शम्भु गजुरेलअन्धभक्त र ताली
हत्यामा लुटमा र कालकुटमा छन् मस्त भोगी यहाँ बेच्दै धर्म कमाउने मनुजका छन् भक्त चौपालमा चोखो स्वेद बगाउँदै बिरहको गाना सधैं गाउँछ जिब्रो मस्त चलाउने असुरले ताली सधैं पाउँछ ।

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’ :
छैटौं पल्ट प्रधान यो मुलुकको खोज्छन् यहाँ लम्पट
गुट्खा पान बहार आज मगही ठान्छन् स्वयं झम्पट
तारे होटलका धनी हुनपुगे उद्योग लिङ्गेश्वर
चिम्टा थाल बजाउने भजकका ती हुन् महा ईश्वर ।
बा ओ ले गिरिबन्धुका शहरमा छाप्रो बनाए अरे
छाप्रोमा सुनको विशाल प्रतिमा आफ्नै ठड्याए अरे
च्याँसेबाट बढेर आज गज झैँ मोटो छ रे जिन्दगी
सारा वैभवका निमित्त जनता राख्या अरे बन्धकी ।
छन् गान्टे कदका र मान रसका खाए मिठो मोदक
ल्याए ऋष्य पतञ्जली शहरमा कुम्ल्याउँदै पोषक
जल्थे रे अपमानको तपनमा जोडी बनाईकन
लाखौंलाख दिए जमानत अरे धोएर चोखो हुन ।
बोकी बन्दुक एक मास्टर हिँडे संसार सच्याउन
सच्याए परिवार आज पथमा छन् द्रव्य उग्राउन
दागैदाग छ देहमा विफरको निष्पक्ष हेर्यो भने
टल्केको हिँउका समान प्रभुजी भन्छन् यहाँ भक्तले।
पाए चाल विशाल दम्भ दहको निस्के अनेकौं रथ
त्यो भष्मासुरको अभेध्य पुरमा चम्के भुरे नारद
आफ्नै लालच तृप्ति खातिर बने ती अल्प थानापति
मोटा हाड पचेन रे उदरको चल्दैछ रे छट्पटी ।
एकै बोतलको पिएर मदिरा झुम्थे जहाँ बादशा
कोही घुस्न नपाउने महलमा निम्त्याइए लाल झा
जो जो अंश लिने थिए सबजना मुर्दा भए घाटमा
बाँच्नेको मनमा छ भोग्छु दुनियाँ ऐश्वर्यको साथमा ।
हत्यामा लुटमा र कालकुटमा छन् मस्त भोगी यहाँ
बेच्दै धर्म कमाउने मनुजका छन् भक्त चौपालमा
चोखो स्वेद बगाउँदै बिरहको गाना सधैं गाउँछ
जिब्रो मस्त चलाउने असुरले ताली सधैं पाउँछ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































