साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदरणीय साथी

मेरो सानो स्वरले बोलाएको ऊ सुन्दैन बिग्रिएको रेडियोले झैँ भाषण गर्छ जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ भुक्छ, लुक्छ, ढुक्छ अनि बादशाहको नयाँ लुगा लगाएर सर्वाङ्ग नाङ्गै हुन्छ ।

Nepal Telecom ad

हेम अधिकारी

मेरो साह्रै आदरणीय साथी छ
म उसलाई असाध्यै आदर गर्छु
तर ऊ धेरै माथि छ
म धेरै तल छु
अचेल भेट्न सक्तिन
तर, नभेटे पनि
म आदर गरिरहन्छु
बदलामा
ऊ भने मलाई मज्जैले घृणा गरिरहन्छ ।

ऊ र म पहिले उस्तै थियौँ
मैले खाँदा ऊ पनि खान्थ्यो
उसले खाँदा म पनि खान्थेँ
म भोकै हुँदा ऊ पनि भोकै
ऊ भोकै हुँदा म पनि भोकै
कस्तो आत्मीयता !
उतिबेला हामी
दुईज्यान एक मन थियौँ ।

आहिले भने फरक छ ऊ र ममा
ऊ मेरो मान्यवर भएको छ
म भने भुइँ मान्छे
बगुन्द्र भुइँमान्छेहरूका भीडमै छु
त्यसैले सँगै कुम जोडाएर बस्ता पनि
अहिले ऊ र म धेरै टाडा हुन्छौँ ।
पहिले साथी थियौँ
एक अर्कामा साथ थियो
सुख सुखै बाँड्थ्यौँ, दुःख दुःखै बाँड्थ्यौँ ।

अहिले ऊ मेरो मान्यवर भएको छ
ऊ अग्लो चुचुरो
म उसलाई टाडैबाट देख्छु
नामी छ, मानी छ
म उसलाई जहिल्यै चिन्छु
फरक यत्ति मात्र हो
ऊ मलाई देख्तैदेख्तैन
ऊ मलाई चिन्दैचिन्दैन
कहिलेदेखि हो कुन्नि थाहा छैन, चिन्न छाडेको
टेडा आँखाले हेर्छ मात्र
अग्लाइसँगै उसको सङ्गत अन्तै भएको छ
मैले खाने उसलाई रुच्तैरुच्तैन
उसले खाने म पाउँदैपाउँदिन
पहिले उस्तै भएका
हाम्रा जिउडाल अहिले फरक छन् ।

नितान्त फरक
ऊ भ्रष्टाचार गर्दैगर्दैन
पहिले हाम्रा श्रीमती सँगै भारोपर्म गर्थें
सँगै घाँस दाउरा गर्थें
अहिले
मेरी श्रीमती घरको उही पुरानो चुलोमा गोबर लोटाउँछिन्
फरक यत्ति हो
उसकी श्रीमती देशको ढुकुटीमा
हिरामोतीका डल्ला लोटाउँछिन् ।

हिजोआज
मैले लाएका लुगा उसलाई घिन लाग्छ
फरक यत्तिमात्र हो
उसले लाएका लुगा लाउँ भने
मलाई तिर्नै नसक्ने रिन लाग्छ,
त्यसैले ऊ मेरो आदरणीय भएको छ
उसको बढुवा भयो
र साथीबाट आदरणीय भयो
म भने स्थायी पसिनाबहादुर भैरहेँ
म पसिना तर्तरी बगाउँछु
कहिले भोकै बस्छु र कहिले अघाउँछु
ऊ तिनै पसिना असाध्यै
मिठो मान्छ र डम्म भैरहन्छ ।
फरक यत्तिमात्र हो
ऊ र म सँगै हुँदा झैँ
मेरा हातभरि ठेला छन्
उसका हातलाई वसन्त आएको छ ।

हिजोआज
झुक्किएर पनि ऊ मसँग हात मिलाउँदैन
किनभने उसलाई मेरा हात छुनै घिन लाग्छ ।
अहिले हाम्रो कामदाम फरक भएको छ
म ठेलाका बुट्टादार हातका चोर औँलाको डिलले
बेपर्वाह भुल्भुलाइरहेका
तुरुर्र, तप्पतप्प चिउँडो र कुइनाबाट झरिरहेका
पसिना सोहोरिरहन्छु
ऊ भने आमाको मुटुकलेजो चोरिरन्छ ।
म पेट भर्नलाई किटको कराहीमा खट्टे भुट्ने गर्छु
फरक यत्ति हो
ऊ भने दाउ पारी पारी आमाको थैली धुत्ने गर्छ ।

मेरो पूर्वसाथीका कान सारै ठुला छन्
हात्तीका भन्दा ठुला
मेरो सानो स्वरले बोलाएको ऊ सुन्दैन
बिग्रिएको रेडियोले झैँ भाषण गर्छ
जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ
भुक्छ, लुक्छ, ढुक्छ
अनि बादशाहको नयाँ लुगा लगाएर
सर्वाङ्ग नाङ्गै हुन्छ ।
अनि
अहिले ऊ
मजस्ता जनताको मान्छे ।

०००
२०८०।०१।२०
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x