साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कान

Nepal Telecom ad

सिस्नुपानी कार्यालयमा बसेर कनिकुथी हास्यव्यंग्य कोर्दै थिएँ, अध्यक्ष चट्याङमास्टर आएर एकैचोटि चड्किए– ‘ओ सर, खै तिम्रो कान ?’ काग र कानको कथा कण्ठै थियो । कान नछामी कागको पछाडि नकुद्नु भन्ने अल्पज्ञान भएकोले लेखिरहेकै शुरमा जवाफ पर्काएँ– ‘मेरा कान, कपाल र घाँटीको बीचमा दुवैतिर उड्न आँटेको जहाजको पखेटाजस्तो ठडिइरहेका छन, महाशय !’ 
मलाई विश्वास थियो, मेरो कान ठीक ठाउँमै छन् । कागले लैजाने प्रश्न नै आउँदैन । ‘हैन, साँच्चै भन्दैछु, खै भनेको कान ?’ चट्याङमास्टरको आवाजको लय अति मन्द गतिको थियो । यसमा ‘केही कुछ’को गन्ध भएको मैले पाएँ साँच्चै पो हो कि भन्ठानेर हातको कलम कापीमाथि थचारें र दुवै हातले बिस्तारै कानमा समाउन पुगें । ज्या ! परेन फसाद !! मेरा दुईवटै कान गायब पो छन् बा !!!
‘लौ छिटो गर् । एउटा कालो कागले तिम्रा दुवै कान आफ्नो चुच्चोमा च्यापेर सिधै दक्षिणतीर उड्दैछ ।’ –चट्याङमास्टर हतासिंदै पुनः चड्किए । म हत्तपत्त उठेर कुदें काग खोज्नलाई । बजारभरि मेरो कान कागले लगेको हल्ला छरिइसकेको रहेछ । अर्का सिस्नुमित्र लक्ष्मण गाम्नागेले पनि मेरो कान खोज्न दौडिई रहेको भेटे ।
कान खोज्दै जाँदा काठमाडौंको गोपीकृष्ण हलसँगैको लहरे पिपलमा एउटा कालो काग किच्च दाँत देखाउँदै बसेको रहेछ । त्यस कागको नियतमाथि शंका लागेर यसो नियालेर हेरें नभन्दै मेरो कान त्यसैले आफ्नो पञ्जामा च्यापेको देखें । मन हल्का त भयो, तर फेरि त्यहाँबाट पनि उड्ने हो कि भन्ठानेर कागसमक्ष दुवै हात जोडी बिन्ती विसाएँ ।
‘हे पंक्षीदेव कागज्यू ! मजस्तो सानो लेखकको कान खाएर हजूललाई के फाइदा ? बरु म हजूरलाई एक के.जी. ब्रोइलर कुखुरा टक्रयाउँछु ।’ भुर्र उडेर अर्को हाँगामा टेक्दै काग कुर्लियो – ‘खवरदार ! मलाई भंसारमा सुन छोडाउन हाकिमलाई घूस दिएजस्तो प्रभावित पार्ने काम नगर ।’ ऊ फेरि अर्को हाँगामा स¥यो । ‘कागज्यू, कान खानु थियो भने ‘फलानो चोर कुर्सी छोड्’ भनेर बारम्बार जनताले भन्दा पनि कानमा सत्ताको कपास कोचेर बस्नेको कान लानुपर्दथ्यो । ‘प्रजातन्त्र जिन्दावाद’ को नाराले थोत्रो भइसकेको मेरो कानको के स्वाद होला र हजूर !’ प्रेमिकालाई फकाए जसरी फकाउन खोजें ।
‘पेट्रोल–मट्टितेल बढेको नदेख्ने आँखाहरू हामीलाई चाँहिदैन । ग्याँस र गाडीभाडा सगरमाथाको चुचुरोमा पुग्दा पनि चूँसम्म नबोल्ने तर एकजना ऋतिक रोशन भन्ने नौटंकीले ‘नेपाल मन पर्दैन’ भन्यो रे भन्दा आँखा नहेरी बन्दुक पडकाउने र कुरै नबुझी पर्खाल र रेलिङ्ग भत्काउने दुवैथरिका कान हामीलाई आवश्यक छैन ।’ कागले नाकका पोह्रा फुलाउँदै मलाई तर्सायो । ‘राष्ट्रियताप्रतिको नेपाली जनताको आक्रोशलाई त्यसरी उडाउन नमिल्ला कि कागज्यू ?’ अझै विनम्रता देखाउँने प्रयत्न गरें ।
‘राष्ट्रियता !?’ कागले एकपटक दुवै पखेटा भ्याटभ्याट पा¥यो । ‘देशका राजनेताहरू विदेशीका एजेन्ट बन्दाखेरी तिनैलाई भोट खसाल्ने, भोट पाउन रुपियाँका भरमा विदेशीलाई नेपालीको नागरिकता दिलाउने ! यस्ता काम हुँदा चाँहि दुनियाँलाई राष्ट्रियताको चासो भएन, एउटा सिनेमा खेल्ने केटोले ‘अच्छा नहि लगता’ भन्यो रे भन्दा यत्रो जनधनको क्षति गर्नु चाँहि कुन राष्ट्रियता हो हँ ?’ कागले मेरो कान फिर्ता दिने कुरै गर्दैन बा !
