मनोज गजुरेलहामी हनुम्यान
सलमान खान, गणेशमान र हनुमान – यी मध्ये को चाँहि मन पर्छ ?’ खप्पडहवजले हाम्रो अगाडि प्रश्न पछारयो । उसको टाउको खाने प्रश्न सुनेर हामी तीन भाइको दिमाग नै एकपटक पछारियो । हाम्रो बुद्धिमा लागेको धुलो टक्टक्याउँदै उसले प्रश्नलाई अझैं प्रष्ट्याउन खोज्यो – ‘हेर बाबु हो , कुरो यहाँ दर्शनको छ नि । ‘गणेशमान’ ले विपना (यथार्थ) को नेतृत्व गरेको छ । सलमान खानले ननिदाइकन दिउँसै देखिने सपनाको साँचो बोकेको छ भने हनमानजीले चाँहि जपनाको थपना गरेको छ । यी तीनमध्ये को चाँहि वीर, ल भन ।’
सलमान खान, गणेशमान र हनुमान ! सबैजना वीर नै वीर ! कोही बलिया वीर । कोही बाङ्गा विर सुंगुरको भाले पनि वीर हामीले एउटाको पक्षमा तर्क दिएर जीतको अवीर लगाउनु थियो । त्यसपछि हामी थाल्यौं दिमाग घुमाउन साथी अहङ्कार थापाले भन्यो –‘एउटी हिरोइनको लागि मारमुंग्री गर्ने ठिटो र सिँगो देशका लागि लड्ने भिड्ने गणेशमानजी !! कसरी तुलना गर्न मिल्छ ? गणेशमानजी त फादर अफ डेमोक्रेसी । सलमान खान त छोडौं, हाम्रै भुवन के.सी. सँग पनि त्लना गर्न मिल्दैन ।’ यति भनेर उसले नेताको हाउभाउका साथ जुँगामा ताउ लगाउन थाल्यो ।
‘नकुरा गरौं साथी हो । कादर खान र हनुमान उस्तै भए भन्दैमा सलमान खान र गणेशमानलाई पनि मित लगाइदिन सुहाउँदैन । गणेशमानजीले कतिवटा फिल्म खेल्नुभएको छ ? कतिवटा गीतमा डान्स गर्नुभएको छ ? फाइट न साइट– उस्तै हुन् भनेर दुवैलाई टाइट गरेर जोड्न मिल्छ ?’ हामीमध्येकै अर्को साथी अलमल अधिकारी च्याँठिएर करायो ।
‘वाह सलमान ! हाय सलमान !! उहुँ सलमान !!! क्या बडी ! क्या स्माइलिङ्ग !! क्या डायलग छ !!! तँहरू मान् नमान्– बट आई लाइक सलमान !’ यति भनेर उसले पकेटमा राखेको सलमानको लकेट घाँटीमा झुण्ड्यायो । आफु परियो हनुमानको भक्त, त्यसमाथि हनुमानकै पक्षमा बोल्नुपर्ने भएपछि झन् गज्जब नै भयो । ‘हेर्नोस साथीहरू हो ! यो युग ‘मान’ को युग हो । तर यहाँ सबै ‘मान’ लाई समान ‘मान’ हदैन ।
इमानको कुनै मुल्य छैन । बेइमानको भाउ बढेर तिनको मानमा पनि भ्याट लाग्न थालेको छ । गणेशमानको अपमान भएपछि आफ्नो त्याग बेकार भएछ भन्दै पार्टी छोडेको इतिहास त माथिबाट हाँस्दै हेरिरहेको छ । सलमानको ‘मान’ पनि सिनेमामा मात्रै सिमित छ । समानतालाई यामान्को असमानताले थिचिराखेको छ । तर वायुपुत्र हनुमान, उस युगमा पनि उत्तिकै वीर थिए । आजपनि उनको वीरतामा कुनै कमी आएको छैन ।
