डा. टीकाराम पोखरेलहाइ हाइ ! नेपालबन्द
खेतीमा सबैभन्दा उत्तम खेती नेपालबन्द खेती । जसले जहिले जहाँ जतिबेला गरे पनि हुने सरल खेती । धेरै लगानी र मेहनत पनि गर्न नपर्ने खेती । भूमिगत, भूमिपति, भूमिहिन जसलाई पनि त्यत्तिकै सुहाउने खती बन्द खेती । नामै नसुनेका संगठन वा व्यक्तिले पनि बन्द आह्वान गर्न सक्ने, बहाना जे बनाए पनि हुने । तेलको भाउ बढोस् नेपाल बन्द, मलको अभाव होस् नेपाल बन्द, सुन चोरी होस् नेपाल बन्द नुनको अभाव होस् नेपाल बन्द, कुखुरा मरोस् नेपालबन्द बाख्रा हराओस् नेपाल बन्द, स्वास्नी पोइल गई नेपाल बन्द, लोग्नेले अर्की ल्यायो नेपाल बन्द । कस्तो मजाको नेपाल बन्द । कृषि प्रधान देशमा कृषि खेती हुन छोडे पनि नेपालबन्द खेतीले यो खेती गर्ने देश हो भन्ने इज्जत धानिरहरको छ
नेपालमा अरु भव्य नभए पनि बन्द चाहिँ भव्य हुन्छ । यस्ता भव्य काम गर्ने बन्द आयोजकको सराहाना गर्नुपर्छ भन्ने कुरामा दृढनिश्चयी छु । त्यसैले म सधैँ बन्द आह्वानकर्ताको गाथा गाइरहन्छु । सर्वप्रथम म यस्तो बन्द जस्तो जनमुखी काम गर्ने आह्वानकर्ता संगठनहरूलाई हृदयदेखि नै मुरी मुरी धन्यवाद दिन्छु । विचराहरूले स्कूल कलेजमा बन्द कसरी गर्ने भन्ने बन्द सम्बन्धी कलाको औपचारिक अध्ययन विना नै बन्द गराएर बहादुर नेपालीको परिचय दिए । अध्ययन विना नै काम गर्नुपर्ने, कत्रो मार्का विचराहरूलाई ? त्यसैले अब अर्को पटक विद्यालय र कलेजका पाठ्यक्रममा बन्द सम्बन्धी पाठ्यक्रम समेत समावेश गर्नुपर्ने माग राखेर नेपालबन्द आह्वान गर्ने निःशुल्क सल्लाह पनि म भविष्यका कर्णधार विद्यार्थीहरूलाई दिन चाहन्छु ।
म जस्तो नेपालबन्दप्रेमी मान्छेलाई जीवनमा सबैभन्दा बढी खुसी कुनै कुराले गराउँछ भने त्यो नेपालबन्द नै हो । किन ? भनेर छक्क पर्नुहोला । छक्क नपर्नुस्, नेपालबन्दबाट हुने फाइदाहरू बारेमा मलाई राम्ररी जानकारी छ, त्यसैले म खुसी हुन्छु । म मात्र होइन नेपाल बन्दका फाइदाहरूको बारेमा जानकारी पाउनुभयो भने तपाईँहरू पनि पक्कै खुसी हुनुहुनेछ । दिल खोलेर नेपालबन्दको समर्थन गर्ने मात्र होइन मौका परे तपाईँ आफैँ नेपाल बन्द आह्वान गर्न पनि पछि पर्नुहुन्न ।
बन्दको पहिलो फाइदा रोजगारीको सिर्जना हो । शहरमा बेरोजगार बसेर गाउँबाट बाबु–आमाले पठाइदिएको खर्चले कलेजमा अध्ययन गर्न बाध्य भएका भविष्यका कर्णधार विद्यार्थीहरू बन्द आह्वान हुनेबित्तिकै रोजगार हुन्छन् । कोठे वैठक, राँके जुलुस, कोणसभा हुँदै क्याम्पसदेखि लिएर देशैसम्म बन्द गराउने काममा खट्नुपर्दा विचरा विद्यार्थीहरूलाई एकछिन फुर्सद हुन्न । पढ्ने बेलामा अल्छी गरे पनि बन्द जस्तो देश बनाउने काममा कोही पछि पर्देनन् । कोही बेरोजगार बस्दैनन् । खासै योग्यता पनि नचाहिने, धेरै विषय फेल भएकाले झनै ठूलो स्वरले कराउन पाइने, लोकसेवा पनि पास गरिरहन नपर्ने यस्तो सजिलो रोजगारी पाइने हुनाले नेपालबन्द विद्यार्थीहरू बीच पछिल्लो चरणमा खुबै लोकप्रिय बन्दै गएको छ । देशको ठूलो हिस्सालाई रोजगारी दिने यस्तो महान कार्यको हामीले सराहाना गर्नै पर्दछ । बरु एकदुई दिन होइन सधैँ बन्द गरिदिन पाए विद्यार्थी, दलका कार्यकर्ता र दलका भातृसंगठनका नेताहरूलाई स्थायी रोजगारी नै हुने थियो ।