उसलाई रिस उठाउनु भनेको मेरो कान बुच्चो हुनु थियो । छुच्चो कुरा गरेर कान छोड्ने छाँटकाँट नै थिएन । ‘हेर्नोस् आदरणीय कागज्यू, जनताको यो आक्रोश खालि ऋत्विक रोशनमाथि मात्रै थिएन । भारत सरकारले नेपाललाई बारम्बार हेप्ने प्रकृयाको विरुद्ध एउटा प्रतिकृया थियो ।’ जन–आवाज भन्दा बाहिर जानु मेरो नैतिकता नै थिएन ।
‘ठीक छ ! भारत सरकारप्रति आक्रोश थियो भने, भारतीय पुलिसहरूले काठमाण्डौ गल्लीमा हल्लीखल्ली मच्चाउँदा विद्रोहको ज्वाला दन्किनु पर्दथ्यो । हाम्रो कालापानीलाई उसको नालापानी बनाउँन खोज्दा रगतको खोलो बग्नु पर्दथ्यो । तर कागले कान लग्यो भन्दैमा पाँच पाँच जना मान्छेको ज्यान लिनु कुन राष्ट्रियता हो ? –चुच्चो आफ्नो प्वाँखमा पुछ्दै कागले लामो भाषण छाँट्यो । यस बेलासम्म रुखमा अरु पनि कागहरूको कुँडुलो लागिसकेको थियो । वरिपरिबाट सुगा, रुपि अनि ढुकुरहरू काग–मान्छे कुराकानी सुनिरहेका देखिन्थे
त्यसै बेला एउटा शिकारीले कागतिर बन्दुक सोझ्यायो– ‘ए काले मोरा, एयरपोर्टमा प्लेनसँग लाप्पा खेल्ने तैं होइनस् ? पख् त आज तँलाई…’ – यति भनेर बन्दुक पड्काउनै आँटेको थियो । काग पुनः भुर्र उडेर अर्को रुखमा बस्यो
– ‘ए मूर्ख शिकारी, तिमीहरूलाई म त्यसै भन्दिन नि, कान नछामी कागको पछाडि दौड्ने भनेर । पहिला एअरपोर्ट वरिपरि सफा गर्नुपर्छ र पो हामी आउँदैनौं । हाडखोड र फोहोर–मैला थुपारेर सादर निमन्त्रण गरेपछि को आउँदैन ?’
कागले आफ्नो घाँटी तनक्क के तन्काएको थियो– शिकारीको निधारमै पर्ने गरी बिस्ट्याई पो सकेछ ! मलाई भने आफ्नै कानको चिन्ताले इन्तु न चिन्तु बनाइसकेको थियो –‘कागज्यू अनि मेरो कान खाने कि दिने हजूर ?’