त्यसैले सम्पुूर्ण ‘मान’ मध्ये सबैभन्दा वीर चाहीँ हनुमान नै हुन् । फरक यत्ति हो रामभक्त हनुमान पुच्छर हल्लाउँदै हिड्थे, आजका हनुमान लाठी घुमाउँदै डुल्ने गर्दछन् । द्वापरका हनुमान बिन्ध्याचल जस्तो अचल पहाडलाई समेत हातमा पोको पारेर कुद्न सक्थे, आजका हनुमानहरू सिँगो देशलाई खल्तीमा खाँद्न खोज्दछन् । अहिले यहाँ प्रकाशमान–पिता गणेशमानजीको मूल्य घटेर राजनैतिक मान्यता टाट पल्टने स्थितिमा छ ।
सोहेल खानको मान पनि सस्तो दामको मुरै (गोलफोकी) जस्तै भएको छ, हेर्दा निकै गह्रौ जस्तो, उचाल्न खोज्यो– फुस्सा ! हामी नेपालीहरू आध्यात्मिक भएर होला, जुगौंदेखि हनुमानकै आराधना गर्दथ्यौं– आज पनि हनुमानकै वरिपरि घुमिरहेका छौं
तपार्इंले ठान्नुभयो होला–पशुपतिका हनुमानको कुरा गरेको भनेर । ती त साइडका हनुमान भए । मेनरोल गर्ने हनुमान खोज्न न जंगल–जंगल पुग्नुपर्छ, न त पशुपतिको श्लेशमान्तक वनसम्म धाउनु पर्दछ । हाम्रो आँखै वरिपरि हनुमानहरू कुदिरहेका छन् । अझ भनौं, हामी नै हनुमानका सन्तान हौं, हामी सबै हनुमान हौं ।
आफ्नो भलो नभै अरुको भलो हुँदैन । त्यसलै सँधै आफ्नै पक्षमा नारा लगाउने गर्दछौं– ‘हनुमानजीको जय होस् ।’ हाम्रो दिमाग हनुमान नै हनुमानले भरिएको छ । कर्तब्य र दायित्वको कुनै मतलब छैन, हनुमानगिरी नै हाम्रो सभ्यता हो ।
तपाईँं बुबासँग ट्युसन पढ्ने पैसा माग्नोस्, आमासँग किताब किन्ने रकमका लागि हात पसार्नोस्, यो पनि तपाईँको एकखाले हनुमानगिरी नै हो । होइन भने त, बाबुआमाले आफैं जानेर दिनु पर्ने होइन र ? हरेक बाबुहरू आफूलाई राम सम्झन्छन् र तपाईलाई हनुमान ! हनुमान बन्नुमा नै तपाईँंलाइ मज्जा छ भने कस्को बाउको के लाग्छ र ?
अफिसमा हाकिमको हनुमान बन्नुपर्छ । सरुवा, बढुवा, पदच्यूत, थमौती – यी सबै कुरा तपाईँं कति हनुमानको ब्यवहार गर्न सक्नुहुन्छ,
त्यसैमा भर पर्दछ । एउटा सानो जग्गा पास गर्नुप¥यो भने, तपाइँले नगदको विन्ध्याचल उठाएर हाकिम रामकहाँ नचढाई काम बन्दैन । थमौती र सरुवाको मसिनो काम गर्न पनि सोर्सको साँघु बनाएर क्षार समुन्द्र तर्नु पर्दछ , होइन भने सफलताको लंका पुग्नलाई ज्यान जाला, सक्दै सक्नुहुन्न ।
रावणको लंका कसरी सफलताको केन्द्र हुन्छ भन्ने सोच्नु भयो होला । हरेक सफल मान्छे आफूलाई रावण ठान्दछ । रावण पनि आफूलाई संसारको छातानै मान्दथ्यो । मालिक भएपछि मान्छेमा अहंकारको सिङ उम्रिन्छन्, घमण्डका दाह्रा पलाउँछन्, रिसका नंग्रा र गदा निस्कन्छन् । त्यस्तो लङ्कालाई ध्वस्त पार्न पनि हामी हनुमान नै बन्नुपर्दछ ।
हनुमानको आधुनिक अर्थ ‘चाकडी’ हुन्छ । चाकडीको पौराणिक अर्थ चाँहि हनुमान हो । हामी शिवका सन्तान , ब्रम्हाका बालकहरू – उहाँहरूको आध्यात्मिक छत्रछायाँले हामीलाई हनुमान हुन ठूलो मद्दत गरेको छ । कुनै आपत्ति प¥यो भने रामको हनुमान हुन्छौं । ठूलो विपत्ति पर्दा शिवजीको चाकडी गर्दर्छौं । सडकमा गाडी पल्टियो भने बाटो बनाउने–मर्मत गर्ने ज्ञान हाम्रो शास्त्रमा छैन, कोटी होम गरेर अग्नी देवताको हनुमानगिरी गर्ने गर्दछौं ।