यो रोजगारीको कुरा सुनेर बन्दबाट बन्द आह्वानकर्तालाई मात्र फाइदा रहेछ भन्ने भ्रममा पर्नुहोला । त्यस्तो भने होइन । बन्दमा सबैलाई उत्तिकै फाइदा हुने भएकाले मात्र म बन्दप्रेमी भएको हुँ । यस्ता केही फाइदा बारे जानकारी लिइ हाल्नुस् । शहरीया व्यस्त जीवनलाई बन्दले विश्रामको मौका दिन्छ । यसबाट विश्राम गर्ने अधिकार सुरक्षित हुन्छ । उद्योगधन्दा, कलकारखाना बन्द हुँदा वातावारण दुषित हुनबाट जोगिन्छ । विद्यालय तथा क्याम्पस बन्द हुँदा पढाउने गुरुहरूले आराम गर्न पाउँछन् भने विद्यार्थीहरूले “माइण्ड फ्रेस” गर्न पाउँछन् । पढाउनु नपर्दा स्कूल कलेजको चक, डष्टर, मार्कर तथा अन्य स्टेशनरी र शैक्षिक सामग्रीको वचत भएर खर्चमा मितव्ययिता हुन्छ । यसरी खर्चमा मितव्ययी हुन सक्यो भने देशको अर्थतन्त्रमा सुधार आउँछ ।
सरकारी कर्मचारीले कार्यालयमा जानु नपर्ने भएको हुँदा बन्दमा सरकारी गाडी पनि कम गुड्छन् । यसले महँगो इन्धन वचत हुन्छ । इन्धन कम खपत भएपछि भाऊ बढ्ने संभावना पनि कम हुन्छ । कोही कर्मचारी हिँड्दै कार्यालय पुगेछन् भने पनि धेरैबेर कार्यालयमा बस्नु नपर्ने हुँदा त्यो दिन कम्तिमा सरकारी कार्यालयका हिटर बल्दैनन्, जसले विद्युत अभाव भएको देशमा केही मात्रमा भए पनि विद्युत वचत हुनेछ । अरु दिन कार्यालय जाने र बिदाका दिन साथी भाइ बटुलेर रेष्टुरेण्ट र जमघटमा जम्ने श्रीमान्हरूका श्रीमतीहरू बन्दका दिन श्रीमान् घरै बस्ने हुँदा त्यस्ता श्रीमतीहरू पनि खुसी हुनेछन् ।
बन्द आयोजकहरूबाट बन्दका दौरान निजी तथा सरकरी गाडी र सम्पतिमा गरिएको तोडफोड र आगजनीका दृष्य देखेर तपाईँहरू अझै पनि नेपाल बन्दप्रति नकारात्मक हुनुहोला । यदि त्यस्तो बुझाइ छ भने यथार्थमा त्यस्तो बुझाई सही होइन । यो तोडफोड र आगजनीको पनि फाइदा छ । किनभने तोडफोड र आगजनी भएको सामान मर्मत गर्दा हुने रहेछ भने मर्मतकर्ताको विजनेश व्यवसाय फष्टाउँछ । किन्नै पर्ने गरी तोडफोड भएको रहेछ भने त झनै फाइदा छ । सरकरी सामान किन्नुपर्ने रहेछ भने किन्नेलाई कमिशन आउँछ । निजी सम्पत्ति ध्वस्त भएर अर्को किन्नुपर्ने रहेछ भने सरकारलाई राजश्व प्राप्त हुन्छ । त्यतिमात्र होइन विदेशी सामान रहेछ भने मित्रराष्ट्रसँगको व्यापारमा पनि बृद्धि हुन्छ । यस्तो जताततै फाइदै फाइदा हुँदाहुँदै तोडफोड र आगजनीको दृष्य मात्र हेरेर विनाश देख्नु सही मूल्यांकन हुन सक्तैन ।
सुरक्षाकर्मीलाई त बन्दले झनै फाइदा हुन्छ । अरु दिन सधैँ भीडभाडमा हिँड्नु पर्ने सुरक्षाकर्मीका गाडी बन्दका दिन भने शान देखाएर साइरन बजाउँदै खाली सडकमा दौडाउन पाउँछन् । अरुका गाडी गुडायो कि बन्द आह्वानकर्ताको तारो बनिहाल्ने तर आफ्ना गाडी भने खाली बाटोमा मजाले दौडाउन पाउने हुँदा सुरक्षाकर्मीहरू आफूलाई अरुभन्दा ठूलो मान्छे भनेर गर्व गर्न पाउँछन् । बन्द आह्वानकर्ताले गरेको आगजनी र तोडफोड नजिकै बसेर मूकदर्शक भै हेर्न पाउने हुनाले सुरक्षाकर्मीलाई बन्दका दिन पर्याप्त मनोरञ्जन प्राप्त हुन्छ । बन्दको दिन सडकमा हतियार सहितका सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने हुँदा प्रहरीसँग के–कस्ता हतियार छन् र कति संख्यामा प्रहरी छन् भन्ने कुरा पनि प्रहरी संठनले सर्वसाधारणलाई देखाउन पाउँदछन् ।
