जन-निनाद
जनमन अब झन्डा, क्रान्तिको भार बोक्न । रुचिकर त्यति छैनन्, भाट भै खोक्न जोख्न ॥ शहिद पथ भुलेका हुस्सु छाडा र काँडा । अब पनि कति बन्छौ दुष्ट हो देशभाँडा ॥
बद्रीप्रसाद दाहाल :
लचक लचक बन्द्यौ, फुस्किनै हुन्न फेटा ।
लचक लचक बन्द्यौ, ठुस्किनै हुन्न जेता ॥
लचक लचक बन्द्यौ, भत्किनै हुन्न भर्ता ।
कचमच अब छोड्द्यौ, गच्किनै हुन्न कर्ता ॥१॥
जनमन अब झन्डा, क्रान्तिको भार बोक्न ।
रुचिकर त्यति छैनन्, भाट भै खोक्न जोख्न ॥
शहिद पथ भुलेका हुस्सु छाडा र काँडा ।
अब पनि कति बन्छौ दुष्ट हो देशभाँडा ॥ २॥
पटक पटक क्रान्ति, मात्रा फुस्सा — फट्याइँ ।
झटपट गठ गर्दै, लिन्छ मस्ती रजाइँ ॥
कति दिन रगडामा, श्वान — मार्जार बन्ने ?
तल सुतल खसेका कंश को हुन्छ गन्ने ? ॥ ३॥
खलबल छल धेरै, काण्डका हौ प्रकाण्ड ।
कलमल अब गोडी, वज्र बन्दैछ दण्ड ॥
गति मति सब भत्की, मृत्युमा छन् विचार ।
जनमन अब भन्छन् बाघ गोही घिसार ॥ ४॥
०००
धादिङ