हेम अधिकारीनाथे जिन्दगी
घरबार बिहिन, थातथलो नभएका, गाँसबास नपाएका हतभागी देखिस् ? कत्रा आँखा अचम्म ! दिख्ने पनि देखिस् कि नदेख्ने देखिस् के के न गरेँ भन्छस् खालै सारिछस् नाथे जिन्दगी !

हेम अधिकारी :
खुबै घमण्ड गर्थिस्
के के न गर्छु भन्थिस्
यो त्यो, यता त्यता, उता, कता कता
के के न लछारेँ भन्थिस्
नापिछस्
एउटा घर नामको क्वान्द्रोभित्र
कुकुल्ढुक
नाथे जिन्दगी !
कत्रा गफ ! कत्रा कुरा ! ह्याँ र त्याँ
सोह्र अठार घण्टा खटेको ध्वाँस पिट्थिस्
यति कमाएँ, उति कमाएँ
यत्रो पद, उत्रो पद
कति कति प्रतिष्ठा
सम्मान, पगरी र पुरस्कारका हण्डा
अनेक जितका नानाथरीका फण्डा
खालै सारिछस्
एउटा कृत्रिम कोठरीको भरोसामा
कैदी, लुखुरे,
इस्
नाथे जिन्दगी !
शिक्षाको रवाफ
हसुरेको कवाफका गफ
संसार जित्ने मात लागेका हाँक
लुरुक्क भर पर्ने त आखिर
त्यही रहेछ छाक ।
गाई, भैंसी, पानी, पँधेरोभन्दा
घरगोठ, लेकबेँसी, हलो कोदालोभन्दा
उच्चता प्राप्तिको फुईँ
यी सबै देखियो आज ताईँ न तुईँ
डङ्ग्रङ्ग, थामिईस् भुईँ
लछारिस्
नाथे जिन्दगी !
ए जिन्दगी !
संसार हल्लाउँदै थर्काउँदै
यो मात्रै होइन
अर्को धरती पनि जित्ने ख्वाब
खै
दिन गन्न बाध्य
त्यत्रो अहंकार खोइ आज ?
त्रासको ओडारभित्र बसेर
जीवनको भिखारी
त्यो पनि
रुन्चेपिन्चे स्वरमा
थुईक्क
नाथे जिन्दगी !
बडा बडा घर, बाटा, सडक चोक
के के देखिस् देखिस्
तर
तर के ती पानी चुहिने, खोरोपहिरोबाट आत्तिरहेका
झुपडी देखिस् !
धनीमानी, ठूलाबडा कस्ताकस्ता देखिस् देखिस्
तर
घरबार बिहिन, थातथलो नभएका, गाँसबास नपाएका
हतभागी देखिस् ?
कत्रा आँखा अचम्म !
दिख्ने पनि देखिस् कि नदेख्ने देखिस्
के के न गरेँ भन्छस्
खालै सारिछस्
नाथे जिन्दगी !
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