पत्रकार र मानवअधिकारकर्मी त झन् बन्दमा सेलिब्रेटी नै हुन्छन् । अरु बेला पत्रकार र मानव अधिकारकर्मीको परिचयपत्र र ज्याकेटको खासै महत्व नभए पनि बन्दका दिन भने परिचयपत्र र ज्याकेटले पनि काम पाउँछन् । आफूलाई पत्रकार भनेर नपुछ्ने र मानव अधिकारकर्मी भनेर नचिन्नेहरूलाई आफ्नो असली परिचय दिने अमूल्य मौका पत्रकार र मानवअधिकार कर्मीलाई बन्द नै हुन्छ । बन्दमा पत्रकार र मानव अधिकारकर्मीलाई गाडी गुडाउन छुट भएको हुँदा उनीहरूले पनि आफूलाई अब्बल दर्जाको नागरिक ठान्न पाउँछन् । सम्पूर्ण बाटो आफ्नो कम्पाउण्डभित्रको निजी बाटो झैँ प्रयोग गर्न पाउने हुँदा बन्द उनीहरूको लागि विशेष खुसीको दिन हुन पुग्दछ । बन्द आह्वानकर्ताले सबै बन्द आफ्नै लागि गराएर बाटो खाली गराएको महसुस गर्दै पत्रकार र मानवअधिकारकर्मी दङ्ग पर्छन् र बन्द आह्वानकर्तालाई धन्यवाद दिन्छन् ।
मैले बन्दका यति धेरै फाइदाका कुरा गर्दा गर्दै पनि बन्दमा बिरामीहरू समयमै अस्पताल पुग्न नपाएर बाटैमा अकालैमा मृत्यु भएको खबर सुनेर तपार्इँ अझै बन्दप्रति नकारात्मक हुनुहुन्छहोला । तर त्यस्तो धारण नबनाउनुस् । जनसंख्या धेरै भएर गास, बास र कपासको समस्या भएको देशमा यसरी अकालमै मानिस मर्दा जनसंख्या घट्छ र यसले सरकारलाई केही हदसम्म भए पनि राहत दिन्छ । उता जनसंख्या घटाउन परिवार नियोजनको काम गर्नेहरूलाई पनि जनसंख्या घट्नु खुसीकै कुरा हुन्छ । यसरी बन्दमा जनता मार्दा कसैले मारेको भनेर आरोप पनि खेप्नु नपर्ने र जनसंख्या पनि घट्ने । अर्थात् “साप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने ।” यो भन्दा काइदाको उपाय अरु के छ ?
वा ! यतै फाइदा उतै फाइदा । नेपाल बन्दका त जताततै फाइदै फाइदा । यस्तो जताततै फाइदा नै फाइदा हुने बन्द कहिलेकाहिँ र कुनै कुनै ठाउँमा मात्र होइन, सम्पूर्ण देशभर गर्नुपर्छ र सधैँका लागि बन्द गर्नुपर्छ । आजकल सबैभन्दा आकस्मिक बन्द हुने गरेको छ पेट्रोलियम पद्धार्थको भाऊ बढ्दा । सधैँ बन्द गरायो भने यसको सबैभन्दा बढी फाइदा त पेट्रोलियम पद्धार्थको भाऊ बढ्यो भनी बन्द गराउने बन्द आह्वानकर्तालाई नै हुन्छ । किनभने सधैँ बन्द गरेपछि गाडी, उद्योगधन्दा, कलकारखाना, विद्यालय केही पनि चल्दैनन् । पूरै देशै ठप्प हुने गरी सधैँका लागि बन्द गराएपछि कतै पनि इन्धनको आवश्यकता नै पर्दैन । इन्धन नै आवश्यक नपर्ने भएपछि इन्धनको भाऊ घटाउनु पनि पर्दैन, बढाउन पनि पर्दैन र भाऊ नबढाऊ भनी आन्दोलन गर्नु पनि पर्दैन । टण्टैं साफ । त्यसो गरे कसो होला ?
Subscribe
Login
0 Comments
Oldest









