यदि हामी हनुमान हुनबाट चुक्यौं भने यहाँ ठूलो विनाश हुनेछ । परिश्रम गर्नु पर्नेछ । विकास र उन्नतिका लागि नदुखेको टाउको बेकारमा दुखाउनु पर्नेछ ।
ज्ञान र विवेक खोज्ने अत्यासलाग्दो विनासबाट रोकिने एउटै उपाय हो– हनुमान नै रहिरहने ।
हामी आफू त हनुमान छँदैछौं । उता सिनेमाका स्त्री हनुमानहरूले द्वापरयुगको रामभक्त हनुमानको शैली छोडेका छैनन् । द्वापरका हनुमानले आफ्नो छाती च्यातेर दुनियाँलाई सीताराम भक्तिको नमुना देखाएका थिए भने आजका हनुमानले आफ्नो छाती खोलेर दुनियाँलाई आफ्नो निर्देशक भक्ति प्रभावकारी ढङ्गले प्रष्ट्याइदिएका छन् ।
हनुमान नबनिकन हाम्रो संसार चल्दै चल्दैन भने पनि हुन्छ । राजनीतिमा ‘सत्य’ छैन भन्ने कुरालाई आजका हनुमानजीहरूले गलत ठह¥याइदिएका छन् । माननीयको टिकट पाउनु परे हनुमान बनेर सभापति वा अध्यक्षका अगाडि पुच्छर हल्लाउनु पर्छ । मन्त्रीको लिस्टमा ताननीय बन्नुपरे मित्रबध गरेर आफ्नो हनुमानकारिता दुनियाँ सामु झलमल्ल बनाउनु पर्दछ ।
अब यतिमात्र बाँकी छ– हामी सबैले एक – एकवटा पुच्छर जोड्ने काम । त्यसो त पुच्छरहरू हामी सबैका छन् । नेताका पछाडि ‘जनप्रेमी’ को पुच्छर झुण्डिएको छ । जनताका पछाडि ‘न्यायप्रेमी’ भन्ने पुच्छर टाँसिएकै छ ।
बाबुको पछाडि ‘आदर्शबाबु’ को रौं उम्रिएकै हो । हामी युवाहरूका पछाडि ‘भविष्यका कर्णधार’ भन्ने आधारबिनाको पुच्छर बडो आकर्षक रुपमा सजिएकै छ । जस जसको पुच्छर छैन, उसले अगाडिको नाक काटेर पछिल्तिर जोडे बेस हुन्छ ।
जब नैतिकवान नेपाली भन्ने सिङ नै भाँचिएपछि त्यस नाकको के काम ? बाबु–आमाले पनि आशिक दिउन्– ‘बाबु ठूलो हनुमान भएस् । हनुमान बनेर सारा देश डडाएर खरानी पारेस् ।’
खरानीको पनि उपयोगिता छ । साइबाबाको ‘विभूति’ मानेर दल्नु पर्छ । ‘सारा पहाड हिमाल उचालेर पछारेस् र त्यहाँका जडीबुटीहरू बेचेर नेताको भक्ति गरेस् ।’ नेताको पनि आध्यात्मिक अर्थ छ– कलियुगका राम हुन् तिनीहरू । नेपाली सीतालाई इण्डियन कुण्डमा होमे पनि युगौंसम्म मर्यादा पुरुषोत्तम श्रीनेताराम भनेर कहलिई रहनेछन् ।
राम बन्ने तपाईँ हाम्रो काम हैन, किनभने हामीसँग दाम छैन । त्यसैले आउनुहोस्, हामीभित्रको हनुमानलाई अझै हुर्काऔं । नेपाली हनमान बन्न लाज लाग्छ भने अंग्रजी हनुम्यान बने पनि काही बात छैन । त्यसैले सबैजना एक स्वरमा भनौ– ‘हामी हनुम्यान की– जय !’
Subscribe
Login
0 Comments
Oldest










































