलो रोपेर फल्दैन है
यस्तो बीज सधैँ खनेर बतिलो भण्डार भर्दैन है
सारा छिद्र छ अनेक प्वाल यसमा के हुन्छ खै उब्जनी
फेर्नै पर्दछ बीउ हेर जनता जानेर आँफै पनि ।
बाँझो खेत खन्यो कठोर श्रमले आशा जगाईकन
राम्रो बीज भन्यो सदैव छल यो विश्वास खै सज्जन
साह्रै भो अबता अझै छ गुनिलो भन्दैछ नेता तर
यस्तो दुःख गरेर हुन्न कतिलो मैले भनौँ के वर ।
भन्छन् उन्नत रे अझै गुण सबै छन् पोसिलो खानमा
ठान्छन् अब्बल रे सधैँ छ रसिलो पौष्टिकता झन् त्यहाँ
भो भो भो अबता विचार नगरी रोप्नै भएनन् बरु
बाँझो होस् धरती तथापि यसरी के काम गर्ने अरू ।
खायो है मलखाद नित्य यसले, लाग्यो किरा झन् कति
फाल्नै पर्दछ रोग लाग्छ ननिको, छन् खर्च त्यो ओखती
पानी बादल होस् झरी समयमा, गाह्रो खडेरी भयो
हाम्रो लागि हुँदैन बीज अब यो, खोज्नैछ राम्रो छ जो ।
हाम्रा स्वेद सदैव रक्त पसिना, सोसेर खायो कति
हाम्रा आस सदैव ढल्छ सपना, झोसेर आगो जति
मान्छे आलु भयो र आलु न जन हो, दोधार धेरै बढ्यो
यस्तो बीज छरेर हुन्न गतिलो, दुर्गन्ध साह्रै सढ्यो ।
भरतपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest








































