नारायण भट्टराईहिजो र आजका भानुभक्तहरु
आजका भानुभक्तहरु आफू मोटाएर अरुको दुर्दशामा आफ्नो सफलताको कथा लेख्दछन् । हिजोका भानुहरु ज्ञानको पुञ्ज बनेर उदाएका थिए आजका भानुहरु आत्मरतिकाे सिरानीमा निदाएका छन् ।

नारायण भट्टराई :
हिजोका भानुभक्तहरु
समाजका दियो थिए, परिवर्तनका मियो थिए
उनीहरुसँग प्रेरणा थियो, आस्था र विश्वास थियो
उनीहरु घाँसी थिए, तर कुवा खनाउँथे
किनकी, किनकी
उनीहरुलाई आफ्नो तिर्खा मात्र प्यारो थिएन।
आजका भानुभक्तहरु,
देखाउनलाई लेख्छन्
आफूलाई देखाउँछन् तर
अरुलाई देख्दैनन्
आजका भाइरल भानुभक्तहरु
माला, खादा र मोटो खल्तीमा बिक्छन्
ज्ञान, साधना र समर्पणको
स्वर्णिम संसारमा अहंकार,
विकृति र विसङ्गतिको महामारी
सल्काउन उद्दत छन्
ती भाइरस भानुभक्तहरु
हिजोका भानुभक्तहरु समर्पणका प्रतिमूर्ति थिए ।
आजका भानुभक्तहरु संकीर्णताका सारथी भएका छन् ।
हिजोका भानुभक्तहरु आफूलाई मेटाएर
अरुको अनुहारको मुस्कानमा आफ्नो खुशी देख्दथे
आजका भानुभक्तहरु
आफू मोटाएर अरुको दुर्दशामा
आफ्नो सफलताको कथा लेख्दछन् ।
हिजोका भानुहरु ज्ञानको पुञ्ज बनेर उदाएका थिए
आजका भानुहरु आत्मरतिकाे सिरानीमा निदाएका छन् ।
हिजोका भानु सन्त थिए, सिर्जनाका भक्त थिए
आजका भानु नेता छन्, अहङ्कारका अद्वेता छन् ।
०००
हाल, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































