साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानी, पाहुना, प्रदूषण

Nepal Telecom ad

हिजोआजको उखरमाउलो गर्मी । घरनजिकैको फोहोर थुपार्ने कन्टेनर । परिवारैलाई उचालेर घरबाहिर पुर्याउलान् जस्तो लामखुट्टेको हुल । धैर्यको धनु कर्याक्कै भाँच्चिने बजारभाउ । सस्यानो दुगुरे जागिर । आङै जिरिङ्ग हुने बच्चाहरूको स्कुलफिस ।
एकपछि अर्को गर्दै हप्तौँ दिनसम्म आउने पाहुनाको आगमन र प्रस्थान । दाम कमाउन दोहा जानेदेखि लाख कमाउन अरब जानेसम्मको ट्रान्जिट पोएन्ट । बिरामी भएर सहरमा जचाउन आउनेदेखि बहराइनबाट बिरामी भएर फर्केकासम्मको तङ्ग्रिने ठाउँ । अदालतमा मुद्दा लड्न आउनेहरूको धावनकेन्द्र । नयाँ मन्त्रीसँग जागिरका लागि निवेदन गर्न धाउनेहरूको बिसौनी ।
टुकुचाबाट रासका रास दुर्गन्ध बोकेर आउने अत्यासलाग्दो हावाको भारी बिसाउने ठाउँ । माकुरा, कमिला, साङ्ला, ढिकीच्याउँ, माउसुलीलगायत ज्ञातअज्ञात किराभुसुनाहरूको सर्वपक्ष्ँीय आमसभास्थल । झिँगा, लामखुट्टे, उडुस र उपियाँहरूको प्रजननकेन्द्र ।
उपर्युक्तानुसारका सबै सजीव एवं निर्जीव तत्वहरूका माझमा म, मेरी पत्नी र हाम्रा दुई छोराछोरीसमेत अटाएर बस्नुपर्ने कस्तो विचित्रको पर्यावरणीय परिवेशमा छ त मेरो डेरा, मेरी आम्मै हो !
पानी नि पानी ? मेलम्चीआगमनको उदेक र हाँसोलाग्दो प्रतीक्षा । ढुङ्गेधारामा घण्टौँ घण्टाको लाइन । ट्याङ्करमा ठेलाठेल, बाझाबाझ, हात हालाहाल इत्यादि । चौबीस घण्टामध्ये बीस घण्टा हाम्रो एउटै चिन्ता पानी, पानी र पानी । प्रायः मान्छेहरूको प्रमुख चिन्ता पैसा, हाम्रो चाहिँ पहिलो चिन्ता पानी, दोस्रो पाहुना, तेस्रो लामखुट्टे, चौथो दुर्गन्ध, पाँचौँ… । पैसा त छँदै छैन, चिन्ता हुने कुरै भएन ।
यी सबै समस्यामा थप समस्या गर्मी, पसिना, मैलो, धुलो, धुवाँको अवस्था छ यस्तो, पानीको अवस्था छ त्यस्तो । धन्य यस घरमा अहिलेसम्म कसैले आत्महत्या गरिहालेको छैन ।
बरु मैले नै एकदुईपटक आत्महत्या गर्नेबारे विचार नगरेको होइन । तर सम्झेँ म नभएपछि ढुङ्गेधाराबाट पानी कसले ओसार्ला ? बालाजुको बाइसधारासम्म गएर सिरकका खोल कसले धोला ? बसपार्कसम्म गएर पाहुनाहरूलाई कसले यो डेरासम्म ल्याइदेला ? केटाकेटीको होमवर्क कसले गरिदेला ? टुकुचाको गन्ध कसले सुँघ्ला ? महँगीसँग कसले कुस्ती खेल्ला ? यिनै प्रश्न र चिन्ताहरूले मलाई आत्महत्या गर्न दिएनन् ।
मैले आत्महत्या गर्ने सम्बन्धमा अन्तिमपटक विचार गरेका दिन बरु मेरी श्रीमतीले झन्डै मलाई विधुर बनाएकी । उनकै माइतीतिरका प्रख्यात पुरोहित पीताम्बर प्याकुरेल पाहुना लाग्न आए त्यो दिन । बेल्काबेल्का कहिल्यै भात नखाने, फलार मात्र ज्युनार गर्ने अप्ठ्यारा पाहुना ।
साँझपख मैले सोधेँ– “के खानुहुन्छ गुरु ?”
उनले भने– “केही नखाने बा, आज मेरो व्रत छ । बाबुहरू खानुहोस् ।”
ढुक्कको सास फर्दै मैले एस्सो ढोँङ गरिटोपलेँ– “केही न केही त खानुपर्ला नि गुरु ?”
लामो लेघ्रो तान्दै गुरु बोले– “नखाँदै पनि हुने हो । बाबुले जिद्दी नै गर्नुभो । एसो एकदुई टुक्रा गाँजर, एक चिरा काँक्रो भए हुन्छ बाबु । ओलन त होला नि छोरी ? ओलन भनेको दूध क्या ! दूधचाहिँ आजसम्म टुटाएको छैन ।”
दूध किन्न नसकेर भने पनि हुन्छ, हामीले फिक्का चिया खाने बानी नै बसालिसकेका थियौँ । दाल, भात, तरकारी सबैथोक बचाइदिने पाहुनालाई एक पाउन्ड दूध कुन ठूलो कुरो भो त भनेर म दूध किन्न जानै लाग्दा गुरुले निर्देशात्मक स्वरमा भने– “एकाध किलो आँप र आधा दर्जन जति केराचाहिँ ल्याइराखौँ है ज्वाइँ बाबु । मालभोग है बाबु । जागिरमा मालअड्डा, आँपमा मालदह, केरामा मालभोग भन्छन् ।”
म गोजी छाम्न थालेँ । गुरुले अर्को फर्माइस गरे– “ज्वाइँबाबुले बिहान ल्याएको दही अलि अमिलो परेछ । राम्ररी हेरेर अलि गुलियो दही एक लिटर भयो भने र रह्यो भने बिहानलाई पनि काम लाग्छ । बेलुका धेरै खान पनि हुँदैन । पेटलाई आराम चाहिन्छ । पाइयो भने गोडा दुएक रसवरी र एकदुई गेडा स्याउ ल्याऊ, अर्थोक पर्दैन । यति भए रात जसोतसो काटिन्छ ।”
पुरेतबाको कुरा सुनेर अघिदेखि एकोहोरो भएर ट्वाँ परिरहेकी मेरी श्रीमती अचानक मूर्छा परेर डङ्ग्रङ्ङ भुईँमा लडिन् । पुरेतबाले ‘राम–राम–राम’ भन्दै छेउको एक बाल्टी पानी खन्याएर उनलाई ब्युँझाए । ब्युँझिएर हेर्दा चारघण्टा लाइन लागेर ल्याएको पानी स्वाहा भएको देखेर उनी फेरि मूर्छा परिन् ।

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x