आँखाबाट आँशुका ढिकाहरू हाम्फाल्न आँटेको देखेर काग बोल्यो– ‘वास्तवमा मैले तेरो कान खानलाई खोसेको होइन । तँ मान्छेहरूलाई पाठ सिकाउन मात्र खोजेको हुँ, बुझिस् ।’ अघिदेखि रोकिएको मेरो स्वास फुत्त निस्केपछि मन हलुका भयो– ‘हुन्छ हजूर ! जेजस्तो शर्त पनि स्वीकार्न तयार छु पहिला मेरो कान त दिनोस् । नत्र मैले हजूरको कुरो कसरी सुन्नु र ?’ मेरो पुकारलाई किनारा लगाउँदै उसले एउटा कान फ्याँक्यो– “लौ, यो दाहिने कानले सुन्दै गर, अर्कोचाँहि मेरा सम्पूर्ण कुरा सुनिसकेपछि मात्रै ।” कागले कुरो नसकिएको जानकारी आयो ।
हामीमध्येकै कुनै मान्छे करायो– ‘यो काग मुर्खजस्तो छ है । यसले अर्को कान दिँदैन नि, होस् गर ।’ कागहरू यसको बदलामा एक स्वरमा चिच्याए– ‘काग ! काग !’ अनि कागमध्ये कान लाने कागचाँहि करायो– ‘ए ! हामी सोझा प्राणीचाँहि मुर्ख ! ऋत्विकले नेपालीको नाक लग्यो भन्ने हल्ला नाक, कान नै नछामी कराउने तिमीहरू चाँहि विद्वान !’ यति भनेर काग पंक्षीभाषामा अट्टहास गर्न थाल्यो ।‘ ‘तर कागज्यू, ऋत्विकले त हाम्रो राष्ट्रियतामाथि हिलो छ्याप्यो । नेपालीको नाक नै उखेलेर लान खोज्यो नि हजूर ।’ मैले आन्दोलनको पक्षमा वकालत गर्न खोजें ।
‘कसले देख्यो ऋत्विकले नाक काट्न खोजेको ? कसले हेर्यो नेपाली राष्ट्रियतामाथि हिलो छ्याप्न खोजेको ? निर्देशक÷लेखकको इशारामा नाँच्ने र बोल्ने एउटा ‘कठपुतली’ ले भन्यो अरे का भरमा यत्रो जन–धनको क्षति गर्ने तँ मान्छेका त साँच्चिकै नाक चुँडेर खाइदिनुपर्ने ।’ कागले राता राता आँखा पार्दै हामीलाई घुरेर हेर्यो । त्यतिका मान्छेमा कसैले पनि ऋतिकले नाक काटेको वा कान लुटेको कुरो आफ्नै आँखाले देखेको हो भन्न सकेन आफ्ना कानले सुनेको पनि कुरो बताएन ।
एउटा जाबो हाँडीको पिँधजस्तो अनुहार भएको कागका प्रश्न सनेर निरुत्तर हुनु मेरा लागि अपमानको कूरा थियो ।
आफूलाई दुवै हातले दुईपटक लोपारेको जत्तिकै पीडा भयो । –‘ऋत्विकले त भनेको थाहा छैन तर एकजना मल्कानी भन्ने भारतीय नेताले चाँहि नाकमात्रै होइन अनुहारमै गोबर दलिदिएछन् नि कागज्यू ।’ – मैले भनें । ‘हो, एउटा देशको अधिकार सम्पन्न नेताले नेपालीको राष्ट्रिय अस्मितालाई छ वित्ता तल झारेर नाङ्गेझार पार्दाखेरि कोही चुँ बोल्न सक्यो ?’ कागले मेरो टाउका पनि फ्यात्त बिस्ट्याई दियो ।
उसँग जोरी खोज्नु मेरो कल्याणमा थिएन, निहुरमन्टीन लगाउँदै भनें– ‘अब आफ्नो कान पाउन मैले के के शर्त पालना गर्नुपर्छ हजूर ?’
‘शर्त ?’ काग एकपटक जोडले हाँस्यो ।
‘अब तिमीहरूको नैतिकता, स्वाभिमान र राष्ट्रिय अस्मिताको रक्षाका लागि हामी चराको जरुरी पर्यो ?!’ गमक्क फुल्दै काग करायो– ‘सुन, सबैजना सुन ! दक्षिणतिरका चीलहरूले नेपालीको कान लुछ्ने, नाक झिक्ने र आन्द्राभुँडी निकाल्ने प्रयास उहिल्यैदेखि गरिरहेका छन् । आफू आफूमै लडिरहने, अन्धविश्वासले अन्धकारमै सडिइरहने नेपालीको बानीले गर्दा ती चीलहरू मौका हेर्दै बस्ने गरेका छन् । त्यसैले सबैभन्दा पहिले नेपालीले आफ्नो नाक, कान र अनुहारको सुरक्षा आफै गर्नुपर्छ । होइन भने– यसैगरी आफ्नो कान नछामी कागको पछि कुद्नाले फेरि थुप्रै ऋत्विक रोशन जन्मिने छन् र नेपाललाई नाक–कान बिनाको बुच्चा मान्छेहरूको देश बनाउने छन्, बुझ्यौ तिमीहरूले ?’ यति भनेर कागले मेरो कान भुईंमा फ्याँक्यो । त्यसपछि नाजवाफ भएर उधोमुण्टी न भएका हामीलाई एकपटक मेलैसँग हे¥यो ।
म पनि घोप्टो परेर कान टिपिरहेको थिएँ । उठ्नै लाग्दा मेरो थाप्लामा चिसो, कुन्नि के चीज प्याट्ट गरेर खस्यो । हातले छामेर माथि हेरको त, छि ! टाउकोमा पुनः बिस्ट्याएर काग कुन्नी कता हराइसकेको रहेछ ।
बिस्टा पुछ्दै कान सिलाउन म डाक्टरकातिर लगें ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x